कविता : अनिता तिमी एक्ली छैनौ

~छविलाल कोपिला~

अनिता !
जब तिमी आँशुमा जीवन खोज्छ्यौ
तिमी, तिम्रै आँशुमा बगिरहेकी हुन्छ्यौ
अनि, तिम्रै आँशुमा
तिमी जस्तै हजारौं अनिताहरु बगिरहने छन् ।
यसरी, अनिताहरु बगिरहँदा
यहाँ हजारौं–हजार मनहरु भावविह्वल हुन्छन्
अनि, हजारौं सपनाहरु पनि स्तब्ध हुन्छन्
त्यसैले,
अनिता ! तिमी कहिल्यै नरुनू ।

आँशु,
कायरता हो,
तिम्रो आँशुमा
कठोर मनहरु पग्लिदैनन्
तिखा काँडाहरु झुक्दैनन्
बरु, अट्टाहस गरिरहनेछन्
तिम्रो आँशुमा ।
त्यसैले,
तिमी आँशुले पत्थर गलाउन नखोज
कायरताले काँडा झुकाउन पनि नखोज
आँशुले पत्थर गलाउँदा खोज्दा
बरु गल्न सक्छ, तिमी उभिएको माटो
कायरताले काँडा झुकाउन खोज्दा
पहिरो जान सक्छ, तिमी हिडेको बाटो
अनि, खोसिन सक्छ
तिमीले पेट भर्नलाई साँचेको आटो
तर, गल्दैन
अहँ ! गल्दै–गल्दैन पत्थर आँशुले ।
त्यसैले, तिम्रो दृढता र धैर्यतामा
अब, आँशु होइन
आस्था र विचारको बारुद भर्न सिक
उकुस–मुकुस रहेका मनहरुमा
ज्वालामुखी भएर फुट्न सिक
र, शोषण, दमनको कठोर चट्टानमा
मुक्तिको मिसाइल हान्न सिक
अनि मात्र पग्लिन्छन् पत्थरहरु ।

हो, अनिता !
तिमी आँशु झार्नु हुँदैन
आँशुमा जीवन पनि खोज्नु हुँदैन
किनभने, तिमीले अझै
लक्ष्यको उचाइ चुम्न धेरै बाँकी छ ।
उचाई चढ्न उत्साह चाहिन्छ
धैर्यता र दृढता चाहिन्छ ।

हो,
मलाई थाहा छ,
तिम्रो आँशुमा
पीडाका लप्काहरु बलिरहेछन्
भोकका ज्वालामुखीहरु फुटिरहेछन्
र, उठिरहेछन् अभावका छालहरु ।
यिनै पीडा, भोक र अभावको आँगनीमा बसेर
तिमी पाँच रुपैयाँको कापीमा जीवन लेखिरहेछौ
यता, तिमी कापीमा जीवन लेखिरहँदा
आफ्नै झुपडीभित्र जीवन खोजिरहँदा
उता, तिमीजस्तै हजारौं अनिताहरु
जुठो भाँडा मस्काउँदै
बासीभातसंग जीवन साटिरहेछन्,
अँध्यारो कालकोठरीमा
आङमा तेल घस्ने बहानासंगै
मालिकका ओछ्यानहरुमा जबरजस्त
आफ्नो यौवन पोखिरहेछन्
र, अमूल्य जीवन नामसारी गरिरहेछन्
‘कुमारी–आमा’को लालपूर्जामा ।

अनिता !
तिमी जब,
कागजका पानाहरुमा अक्षर लेख्छ्यौ
यता, पानाका अक्षरहरु तिम्रो जीवन लेखिरहन्छन्
उत्साह, धैर्यता र दृढता लेखिरहन्छन्,
दासता र शोषणका विरुद्धमा विद्रोह लेखिरहन्छन्,
अनि, तिमी भोलि उठ्ने बिहानको आशामा
अँधेरी औंसीको रात चिरेर
पूर्णिमाको जून भएर उदाइरहँदा
आकाशमा,
नौ लाख ताराहरु मुस्काउनेछन्
त्यसैले,
हेर ! अनिता,
तिमी एक्ली छैनौ
हो, अनिता ! तिमी एक्ली छैनौ ।

(स्रोत : मार पहुरा डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.