कथा : मानव डिभाइस

~भुवन त्रिपाठी~BhubanTripathee

“ए सर! तपाईँको साथमा के छ?”

“पैसा छ ।”

“पैसा बाहेक अरु केही छ कि?”

“बैङ्कमा आउँदा पैसा बाहेक अरू के हुन्छ र?”

“तपाईँको साथमा केही मेसिनरी सामान भएको सङ्केत दिन्छ त सुरक्षा परीक्षणमा?”

“मेरो साथमा केही मेसिन छैन त ।”

“मोबाइल छ ?”

“मोबाइल त छ ।”

बैङ्कको प्रवेशद्वारमा सुरक्षा जाँचको लागि खटिएको सुरक्षा गार्ड र बैङ्कमा पैसा जम्मा गर्न गएको ज्यासनबिच यस्तै संवाद चल्दै थिए । संवादलाई निरन्तरा दिँदै सुरक्षा गार्ड -“मोबाइल दिनुहोस् त!”

गोजीमा पट्याएर राखेको पेपर थिन मोबाइल झिकेर दियो । पेपर थिन मोबाइल नेपालमा भने कमैले मात्र प्रयोग गरेका थिए । केही विदेशी संस्थामा काम गर्ने कर्मचारीले मात्र यस्तो मोबाइल बोक्ने अवसर पाएका थिए । सुरक्षा गार्डलाई यस्तो मोबाइलको बारेमा थाहा रहेनछ क्यारे- “कागज दिनु होस् भनेको होइन; मोबाइल दिनु होस् भनेको क्या ।” ज्यासनलाई सुरक्षा गार्डको अनविज्ञता राम्रैसँग थाहा भयो र भन्यो- “दाइ ! यो पेपर थिन मोबाइल हो ।” उत्तर दिँदै गर्दा पट्याएको मोबाइल खोलेर सामान्य फिचर देखाइ दिइसकेको थियो । सुरक्षा गार्ड अलि लजाएको महसुस गर्दै आफ्नो साथमा त्यो मोबाइल राख्दै पुन: परीक्षण मेसिनद्वारा ज्यासनलाई परीक्षण ग-यो तर अँझै ज्यासनसँग अवैध सामान भएको सङ्केत दिँदै थियो । केही बेरमा सुरक्षा गार्डले अर्को सहयोगीलाई बोलाएर ज्यासनको सबै शरीर छामछुम पारे तर केही अवैध चिज भेट्न सकेनन् । ज्यासन केही असजिलो महसुस गर्दै थियो । आफ्नो साथमा कुनै अवैध प्रकारको चिज नहुँदा नहुँदै पनि परीक्षणमा त्यस्तो देखिनुमा त्यो मेसिनको गल्ती हुनु पर्छ भन्नै सोच्दै –”ए गार्ड दाइ ! त्यो मेसिनले नै सही तरिकाले काम नगरे जस्तो छ ।” गार्ड आफ्नो परीक्षण मेसिन नबिग्रिएको तर्क स्वरूप- “अरु मानिसहरूलाई पनि त्यस्तै देखाउन पर्ने तर देखाएको छैन त !” गार्डको कुरा पनि ठिकै हो तर आफूसँग केही नहुँदा नहुँदै पनि त्यस्तो सङ्केत देखिए पछि ज्यासन अन्योलमा परेको छ ।

फरक फरक विभागका कर्मचारी महिनाको एक एक चोटि विदेश भ्रमणमा पठाउने अफिसको नियम अनुसार यस पटक एकाउन्ट सेक्सनका कर्मचारी स्थलगत भ्रमण एव म नयाँ परियोजनाको सम्झौताका लागि दक्षिण अफ्रिका गएका र डिपोजिट गर्ने पैसा करोडको एमाउन्टमा भएकाले डिपोजिट गर्नको लागि ज्यासन जानु परेको थियो । सबै कारोबार अनलाइनबाट हुने भए पनि कहिले काहीँ कुनै कुनै संस्थाबाट नगद प्राप्त हुने भएकाले त्यो नगदलाई डिजिटलीकरण गर्न बैङ्कमा जानु पर्ने बाध्यता कायमै थियो ।

गार्डले बैङ्कभित्र जान नदिएर फर्कनु पर्ने स्थिति सिर्जना हुँदा अपमानित महसुस गरेको ज्यासन आफ्नो पेपर थिन मोबाइलमा नम्बर डायल गरेर अफिसमा फोन गर्न खोज्दै थियो । पुन: फोन गर्नुभन्दा अफिसमा नै जान उपयुक्त महसुस गरी फोन डिस्कनेक्ट गरी फर्कन खोज्दै थियो । बैङ्कको गेटमा केही समयदेखि भएका क्रियाकलाप सिसी टिभीमा हेरेको कर्मचारी आएर ज्यासनलाई फर्कनबाट रोक्दै उसको परिचय पत्र मागेको थियो । ज्यासनको परिचय पत्र देख्ने बित्तिकै उसले सहजै तरिकाले बैङ्कभित्र जान दिएको थियो । देशको ‘क’ वर्गको बैङ्क भए पनि विदेशी कम्पनी त्यसमा पनि अमेरिकाबाट सञ्चालित भनेपछि धेरै प्रति प्रश्न नगर्ने परिपाटी नै बनिसकेको थियो । बैङ्कमा पैसा त जम्मा ग-यो तर अघि परीक्षणमा अवैध चिज भएको सङ्केत किन देखायो भनेर सोच्न बाध्य थियो । सोच्दा सोच्दै कति चाँडो अफिस पुग्यो भन्ने कुरा आफ्नो कार्य कक्षमा छिर्ने क्रममा सेन्सरले जानकारी प्राप्त गरी अटो कम्प्युटर अन हुन लाग्दा पत्तो पाएको थियो । भोलि पेस गर्ने नयाँ परियोजनाको निम्ति प्रपोजल तयार गर्न लागिसकेको थियो ।

घर परिवार, आफन्त र साथी भाइहरूले त्यस्तो सामाजिक स्वभावको ज्यासन कसरी यस्तो एकोहोरो भयो? किन कसैले भनेको पनि वास्ता गर्दैन? भनेर धेरै प्रश्न उठाउँदै आएका थिए । विदेशी संस्थामा जागिर खान थालेपछि त हामीलाई बिर्सन थाल्यो; भन्ने ज्यादै गुनासो हुन्थ्यो तर ज्यासनलाई कुनै मतलब थिएन । दिनको बाह्र घन्टा अफिसको कार्यकक्षमा बिताएर घर फर्केपछिको बाँकी समय पनि आइप्याड, प्याम टप र मोबाइलको स्क्रिनभन्दा पर बस्न सक्दैन । उसका परिवार, साथीभाइ, श्रीमती भनेका साइबर उपकरण र यसको सञ्जाल नै हुन् कि जस्तो देखिन्थ्यो । सुत्न पनि यिनै प्रविधिसँग सुत्ने गर्थ्यो । बाबुआमाको जोडले गर्दा विवाह त ग-यो तर श्रीमतीसँगको सेक्सभन्दा साइबर सेक्स नै उसको लागि प्रिय थियो । सपना पनि साइबर सञ्जालको भर्चुअल स्पेसमा रमेको नै देख्थ्यो । सबै कुरा डिजिटल सेवामा रम्न चाहने ज्यासनको लागि खाना खाने र पचाउने व्यवस्था पनि डिजिटल भए अँझ राम्रो हुन्थ्यो जस्तो देखिन्थ्यो । अफिसको काम र साइबर सञ्जालको दायराभन्दा बाहिर रहन पर्दा ज्यासनको टाउको एकाएक भारी भएर आउँथ्यो । मोबाइल सेटमा नोटवर्क कभरेज बिच्छेद हुँदा मोबाइलमा आउने सङ्केत जस्तै गरेर ज्यासनको दिमागमा कट्याक्क आवाज आएको महसुस हुन्थ्यो । केही चिजले टाउको थिचे जस्तो हुन्थ्यो। त्यसपछि पुरै शरीर काप्न थाल्थ्यो ।

कलेज पढ्दा ज्यासन कम्प्युटरका स्क्रिन अगाडि बसेर अध्ययनको लागि नयाँ खोज र मनोरञ्जनात्मक क्रियाकलाप गर्न पाउँदा धेरै चोटि कम्प्युटर र इन्टरनेटका जन्मदातासँग अनुगृहित भएको थियो । माछालाई पानीबाट केही बेर बाहिर ल्याउँदा श्वासप्रश्वासमा समस्या आएर छटपटाउन थाले जस्तै अन्तर्राष्ट्रिय संस्थाको जागिर र साइबर सञ्जालको दायराभन्दा बाहिर जान खोज्दा अस्वभाविक रूपमा शिरमा गह्रौँ हुनुको साथै अन्धकारको खाडलमा भाँसिए जस्तो हुन्थ्यो । टाउकोमा पीडा हुँदासम्म त ज्यासनलाई मात्र थाहा हुन्थ्यो क्यारे! तर पछि पछि त एक तमासले शरीर कामेर असहज स्थिति सिर्जना हुन थालेपछि श्रीमती र बाबुआमाले डाक्टरसँग परीक्षण गराउन धेरै जोड गरेका थिए तर उसको जिद्धीको अगाडि केही लागेन । श्रीमतीले त यो जागिर छोडेर अर्को जागिर सुरु गर्न धेरै प्रोत्साहन गरेकी थिइन् । त्यो कुराले झन बढी नकरात्मक स्वभावमा वृद्धि भएको थियो । त्यसपछि त परिवारका सदस्यहरू उसलाई जागिर छोड्न, साइबर प्रविधिको संसारबाट बाहिर आएर चाड, पर्व, सभा समारोहमा जानको लागि आग्रह गर्न समेत छोडिसकेका थिए ।

बैङ्कमा भएको घटनापछि भने ज्यासनको शरीरमा एकाएक अँझ बढी पीडाको महसुस हुन थालेको थियो । त्यसपछि भने डाक्टरकोमा जाने मानसिकता बनाएर गएको पनि थियो । प्रारम्भिक रूपमा उसको रोगको विशेषताको आधारमा ब्रेनमा ट्युमर हुन सक्नेसम्मको आशङ्का डाक्टरले गरेको थियो तर ज्यासनले यो कुरामा विश्वास गरेको थिएन । डाक्टरी परीक्षणको अन्तिम रिपोटमा भने कुनै समस्या देखाएन। फिजिसियनहरूले आफ्नो मेडिकल रिपोटमा कुनै समस्या देखाउन नसकेपछि उनीहरूले साइकोलोजिस्टसँग कन्सल्ट गर्न सुझाएका थिए तर ज्यासन आफूलाई पागल बनाउन थाले भनेर मनमनै रिसाउँदै साइकोलोजिस्टसँग नजाने निर्णयमा पुगेको थियो । हस्पिटल जाँदा केही रोग नरहेको देखाउने तर बैङ्क र अन्तर्राष्ट्रिय विमानस्थलहरूमा जाँदा अवैध चिज बोकेको सङ्केत देखाउने यी दुइटा नमिल्दा कुराले केही हदमा सताएको थियो । जब उसको सेन्सले अफिसको काम गर्ने बेला भयो भनेर ज्ञान प्राप्त हुन्थ्यो तब अफिसको कामलाई निरन्तरता दिन थालेपछि भने सबै खालका तनावले छुट्कारा पाउँथ्यो ।

कम्प्युटर इन्जिनियरिङ गरेर अमेरिका गएको ज्यासनको बाल्यकालको साथी अमृत शर्मा देशमात्र परिवर्तन गरेको होइन नामै आइजेक राखेर आएको थियो । आइजेक दस वर्षपछि के उद्देश्यले नेपाल आएको हो; धेरैलाई थाहा थिएन तर उसका बाबुआमाहरू आफूलाई भेट्न आएको हो भनेर मख्ख परेका थिए । ज्यासनलाई भेट्न सिधै उसको घरमा पुग्दा ज्यासन अफिसतिरबाट आएकै थिएन । ज्यासनका बाबुआमासँग केहीबेर भलाकुसारी गर्ने अवसर मिलेको थियो । छोराको एकोहोरो स्वभाव र आफूहरूलाई कुनै वास्ता नगरेकोमा उनीहरूले गुनासो गरेका थिए । बाबुआमा र स्वय म ज्यासनकी श्रीमतीले बताए अनुसार ज्यासनको लगाव र स्वभाव हेर्दा ज्यासनको शरीरमा कुनै न कुनै प्रकारको कम्प्युटर चिप इन्बिल्ट गरी सर्भरद्वारा निर्देशित गरिएको कुरा आफ्नो व्यवसायिक ज्ञानको आधारमा शङ्का गरेको थियो । ज्यासन आएपछि आइजेकलाई थाहा भयो कि अमेरिकामा उनीहरूले उत्पादन गरेकोभन्दा अँझ एडभान्स चिप र वेब नेटवर्क सफ्टवेयर प्रयोग भएको देख्दा आश्चर्यमा परेको थियो ।

आइजेक ज्यासनका बाबुआमाले अत्यन्त आग्रह गरेपछि ज्यासनको शरीरमा इन्बिल्ट गरिएको माइक्रोचिप र नेटवर्क डिस्कनेट गर्न लगातार दस दिनदेखि ज्यासनको घरमा बसेको थियो । सर्भरबाट डिस्कनेक्ट नगरी सल्यक्रिया गरेर चिप निकाल्दा मानिसको ज्यान तलमाथि पर्ने भएकाले यति लामो प्रयास गर्नु परेको थियो । ज्यासन भने १२ घन्टा अफिसमा बिताएर आए पछि आफ्ना पुरानै क्रियाकलापमा संलग्न हुन्थ्यो ।

लामो प्रयास पछि पनि आइजेक सफल बन्न सकेन । ज्यासन डिभाइसलाई डिस्कनेट गर्न लागेको जानकारी प्राप्त गरेको सिस्टमले नेटवर्क वेव एव म आइपी हाइड गर्नुको साथै एन्टी सेक्युरिटी रिक्सलाई प्राथमिकता दिइसकेको थियो ।

अन्त: इन्जिनियर आइजेकले ज्यासनलाई उसको वास्तविक समस्या बतायो । त्यसपछि ज्यासनको यन्त्र नियन्त्रित दिमागले पनि केही सोच्ने प्रयास गरेको थियो । मास्टर्स तहमा समाजशास्त्र विषयमा गोल्डमेडल प्राप्त गरेको ज्यासन नेपालमा कार्यालय रहेको विदेशी संस्थाको लोभ लाग्दो जागिरको पद देखेपछि त्यस संस्थामा आवद्ध भएको थियो । सबै परीक्षामा सफल भएको ज्यासनलाई अन्तिम नियुक्तिको लागि प्रयोगशाला कक्षमा लगिएको थियो । प्रयोगशालामा विभिन्न सर्वरबाट मन्द आवाज आएको र तिनतिरका भित्तामा प्रतिविम्बित तस्बिरमा आफ्ना पचासौँ आकृति देखेको ज्यासनले एक छिन पछि भएका क्रियाकलापको बारेमा खासै जानकारी प्राप्त गर्न सकेन । केवल एक घन्टा पछि आफ्नो लागि निर्धारण गरेको अफिसको कार्यकक्ष र कम्प्युटरको स्क्रिनमा देखिएका कार्य योजनाहरूको विवरण मात्र याद गर्न सकेको थियो । अफिसमा हाजिर पनि गर्नु पर्दैन तर सबै कर्मचारी समयमा नै आउँछन् । बोसको निर्देशनबिना नै दिलो ज्यान दिएर काम गर्ने संयन्त्र कसरी निर्माण भयो? भन्ने बारेमा ज्यासनले कहिल्यै सोच्ने फुर्सद पाएन ।

नेपालका कतिपय कार्यालयहरूमा आफ्ना कर्मचारी समयमा नै आऊन्, निर्धारित समय पुरा गरेपछि मात्र जाऊन् भन्ने उद्देश्यले थम्प एटेन्डेन्स सिस्टमबाट हाजिर गराउने प्रचलन धेरै पुरानो भइसकेको थियो । वर्डवाइज रूपमा काम गर्ने यस संस्थामा कर्मचारी नियुक्त गर्ने क्रममा नै उनीहरूले जानकारी नपाउने गरी कार्यालय भित्रकै अत्याधुनिक प्रयोगशालामा लगेर प्रत्येकको शरीरमा माइक्रो चिप जडान गरेर सफ्टवेयर अर्थात् सर्भरसँग कनेक्सन गराइन्थ्यो । त्यसपछि सबै कर्मचारी एका एक आफ्नो व्यक्तिगत जीवनलाई तिलाञ्जली दिएर केवल अफिसको काममा केन्द्रित हुन्थे। अफिसको सर्भरमा व्यक्तिको विवरण इन्ट्री भइसकेपछि मानिसमा प्रयोग भएको डिभाइस कथमकदाचित सर्भरको नेटवर्कबाट बाहिर जाने प्रयास ग-यो भने मानव डिभाइसले असहज अवस्थाको सामना गर्नु पर्ने भएकाले मानव डिभाइ सर्भरबाट बाहिर जान चाहादैनन् । ज्यासन डिभाइसले यस्तो असहज अवस्थाको सामना धेरै चोटि गर्नु परेको थियो । सर्भरमा इन्ट्री भइसकेपछि एउटा मानव डिभाइस होस् अथवा यान्त्रिक डिभाइस होस् कम्पनी सञ्चालकले बराबर ठान्थ्यो र सोही अनुसार व्यवहार गर्थ्यो । प्रत्येक कर्मचारीको नामलाई कम्प्युटर डिभाइसको पार्टको जस्तै सङ्केत गरी सोही अनुसार डाटा सेभ गर्नुको साथै सर्भर मार्फत् निर्देशन प्रेषित गर्दथ्यो ।

नेपालमा जन्मेर कम्प्युटर इन्जिनियरको पढाइसकेर फरदर स्टडी अमेरिकाबाट पुरा गरेको आइजेक कम्प्युटरका प्रत्येक चिप-चिपमा आफ्नो रगत र क्षमता लुकेको महसुस गर्थ्यो । दस वर्षको अवधि पछि नेपाल आउँदा नेपालमा समेत प्रविधिको यति धेरै विकास भएको देख्दा आफ्नो लागि ठुलो चुनौतीको पहाड खडा भएको महसुस गरेको थियो । ज्यासनको घरमा स्थापित साइबर नेट्वर्कबाट मात्र ज्यासनको नेट्वर्क तोड्न नसक्ने निष्कर्षमा पुगेको थियो । अमेरिकाबाट हार्डवेयर र सफ्टवेयरका सञ्जालबाट डिस्कनेट भएर नेपालको प्रकृतिमा केही समयको लागि रम्न आएको आइजेक आफ्नो साथी ज्यासनका बाबुआमाको आग्रहलाई पुरा गर्नै पर्ने दबाबमा ज्यासनसँग उसको अफिसमा जाने निर्णयमा पुगेको थियो । साइबर दुनियाको विज्ञ ठानिएको आइजेक पूर्व तयारीका साथ ज्यासनको अफिसमा पुगेको थियो । आइजेक अमेरिकन परिचयको आधारमा प्रयोगशालामा प्रवेश गर्ने अवसर पाएको थियो । प्रयोगशालाबाट बाहिर निस्कदा त केही फेरिएको अनुहारमा देखिएको आइजेक अब अमेरिका नफर्कने र सबै कुरा त्यागेर त्यही अफिसमा काम गर्ने निर्णयमा पुगेको थाहा पाउँदा ज्यासनका बाबुआमा अँझ बढी निराश भएका थिए । आइजेक भने बैङ्क, विमानस्थल आदिका सुरक्षा परीक्षणले समेत कुनै सङ्केत प्राप्त गर्न नसक्ने सिस्टम विकास गर्न सकेकोमा मख्ख थियो भने अर्कोतर्फ सबै नेपालीको शरीरमा माइक्रो चिप जडान गरेर सर्भरबाट नियन्त्रण गर्ने डिभाइस बनाउन कति समय लाग्ला भनेर हिसाब किताब पनि गर्दै … …. …थियो ।

(लेखन: २०७१, साउन)

(स्रोत :’खगोलीय सम्मेलन’ कथा सङ्ग्रहबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.