कथा : काकी

~महेश पौड्याल~Mahesh Paudyal

आज बिहान म केही ढिलो गरी उठें । घाम झुल्केर आँगनभरि पोख्खिन लागेका थिए, कसैको स्कुटर बडो वेगसित आएर मेरो आँगनछेउ रोक्कियो । काकीका छिमेकी बलरामदाइको छोरो पो रहेछ ।

“दाइ, काकीले लिन पठाउनु भएको, काका सारै भए ।”

मलाई केही आश्चर्य लाग्यो । म त्यस घरमा जान छोडेको चार वर्ष भइसकेको थियो । यस संकटकालमा काकीले मलाई सम्झिन पनि सक्छिन् !

हाँस्ने बेलामा हाँस्न नसक्ने, दुःखमा आँसु झार्न नसक्ने, सम्वेदनहीन, निष्ठूर काकीको सम्झनासम्म गर्दा मलाई रिस उठ्थ्यो । म न कुनै साइनोको, न सम्बन्धको । मलाई काकीले माया गरुन्– नगरुन्, त्यस कुराको मलाई केही पर्वाह छैन । तर आफ्नै कोखको छोरो मर्दा दुई थोपा आँसुसम्म खसाउन नसक्ने काकीले आज काकाको दुर्दशामा मलाई लिन पठाइन्, मलाई पत्यार पटक्कै लागेन । आजभन्दा चार वर्षअघि अन्तरे खस्दा म त्यहाँ दूत बनेर गएको थिएँ यो दुःखद् समाचार लिएर । त्यस दिनको अनुभव मलाई एेंठनजस्तो लाग्छ ।

“काकी, अन्तरेलाई गोली लागेछ ।”

मेरा ओठमा कम्पन थियो, मुटुमा असाध्य डर, ढुकढुकीमा विचित्र गति, जीब्रोमा सम्पूर्ण ब्रह्माण्डको भार झुण्डिएजस्तो । डराउनु पनि स्वभाविकै थियो । यी आँखाले धेरै आमाहरूलाई सन्तानको संतापमा लडीबडी गर्दै रोएको देखेका थिए । सायद यहाँ पनि काकीको प्रतिक्रिया उग्र होला, सायद उहाँलाई सम्हाल्न हम्य पर्ला । मैले कोखको नभए पनि मायाको छोरो बनेर काकीको सम्वेदनशील मुटुको गहिरो ममता केही हदसम्म बुझेको थिएँ । पीरै–पीरले थिचेको छाती, नियतिका चट्याङहरूले छिया–छिया बनेको मुटुको निम्ति शुक्ल पक्षको चन्द्रमाझैं दिनहूँ तन र मस्तिष्कमा बढ्दै गरेका दुई छोरा – अन्तरे र कान्छो – उनको लागि आशाका किरण थिए । आज त्यसै अन्तरेलाई गोली लागेको समाचार लिएर काकीका अगाडि उभिनुपर्दा मेरो मन गह्रुङ्गो भएको थियो । म उग्र प्रतिक्रियाका लागि तयार थिएँ । मैले कुखुरीको चल्लोलाई जिस्क्याउँदा या समाउन खोज्दा कुखुरी आक्रमण गर्न आएको देखेको थिएँ, सानो छँदा ।

तर त्यो कस्तो विष्मय !? निहुरिएर सुपारी काट्नमा मस्त काकीको शिर उठ्नसम्म किन उठेन ? अँ, पसलका अगाडि धेरै ग्राहकहरूको जमघट् भएको भए खलबलमा मेरा कुरा नसुुनिनु स्वभाविक थियो । फेरि सडकमा धेरै गाडीहरू गुडेका भए हल्लाले कुरो स्पष्ट नहुनु पनि अपेक्षित हुने थियो । तर यहाँ त चिर–शान्ति थियो । पसलभित्र काकी अनि पसलबाहिर म एक्लै । हुन सक्छ, कुनै गहिरो सोचाइमा परेकाले काकीले मेरा कुरा सुनिनन् । काकीको जीवनमा सोच्नुपर्ने धेरै कुरहरू भने अवश्य थिए ।

“काकी, अन्तरेलाई गोली लागेछ,” मैले थरथर काँप्दै समाचार दोहो¥याएँ ।

प्रतिक्रिया शून्य । सिर यथावत झुकेकै । हात आफ्नै काममा व्यस्त । अँ, प्रतिक्रिया मेरो मनस्थितिले दिइरहेको थियो – उग्र, अस्थिर, भयभित । प्रियतम रत्नको क्षति त्यस सम्वेदनशील हृदयमा बज्र बन्नेछ । सायद क्रोधमा हात उठ्नेछन् । ढक्ले मेरो टाउको फूट्ला । सरौंतो मेरो घाँटीमा बज्रिनेछ । तर मैले साहस गर्नुपरेको थियो, गरें । सोचेको थिएँ, त्यो एउटी आमाको मुटु, त्यहाँ ममताका लहरहरू निरन्तर उठ्छन्, निरन्तर बड्छन्, अनि बग्छन्, अनन्त सरोवरजस्तै । दुःखले त्यस मुटुमा चिरा पर्नेछन्, अनि त्यहाँ मूल फूट्नेछ आँसुको । आँसुको भेलमा सायद ब्रह्माण्डको स्थिरता डग्मगाउनेछ, पत्थरहरू पग्लनेछन्, कालको मुटु पनि पग्लिएर नौनी बन्नेछ । अझ क्यान्सरले खुट्टो मुडिएर ओछ्र्यानमा परेका काकाका कान पर्ने हो भने त उस समाचारले के गति गराउला !?

काकीले मतिर हेर्ने चेष्टासम्म किन गर्नुभएन ? हँ ? मेरो आवाज उहाँले पक्कै सुन्नु भयो । तर ?

काकीको घर आउन–जान थालेको आठवर्ष भइसकेको थियो । मैले त्यस्तो सम्वेदनहीन दृश्य त्यस अनुहारमा कहिल्यै देखेको थिइनँ । पारिवारिक साइनो केही होइन, काकी भनेर बोलाउँथें, आमा भन्न मन लाग्थ्यो । त्यहाँ म पुग्दा घरकै मान्छे आएजस्तो स्वागत हुन्थ्यो, खाए–नखाएको सोधिन्थ्यो, अनि घरका नितान्त आन्तरिक कुरामा मलाई सरिक गराइन्थ्यो । तर त्यस दिन…

म त्यस दिन निश्चयनै संकटको स्थितिमा थिएँ । त्यसदिनको खबरै त्यस्तै थियो – ठूलो स्वरमा भन्न नहुने, चिच्याउन पनि नहुने, ख्यालख्यालमै भन्न नहुने । भन्न चाहे पनि ठूलो साहस बटुलेर भन्नु पर्ने । मुटुमा गाँठो पारेर भन्नु पर्ने, आकाशतर्फ हेरेर भन्नु पर्ने । एक मनले काकीको सम्वेदनहीनतालाई धन्य मानें – केही क्षण भए पनि म सुरक्षित थिएँ, लावा थाम्नु परेको थिएन ।

तर त्यो अप्राकृतिक थियो । आमाको माया यस्तो पटक्कै हुँदैन । अहँ, हुँदैन, ठोकुवा गर्न सकिन्छ । यो असम्भव छ ।

के त्यस दिनसम्म अन्तरेकी आमा भनिने काकी आमा नभएर सौतेनी आमा थिइन त ? सौतेनी आमा भए पनि एउटा कृत्रिक प्रतिक्रिया त अवश्यै आउनु पर्ने । तर कति निष्ठूर हुँदा रहेछन् कुनै कुनै छातीहरू !

म मनमनै उम्लिएँ, “कस्ती आमा ? कस्तो मुटु ? कस्तो निष्ठुर छाती ? कस्ता सुश्क आँखा ? धिक्कार छ त्यो कोखलाई ! ”

अहँ, मेरो मन मानी रहेको थिएन । सबै कुरालाई धिक्कारे पनि ममतालाई धिक्कार्न कदाचित सकिँदैन । ममता त पवित्रतम प्राकृतिक अनुभूति हो । मायाको श्रेष्ठतम अभिव्यक्ति हो ममता, एउटा शाश्वत् तथ्य ।

म स्थितिको बखान गर्न नसक्ने अवस्थामा थिएँ । कतै काकीको दूतसँग केही मनमुटाव त थिएन ? फेरि यो मनमुटाव सम्झिरहन भ्याउने खालको समाचारै थिएन । यो कसैलाई पनि हल्लाइदिने खालको खबर थियो । अहँ, काकी त्यसरी चुप लागेर बस्नु स्वभाविक हैन । त्यो ममताको ओजन जोख्ने बेला थियो ।

मैले अन्तिमपटक प्रयास गरें, एउटा शब्द फेरेर, “काकी, अन्तरे मरेछ । ”

“ए !”

मैले पछि यो कथा मेरा मामालाई सुनाउँदा उहाँले भन्नुभयो, “यो असम्भव छ भान्जा, यस्तो हुनै सक्दैन । तिमीले ठाँट्यौ । ”

तर त्यतिनै थियो काकीको प्रतिक्रिया ।

यति भन्न माथी उठेको टाउको फेरि निहुरियो । ती आँखामा मैले केही देखिनँ । अनुहार सम्वेदनाशून्य । मलाई समाचार सुनाउनु थियो, सुनाएँ । कहाँ, कता, किन, कसरी ः कुरै आएन । मैले भन्ने चेष्टा पनि गरिनँ । आमालाई खोजी–निधि चाहिँदैन भने मलाई के खाँचो ? पल्टनबाटै चिठी आउला र अरु कुरो बुझ्लिन् भन्ठान्दै म हिडेँ । त्यसदिनदेखि आजसम्म म त्यस घरमा गएको थिइनँ ।

दुई वर्षपछि कान्छो पनि गाडी लडेर म¥यो, मैले सुनें । तर म गइनँ । मलाई थाहा थियो, त्यो समाचार पनि कम घातक थिएन । साधारण आमा भए मूच्र्छा परेर उठ्दै नउठ्नु पर्ने । नियतिले दुवै छोरा चुँडेर लग्यो । त्यस घरमा कहिल्यै उज्यालो भएन । त्यहाँ घाम लागेनन् । हामी रोएर के हुन्छ र आमालाई पीरले पोल्दैन भने ?

आज काकीको आफ्नो भन्ने कोही छैन । अतीत जस्तोसुकै होस्, काकीको धर्म जस्तोसुकै होस्, म त्यहाँ जानै पर्छ आज, काकाको मुख हेरेर ।

मैले जाने निर्णय गरें । बलरामदाइको छोरो र म हुरुरु गयौं, स्कुटरमा चढेर । दुईघण्टामा काकीका घर पुग्यौं ।

मैले बाटोमा एक पटक पाप सोचें, “यो बराल्लिएकी आइमाई हो । छोरा मर्दा रुनसम्म नरुने, लोग्ने दुख्दा मलाई लिन पठाउने । ए, छोरा चाहिँ नचाहिने, लोग्ने चाहिँ चाहिने ?” तर मैले तुरुन्तै पश्च्याताप गरें, मैले जानेकी काकी यतिकी नीच चै ह्वैनन् ।

“भाइ, कसो गरौं ? दाइ सारै भए,” मलाई देख्नासाथ दुगुर्दै मेरो छेउ आई बलरामदाइले हस्याङ्फस्याङ् गर्दै भने ।

“कसो गरौं ? अस्पताल लानु पर्छ । काकी, तपाईं के भन्नुहुन्छ ?”

काकीका आँखा अचेत काकाको जीवित शवतिर एकोहोरिएका थिए, मैले मेरा प्रश्नको कुने जवाफ पाइन ।

“काकी, पैसा छन् अलेलि?”

अहिले काकीका आँखा सगरतर्फ फर्किए । सगरमा बादल, कतै रातो रक्ताम्य, कतै सेतो । कुकुर आएर काकीका गोडा चाट्न लाग्यो । कुकुर धपाई पुनः काकी शून्य क्षितिजतर्फ केन्द्रित भइन् ।

“काकी, अलिकति पैसा चाहिन्छ । ”

मेरो आवाज निरर्थक गयो । मलाई क्रोध आएझैं भयो, मनमनै काकीलाई सराप्न थालें म, “द्रव्य पिचास, ती पसलबाट सोरेका रुपियाँ कहिलेलाई साँचेकी ? थाहा छ, मरेका मान्छेको कात्रोमा गोजी हुँदैन भनेर ?”

पैसा बलरामदाइले निकाल्ने भए । तुरन्त गाडीको बन्दोवस्त गरी हामी अस्तपतालतिर लाग्यौं । एक घण्टा नहुँदै हामी गाडीसहित फर्कियौं ।

गाडी आँगनमा रोकियो । हामीले लाश आँगनमा लडायौं । गाडी फिर्ता हुँदा गाउँलेहरूले थाहा पाए, गाउँलेको जमघट बढ्यो ।

बलरामदाई भक्कानो छोडेर रुन लागे । मैले ओठ टोकेर केही भन्ने प्रयास गरें, तर सकिनँ । अब काकीको कोही छैन ।

दुलालबाले शङ्ख बजाए, अरु पनि गाउँले जुटे । आफन्त कोही थिएनन्, सबै इष्ट–मित्र मात्रै थिए । सबैका आँखा रसाए । काकीका आँखा पारि क्षितिजतिर हेरिरहेका थिए ।

यहाँ कसैको पति म¥यो, कसैको सिँदुर पुछियो, जिन्दगीको अन्तिम बत्ती धप्प निभ्यो । काकीका आँखा किन रसाउँदैनन् हँ ? मन किन पग्लिँदैन ? ओठ किन बन्द छन ? के यो बिहे पनि मिथ्या थियो ?

लाश लिएर मलामीहरू हिँडे, घाटतर्फ । काकी पनि हिँडिन् पछि–पछि । काकीलाई देख्दा मेरो मन रिसले चूर भयो । सोचें, “तिमी किन आएकी काकी, तिम्रो को म¥यो ?”

छोरा थिएनन्, आफन्त पनि थिएनन् । एउटा सगोत्रको केटोलाई मुखाग्नि दिन तयार गरियो । लाश चितामा राखियोे, त्यो केटो दागबत्ती दिन तयार भयो । पुल्ठो लिएर लाशको परिक्रमा गर्नलाग्यो ऊ । सबै मलामीहरू स्तब्ध थिए । सबैका अनुहारमा विषाद सहानुभूति थियो, सबै अवाक् ।आखिर के रहेछ र जीवन, क्षणभङ्गुर !

मैले काकीलाई हेरें । आकाश ताक्ने आँखा अहिले चितामा केन्द्रित थिए । मलाई दया लागेर आयो, “काकी, अब तिम्रो कोही छैन । ”

ममा अघिको क्रोध रतिभर पनि थिएन । हुन पनि, काकाको मायाँ नभए काकी खाली खुट्टा हिँडेर घाटसम्म किन आउँथिन् । के हरेक प्रेम आँसुले मात्रै देखाउँछ ? यो समाजले बनाएको एउटा कृत्रिम मान्यता पनि हुन सक्छ । फेरि आइमाई मान्छे भएर पनि पीरमा मन र आँसु थाम्न सक्नु महानता हैन र ?

कति दुखेको होला काकीको छाति ? के थाहा, हामीलाई उनी बोल्न नसक्नुको पीडा । बोल्नेहरू बोल्छन्, पीरमर्का साट्छन्, मन हलुङ्गो पार्छन् । नबोल्नेको कथा कसले बुझ्ने ?

तर काकीलाई बोल्नबाट कसले रोकेको छ त ? बोल्नु नि ! कसले उहाँलाई नरुनु भन्यो ? रुनु नि त ! म पुनः क्रोधित भएँ ।

तर काकीको मन चिरेर कसले हेरेको छ र ? देखेको मात्रै कहाँ सत्य हुन्छ र ? म पुनः कोमल भएँ ।

चितामा आगो झोसियो, डडेलो उठेर आकाश ढाक्न लाग्यो । मैले काकीलाई हेरिरहें । मूर्तिवत् उभ्भिएकी थिइन् उनी, सम्वेदनहीन ।

आगो बल्दै गयो, काकी अलिअलि हल्लिन लागिन् । अझ डडेलो दन्किँदै गयो, उनी अझ नजिक सरिन् चिताको । अरु मलामीहरू पनि यो चर्तिकला हेरिरहेको थिए ।

“यो बहुलाएकी छ,” कर्किनी बूढीले भनी, “यसलाई हेर है, यो आगोमा ओइ¥येली ।”

म झसङ्ग भएँ । ए, काकी कतै बहुलाएकी त हैनन् ? बहुलाउनेहरू त खुब फत्फताउँछन् । रबीन बहुलाएको छ, ऊ हल्ला गर्दै हिंड्छ । बुद्धिमान बहुलाउँदा खुब गीत गाएर हिंड्थ्यो । तर काकी त बोल्दै बोल्दिनन् । अहँ, ऊ बहुलाएकी हैनन् होला । तर सबै बहुलाहरू हल्लै गर्छन् भन्ने छ र ?

डडेलोले चितालाई चारैतिरबाट बे¥यो । काकी लाशको अत्यन्त नजिक पुगिन् । कर्किनी आमै कराइन्, “लौ न लाठे हो, यसलाई समाओ । यो बहुलाई पस्न आँटी लाशमा ।”

लोके काका र मणिकुमार तम्सिए, काकीलाई तान्न । लोकेले के छोएको मात्र थिए, काकीले लात मारिन् उसलाई ।

लोकेलाई लात मारेपछि काकी अझ अघि सरिन् । चिताग्निको तापले उनी असिन–पसिन भइसकेकी थिइन् । उनी ठिङ्ङ उभ्भिइन्, केहीबेर टोलाएर आगोतिर हेरिन् अनि गगनभेदी आवाज निकालेर रुन लागिन्, “ह्वाँ, ह्वाँ । ”

जति डढेलो बढ्दै गयो, उति चर्कँदै गयो काकीको क्रन्दन् । सबै मलामीहरू अवाक् भए, कसैले काकीलाई थुम्थुम्याउने प्रयास गरेन । मैले आश्चर्यसँग काकीका आँखामा हेरें, त्यहाँ आँसु थिए, त्यहाँ भल थियो, समुद्र थियो त्यहाँ ।

काकी केही भन्न पनि थालिन् अब, रुँदा–रुदै, “मलाई कसको भरमा छोडेर गयौ ? म कसको मुख हरेर बाँच्ने अब ! सबै मलाई बहुलाएकी आइमाई भन्छन् । सबै एक–एक गर्दै गए….ह्वाँ, ह्वाँ । ”

धेरैबेर रोइन् काकी, खुब रोइन् । मभित्रको सम्पूर्ण रिस निर्मुल भएको थियो ।

चिता जलिसक्यो, काकाको अवशेष केही रहेन । काकी उठिन् त्यस बिरान ठाउँबाट, यताउति हेरिन्, र मेरो छेउमा आएर उभ्भिइन् । मेलै “काकी” भन्दै उनका हात समाएँ । उनले मलाई हात दिइन् । नौ वर्षअघि मलाई माया गर्ने हात, मेरी आमाका जस्ता ती हातमा, मेरी आमाको जस्तै न्यानोपन थियो ।

नुहाइ–धुवाइ भयो नदीमा । सबै घर फर्किन तत्पर भए । काकी र म पनि उकालो लाग्यौं, अरुसँगै । काकी रोएकी थिइनन् अहिले, फटाफट् हिंडिरहेकी थिइन् ।

फेरि मलाई अलि रिस उठ्यो । अझ रोए हुन्थ्यो काकी भन्ने थियो मलाई । कल्पनासम्म गर्न नसक्ने बाक्लो अँध्यारोको सामुन्ने थिइन् उनी । एक्लै उभ्भिएकी, बेसहारा । त्यति रुवाइले पुगिहाल्यो त ? मैले रिसमै सोचें, “नाटक सक्किइहाल्यो, लोकलाई देखाउनु थियो देखाइहाल्यौ, अब किन रुनु ?”

हामी काकीका घर पुग्यौं । आँगनमा पैयूँ फूलेकै थिए । एक–एक गर्दै मलामीहरू बोक्रे सान्त्वना दिँदै आ–आफ्ना घरतिर लागे । काकीलाई माचमा बस्न लगाएर बलरामदाइ र म अब काजकिरियाको बारेमा सोच्न थाल्यौं ।

“भाइ, जीवनमा भाउजु रोएजति अरु को रोएको होला र !” बलरामदाइले भने । उनको स्वर करुणाले भरिएको थियो । मेरो रिस तुरन्त उत्रियो ।

“मैले त भाउजुलाई बाल्यकालदेखिनै जानेको । बिचरी, चौध वर्षको उमेरमा बिहे गरिदिएर आमाबाउ आसामतिर लागे । बनाएको घरमा डढेलो लागेर सबै श्रीसम्पति सिद्धियो । आँसुसहित भएर मजेत्रोको छेउ थाप्दै घर–घर हिडिन् । बर्सेनीका छोरा चार भाइ, खाउँखाउँ–लाउँलाउँ भन्ने उमेरमा एक–एक गर्दै हैजाले टिपेर लग्यो ।”

दाइका ओठ काँपिरहेका थिए, बोल्न गाह्रो भइरहेको थियो उनलाई । मैले थाहा पाएँ, अन्तरे र कान्छोअघि चारभाइ छोरा बितिसकेका रहेछन् । मबाट आँसु छल्ने प्रयासमा दाइले ओठ टोके, र आकाशतर्फ हेरे । मलाई भक्कानु छुट्दा म पनि यसै गर्छु ।
“अलि–अलि कमाउँदै गरेका दाइ क्यान्सरले पीडित भए । भएको जिलो–जेथो उपचारमै स्वाहा भयो । आखिर काम पनि लागेन ।”

बलराम दाइले फेरि ओठ टोके । मलाई उनीबाट अरु केही रहस्यहरू पनि झिक्नु थियो ।

“साहुहरूले आएर दिनहूँ ताण्डव मचाएको मैले देखेको छु । मान्छेका आँखामा आँसु कति हुन्छ भाइ ? सधैँ चुहुने हो भने त्यो पनि त सकिन्छ नि एक दिन । चोट खपी–खपी, पीर सही–सही भाउजूको मुटु सुकेको छ भाइ, सियोले घोच्दा पनि दुख्दैन उनलाई ।”
काकीको सम्वेदनहीनताको अर्थ मैले अलि–अलि बुझें ।

“उमेरमा भर्ती लागेको अन्तरेले केही कमाएर ऋण तिर्ला भन्दा–भन्दै गोली लागेर म¥यो । त्यो खबर त तिमीले नै ल्याएका अरे, हैन र ?”

“हो,” भनें मैले, र धेरै बोलिनँ । मलाई त्यो दिन सम्झन मन थिएन । त्यो पसलको घटना म बिर्सन चाहान्थें । ”

“अन्तरे जलाउँदा यसै गरी घात गरेर रोएकी थिइन् उनी । मूच्र्छा परेपछि अस्पताल लगियो, दुई सिलिण्डर अक्सिजन दिएपछि मात्रै उठेकी थिइन् ।”

त्यस दिन मैले देखेकी काकी सम्झें । अनि बलरामदाइको आँखा हेरें । अहँ, मैले काकीलाई कति पनि बुझ्न नसकेको रहेछु ।

“कान्छो ड्राइभर हुन नपाउँदै गाडी लडेर म¥यो । दाइ पनि थला परे । केही दिनसम्म आफन्तहरू सुखदुःख बाँड्न आइरहे । तर केही दिनपछि गाउँलेहरू गीत गाउन थाले, आफन्तहरू आउने क्रम बन्द भयो । मन परेका खेर सबैकी प्यारी भइन् भाउजू, मन नपरेका खेर “सन्तान टोक्कुई” कहलाइन् उनी ।”

मैले मनमनै सोचें, संसारका धेरै आमाहरूलाई हामीले बुझ्नै सकेका छैनौं ।

“आज भएभरका आँसु पोखिदिइन् भाउजूले, दाइको नाममा । अबदेखि सायद उनी कहिल्यै रुन्नन् । अब उनका आँखामा आँसु छैनन् सायद । ” बलरामदाइ एक्कासि रोक्किए, पर शान्त उभिएका डाँडातिर हेर्दै । मेरो पनि तल्लो ओठ दाँतमुनि दबेको थियो ।
पछि मैले यो कथा मामालाई सुनाएँ । उहाँको प्रतिक्रिया थियो, “असम्भव । यो हुनै सक्दैन । सबै छोरा मर्छन् ? अनि श्रीमान् पनि त्यसैघरमा मर्छ ? छोरा मर्दा नरुने आमा हुन्छन् ? आँसु कहिल्यै सकिन्छ ? यो कथा असम्भव छ, भाञ्जा, तिमीले ढाँट्यौ ।”
मसँग मामाका प्रश्नहरुको उत्तर छैन । फिल्मजस्ता कथाहरू पत्यारलाग्दा हुँदैनन् । तर म यति मात्रै भन्न सक्छु, बलरामदाइ अझै जिउँदै छन् ।

(स्रोत : रचनाकारको २०६७मा प्रकाशित कथा सङ्ग्रह “अनामिक यात्री”बाट सभार )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.