~प्रेम प्रसाद पौडेल~
विसं २०५१ सालमा मामाको आग्रहमा हिमवत खण्डको भागवत प्रवचनका क्रममा डा. सत्यराज थपलिया विरामी पर्नुभएको थियो । सिटामोल खाएर ९ दिनसम्म भागवत प्रवचन गरेका थपलिया घर फर्कदा लौरो टेकेर फर्कनुभएको थियो । घरमा पुगेपछि धर्मपत्नीले यस्तो विरामी पर्दा पनि सप्ताह भन्नुपर्ने भनेर गाली गरेपछि उनको मनमा म अब काम नलाग्ने थोत्रो घुम जस्तो भएछु भन्ने सोचेर उनको मनमा त्यस क्षणको साहित्य सिर्जना गर्ने महशुस हुँदा यो थोत्रो घुमको सिर्जना भएको हो । १३ वर्षको उमेरदेखि थपलियाले नेपाली भाषा साहित्यमा निकै योगदान पु¥याउनु भएको छ ।
विसं २०६३ सालमा श्रीमती रमादेवी थपलियाले प्रकाशन गर्नुभएको उक्त थोत्रो घुम लघुकाव्यमा १११ श्लोक रहेका छन् । उमेश पाण्डेले सम्पादन गर्नुभएको उक्त कृतिलाई न्यू कला अफसेट प्रेस, पुतलीसडकले मुद्रण गरेको छ । अनुष्टुप छन्दमा निगालोको जंगली जीवनदेखि घुम बुनेर प्रयोग गरी थोत्रो हुँदासम्मको एक चक्रलाई विश्लेषणात्मक चित्रण गरिएको छ । बृद्धावस्थामा मान्छेले भोग्ने समस्या र थोत्रो घुमको अवस्थालाई कविताका माध्यमबाट साहित्यकारले साह्रै सहज र सरल तरिकाबाट प्रस्तुत गर्नुभएको छ ।
भीर पाखा पखेरामा पहिले टुस्स टुसाउँदै
जन्म भो वनमा मेरो सर्वोच्च चाहना लिदै
मालिङ्गो अथवा चित्रे निगालो नाम पाउँदै
दुःखै दुःख सही धेरै वनैमा हुर्किएँ कठै ।।
लघुकाव्यको सुरूवातमा कविले निगाले जीवनको कुरा उठाउनुभएको छ । निगालोको जन्म हुँदा ठूला चाहनाका साथ भएको र मालिङ्गो, चित्रे र निगालो नाम रहेको विषय उल्लेख गरिएको छ । निगालोे वनमा हुर्कदै गर्दा परेका विपत वा कष्ठलाई पनि असाध्यै मार्मिक तरिकाबाट कवितामा प्रस्तुती गरिएको छ । हुरी, वतास र हुन्डरी चल्दा दुःख र दुर्दसा खपी झाँगैमा मुन्टिदै बसेको र ग्रीष्मको चर्को घाममा पसिना बगाउँदै जंगली जीवन बिताएको कुरा प्रतिविम्वित गरिएको छ । जंगलमा आगो लाग्दा आमाबाबु मरेका र आफूमात्र बाँचेको कुरा उल्लेख गरिएको छ ।
पानी मुसलधारे त्यो दर्कन्थ्यो बरखाभरि
रुझ्थें म त्यसमा कोही भन्दैनथे कठैभरि
शरद्मा पनि क्वै शान्ति मैले पाइन क्वै दिन
घाँसी आए अहो मेरो सक्थे मुन्टै उडाउन ।।
जंगली जीवन बिताउने क्रममा मुसलधारे पानीमा कसैले पनि कठै नभनेको र अझै मान्छे आएमा मुन्टै उडाउने गरेका वेदनाको चित्रण सरल र जीवन्त रूपमा गरिएको पाईन्छ । हेमन्तको बढ्दो जाडोमा कक्रदै दुःखित भएको लुगलुग काम्दै तुसारो, शीतको ठाटोमा जीवन बिताएको प्रतिविम्व कवितामा गरिएको छ । गाई बाख्रा र अरू रोगको प्रकोपको अवस्थालाई कविले यसरी चित्रण गर्नुभएको छ ।
गाई, बाख्रा गई मेरै मुन्टा, पात चपाउँथे
ख्वैरा लाग्थे सुँढे कीरा शत्रुले झन् सताउँथे
प¥यो बिताउन मैले सँधै जंगली जीवन
त्यसैले असिनाद्दारा चुटिन्थें म कुनै दिन ।।
कवितामा निगालोको साथी जंगली भालु, बाँदर भएको र त्यसबाट कुसंगत हुँदा आत्मज्ञान नभएको तथा दैवले नै हाँसी खुसी भएको देख्न नचाहेको कुरा उल्लेख गरिएको पाईन्छ । अन्त्यमा मान्छेले धारिला हँसिया वा खुकुरीले काटेर सजीव जीवन नष्ट गरेको विषयलाई सरल शैलीमा प्रस्तुत गरिएको छ । निगालोलाई मान्छेले घरमा लगेर चोया बनाएको विषयलाई साहित्यकारले यसरी प्रस्तुत गर्नुभएको छ ।
हाँगाबिँगा सबै खुर्की पारी सरासरी
भारी बाँधी खुसी साथ लगे मानवले पछि
हत्याराले सरी चक्कु, कर्द वा धारिलो छुरी
लिएर नरले मेरै चिरे त्यो देह चर्चरी ।।
यसरी चिरेर गिद्रा, बाता बनाउँदै घाममा सुकाएर राखेको र पछि पानीमा भिजाएर घुम बनाएको विषयलाई कवितामा प्रस्तुत गरिएको छ । प्वालैप्वाल भएको घुम बनाएर भोर्लो वा सालको पात छापेर बनाएको वस्तुलाई मान्छेले घुम भनेर नामाकरण गरेको कुरालाई कविले यसरी प्रस्तुत गर्नुभएको छ ।
डोरी वा पाटको राम्रो उझिण्डो ढाड बाहिर
लगाए भित्र त्यो मुडुलो पनि आखिर
गरे न्वारन मान्छेले मेरो नाम यही रह्यो
कतै घुम, कतै स्याखु, छतरी मुहुना अहो ।।
जिउँदो छँदा परोपकारको इच्छा भएको र मानिसले सजीव देह विनास गरी घुम बनाएपछि परोपकार गर्न पाएर निगालो खुसी भएको आभास पनि कवितामा पाईन्छ । बर्खाको ओडोलाई सुरक्षित गर्न पर्छ भन्दै भिजेमा भार वा घाममा सुकाएको, युवतीहरूले काँखी च्यापेर लिएको दिनको स्मरण पनि त्यहाँ गरिएको छ । बर्खा बित्दै गर्दा अर्का सालको लागि सुरक्षित गरेर राख्ने गरेको सम्झना पनि त्यहाँ गरिएको छ । धेरै वर्ष प्रयोग गरेपछि थोत्रो वा बुढो भएको कुरालाई कविले यसरी पोख्नुभएको छ ।
हप्ता, पक्ष बिते कैंयौं मैना, ऋतु चिप्लिए
घाम, पानी खपें धेरै वषौं वर्ष त्यसै कुदे
बन्दै गएँ पुरानो म बूढो भैकन आखिर
शक्तिहिन भएँ ज्यादै घट्न गै बल बर्कत ।।
यसरी बूढो भएपछि मूल्य र मान्यता घट्दै गएको र बालकदेखि बृद्धासम्म सबैले प्रयोग गर्ने गरेको घुमलाई प्लाष्टिक वा छाताले लोकप्रियता घटाएको कुरा पनि कविले प्रस्तुत गर्नुभएको छ । सुन्दर र सस्ता ओढाउले घुमको अपहेलना भएको र काम सरेपछि मान्छेले पुराना गुण बिर्सेको पनि कवितामा देखाइएको छ । अरू नै वस्तुको उपस्थितले घुम लिएर हिँड्न मान्छेले लाज मान्ने, कालो मैलो घुम वरपर नै नराख्ने, आँखाको कसिङ्गर बनेको, बाख्राका पाठा वा कुकुरले घुममा नै तुक्र्याउने गरेको पनि कविले व्यक्त गर्नुभएको छ । हरिया झिंगा, कुखुरा, बिरला, साङ्ग्ला, भुसुना, सुंगुर, कागलगायतले पनि बूढो भएपछि हेला गर्ने गरेको पनि कवितामा उल्लेख गरिएको छ ।
मान्छेको जीवनलाई घुम वा निगालोको जीवनसँग अत्यन्तै सरल र मीठासपूर्ण शैलीमा वर्णन गर्न साहित्यकार डा.थपलिया सफल हुनुभएको छ । मर्मस्पर्शी भाषा, मीठा शब्द, अलङ्कार, रस र शास्त्रीय छन्दले कविको कविता उत्कृष्ठ रहेको पाईन्छ । कविको कविताले साँच्चिकै भावविभोर बनाउँछ र यथार्थताको चित्रण गर्छ । पाठकलाई प्रत्येक कविताले संवेदनशील पनि बनाउँछ । बालकदेखि बृद्धासम्म सबैलाई मन पर्ने यो ‘थोत्रो घुम’ लघुकाव्य साहित्य संरक्षण र संवद्र्धनमा एउटा कोसेढुंगा बन्न सक्छ । कविको कविता पढ्ने पाठक यो कुरा निश्चित हुन्छ कि यस्ता खाले सिर्जनाले समाजलाई नै कर्तव्यनिष्ठ बनाउन सक्छ ।
डा. सत्यराज थपलिया को कृति समीक्षा
अंक १९ -फागुन ७ २०६७
(स्रोत : रचनाकारको ब्लगबाट सभार)