~एन पी भावी~
पाल्पाको एक महंगो होटल अगाडी दुई गाडी मान्छे आएर ओर्लिए । ठूला ठूला व्रिफकेशहरु लिएर ओर्लिएका मान्छेहरु कुनै विदेशी थिएनन् । सभ्रान्त परिवारका जस्ता देखिने उनीहरुलाई देखेर आफ्नै मुलुकको आन्तरिक पर्यटकको लख काटें ।
उनीहरु ओर्लिए लगत्तै होटल परिसर बाहिर जिल्लाका एक हुल सुरक्षाकर्मीहरु प्रहरीको गाडीबाट ओर्लिए । अब भने यी कुनै पर्यटक होइनन् सरकारी निकायका कुनै उच्च पदाधिकारी हुन् भन्ने अड्कल लगाए । सरकारी ओहदाको को हुन् भन्ने बुझ्ने प्रयत्न गर्दा उनीहरु त नयाँ संविधान बनाउनका लागि गाउँ आएका सभासदहरु पो रहेछन् । बुझें गाउँ आएका सभासद्हरु केही समय होटलमा आराम गरी जनमत लिन गाउँ जाने होलान् । निकै थकित जस्ता देखिने उनीलाई देख्दा गाउँमा विहान देखि बेलुका सम्म टन्टलापुर घाममा पनि पसिना पुछ्दै किसानी काम गरिरहेका आमा बाबुलाई सम्झें । एक छिन गम खाएर भनें विचरा निकै परिश्रम गरेर आएछन् क्यार हाम्रा बा आमाले जस्तै ।
सभासद्हरु काठमाडौको सिहदरबार छिरेको दश महिना पछि कस्ता गम्म परेका हृष्ठपुष्ठ भएका रहेछन् । साँच्चै यीनै हुन् दश महिना पहिले गाउँका तिनै खेतबारी सँग पंखेजोरी खेल्ने हाम्रा बा आमाले जिताएर पठाएका प्रतिनिधीहरु । नयाँ नेपाल निर्माणको गतिलो भाषण गरेपछि एक दिनको हलो विसाएर मत जाहेर गरेका थिए गाउँका किसानहरुले ।
एउटा गरिब किसान अनि विपन्न परिवारको अथवा भनौं र्सवहारा वर्गको पक्षमा संविधान लेख्नको लागि गाउँका विपन्न समुदायको मत लिएर सिहदरबार छिरेका सभासद्हरु दश महिना पछि फेरी गाउँले सँग संविधान कस्तो लेख्ने भनी सोध्न आएको भन्ने गाइगरुइ सुने । यस्तो पो रहेछ गणतन्त्र जे गरेपनि जनतालाई नसोधी नगर्ने । भित्र भित्र निकैं हौसिएँ मनमनै केलाएँ धँन्य छ वीर सपूतहरु तिमिलाई । सभासद्हरुको भेषभुषा रहन सहन उस्तै उस्तै थियो । तर ती सबै उस्तै विचार उस्तै भावना अनि एउटै पार्टीका भने थिएनन् ।
होटलमा एकटन् दुई छिन् होइन दुई दिन पुरै बसे जिल्ला सदरमुकामको एउटा प्रसिद्ध होटलमा । अनि आएको दिनको भोली पल्ट सदरमुकाममै पत्रकार सम्मेलन डाँके । पत्रकारहरु हतारिदै उनीहरुको सम्मेलनमा गए । बाह्र जना सभासद्हरु लहरै उभिए अनि कसैले छाँटे अब जनताको संविधान बन्छ । हामी गाउँ आएको जनतासँग नै सोधेर जनताको संविधान लेख्न । अब भने म जिल्ल परें । जनताले त हिजो नै बताएका हुन् नी यस्तो संविधान लेख है भनेर । त्यही भएर त फरक फरक अनुहारका मान्छेलाई छानी छानी जिताएका हुन् नी जनताले । अनि के ढोंग रच्न आएका होलान् । त्यही पनि चित्त बुझाएँ राम्रै गर्लान भनेर । उनीहरुले प्रश्नपत्र बाडें र भने – यही हो हाम्रो प्रश्न । यीनै प्रश्न पत्र जनतालाई दिएर हामी सुझाव लिनेछौं जनताको । प्रश्नपत्र हातमा थमाएपछि म त जिल्लै परें र परिक्षा दिन उपस्थित भएको एउटा परिक्षार्थी जस्तो ठानें आफूलाई र नियालेर हेरे हाम्रा बाबु आमालाई सोध्ने प्रश्नपत्र । धेरै बेर हेर्दा पनि मैले बुझ्न नसकेको प्रश्न पत्रमा म आफूले चिठ्ठा हाले जस्तै चिनो लगाउँदै जान त सकुला तर मेरा बा आमाले कसरी चिनो लगाउँने खोई म त अल्मल्लमा परें ।
एक हुल सभासद्हरुमा निकै र्सवहाराको वकालत गरेका दश वर्षसम्म हतियार बोकेको पार्टी सभासद्हरुको चाला पनि उस्तै देख्दा भने साँच्चै ठगिएको भान भयो आफूलाई । केही दिन अगाडी क्रान्तिकारी पार्टी आफ्नै सभासद्हरुलाई लगाएको आचारसंहिता पनि मित्थ्या रहेछ ठान्न समय लागेन । उनीहरुका पनि उस्तै रहन सहन उस्तै पहिरन उस्तै बस उठ् अनि कसरी भो त आचारसंहिताको कार्यान्वयन – पार्टी आफ्नै सभासद्को लागि जारी गरेको ११ बुँदे आचारसंहितामा त खानपान, रहनसहन, भेषभुषा आदि इत्यादी कुरामा नियन्त्रण गर्ने कुरा समेटिएको पो थियो । हाम्रा बा आमालाई न त एक दिन मिठो खान पुग्छ न त राम्रो लाउन नै । तर यी सभासद्हरुले जिल्ला सदरमुकामको महंगो होटलमा बसेर एकै दिनमा लाखौं रुपैयाँ खर्चिएर जनमत संकलन गरेर आएको भन्न कुनै लाज नलाग्ने पो रहेछ । त्यसैले आमा तिम्रा कुण्ठा, तिम्रो बेदना समेटिनेमा मलाई पटक्कै विश्वास लाग्नै छाड्यो । बा तिमीले खेतका गरामा थकाई मार्दा पालेको आकांक्षा मित्थ्या रहेछ । पटक पटक ठगिएकै हो आमा हामीहरु । यसपाली मैले त्यस्तो पटक्कै सोचेको थिइन तर भयो कागलाई हर्षन विस्मात । आमा फेरी पनि ठगियौं हामी ।
(स्रोत : ईलम्जुङ् डट काम)