~सुभाष लामिछाने~
गाउँभरि लोके दाइ एकाएक ‘सेलिब्रेटी’ भएका थिए । हरेकका मुखमा लोके दाइ नै झुण्डिएका हुन्थे । चौतारोमा गएर नेताजी स्टाइलमा गफ छाँट्नु लोके दाइको दैनिकी जस्तै भएको थियो ।
बाफरे बाफ, तिनलाई सुन्ने भीड पनि कत्रो हो ! लंगौटिया यार नरेसँगै भीडको रमिते बन्न म पनि चौतारोमै कैयौंपटक हाजिर भएँ । हुन पनि चिनिदै नचिनिने भएर फर्केका थिए लाहुरबाट ।
टाउकामा क्यापटोपी, जीउमा जिन्सको पाइन्ट र लाम्बाउले रातो सर्ट, काँधमा गीत बज्ने रेडियो, नाडीमा सिको फाइब अनि गोडामा गोल्डस्टार !
उनलाई देख्नेमध्ये छक्क नखाने कोही थिएन । कहाूका जाने बेलाका तिनी झुत्रे लोके, कहाँका यिनी झिलिमतोर लोके ! सुनाउनलाई उनीसँग जति पनि किस्सा थिए– कालापारका, बम्बैका, लाहुरका, लखनउका । साबुन, मिठाई, बिजुली, घर, गाडी, रेल, फिलिम, हिरो, हिरोनीका बयान गरेर उनी कहिल्यै थाकेनन् ।
उनी सुनाउँदै जान्थे, हामी कल्पिंदै जान्थ्यौं । आखिर धक्कु लगाउनलाई उनीसित संसार थियो, हामीसित सुन्ना । नरे भन्थ्यो– बुझिस्, एकदिन हामी पनि लाहुर जानुपर्छ ।
गाउँका बुज्रुकहरु भने लोके दाइ अनि ठिटाहरुले गरेको उनको वाहवाहीले खिन्न थिए । ‘पाँच–पाँच वर्षसम्म अर्काको देशमा गएर जुठा भाँडा माझ्नु छ, गोरुझैं जोतिनु छ, बचन सहनु छ अनि घर आउने बेला पैसाको नाममा नाथे डेढ हजार ! अझ उसकै फूर्ति ज्यादा ! यतै केही नोकरी खोजेको भए आजसम्म कति प्रगति हुँदो हो !’ पल्लाघरे काकाले एकदिन बासँग गफैगफमा भनेको सुनेको थिएँ ।
लोके दाइ त जम्मा पन्ध्र दिनको छुट्टीमा आएका थिए, फर्किहाले । तर उनको चर्चा भने गाउँमा लामै समय चलिरह्यो । नरे घरीघरी भन्थ्यो– बुझिस्, फिलिममा खेल्ने हिरोहरु ठ्याक्कै यस्तै हुन्छन् दुरुस्तै हाम्रा लोके दाइजस्ता ।
‘हेर केटा हो ! त्यहाँ त नूनबिनाको तिहुन पनि नुनिलै हुन्छ । छोड्दे यस्ता खेतबारी जोत्न !’ लोके दाइले गरेका कुराले सपनामा पनि पछ्याउन थालेका थिए ।
हुन पनि गाउँमा दिक्दार लाइसकेको थियो । सधैंको त्यही दालभात, त्यही तिउन, त्यही गोरस ! मेरो स्वादे जिब्रो वाक्कै भएको थियो । ग्वाला गयो, खेत जोत्यो, खोलामा माछा मार्यो, गाउँ चहा¥यो, किस्सा खत्तम ! उही लयमा बिहान हुन्थ्यो, उही तालमा साँझ बित्थ्यो । गोठका वस्तुभाउ हुर्काउँदैमा आफू त कहिले हुर्किसकेछु, पत्तै भएनछ । पढाइ हापेको पनि वर्ष दिन भइसकेको थियो । दुई–दुई घण्टाको उकालो हिडेर पनि को स्कुल जाँदो हो ? त्यो पनि बिनाकारण मुर्गा बनाउने बाउँठा सरहरु भएको स्कुल ! बाह्रखरी कण्ठै थियो, त्यो भन्दा बढ्ता जानेर के नै नापिन्थ्यो र ? हात्ती थोडै पढेर ठूलो भा’को हो ?
एकदिनको कुरा हो, एक्कासी हनहनी ज्वरो आयो । दिनभरि घरमै सुतें । आमै माइत गएकी थिइन्, बा पनि घोडामा अलि टाढै जानुभा’थ्यो । सुत्दासुत्दै मनमा नानाथरी कुरा खेल्न थाले– साला, यस्तो चुत्थो जिन्नगी पनि के जिन्नगी ! तीन–चार दिनसम्म त्यस्तै भइरह्यो– अर्थात् अथाह औडाहा ! न राम्रोसँग भोक प्यास लाग्यो, न गतिलो निद्रै प¥यो । बेचैनीसँगै मुटुको धड्कन पनि एकतमासले बढेको थियो । एक किसिमले होपलेस भइसकेको थिएँ म । त्यसै–त्यसै आलस्य लागेर आउँथ्यो, केही गर्ने जाँगर चल्दैनथ्यो । उता दिमागमा मिठाइ, बिस्कुट, चाउचाउ, फिलिम, हिरो, हिरोनी, लोके खेल्थे । यता मुखभरि पानी रसाइरहन्थ्यो । कुनै ‘साइकियाट्रिस्ट’ कहाँ लगेको भए ‘डिप्रेसन’ भन्दिदो हो ।
बा–आमा फर्किदा ज्वरो त ह्वात्तै घटेको थियो । तर बेचैनीको पारो चाहिं उक्लेको उक्ल्यै थियो । कसलाई सुनाउनु यो छटपटीको पीडा ? बासँग भन्न आँट थिएन । आमैलाई भनूँ, उल्टै उनलाई पनि पीर बोकाउनु मात्रै हो । साना भाइबहिनीलाई भनेर झन् के काम ? आखिरमा नरेकै शरण पर्ने निधो गरियो । तर उसलाई मेरो कुरा सुनाउनुअघि नै ऊ मेरो घर आयो र सुस्तरी भन्यो–
‘तँ सँग एउटा जरुरी कुरा गर्नु छ ।’
‘कुरा त तँ सँग पनि मैले जरुरी नै गर्नुथ्यो, ठीकै छ पैले तैं सुना ।’ मैले भनें ।
साँझपख राम्दी खोला किनारमा जरुरी बैठक रहेको र त्यहाँ म आउनैपर्ने उर्दी जारी गरेर ऊ टाप कस्यो । के, किन, कसरी कुनै सवाल गर्ने मौकै दिएन बज्याले । केही जरुरी चीज नै होला भन्ठानी भनेकै टाइममा भनेकै ठाउँ पुगें । मलाई नै कुरेर बसिरहेको थियो नरे । हत्त न पत्त दुईजनाको संयुक्त बैठक बस्यो– गोप्यरुपमा । हुन त यस्ता बैठक हामी बेला–बेला बसि नै रहन्थ्यौं तर यो बैठक अलि गम्भीर हुँदै थियो ।
नरेले अति गम्भीर प्रस्ताव फ्याँकेको थियो– लोके दाइ बन्ने अर्थात् लाहुर जाने ।
प्रस्ताव सुन्नासाथ के जादू भयो कुन्नि, अघिसम्मको त्यो मेरो बेचैनी, हैरानी, छटपटी सबै आफसेआफ गायब भए । प्रस्तावमा बिना कुनै छलफल मैले लालमोहर लगाइदिएँ । एक हिसाबमा मैले ‘डिप्रेसन’बाट ‘मेनिया’मा छलाङ हानिसकेको थिएँ । गाउँबाट फरार हुने योजना सर्वसम्मतले पारित भइसकेको थियो । आखिरमा मेरो बिमारीको ओखती भेट्टिएको थियो । म खुशीको चरम उन्मादमा थिएँ । सम्हालिन आग्रह गर्दै नरेले भन्यो, ‘धेरै नफुर्की, बरु योजना सफल पार्न रणनीति तय गर् ! मैले एकै सासमा भनें– धन्दा नमान्, दुइटैले घरबाट एक–एक हजार चोर्ने ।
भोलिपल्टै रणनीति कार्यान्वयन गर्ने एक बूँदे सहमति गर्दै बैठक सक्कियो ।
मेनियाकै तालमा ‘कर्डन एण्ड सर्च’ अपरेसन थालियो भोलिपल्ट– घरका दराज, खोपा, बाकस । अहँ खानतलासी लिनलाई कहीं बाँकी राखिएन । जहाँ जति भेट्टियो, टिपीहाल्ने नीति थियो । पाँच पैसे ढ्याकदेखि पचास रुप्पेसम्म मिलाएर गन्दा आखिरमा एक हजार चार रुप्पे पु¥याएरै छाडें । उता नरेले नौ सय पचासी पु¥याएछ ।
बिहान चार बजे झिसमिसेमै टाप कस्यौं । गफ लडाउँदा लडाउँदै बाटो कटेको पत्तै भएन । तुलसीपुर बजार आइपुग्दा पूरै रात परिसकेको थियो ।
तुलसीपुर अर्थात् गाडीहरुको बजार, पसलहरुको बजार, मान्छेहरुको बजार । बसका हेडलाइट र ब्याकलाइटका रङ्गीबिरंगी प्रकाशले राति पनि उज्यालै देखिन्थ्यो । कहाँको सम्साँझै चकमन्न अँध्यारो हुने त्यो गाउँ, कहाँको मध्यरातमा पनि उज्यालै हुने यो ठाउँ ।
रात त काट्नै पथ्र्यो । अप्ठ्यारो नाउँ गरेको एउटा लजमा छि¥यौं । हो यहीं हो मैले पहिलोपल्ट कुखुराको मासु मुखमा हालेको । खान्की त काइदाको थियो तर पुरेतको छोराले जात फालेको यो काण्ड थाहा पाए घरमा बाले के गर्दा हुन् ? आमै कति रुँदी हुन् ? घर छोडेपछि पहिलोपल्ट झल्झली घर सम्झिदै थिएँ । सायद यतिञ्जेल त हामी बेपत्ता भएको खबर पनि गाउँभरि फैलिसक्यो होला । आमैले कति खोजिरहेकी होलिन् ?
भोलिपल्ट सबेरैदेखि बजारमा गर्नुसम्म मस्ती गरियो । ओम हलमा शिव श्रेष्ठको ठूल्दाइको भव्य प्रदर्शन भइरहेको कुरा त गाउँका बच्चाबच्चीलाई थाहा थियो । बिहानीको ‘शो’ सँगै मस्तीयात्राको शुरुवात यही हलबाट गरियो । पेटमा हुल्न बिर्सेर आँखामा सिनेमा हुल्न थाल्यौं । शिव श्रेष्ठले हानेको कुनै पनि फाइटमा सिट्ठी मार्न बिर्सेनौं । भन्ने नै हो भने प्रत्येक सेकेन्ड ‘फूल इन्जोय’ गरियो । फिल्म सक्किसक्दा तीन घण्टा बितिसकेछ । नरे चाहिं बेस्कन कराउँदै थियो– बाइ गड, तीन मिनेट पनि भा’छैन । साला हलवालाले सिधै ठग्दियो । उसो भए अर्को शो पनि हेरम् न त– मैले प्रस्ताव राखें । छोड्दे, दुइचोटि एउटै फिल्म हेर्न त झुरै हुन्छ– उसले सिधै अस्वीकार गर्दियो । नचाहँदा नचाहँदै पनि हलबाट निस्कनु त छँदै थियो । त्यहाँबाट निस्केर हिडियो बजार घुम्न ।
पूरै तीन राउण्ड मा¥यौं । ठेलाका चटपटे, चाट, बरफ, कुल्फी, समोसा केही बाँकी राखेनौं । लाग्दैथ्यो– हाम्रो भूँडीजति इलास्टिक संसारमै अरु कसैको छैन । हसुर्नु हसुरिसकेपछि नरेले अर्को आइडिया फुरायो र भन्यो– ‘बुझिस्, हिरो हुनलाई ‘मेकअप’मा पनि ध्यान दिनुपर्छ । अनि यसप्रकार उसको पछि–पछि लाग्दै तुलसीपुरको एकमात्र सैलुन छिरियो, जहाँ सलमान खानदेखि सन्नी देवलसम्मका हेयरकटहरु सर्वत्र उपलब्ध थिए ।
लोकेपथ भएर लाहुर हिडेका हामी तुलसीपुरमा धेरै बेर अल्झिनु ठीक थिएन । फटाफट बसपार्क गएर दुइटा टिकट किन्यौं । बस छुट्न अझैं सवा एक घण्टा बाँकी थियो । गफ मार्दै प्रतिक्षालयमा कुरी बस्यौं । छेऊमा थिए केही न केहीको प्रतीक्षामा कुरिबसेका हामीजस्तै अरु ठिटाहरु ।
‘ओइ जेठा’ पछाडिबाट चिरपरिचित आवाज आयो । आबुई, काका पो रै’छन् । मेरो सातोपुत्लो उड्यो । अब के भन्ने हुन् भन्ने डरले हंस ठाउँमा थिएन । तर निन्याउरो अनुहार लगाउँदै काकाले मुख फोरे– ‘तेरी आमै सिकिस्त छिन्, जेठा ! तैंले घर छाडेदेखि बेहोस भएकी, अहिलेसम्म होस फिरेको छैन । बेला–बेला जेठा, जेठा भन्दै बर्बराउँछिन् । अन्न त परै जाओस्, मुखमा एक थोपा पानी पनि परेको छैन । जसरी हुन्छ एकचोटिलाई फर्के, जेठा । तेरी आमै सिकिस्त छिन् ।’ म छाँगाबाट खसेजस्तै भएँ । धेरै बेरसम्म ट्वाँ परिरहें, केही सोच्नै सकिरहेको थिइनँ ।
एक्कासी सुनें– मैले टिकट काटेको बसले लगातार हर्न बजाइरहेको छ । सवा एक घण्टा बितिसकेछ । आँखा पिलपिल पार्दै नरेले भन्यो– ‘तँ काकासित घर फर्के दोस्त ! आमैलाई राम्ररी स्याहार सुसार गरेस् । म त नगइ हुन्न । दुई–चार वर्षपछि लोके दाइ बनेर आउँला ।’
म केही बोल्न सक्ने अवस्थामा थिइनँ । आँखाबाट एक तमासले आँसु चुहिरहेका थिए । थाहा छैन, आमैको शोकमा ती आँसु झरेका थिए वा मेरो लाहुर–सपनाको हत्या भएकोमा ।
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)