~शरद देवकोटा~
यो युग युवा पुस्ताको । यो समय युवा पुस्ताको । देश चलाउने युवा पुस्ताले । संविधान बनाउने युवा पुस्ताले । सरकारमा युवा । सांसदमा सभासदहरु युवा । डाक्टर, इञ्जिनियर, शिक्षक सबै पदमा युवा । यो परिवेशमा युवा पुस्ताबिना विकास असम्भव । निर्माण अपुरो । सिर्जना अधुरो । आउनुहोस् हामी सबै युवाहरु हातेमालो गर्दै अगाडि बढौं । युवा एकता जिन्दावाद !
मञ्चमा यस्तै विचार व्यक्त भइरहेका थिए । मञ्चको कार्यक्रम थियो विद्यालयको वार्षिक उत्सवको । कार्यक्रममा प्रमुख अतिथि युवा । सभाध्यक्ष युवा । सञ्चालक युवा । यता पनि युवा उता पनि युवा । कार्यक्रम भव्य । मञ्च भव्य । स्रोता दर्शकमा उत्साह । आयोजकमा उमंग । मन्तव्यसँगै तालीको स्वर लयबद्ध । सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, सम्मानलगायतका कार्यक्रम एकपछि अर्को गर्दै सु–सम्पन्न भइरहेका छन् ।
हेडसरले विद्यालयको प्रगति विवरण सुनाए । जग्गादाता, चन्दादातालगायत विद्यालयलाई सहयोग जुटाउनेहरुको नामावली पढे । नामसँगै उनीहरुलाई फूलमाला, अबिर र दोसल्ला ओढाएर सम्मान गरियो । कार्यक्रम आकर्षक र सभ्य बनिरहेको थियो । दाता र सहयोगीहरुको नाउँ थपिदै थियो । मन्त्री सभासदहरुले सहयोग गर्ने भनेर धमाधम बाचा कबुल गरिरहेका थिए । माघको महिना । दिउँसोपख पारिलो घामले सबैतिर थप न्यानोपन बढाइरहेको थियो ।
‘ए बाजे अलि पर सर त ।’ ए बूढा अलि छेउ लागेर बस ।’ कहाँको बूढो रहेछ । यो बेञ्चमा हामी पो बस्ने हो । तिमी भूइँमा बसे हुन्छ । भनेको किन नटेर्ने हँ ? लौ यिनलाई भनेर हुँदोरहेनछ ।’ एकजनाले उनको पाखुरी समातेर भूइँमा बेस्सरी थचारिदियो । वरपरका युवाहरु थपडी पिटेर हाँस्न थाले ।
दर्शक/स्रोता दीर्घामा हल्ली–खल्ली बढ्न थालेपछि विद्यालयका हेडसर त्यहाँ आइपुगेर हेर्छन् त त्यसरी थचारिमागेका व्यक्ति अरु कोही नभएर त्यस विद्यालयमा सबैभन्दा पुराना र आजसम्मकै जग्गादातामध्येका पहिलो व्यक्ति हर्षबहादुर नै थिए । सत्तरी वर्ष नाघेका हर्षबहादुरले टेक्ने गरेको लट्ठी कुनै बदमासले दुई टुक्रा हुने गरी भाँचिदिएको थियो । त्यही लट्ठीको एक–एकवटा टुक्रा लिएर दुईजना युवा लट्ठे नाचको अभ्यास गर्दै थिए । यो सबै दृश्य हेरिरहेका हेडसरले हर्षबहादुरलाई अस्पताल लैजान एम्बुलेन्स पठाइदिन फोन गर्दा गर्दै भूइँमा थुचुक्क बस्न पुगे ।
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)