~सरु पोखरेल~
बर्षौं अगाडिको त्यही अनुहार छ आँखा अगाडि । दुरुस्तै नाक, आँखा, अनुहारको बनौट र उसको जस्तै लामो कपाल अनि उस्तै तेज र कान्ति भएको मुहार । अन्तर्वार्ता लिइरहेको छु । लिखितमा छनौट भएका जवानहरुमध्ये यतिखेर यो केटी छे मेरो अगाडि ।
त्यतिखेर हामी एउटै उद्देश्य लिएर उभिएका थियौं । जीत दुवैको लक्ष्य । तर पछि उसको हात आत्मसमर्पणका लागि उठ्न बाध्य भएका थिए । मेरा दुवै हातले बन्दुक सोझ्याएका थिए उसको छातीमा । बाटुलो अनुहारमा थेप्चो नाक, चिम्सा आँखा र ती आँखाभित्र पक्कै ज्वाला पनि थियो जो अँध्यारोमा त्यति देखिएको थिएन । तर ऊ काँपेकी थिई, रिसले हो वा डरले । भित्रैबाट थरथराएकी थिई ।
मेरो आदेशबमोजिम ऊ अगाडि लागि । अझ भनौं मेरो हातको बन्दुकको इशारामा चली । त्यो क्षण ऊ हारेकी थिई र मैले जितेको थिएँ । उसले केहीवेर एक दुई जना वरपर ढलेका आफ्ना साथीतर्फ फर्केर हेरी ।
तिनीहरुप्रति श्रद्धाको भाव थियो उसमा । एउटा लाशको अगाडि उभिएर त उसले आँखा समेत पुछेकी थिई । उसको ढुंगाजस्तो मन पनि त्यतिखेर पग्लेको थियो सायद । त्यसपछि ऊ फटाफट हिँड्न थाली । हिँड्दा उसको लामो बाँधेको कपाल घोडाको पुच्छरजस्तै हल्लिएको थियो । बाटो लामै थियो चौकीसम्म पुग्ने । तर सुनसान थियो, रित्तो तनक्क तन्केको कालो सडक ।
भरखरै कालोपत्रे भएको पहाडी जिल्लाको साँघुरो बाटो । सवारीसाधन उसै पनि धेरै चल्दैनथे, त्यसमाथि पाँच किलोमिटर वरपरदेखि नै उनीहरुको जत्थाले रुख ढालेर बन्द गराइदिएका थिए दुवै पट्टिको सडक । धेरैवेर पड्केको गोलीको आवाजले त्यो सानो बजार पनि सास दबाएर बसेको थियो । फोनको सम्पर्क टुटाइएको थियो ।
रात छिप्पिदै गएको र बत्तीको तार काटिएकोले माथि आकासबाट आएको जुनको उज्यालोबाहेक अरु उज्यालो केही थिएन । वरपर लडेका मान्छेका लाश काठका मुढाजस्तै देखिएका थिए । ती कुन पक्षका मानिसका लाश थिए खुट्याउन सकिने अवस्था थिएनन । ठूलो दुर्घटना निम्त्याएर थामिएको आँधीजस्तै भएको थियो समय त्यतिखेर ।
उसलाई अगाडि लगाएर एकोहोरो बन्दुक सोझ्याउँदै हिँडिरहेँ म । जतिजति पाइला अगाडि बढिरहेका थिए, चौकी नजिकिँदै थियो । तर मभित्रको जोश सेलाउँदै गएको थियो । मुटु ढुकढुकाउन थालेको थियो । छाति पोलेको थियो । त्रसित थिएँ म । कतैबाट गोली आएर आफैँलाई ढाल्छ कि जस्तै लागेको थियो । एकसुरमा हिँडेकी ऊ फरक्क फर्केकी थिई । म थोरै तर्सेंको थिएँ । आफ्नो हातले बन्दुकलाई अझ बलियो हात पारेर समातेको थिएँ । चौकीको छानो धमिलो देखिएको थियो । तर त्यहाँ को नै थिए र ! भएका पनि बाहिर निस्कने अवस्थामा थिएनन् होला ।
‘अगाडि बढ् । किन फर्केकी ?’ कठोर बोलीमा मैले उसलाई हप्काएँ । ‘मलाइ मारिदेऊ ।’ अचानक उसले स्वरलाई अग्राखजस्तै दह्रो पारेर बोलेकी थिई । ‘नचाहिने कुरा बढ्ता गर्छेस् ?’ मैले उसलाई घोक्राएर लतारेको थिएँ । ऊ जुझारु बनेर अडिग भइरहेकी थिई । उसको त्यो चाला मेरो रिसको पारो तताउन पर्याप्त थियो । जवाफमा मैले बन्दुकको नालले उसको ढाडमा घोचेको थिएँ । उसले उल्टै मसँग निशस्त्र भिड्ने कोसिस गरेकी थिई । मेरो बन्दुकले उसलाइ अगाडि बढाउन सकेको थिएन । दुवै हातले मलाई धकेलेर एक्कासी लडाइदिएकी थिई उसले । म उठ्दा ऊ निकै पर पिचैपिच दौडँदै थिई ।
‘डयाम्म ! डयाम्म !! डयाम्म !!!’ मेरो हातबाट चलेको गोलीको आवाजसँगै ऊ त्यही पिच सडकमा बजारिएकी थिई, गुलेली लागेर भुईँमा झरेको चरोजस्तै भ¥याकभ¥याक गर्दै । म त्यहाँ पुग्दा ऊ पानीबाट झिकेको माछोजस्तै छटपटाउदै थिई । उसको शरीरबाट बगेको रगतले भिजेको पिच अँध्यारोमा अझ कालो देखिएको थियो । ऊ केहीबेर तनक्क तन्केर त्यसपछि सधैँका लागि शान्त भएकी थिई ।
पहिलो बोहोनी थियो मेरो । आफ्नो पेशाको पन्ध्रौ वर्षसम्म एक पटक पनि मानिसको शरीरमा गोली हान्न नसकेका मेरा हातले पहिलोपल्ट उसको शरीर छलनी गरेका थिए । ती अगाडि मारिएका मान्छेका त्यतिविधि लाशले मलाई किन भावुक नबनाएका होलान् ! सायद मेरा हातबाट चलेको गोलीले तिनलाई निशाना नबनाएकोले पो हो कि ? तर त्यस अपरिचित केटीको मृत्युले भने मलाई पकाएको कर्कलोको पातजस्तै लल्याकलुलुक बनाएको थियो । फतक्क गलेका थिए मेरा हातपाउ । निकैबेरसम्म उसको शान्त र अचेत अनुहार हेरेर टोलाइरहेको थिएँ म ।
मेरो काँधमा कसैले पछाडिबाट हात राखिदिँदा पो म झसङ्ग भएको थिएँ । त्यतिखेर डिएसपी साब हुनुहुँदो रहेछ मेरो पछाडि । मैले सोचेको थिएँ मबाहेक त्यो चौकीमा मेरा साथीहरु कोही पनि ज्युँदा छैनन् । ‘साब कता हुनुहुन्थ्यो तपाईँ ?’ ‘म कल्भर्टको भित्रपट्टि थिएँ । उनीहरुले मलाई धुइँधुइँती खोजेका थिए । तर त्यो कल्भर्टमुनि भने गएनन् । सबै विद्रोहीहरु हातहतियार बोकेर उकालो लागेको त्यहीँभित्रबाट देखेको थिएँ । पक्कै अब ती यहाँबाट गइसके भन्ने ठानेर निस्कँदा गोलीको आवाज सुने । उठेर हेर्दा छापामार केटी ढलेको देखेँ ।
‘हामी दुईजना मात्रै बाँकी छौं होला सायद यहाँ त ।’ ‘तिमी कसरी बाँच्यौ ? अनि यो केटी आफ्नो जत्थासँगै फर्काइन्छ ?’ ‘उनीहरुले मेरै आँखा अगाडि हाम्रो सई साब र दुई जना सिपाहीलाई गोली हानेर ढाले । पहिला गोली कसले हान्यो देखिएन । तिनीहरुमध्ये यो पनि एक थिई होला । उकालो लागेको धेरबेरपछि डोको लिएर यो झरेकी थिई । म त्यही बाटोछेउको झाडीबाट हेरिरहेको थिएँ ।
उसले एउटा लाशलाई उठाउने कोशिस गर्दै थिई, जुन तिनीहरुकै साथीको थियो । त्यतिनैखेर म बाहिर निस्केँ र यसलाई पछाडिबाट आक्रमण गरेँ । यसको हतियार खोस्न सफल भएँ । त्यसपछि यो बाध्य भई मेरो दिशामा हिँड्न । तर यहाँ आएपछि यसको स्वाभिमानले चौकीभित्र लुरुक्क पस्न दिएन । अनि यो मसँग विद्रोह गर्न थाली । मलाई धकेलेर भागेपछि मैले गोली चलाएँ ।’
अन्तिम वाक्यसम्म पुग्दा स्वर काँपेको थियो मेरो । उसको लाश, अन्य विद्रोही र प्रहरीका लाश चौकीको प्राङ्गणमा लहरै राखिएको थियो । बिहानको उज्यालो फैलिने क्रममा थियो । तर त्यहाँ चराचुरुंगी समेत आवाजविहीन बनेका थिए । सारा वातावरण शून्य र कहालीलाग्दो भएको थियो । बिहानीमा बहने शितल हावाले पनि त्यो दिन बहन बिर्सेको थियो । चौकीको बारको वरपर कमिलासरी मान्छे टाँसिएका थिए । ती सबैका आँखामा भय र त्राशको छाप प्रष्टै देखिएको थियो । लाशका लस्करलाई एकोहोरो हेर्दै मुखले घरीघरी च्व..च्व..च्वको आवाज निकालिरहेका थिए उनीहरु ।
प्रहरीको भन्दा अलि भिन्न कपडाले छोपिएको विद्रोहीका लाशमध्ये उसको लाश नजिक गएँ म । किन किन मलाई उसको मृत अनुहार ढाकेको कपडा उठाउन मन लाग्यो । हातको लठ्ठीले विस्तारै उसको अनुहार देखिने गरी त्यो कपडा हटाएँ । शान्त थियो अनुहार न कुनै सन्देह, न कुनै विद्रोह, न चिन्ता ! चीर निद्रामा थिई ऊ । भिन्दै किसिमको सन्तुष्टिको छाप थियो मुहारमा । त्याग र बलिदानपछिको सन्तुष्टि । त्यहाँ उसको जीत र मेरो हार भएको ठान्यो मेरो मनले ।
अझै पनि नाम सम्झन्छु म उसको । परिवर्तन राई । अनुहार पनि याद छ । त्यो घटनापछि धेरै पटक आई र आइरही ऊ मेरो स्मृतिमा । ‘सर सोध्नुस् ।’ धेरैबेरसम्म मैले उसको अनुहार एकटकसँग हेरेर टोलाएपछि अप्ठ्यारो मान्दै भनी उसले । सँगै अन्तर्वार्ता लिन बसेका अरु पनि मलाई अचम्म मानेर हेर्दै रहेछन् । उस्तै निडरपन छ । फरक केही देखिँदैन । कस्तो संयोग ! आज तेरह वर्षपछि उही रुप, उही चेहरा आँखा अगाडि उभिएको छ । जिउडालमा पनि केही भिन्नता छैन । चिम्सा आँखा र थेप्चो नाकेडाँडीले मेरो मनलाई पुरानै स्मृतितिर घिस्याउँछ ।
आखिर यो को होली ?
‘तिम्रो नाम ?’ ‘मुना राई ।’
‘घर ?’
‘खोटाङ, बुइपा ।’
‘उमेर ?’
‘अठार वर्ष’
‘आमाको नाम ?’
‘जमुना राई परिवर्तन ।’
उसको जवाफ सुन्नासाथ चीसो हुन्छ मन । नचाहँदा नचाहँदै पनि सोध्न मन लाग्छ, ‘आमा अहिले के गर्न हुन्छ ?’ यो प्रश्नपछि भने ऊ अलमल्ल परी केहीबेर । उसको शिर निहुरियो । खुट्टाको बुढीऔंलाले भुईँ कोट्याउन थाल्यो । एकछिनमा भनी, ‘आमा हुनुहुन्न । उहाँले जनयुद्धमा सहादत प्राप्त गर्न भयो ।’ जवाफ दिइरहँदा उसका आँखा मेरा आँखामा सोझै गाडिएका थिए । मेरो मुटुमा चीसो सिरेटो चल्यो । तर सम्हाले आफूलाई । उसको फाइल पल्टाएँ । सहिद परिवारभित्र पर्छ ऊ ।
मेरै हातबाट आफ्नी आमा मरेको कुरा सायद यसले थाहा पाएकी छ । तुरुन्तै मेरो मनले सान्त्वनाको मल्हम लगाउन खोज्यो । भन्यो, ‘के त्यो चौकीमा त्यतिखेर तँ मात्र प्रहरी थिइस् र ?’ त्यसपछि मैले उसलाई केही सोधिन अरु । अगाडि अन्तर्वार्ता लिएकालाई भन्दा बढी नम्बर दिए मेरा हातले उसलाई । अन्तर्वार्ता सकियो । बाहिर निस्केपछि पनि मेरा आँखाले उसैलाई खोजिरहे । निकैबेर खोज्दा पनि मैले निराश हुनु प¥यो । कतै देखिइन ऊ ।
सोचेँ, उसकी आमाले धर्ती छोड्दा ऊ कति सानी हुँदी हो ? लडाईँमा मर्नुभन्दा धेरै अगाडि नै कसैसँग छोडेकी हुनुपर्छ उसकी आमाले । कोसँग छोडी होला ? कसले हुर्काएर यत्री बनायो होला उसलाई ? ती दिनमा कैयौं जमुनाहरु परिवर्तन बनेका थिए । आप्mना गानिएका छातिका घाउको पीडा खपेर कलिला मुनाहरु छोड्न बाध्य भएका थिए । साँच्चै, उनीहरुको बलिदानीको प्रतिफलमा ती मुनाहरुले के पाए ? सोच्दासोच्दै रनभुल्ल छु म । उत्तर नभेटेर यतिबेला पनि मेरो मुटु काँपेको छ । हातगोडा लल्याकलुलुक भएका छन् ।
केही दिनपछि नतिजा प्रकाशित भयो । मुनाको पनि नाम निस्केछ । एक किसिमले खुसी नै हुन्छु म ।
नयाँ जवानहरुको तालिम सुरु भएको छ । मैदानमा परेड खेलिरहेका छन् उनीहरु । मुना पनि अगाडिको पंक्तिमा फुर्तिसाथ परेड खेलिरहेकी छ । कार्यकक्षको बन्द शिशाको झ्यालबाट हेरिरहेको छु म । उसलाई हेरिरहँदा बाह्र वर्ष पहिले युद्धमोर्चामा भेटिएकी उही परिवर्तन नै हो जस्तै लाग्छ मलाई । कहँ, कतै केही भिन्नता भेट्दिन म । लगत्तै मेरो मनले सोध्छ– ‘आखिर मुना किन आई प्रहरी बन्न ? जागिर खानु पर्ने बाध्यताले हो वा अरु नै कारणले ?’ प्रहरीसँग भिड्दा उसकी आमा मारिई । आज ऊ प्रहरी बनेकी छ । समर्पित भएकी छ आफ्नो पेशामा । आफैँलाई अनौठो लाग्छ यो केटी देखेर ।
‘साब !’ उसले कुम उचाल्दै मलाई सेल्युट गरी । मेरो अगाडि संयोगवस फेरि आज ऊ परेकी छ । ‘मुना ड्युटीको अनुभव कस्तो छ ?’ आजसम्म कुनै जवानलाई नसोधेको प्रश्न उसलाइ गर्छु म ।
‘एकदम ठीक छ साब ।’ ऊ फेरि जीउ तनक्क तन्काएर जवाफ दिन्छे । ‘साँच्चै, तिम्रो बाबा त हुनुहुन्छ होला हैन ?’ ‘बाबाले पनि आमासँगै त्यही घटनामा सहादत पाउनुभएको हो ।’ टाउको ठाडो पारेर मलाई हेर्दै भन्छे ऊ ।
सतर्क हुन्छु म । मैले यसरी सोधखोज गर्दा उसले शंका गर्नसक्छे भन्ने कुराले मलाई होशियार बनाउँछ । थप कुरा सोध्न नसके पनि म उसलाई निर्मिमेष हेरिहन्छु । तर छिनभर हेर्न नभ्याउँदै मेरा आँखाले सोझै उसलाई हेर्न गाह्रो मान्छन् । त्यतिखेर जत्थासँगै उकालो लागेकी यसकी आमा धेरै बेरपछि फर्केर आएकी त आफ्नो लोग्नेको लाश लिएर जानका लागि पो रहेछ !
‘बाबुआमा दुवै प्रहरीसँगको भिडन्तमा मरे । तर पनि तिमी प्रहरी नै बन्न आयौ, किन ?’ म बिर्सन्छु आफ्नो ओहदा र नैतिक जिम्मेवारी । अनि एउटा सिपाही र वरिष्ठ प्रहरी अधिकृतबीचको अन्तर ।
‘साब, ड्युटी भनेको ड्युटी हो । त्यतिखेर मेरा बाबुआमा पनि हातमा बन्दुक लिएर ड्युटीमै हुनुहुन्थ्यो । उहाँहरुलाई गोली हान्ने प्रहरी पनि त ड्युटी निभाइरहेकै थिए होला । मेरा बाबुआमालाई गोली नलागेको भए उनी मर्थे होला । पेशाप्रतिको कर्तव्यलाई के दोष र साब ?’
मेरो मुहारमा एकाएक खुसी फर्कन्छ । मन हल्का हुन्छ सिमलको भुवाजस्तै । मलाई सेल्युट गर्ने यो महान् विचार भएकी केटीलाई भित्रैबाट चुपचाप श्रद्धाले सल्युट गर्छु म ।
(स्रोत : श्री रुपरेखा)