~त्रिभुवनचन्द्र वाग्ले~
साले त्रिभुवन खुच्चिङखाइस्
चौथो अङ्ग भएको धाक खोक्थिस्
देखेको लेख्ने र लेखेको बोल्ने गर्व बोल्थिस्
हाल के छ ? बेहाल छ, हाल !
खुच्चिङखाइस्
बेलैमा तलाई भनेकै हो–
“भन्सार जाऊ संसार कमाऊ”
होइन, चौथो अङ्ग हुन्छु भनिस्
भइस् चौथो अङ्ग
अरूका बारेमा थुप्प्रै मसी सुकाइस्
खुब लेखिस्, लेखाइस्
आफ्ना बारेमा लेख्न नसक्ने
कलममा खुव गर्व गर्थिस्
वादविवाद पनि जित्या’थिस्
“कलम बलियो” भनेर
पोलियो नपुगेको तेरो कलम
नयाँ सडकको जँड्याहा जस्तै
दरोरी टेक्ने भए पो !
साले त्रिभुवन
जितिस् वादविवाद ‘कलम बलियो हुन्छ’
भित्ता नापिस् साले
अब त आफ्नो उचाइ थाह भयो होला नि !
तेस्रो ध्रुवको मुलुकमा चौथो हुनुको गर्व पाल्थिस्
आज त आँखा खुल्यो होला नि, चुत्थो अङ्गको
बिहान बेलुका विभिन्न नामले
रेडियो र पत्रिकामा खोक्थिस्
तेरो ब्रोन्काइटिस् ब्रोडकास्टले कतिको निद्रा भत्केको थियो
कतिको आहार खोसिएको थियो,
साले त्रिभुवन
महादेवका तीननेत्र भन्ने त सुनेको हो
यो हुँदै नभएको चौथो अङ्गको पगरी गुथिस् कसरी
आज निन्याउरो मुखमा
के भो बा ? भन्ने छोरीलाई
किन उत्तर दिन सक्दैनस्
मुख सिएर अवाक–व्रत साँधेर बस्याछस्
साले त्रिभुवन
उतिबेलै मुटु पोले पनि
फोक्सो कोक्याए पनि नखोक भन्याथेँ नि
चौथो अङ्ग हुनुको भोको स्वाभिमानले मानेन भनिस्
परिणाममा आज “कलम बलियो” वादविवादमा मौनब्रत
पुरस्कार पाछस् ।
कविता सङ्ग्रह ‘अकीर्ण आँखाकाट’
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )