कविता : हेल्लो न्यू इयर ! हाई न्यू इयर !

~गणेश खड्का~Ganesh Khadka

कलरफूल लाइटहरुको चमकता सर्वाङ्ग पोतेर
नवीन आभूषणसँगै रमाएका सकल वयहरु
मसक्क मस्किन्छन्, लचक्क लच्किन्छन्
र, फैलिन्छन् सर्वत्र अर्धनग्न बन्दै नूतन मनहरुको कामुक रौनकता
निमेष-निमेषमा उघ्रंदै फेरी हावामा फिँजिंदै स्वच्छन्द उड्न आतुर
प्रत्येक स्याम्पियनका मादक फिँजहरु सेता-सेता वक्षस्थल नुहाउँदै
अनि भूगोलभरिका असंख्य भोका-नाङ्गा बस्तीहरुको बाटो भुलेर
सम्भ्रान्त इलाकाहरुको साँघुरो आकाश छेड्न अविच्छिन्न गर्जिन्छन्
‘फायर वर्क’ भएर
मिलियन/बिलियन डलरहरु/युरोहरु वायुमण्डलभरि l

यी सब हेर्न लालायित मेरा आँखाहरु ठिङ्ग उभिएका छन् मसँगै
एक सालपछि बल्ल भन्न पाइने वर्षभरि उच्चारण नै गर्न नपाएको
प्रचलित नै भएर के भो नयाँ जस्तै लाग्ने
त्यहि प्यारो शब्दावली पुकार्न व्यग्र ओठहरु
‘ह्याप्पी न्यू इयर’ भन्न हतारिएका मनहरु
सहज आँकलनसहित निर्मिमेष हेरिरहन्छन् मेरा अबोध नयनहरु !

डिसेम्बरको अन्तिम रात भोगाइको पराकाष्ठामा
मदहोशी बनेका बहुरङ्गी कलेजोहरु
बाफिलो स्पर्शमा आलिङ्गनबद्द नवयौवनाहरु
निकट खुसीको नवागमनसँग अङ्गालिन प्रतीक्षारत ढुकढुकीहरु
मिडनाइटपछिको अर्को सेकेन्ड, सायद त्यही हुने छ… ‘न्यू इयर’
सभ्यतासँगै बाँचेको,जमानासँगै रमाएको…एउटा ध्रुवसत्य
च्याप्प समातेर समयको एउटा फुर्को
बुलन्द आवाजले आकाश गुन्जिन्छ… ‘ह्याप्पी न्यू इयर !’

भूगोलको एउटा कुनामा ठिङ्ग उभिएको छ मेरो तन उदेक मान्दै
जबर्जस्त एउटा औपचारिकता अलाप्छ मेरो मन रमिते दीर्घाबाटै
बग्रेल्ती छरिएका रङ्गी-चङ्गी मान्छेहरु
भित्रिसकेको न्यू इयर
लागिसकेको जनवरी वान
उमङ्गको आशावादी हाँसो निकाल्छन् फोहराझैं ओठहरु
गलललललललल………
‘ह्याप्पी न्यू इय……..र !’

सम्झिन्छु- हेपिएको मेरो वैशाख एक
कल्पिन्छु- होच्च्याइएको मेरो नयाँ वर्ष
विश्वसभ्यतासँगै ग्लोबलाइजेसनले दिएको
युनिभर्सल मान्यतामा दौडिऊँ कि म पनि…?
आँखाभरि सजाएर बुकी र लालीगुराँस l

अचेल त
सापटी लगेको छ कसैले हार्दिकता बोक्ने मुटु
लिलाम बढाबढमा छ शुभकामना दिने मन
मन-मुटु नै आफूसँग नभएपछि के रह्यो र ?
आँखा चिम्म गरेर ब्रह्माण्ड हाँक्छन् अर्धवेहोश ओठहरु
ह्याप्पी न्यू इयर टु ‘मम ड्याड’
ह्याप्पी न्यू इयर टु ‘स्वीट हार्ट’
ह्याप्पी न्यू इयर टु ‘डियर किड्स’
ह्याप्पी न्यू इयर टु ‘ब्रो-सिस’
ह्याप्पी न्यू इयर टु ‘गर्ल्ज एण्ड गाइज’
ह्याप्पी न्यू इयर टु ‘अल फ्रेन्ड्स !’

लौ त अब
यहि मेसोमा,यहि फेरोमा, यहि लर्कोमा
एउटा औपचारिकता नयाँ वर्षलाई मेरो पनि
अझ यसो भनिदिऊँ ‘न्यू इयर’ लाई
अङ्ग्रेजी नयाँ वर्षलाई के नेपालीमा बोलाइरहनु
अङ्ग्रेजीमै –
‘वेल कम टु न्यू इयर !’
‘ह्याप्पी न्यू इयर !’
‘हेल्लो न्यू इयर ! हाई न्यू इयर !’

ooo

( कविता सङ्ग्रह : ” हिउँले आगो पगालेर ” बाट l )

भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.