कथा : हारिरहने उमेद्धार

~तिपाहाङ्ग फियाक~Teepahang Fiyak

केहि पानाहरु भेटिए। मैले कुनै समय कुनै मोडमा केहि लेखेको रहेछु। शुरुमा आफैले पढे। त्यसपछि एकदम घनिष्ट मीत्रलाई पढन दिए। अनि डियरनेपाललाई पठाए – तपाईले पनि पढिदिनु हुन्छ कि भनेर।

‘तिम्रो व्याग हेरुनँ।’

‘के भनेको?’ व्याग पर सार्दै उसले भनी।

मैले मूण्टो अर्कोतिर घूमाए। उसले मेरो अनुरोध शब्दमा वुझेन । ठिकै छ। ईशारा गर्दा पनि वुझेन । मलाई खूव चिढिन मन लाग्यो। सुतेकोलाई व्यूझाउँन सकिन्छ, सुत्या जस्तो गर्नेलाई….???

‘तिम्ले के हेरुँ भनेको?’

‘भन्दै छु त तिम्रो व्याग’

‘धत …यो मान्छे … के भन्या’ – गाई तर्सेर भागेजस्तै लाग्यो।

‘हेर्छुनि ‘ – वच्चा हुन पाए कति मजा हुन्थ्यो।

‘के … हुदैन  … किन?’

‘केटिहरुको व्यागमा के हुन्छ हेर्न मन लाग्यो।’

‘तिम्रो काम छैन?’

उसको कानमा सिउरिएको कपाल एउटा सप्को वनेर तल झर्‍यो। ऊ निर्दोश तरिकाले मलाई हेरिरहिँछे। हैन मलाई किन ऊ यति राम्री लाग्छ?

मैले उ सँगै गफिएकाहरु तिर हेरेर भने–

‘केटिहरु हेर्न नमिल्ने कुरा बोक्छन कि क्या हो?’

‘तिम्ले सवैको सामू मेरो बइज्जत गर्न खोज्या?’

ला ऊ त आगो भैसकिछ।

‘होइन बम पो छ कि भनेर नि …’

ऊ आफै बम भैसकेकि थिई, धन्य अवचाहिँ पड्किन्।

‘पर तिम्ले देख्यौ।’ – मैले सोधे।

‘के’ – उसलेपनि सोधी।

‘दुईवटा कूर्सी छन्।’ – प्रश्नपनि आफ्नै उत्तरपनि आफ्नै के कराकानी हो यो?

‘मैले के गर्नु त?’ – फेरि प्रश्न। कति प्रश्नमात्र सोध्या होला?

‘गएर एउटा कूर्सीमा बसिदेउन। तिम्रो छेऊमा म बस्छु।’

कलेजमा आज स्ववियू चुनाव थियो। म पनि आएको थिएँ । जब म उसलाई खोज्दै थिए, कसैले मलाई खोजेजस्तो गरेनन्। अरु त अरु नेता भनाउँदाहरुले पनि वास्तै गरेनन्। ठिक छ, मैले अरुको लागी मत मागिन। तर मलाई पनि मत नमाग्नुको अर्थ के? म मतदाता थिइँन? मैले पैसा लिएर मेरो मत किन्नु आइज भनेको थिएँ ? या म एक्लो फूर्के स्वतन्त्र नेता थिएँ ? – मैले केहि बुझिन ।

‘बाल मतलव!’ मैले किन बुझ्नुपर्‍यो ?

तब मैले उसलाई खूव मिहिनतसाथ खोजेको थिए।

बल्लबल्ल उसँग एकान्तमा छु। तर यहाँ उल्टो भइरहेको छ। मलाई खोज्ने अहिले धेरै भएका छन्। आफूलाई मात्र यस्तो लागेको त होइन होला। उसँग बल्लतल्ल कुराको धागो बाट्दै हुन्छु, एउटा आउँछ चुटाउँछ। अर्को आउँछ त्यसै गर्छ। टाढाको होइन आफ्नै नजिकका साथी भनाउँदाहरु आइरहन्छन्।

‘मैले उनीहरु डुल्ने चोकमा चीया पसल खोलेर?’

‘उनीहरुले मात्र घरजम गर्नु भन्ने छ? मैले चाहिँ घरजम बसाल्नु पर्दैन?’

एउटा आउँछ, अल्मलाउँछ। अर्को आउँछ त्यसै गर्छ। केटिको अगाडि लुतेपाडो पनि जङ्गी राँगा हुन्छ। म झन के कम।

‘हान्दिम १/२ जनालाई?’ – साथी/फाथी गोलीमार्दो!!!

आ भैगो शालीन केटिको अगाडि शभ्य हुनैपर्छ। कमसेकम भएजस्तो गर्नैपर्छ। नत्रभने उसलाई मायाजालमा फसाउने प्रतिस्पधाबाट आफै बाहिरिनु पर्नेहोला। यस्तो नियती भोग्न म कहाँ चाहन्छु र? तर उसँग भएको बेला अरु आएर झिंझो गरेको भने पक्कै मन पर्दैन्।

जस्तो कि ….,

हाम्रो छेऊमा २ नेता साथीहरु आए। वहश गर्न लागे भन्या। एउटा काग्रेस प्राइभेट लिमिटेडको विज्ञापन गर्छ। अर्को माओवादी हैकमवादको क्यारीकेचर गर्छ। मलाई वाक्क लागी सक्यो। कति ‘हो नि’ ‘कुरा ठिक हो’ भन्दै स्वर थाप्नु? एक पक्षमात्र भएपो, दुवै पक्षलाई उकास्नु छ। एमाले जस्तै एता–उता सन्तुलन मिलाउनै गाह्रो।

‘तिमीहरुले भनेको कुरामा म असहमत छु।’ भन्नपनि आँट आएन।

किनभने राजनैतिक बहसमा म यिनीहरुलाई सक्दिन। आफ्नो तरुनीको अगाडि कोहि पराजीत हुन चाहन्छ र? राजनैतिक वहश नजान्ने वेबकूफ हुनुपर्छ भन्नेपनि त छैन होला। ठाउँ छोडेरपनि कता जानु (?) हाम्रोलागि यो भन्दा एकान्त अरु ठाऊँ पक्कै छैन्।

‘ओइ तँहरु यहाँबाट जान्छौ कि बोतल उठाम …’

नेताहरु पहिले चुपलागे। कोकको बोतल हेरे अनि वाटो लागे। हो पक्कैपनि मैले हाँसेर नभनेको भए बबाल हुन्थ्यो त्यहाँ।

‘तिम्ले भोट दियौ?’ उसले सोधी।

‘अहँ छैन’

‘सवैले भोट हालिसक्यो त मैलेपनि हाले’

‘ए’

‘अन्त तिमीले भोट नदिने?’

भोटको साटो मेरो चिन्ता गरे हुन्थ्यो नि! कुरा गर्ने विषयनै नभएजस्तो । आफू विहानदेखि अहिलेसम्म उसैलाई खोज्या खोज्यै। भोटदिनको लागी भन्दापनि उसलाई भेट्नको लागी आएको कुरा किन नबुझ्या । एकछिन त वित्थामा आएछु जस्तो पनि लाग्यो।

‘भन तिम्ले कसलाई भोट दियौ?’ मेरो प्रश्न।

‘जीत्नेलाई’

केटिको भित्री मन बुझ्न गाह्रो हुन्छ नै। ऊ त यहाँ सरल प्रश्नको उत्तरपनि नवुझने गरि दिदैंछे। प्रस्ट जवाफ दिएको भएपनि ममा जलन पक्कै हुने थिएन।

‘तिमीचाहिँ कसलाई भोट दिने नि?’ उसले मौनता भङ्ग गरिदिई।

‘हार्नेलाई’

‘मैले जित्नेलाई मत दिएँ भनेर हो?’

उसको सुन्दर आँखा मेरा सामू सिंङ्गेजोरी खेल्न आइपुग्यो।

‘होइन’

‘अनि के त?’

‘म आफूपनि हारिरहने उमेद्धार हुँ त्यहि भएर’

‘तिमी कसरी उमेद्धार भयौ र खै? चुनावमा उमेद्धारी दिएकै छैनौ।’

मेले के भन्ने चुप लागिरहे।

‘मलाई थाहा भएसम्म राजनितिमा तिम्रो चासोपनि छैन।’

‘तिम्ले भन्या ठिकै होला।’

‘खै त मैले जवाफ नै पाइन’ मलाई उस्ले छाडिन।

‘मेरो समर्थन पराजीत हुनेलाई किनभने शायद जस्ले मेरो पराजयलाई महशुष गर्छ’ – यहि थियो मेरो उत्तर।

‘तिम्रो कुरा म बुझ्दिन’ – अवचाहिँ उसले नाँक खुम्च्याई।

‘तिम्ले मलाई र मेरो कुरालाई बुझ्दैनौ र त म हरेक चोटि पराजीत हुन्छु।’

ऊ अझै अलमल्ल छे।

‘तर म हिम्मत हार्दिन। बुझ्यौ ?’

‘वुझे’

‘के बुझ्यौ?’

‘यहि कि तिमी हिम्मत हार्दैनौ।’

ऊ सँग छुटेपछि भोट हाल्न गए। तर मलाई भोट हाल्न नै दिइएन। मैले परिचय पत्र नवीकरण गरेकै थिएनछु। गेट पालेले सवैसामू एकछिन उभ्यायो। कस्तो अप्ठ्यारो लाग्यो भने के भन्ने र। अर्काको वगली मारेर पब्लिक सामू लज्जित भएझै लाग्यो। रिस पनि उठेकै हो।

वाटामा एउटा नेताले पछ्यायो।

‘तिम्ले भोट हाल्यौ?’ ऊ भन्छ।

‘अँ हाले’

‘कसलाई हाल्यौ?’

‘उमेद्धारलाई’

‘त्यो त हो तर मैले भन्न खोजेको …’

‘हाम्रै उमेद्धारलाई’

‘तिम्ले भोट हालेको जस्तो लागेन, खै औला हेरुँ?’

‘तेरो वाउको … मेरो औलामात्र हैन के–के हेर्छस … देखाइदिम्…चल भाग यहाँवाट’

आखीर म पनि त मूर्ति त हैन नि हौ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.