~पुष्कल श्रेष्ठ~
”होइन, हुँदै होइन, यी सबै झूठ कुरा हुन्।’
”…………………………..”
”चौधहजार मानिसको ज्यान जानेगरी भएको महान् जनयुद्धको यत्रो अपमान? हाम्रो बलिदानको यत्रो मानमदर्न? तँलाई बाँच्ने हक छैन। ल अब तँ मर्न तयार बन्।”
”………………………………….”
”मेरो गर्दनमा हात नलगा। हेर! हेर!! म फेरि भन्दैछु, मेरो गर्दनमा हात नलगा।” गर्जनसिंह सपनामै जोडजोडले कराउँछ।
”हैन, कसले तपाईको गर्दनमा हात लगायो?” श्रीमतिको चर्को स्वरले गर्दा गर्जनसिंहको सपना बीचैमा टुट्छ ।
”आज फेरि उही सपना? हैन, यो मान्छे त बहुलाउँछ कि क्या हो!”
”खै अम्खोरा ले’त” गर्जनसिंह शान्तिसँग पानी माग्छ।
”उ, त्यहीँ छ नि।”
गर्जनसिंह घटघट पानी पिउँछ। अम्खोरा भूइँमा राख्न नपाउँदै शान्ति पुनः प्रश्न गर्छे । ”तपाईको गर्दनमा कस्ले हात लगायो? कस्लाई मर्न तयार बन् भनेको?”
”ओहो! कस्तो नराम्रो सपना देखेको! हैन हिजोआज मलाई के भैरा’छ?”
”के हुनु नि, बहुलाउने मेसो शुरू भा’ होला नि! बाह्रवर्ष मान्छे मार्ने खेती गर्नु भो, अब तिनै मारिनेहरू भूत बनेर गर्दन समात्न आउन थाल्या होला नि।”
”नकरा…….।” गर्जनसिंह झर्किन्छ। ”कहिलेकाहिँ त राम्रो बोली बोल न बाबै। जहिले पनि ‘टेन्सन’ माथि ‘टेन्सन’ नदे न।” गर्जनसिंह शान्तिलाई सम्झाउन थाल्छ । शान्ति चुप लाग्छे। ”हेर आज पनि मैले नराम्रो सपना देखेँ। यस्तो सपना दिनदिनै देख्न थालेँ भने म चैं पक्कै बहुलाउँछु, बुझिस?” शान्ति केही बोल्दिनन् । ”के बुझिस? क्यै पनि बुझिनस्।” शान्ति केही नबोली बसेपछि गर्जनसिंह उनलाई रिस देखाउँछ । गर्जनसिंहको बानी यस्तै छ, श्रीमति बोल्न थाले ‘नकरा’ भन्ने अनि चुपलागे बोलिनस् भनेर झ्वाँक देखाउने।
”बुझाउनुको सट्टा हप्काउन हुन्छ, अनि कसरी बुझ्ने?”
”ल ल अब हप्काउदिन, के सोध्नु छ सोध्?”
”मलाई एक-एक भन्नुस् त, आज के सपना देख्नुभो?”
”त्यसोभए सुन्।”
गर्जनसिंह भर्खरै देखेको सपनाको पोको फुकाउन थाल्छ। ”म कुनै कामले तराईतिर जाँदै थिएँ, बाटैमा पत्रकार वीरेन्द्रसिंहसित भेट भयो। म अलमलमा परेँ। कारण, उनलाई हामीले सफाया गरेका थियौं। ‘तिमीहरूले हात बाँधेर जिउँदै खाल्डोमा पुरेर मलाई मारे पनि म मरेको छैन। तिमीहरूको गलत कामको एक-एक हिसाव दुनियाँलाई बताउन म चिहानबाट उठेर आएको छु।’ उसले निडरका साथ भन्यो । जवाफमा मैले भने, ‘तँ त मर्ने बेलामा मलाई नमार, मेरो वालवच्चा र परिवारको विचल्ली हुन्छ बरू मैले गल्ती गरेको भए माफी माग्न तयार छु भन्थिस् नि। आज एकाएक कसरी बहादुर बनिस्?’ ‘त्यो मेरो कायरता थिएन बरू तिमीहरूको विवेकको अन्तिम परीक्षा थियो जस्मा तिमीहरू अनुतीर्ण भयौ। कायर त तिमीहरू हौं जो कलमसँग डराउँस, निहत्था आवाजसँग डराउँछ। कायर त तिमीहरू हौ जो एक्लै दुई पाईला चाल्न सक्दैनौ। तिमीहरूभन्दा त ती भीखारीहरू धेरै बहादुर छन् जो हर गल्ली, घर, शहर, गाउँ र बाटो एक्लै हिँड्ने साहस गर्छन्।’ उसले गर्वका साथ भन्यो । हामीहरूवीच यस्तै सम्वाद चल्दै थियो, त्यहाँ थुप्रै मानिसहरू जम्मा हुन थाले। उनीहरूले विस्तारै उनको कुरामा ताली बजाउन थाले। उसले हाम्रा सवै कामहरू कसरी गलत हुन् भनी स-प्रमाण बताउन थाल्यो। यत्तिक्कैमा भीडमा ‘पत्रकार वीरेन्द्रसिंहको हत्यारा गर्जनसिंह – मूर्दावाद’ भन्ने नारा गुञ्जियो। हुँदाहुँदा भीडले हाम्रो महान् जनयुद्ध, महान् नेता र महान् कारवाहीहरूविरद्ध झन् ठूल्ठूलो स्वरमा नारा लगाउन थाले । मैले आफ्नै आँखा अगाडि हाम्रो महान् सपना र योजना डगमगाएको महसुस गरें । मलाई त्यो सह्य भएन, र भने, ‘होइन, हुँदै होइन, यी सबै झूठ कुरा हुन्।’ उसले प्रत्युत्तरमा भन्यो, ‘यत्रो मानिसको सामु मैले प्रमाण पेश गरेको छु । तँलाई पनि थाहा छ यी प्रमाणहरू झुठा होइनन् भनेर, तर पनि तँ तिनलाई स्वीकार गर्न तयार छैनस्।’ उसको यो ठाडो चुनौतीले मेरो ओँठमुख सुकायो । मलाई बेस्सरी रिस उठ्यो अनि भने, ‘चौधहजार मानिसको ज्यान जानेगरी भएको महान् जनयुद्धको यत्रो अपमान? हाम्रो बलिदानको यत्रो मानमदर्न? तँलाई बाँच्ने हक छैन। ल अब तँ मर्न तयार बन्।’ मैले रिभल्भर निकालेर उसको छात्तीमा गोली चलाएँ तर उस्लाई केही भएन बरू हाँस्न पो थाल्यो । भीडबाट एकजना चिने-चिनेजस्तो लाग्ने मान्छेले मेरो नजीक आएर भन्यो, ‘ल मलाई पनि गोली हान् गर्जनसिंह।’ मैले उस्लाई पनि गोली हाने। उस्लाई पनि केही भएन। मैले सबै गोली रित्याए तर कसैलाई केही भएन । उसले भन्यो, ‘गर्जनसिंह, मार् कति मार्न सक्छस् मार् । हामीलाई त्यसको पर्वाह छैन किनकि हामी सबै तिमीहरूबाट पहिले नै मारिएका मान्छे हौं। हा! हा!!’ उस्ले मेरो गर्दन समाएर भन्यो, ‘तिमीहरूको पापको घडा भरिसक्यो, अब आफ्नो कर्मको फल भोग्न तयार भएर बस्।’ मेरो वरपर सबै जम्मा भएर हाँस्न थाले । म आत्तिएर कराएँ, ‘मेरो गर्दनमा हात नलगा। हेर! हेर!! म फेरि भन्दैछु, मेरो गर्दनमा हात नलगा।’ यत्तिक्कैमा तैंले उठाई हालिस्।”
”आम्मै! कस्तो डरलाग्दो सपना” शान्तिको मुखबाट अचानक निस्क्यो।
”सपना भन्या सपनै हो नि, त्यो कैल्यै पूरा हुँदैन बुझिस्” गर्जनसिंह शान्तिलाई सम्झाउने कोशिस गर्छ।
”तर भूतको सपना चैं पूरा हुन्छ भन्छन् नि बुढापाकाहरू।” शान्तिले आफ्नो विचार राखी ।
”नकरा…..”
”ल ल कराउँदिन । अनि हिजो सपनामैं किन हिँक-हिँक रोएका हौ नि?”
”आज सुत्न नदिने भईस् हैन?”
”केलाई सुत्नु प-यो त? सुत्यो कि उही डरलाग्दो सपना!”
”त्यसो भए एक-एक कप कालो चिया पिउँ न त।”
शान्ति भान्छातिर लाग्छे । गर्जनसिंह अम्खोराको बाँकी पानी सिनित्तै पारेर शौचालयतिर लाग्छ ।
”लौ चिया पाकिसक्यो। यस्तो राति पनि कतिबेर शौचालय लागेको? छिटो आउनुस्, नत्र त्यही सपना देख्नुहोला।”
”हैन राति-राति पनि के ठूल्ठूलो स्वरले कराइरा’ भन्या। अरूले सुन्यो भने के भन्लान्।” गर्जनसिंह शौचालयभित्रैबाट जवाफ फर्काउँछ।
”के भन्नुभा’? मैले सुन्या छैन है।” शान्ति जिस्किन थाल्छे ।
”अझै ठूलो स्वरले बोल न, मैले पनि राम्रो सुनिन।” गर्जनसिंह पनि शौचालयभित्रैबाट जिस्किन थाल्छ।
”पात्तेको बुढा! छिटो बाहिर आउनु, चिया सेलाईसक्यो।” शान्तिले स्वर अलि फरक पारी ।
”खै, चिया?”
”ल, लिनुस्”
”हिजोको सपना सुनेपछि तँ पनि रून्छेस होलि” चियाको पहिलो चुस्कीसँगै गर्जनसिंह बोल्न शुरू गर्छ।
”आफू हाँसेर दुनियाँ रूवाउनु भो, अब बाँकी रूनु त छ नि?”
”सधैंभरि ठुङ्नु पर्छ?”
”कस्तो रै’छ, म त बोल्नै हुन्न बा यो मान्छेसित।”
”ल ल भो नरिसा” गर्जनसिंह शान्तिलाई फकाउन थाल्छ।
गर्जनसिंह सपना बताउन थाल्छ, ”म एउटा गाउँको बाटो हिड्दै थिएँ। बाटोमा एकजना क्रियापुत्रीले मेरो बाटो छेक्दै भन्यो, ‘मलाई चिन्नु भो?’ उनको आवाज कता-कता सुनेजस्तो लाग्यो तर चिन्न सकिन। ‘चिनिन भाई’ मैले उत्तर दिएँ। ‘त्यसो भए मै सम्झाउँछु’ उस्ले कुरा शुरू ग-यो, ‘आजभन्दा छ वर्ष पहिलेको कुरा हो। आजैको दिन विहान यही गाउँको पुछार घरको आमा वित्नु भा’थ्यो। त्यही दिन राती तपाईहरू ती आमैको छोरालाई खोज्दै आउनु भा’थ्यो।’ ‘त्यो कुरा त याद छ’ मैले भनें, ‘त्यो बदमासलाई हामीले धेरै दिनदेखि खोजिरा’थ्यौ । त्यो दिन आमाको काजक्रिया गर्न घरमा आ’को छ भन्ने थाहा पाएर हामी उस्लाई लिन आथ्यौं।’ ‘अनि के गर्नु भो त उस्लाई?’ उस्ले सोध्यो। ‘के गर्नु नि? उसलाई क्रियापुत्री कोठाबाट घिसारेर बाहिर आँगनमा ल्यायौं अनि पार्टीको निर्देशन अनुसार सफाया ग-यौं।’ मैले भने। ‘म त्यै अभागी आमाको अभागी छोरा हूँ’ उस्ले भन्यो। ‘ए तँ अझै ज्यूँदै छस्?’ मैले सोधें । ‘हो म ज्यूँदै छु तर तपाईहरूको लागि मात्र। भौतिक रूपमा त मलाई मेरै आँगनमा मारिहाल्नु भो। गाउँमा मेरो आफन्त कोही थिएन । तपाईहरूको डरले गाउँलेहरू कसैले पनि मेरो लाश उठाउन मानेनन्। बल्ल तीनदिनपछि पुलिसले मेरो वेवारिसे लाश जलाईदिए।’ उस्ले एकै स्वरमा भन्यो। ‘त्यसोभए तँ भूत होस् त?’ मैले सोधे । ‘त्यै भन्ठान्नुस्’ उस्ले भन्यो। ‘यस्ता वाहियात कुरा नगर। म-यो भन्ठानेर छाडेर हिँडेका थियौं, बाँचेका रहेछौं। जे भो छाड्दे, अब मेरो बाटो नछेक।’ मैले भने। ‘मलाई मेरो प्रश्नको जवाफ नदिई त्यसै जान पाउनुहुन्न’ उस्ले भन्यो। ‘त्यसोभए तँ के गर्छस् त? मैले सोधेँ। ‘मेरो प्रश्नको उत्तर नपाई म त्यसै जान दिन्न।’ उस्ले अलि रूखो स्वरमा भन्यो। उसको कुरा सुनेर मेरो अङ्गरक्षकले मलाई भन्यो, ‘कमरेड, यसले हामीलाई मार्ने नै योजना बनाएर आए जस्तो छ। यसलाई मारेरै भएपनि हामी अघि बढ्नुपर्छ।’ ‘ठीक भन्नु भो’ मैले अङ्गरक्षकलाई भने। ‘यस्तो वाहियात कुरामा अल्मलिन मलाई फुर्सद छैन, मेरो बाटो छोड अन्यथा……।’ तपाईको आशय मैले बुझे तर म छाड्दिन चाहे जेसुकै गर्नुहोस्।’ उस्ले बाटो छाड्न मानेन। मैले अङ्गरक्षकलाई ईशारा गरेँ। उसले चलाएको तीन राउण्ड गोलीले उनको शरीर वारपार भो तर उनलाई केही भएन। उनी त झन् हाँस्न पो थाले। हामीले भएभरका सबै उपाय ग-यौं तैपनि उनलाई केही भएन। ‘म अभौतिक हूँ, तपाईहरूको कुनै पनि हतियारले मेरो केही बिगार्न सक्दैन।’ उनको स्वर अनौठो हुँदै गयो। अब भने हामीलाई यो पक्का भूत हो भन्ने लाग्यो। ऊ झन् हाम्रो नजीक आयो। हामी निरीह भएको देखेपछि उनले शान्त हुँदै भन्यो, ‘हेनुर्स्, मैले अहिलेसम्म तपाईलाई तपाई नै भनेर सम्बोधन गर्दैछु तर तपाई भने तँ भनेर मेरो अपमान गर्दै हुनुहुन्छ। मलाई मार्नेदिनमा पनि तँ नै भन्नु भा’थ्यो। समय फेरियो तर तपाईको विचार, बोली र व्यहार फेरिएन। यो त शरमको कुरा हो। के मेरो प्रश्नको जवाफ दिन तपाई तयार हुनुहुन्छ?’ ‘तयार छु।’ मैले तत्काल जवाफ दिएँ। । ‘मलाई किन मार्नु भो?’ उनले प्रश्न गरे। ‘तपाईमाथि दुईवटा गंभीर आरोपहरू थिए। पहिलो, तपाई यो गाउँको एक नम्बरको वर्ग दुश्मन हुनुहुन्थ्यो। दोश्रो, तपाई जनयुद्धका विरूद्ध सुराकी गर्नु हुन्थ्यो।’ मैले उत्तर दिएँ। ‘म यो गाउँको सवैभन्दा गरिब मान्छे हुँ। मेरी आमा अरूको घरमा जुठो माझेर छाक टार्नु हुन्थो। हामी कसरी एक नम्बरको वर्ग दुश्मन भयौं?’ उस्ले प्रतिप्रश्न ग-यो। ‘खै त्यो त थाहा भएन, हामीले त पार्टीले भनेको मानेका मात्र हौ।’ मैले उत्तर दिएँ। ‘म शहरमा गाडी मिस्त्रीको काम गरेर बसेको थिएँ। चाडको बेलामा मात्र घर आउँथें र तुरन्त फर्किहाल्थें। म कसरी सुराकी भएँ? ‘उसले अर्को प्रश्न ग-यो। ‘यो पनि थाहाभएन, यो कुरा पनि पार्टीले नै भनेको थियो।’ मैल जवाफ दिए। ‘अव अन्तिम प्रश्न, तपाईको एक नम्बरको नेता देश विदेश जहाँ गए पनि, काममा वा विदा मनाउन जता पुगेपनि आफ्नो परिवार साथै लिएर जानुहुन्छ। सङ्टकालमा पनि वहाँलाई त्यसो गर्ने छुट थियो। त्यसैगरी, गएको वर्ष, तपाईका दुई नम्बरका नेताले आफ्ना बृद्ध आमाबुवालाई केवलकार चढाएर मनकामना मन्दिर घुमाउन लैजानु भयो। मैले यी दुवै कुरालाई नराम्रो भन्न खोजेको होइन। तर त्यतिबेला मलाई चै मेरो आमाको क्रियाकर्म गर्न पनि दिनु भएन, किन? बरू मलाई मार्नु नौ छ भने तेह्र दिनको काम सकेपछिमात्र मार भन्दा पनि तपाईहरूले मलाई तेह्रदिनको समय पनि पाइन, किन? तपाईका नेताका परिवार र आमाबुवा चाहि महत्वपूर्ण अनि मेरी आमाचाहिँ मूल्यहीन? यो भेदभाव किन? मैले मरेकी आमाको लागि गरिने अन्तिम कर्म गरिपाउँ भन्दा त्यो पूरा गर्न किन दिनु भएन? तपाईको नेताका जस्तै मेरी आमा पनि मेरा लागि सबैभन्दा महान् हो कि होइन?’ यति भन्दै ऊ भक्कानिउर रून थाल्यो। म र मेरो अङ्गरक्षक दुवै मुखामुख ग-यौं। हामीसँग उसको प्रश्नको उत्तर थिएन। तैपनि उत्तर त दिनै प-यो। ‘हेर्नुस्, वहाँहरू भन्या महान् नेता हुन्। वहाँहरूसँग अरूको तुलना गर्न मिल्दैन’ मैले भने। ‘तपाईका तीनवटै उत्तरहरू भेदभावपूर्ण छन्, जबसम्म म सही उत्तर पाउँदिन तबसम्म म र मेरी आमाको प्रेतयोनीबाट मुक्ति सम्भव छैन। तपाईहरूले सिर्जना गरेको यो समस्यामा हामी विनाकुनै गल्ती फस्यौं। जबसम्म म सही उत्तर पाउँदिन तबसम्म संसारको जुन कुनामा भएपनि तपाईलाई दुःख दिन आइरहनेछु। याद राख्नुस, हरेक पटक आउँदा मेरो तरिका पहिलेकोभन्दा अलि कडा हुनेछ। यसका लागि मलाई माफ गर्नुहोस्। यसलाई मेरो बाध्यता पनि ठान्न सक्नुहुन्छ। म एकहप्तापछि आउनेछु, अहिलेलाई विदाहुन्छु’ उसले बडो विनम्रतापूर्वक आफ्नो कुरा राख्यो र जाने बेलामा ”हे आमा! मलाई माफ गर” भन्दै डाँको छाडेर रूँदै हामीबाट अलप गयो। उ अलप भएपछि हामी पनि उसको हालत देखेर एकछिन त्यहीँ रोयौं । त्यैबेलामा तैले उठाइहालिस्।” गर्जनसिंहको सपना वयान सुनेर शान्ति घोप्टो परेर रोई।
”मैले भनेकै थिएँ नि तँ पनि रून्छेस् भनेर। मानिनस् सुन्न जिद्घि गरिस् अहिले रूनु प-यो।”
”अनि के गर्नु त? उसको ठाउँमा तपाई भैदिएको भए कस्तो हुन्थ्यो होला कैल्यै विचार गर्नुभा’छ?”
”नभा’को कुरा सोचेर टाउको नदुखा न।”
”भा’को त भैहाल्यो नि, सोच्ने भने कै नभा’को कुरा त हो नि।”
”उफ! यसको कुरा पनि!”
”साँचो कुरा त तपाईलाई काँ मनपर्छ र? सधैभरि शत्रुलाई घेराबन्दी गरेर कसरी सिध्याउने भन्ने मात्र सोच्नु भो। अहिले आफै भूतको घेराबन्दीमा पर्नु भो। न दिनको जोस, न रातको निन्द्रा, न खानाको स्वाद, न काममा लगन, जताततै लथालिङ्ग। आफू मात्र हैन, स्वास्नी, छोराछोरी, बाउ, आमा, दिदीबहिनी सबैलाई पागल बनाउने हुनु भो। ए बाबा मेरो फुट्या खप्पर!” शान्ति झन् रून थाली।
”रोएर हुन्छ त अब? बरू कुनै उपाय छ कि सोच न”
”तपाई नै सोच्नुस्”
”समस्याको मार त तँलाई पनि प-या छ’नि!”
यो पाली शान्ति बोलिनन् बरू उठेर भान्छातिर लागिन मुख धुन ।
”मलाई एक कप कालो चिया पनि बना है” गर्जनसिंहको कुरामा शान्तिले केही बोलिनन्। उ मुख धोएर चिया बनाउनतिर लागिन। रातको दुई बजेछ । गर्जनसिंह आफ्नो छटपटी दूर गर्न उसलाई मनपर्ने डिस्कोभरी च्यानल हेर्न थाल्छ। भियतनाम यद्ध सकिएपछि उक्त युद्धमा भाग लिएका अमेरिकी सेनामा कस्तो मनो-सामाजिक समस्याहरू देखा परेका थिए भन्ने विषयको बृतचित्र प्रशारण भैरहेको रहेछ। उक्त बृतचित्रका अनुसार यद्धमा भाग लिएका सेनाहरूमा सेवा निवृत भएपछि बिनाकारणा डराउने, नराम्रो सपना देख्ने, नबोल्ने, रोएर बस्ने, घर-बाहिर ननिस्कने, मंगालियन अनुहारको कुनै मानिस देख्यो भनेर भाग्ने, राती उठेर हिड्ने, बेला बेलामा बरबराउने, बिनाकारण रिसाउने, पलङमुनी लुक्ने, भगवान मलाई बचाउनुस् भनेर कराई रहने, भियतनामीले घेरा हाल्यो भाग भाग भन्ने, बहुलाउने र आत्महत्या गर्ने जस्ता धेरै प्रकारका मनो-सामाजिक समस्याहरू देखा परेको कुरा बताइँदै थियो। ठीक यही बेला चिया लिएर शान्ति आईपुगी र भनिन्, ”के यति राति पागलजस्तो एक्लै टी.भी. हेरेर बसिरा’ भन्या?” गर्जनसिंहले टी.भी. बन्द गर्छ। भर्खर टी.भी.मा पागलपनको प्रसङ्ग चलेको होला सायद शान्तिले बोलेको ‘पागलजस्तो’ शब्दले गर्जनसिंहलाई च्वास्स बिझ्छ। तै पनि ऊ केही बोल्दैन। ”ल चिया पिउनुस् अनि सुतिहाल्नुस्” यति भनेर शान्ति सिरकभित्र छिर्छे। गर्जनसिंह सुरूप-सुरूप चिया पिउँदै आफूमा पनि मनोसामाजिक समस्या देखिन थालेको कुरामा विस्वस्त हुन्छ। चिया सकेर ऊ पनि सुत्ने तरखर गर्छ । ”शान्ति?” शान्ति निदाई सकेकीले बोल्दिनन्। ऊ पनि बत्ति निभाएर सिरकभित्र छिर्छ। अब आफूमा देखा परेको मनो-सामाजिक समस्याको समाधान कसरी गर्नेहोला भन्ने चिन्ताले उसलाई सताउन थाल्छ। यसैवीच उसले बोलेको अन्तिम शब्द ‘शान्ति’ ले उसलाई कताकता प्रभाव पार्छ । उसलाई लाग्छ शायद यही शब्दभित्र कहिँ कतै उसको समस्याको समाधान लुकेको छ। सोच्दा सोच्दै ऊ पनि निदाउँछ।
मिर्मिरेमै गर्जनसिंहको आँखा खुल्छ। शान्तिको आँखा भने खुलेको हुन्न। ”विचरी रातभरि सुत्न पा’की छैनन्” गर्जनसिंहलाई शान्तिको निन्द्रा खलबलाउन मन लाग्दैन। ऊ मिर्मिरेमै उठेर विहानी यात्रामा निस्कन्छ। उसको घरभन्दा करिब एक किलोमिटरपरको पीपलबोट चौतारोमा यसो जीउ तन्काउनु पर्ला भन्ने विचारले ऊ त्यतैतिर लाग्छ। त्यहाँ अरू नै कोही अघि पुगिसकेको उसले टाढैबाट देख्छ। त्यहाँ एकजना बयोबृद्ध भिक्षु ध्यानमा वसिरहेको हुन्छ। ऊ पनि चौतारीमा टुसक्क बस्छ।
”कमल!, मेरो नजीक आऊ।” भिक्षुले गर्जनसिंहलाई बोलाउँछ।
”मेरो नाम त गर्जनसिंह हो!”
”तिम्रो आमाबुवाले राखेको नाम त कमल हैन र?”
”हो, तर त्यो नाम मैले छोडिसकेँ। अहिले मलाई गर्जनसिंह भनेर सबैले चिन्छन।”
”ठीक छ, के म तिमीलाई कमल भनेर सम्बोधन गर्न सक्छु?”
”सक्नु हुन्छ। तर तपाईको परिचय?”
”मेरो नाम सिद्धार्थ हो।”
”बुद्धिस्ट भएकोले गौतम बुद्धको नामसँग मिलाएर नाम राख्नु भा हो?”
”यो नाम मेरो आमाबुवाले राखेको हो।”
”हे भिक्षु, म हिजोआज एउटा समस्यामा परेको छु। के तपाई मलाई मद्दत गर्न सक्नु हुन्छ?”
”ठीक छ, मैले सकेको मद्दत गर्छु, भन”
कमलले आफ्नो समस्याको मूल कारण हिजोआज देख्ने गरेको सपना भएको बतायो। उसले भिक्षुसामु दुवै सपनाको सविस्तार वर्णन गर्छ। दुवैजना एकक्षण चुप रहन्छ। पहिले भिक्षुले मौनता तोड्छ।
”म केही प्रश्नहरू गर्छु, त्यसको तिमी सही-सही जवाफ देऊ।”
”हुन्छ, म सही-सही जवाफ दिन्छु।”
”तिमीले कुन नम्बरको जुत्ता लगाएका छौ?”
”नौ नम्बरको”
”कुन कम्पनीको?”
”नेप-शु कम्पनी।”
”कुन रङ्गको?”
”कलेजी रङ्गको।”
”नौ नम्बरकै जुत्ता किन?”
”अरू नम्बरको जुत्ता मेरो खुट्टामा मिल्दैन, त्यसैले।”
”नेप-शु नै किन? बजारमा अरू कम्पनीका जुत्ता छैनन्?”
”छन्, तर मलाई त्यही कम्पनीका जुत्ताहरू सजिला लाग्छन्।”
”सबै मानिसले नेप-शुकै जुत्ता लगाएका छन त?”
”छैनन्, सबैले आफ्ना छनौट अनुसार लगाएका छन।”
”कलेजी रङ्ग नै किन रोजेको?”
”मलाई सेतो बाहेक सबै रङ्ग मन पर्छ। कलेजी रङ्ग मेरी श्रीमतिले छानेकी हुन्”
”तिम्री श्रीमतिले सेतो रङ्ग सिफारिस गरेकी भए तिमी लाउँथ्यौ?”
”लाउँदिन थेँ।”
”किन?”
”मैले अघि नै भने नि मलाई सेता रङ्ग मनपर्दैन भनेर।”
”तिमी आउँदै गर्दा बाटामा केही भा’थ्यो?”
”भा’थ्यो, एउटा ढुङ्गोमा ठेस लागेर लडेको थेँ।”
”त्यो ढुङ्गो तिमीले नै राखेका हौ?”
”होइन, ढुङ्गा बोक्ने गाडीबाट खसेको हुनसक्छ।”
”के त्यो ढुङ्गोले पूरै बाटो ढाकेको थियो?”
”थिएन।”
”त्यो ढुङ्गोलाई छलेर तिमी आउनसक्ने रहेछौ तर तिमीले त्यसो किन गरेनौ?”
”मैले भुईँतिर नहेरी आकाशमा उडेको कौवाको बथानलाई हेर्दै हिँडेको थिएँ।”
”बाटामा त्यसपछि कुनै अवरोध थिएन त?”
”थियो, एउटा खाल्डो थियो। शायद पानीको पाईप बिच्छ्याउनको लागि खनेको होला।”
”त्यो खाल्डोमा चाहिँ तिमी किन परेनौ त?”
”मैले भुईँतिर हेरेर हिँडेकोले।”
”हिजो तिम्रो कोसित झगडा भा’थ्यो?”
”बाटोछेउ डालोमा बदाम बेच्नेसँग।”
”किन भा’थ्यो?”
”बाटोमा हिँड्दा उसको डालोमा ठोक्किएर उसको बदाम सबै नालीमा खस्यो। उसले ‘मेरो बदाम किन पोखाईस’ भन्यो मैले ‘हिँड्ने बाटोमा किन पसल थापिस्’ भनें। वस्,यही कुरामा झगडा भा’थ्यो।”
”कस्को बढी गल्ती थियो?”
”उसको।”
”कसरी?”
”हिड्ने बाटोछेउ पसल थाप्नु हुन्नथ्यो।”
”डाले पसल भनेकै बाटोछेउ थाप्ने होईन र?”
”हो।”
”यदि डाले पसल नभएको भए बाटोमा हिँड्नेले सस्तोमा बदाम खान पाउँथें?”
”पाउँदैनथे।”
”अनि कसरी उसको गल्ती बढी भो त?”
”त्यसको मतलब उसको गल्ती नै थिएन त?”
”मैले उसको गल्ती थिएन् भन्न् खोज्या हैन, कस्को बढी थियो भन्न मात्र खोज्या हूँ।”
”तुलनाको हिसाबले त मेरै गल्ती बढी थियो।”
”त्यो कसरी?”
”त्यो बाटो मेरो मात्र थिएन, उसको पनि थियो। ऊ त छेऊ लागेर बसेकै थियो। बाटोमा अरू पनि हुन्छन् भन्ने हेक्का मैले राख्नु पर्थ्यो।”
”अनि आफ्नो गल्तीलाई कसरी सुधा-यौ त?”
”मैले आफ्नो गल्तीका लागि माफी मागें अनि पोखेको बदामको मूल्य बराबर हर्जना तिरें”
”त्यसपछि उसले तिमीलाई के भन्यो?”
”झगडा हुन पुगेकामा क्षमा माग्यो अनि हर्जनाको लागि धन्यवाद दियो।”
”कमल, तिमिले सबै प्रश्नको सही-सही जवाफ दियौ, त्यसको लागि धन्यवाद। मेरो जाने बेला भयो, अब मलाई विदा देऊ।”
”पख्नुस, पख्नुस! मेरो समस्या समाधान गर्न सकेको मद्दत गर्छु भन्नु भा’ हैन? खै मद्दत गर्नु भा’को?”
”मैले सकेको मद्दत त गरिसकेँ नि।”
”त्यो कसरी? मेरो समस्याको बारेमा तपाईले के भन्नु भो र?”
”हामी दुईको सम्बादको माध्यमबाट मैले चारवटा कुरा बताईसकेँ जस्मा तिम्रो समस्याको समाधान पनि लुकेको छ।”
”ती के के हुन्?”
”पहिलो कुरा, हरेक मानिस आफ्नो स्वभाव र आवश्यकता अनुसार आफूले चाहे जसरी बाँच्न चाहान्छन्। यसमा ऊ अरूको सहयोग लिन सक्छन् तर हस्तक्षेप सहन सक्दैनन्। यो उसको प्राकृतिक स्वाभाव हो। तिम्रो जुत्ताको नम्बर, जुत्ता बनाउने कम्पनीको नाम, जुत्ताको रङ्ग र श्रीमतिको सहयोगको प्रसँगबाट मैले तिमीलाई यो कुरा बताएँ। सेतो रङ्गको जुत्ता श्रीमतिले सिफारिस गरेपनि नलगाउने भन्ने तिम्रो उत्तरमार्फत् मानिस अरूको हस्तक्षेप मनपराउँदैन् भन्ने कुरा बताएँ। यो कुरा तिमीमा मात्र हैन सबैमा लागू हुन्छ। के तिमी यो कुरा मान्न तयार छौं?” भिक्षुले पहिलो कुरा प्रस्ट्याउने प्रयास गरे। ”हो, यो कुरा म मान्दछु तर मेरो समस्यासँग यस कुराको के साईनो छ?” कमल जान्न चाहान्छ। ”प्रत्यक्ष साईनो छ। जो जो मानिस आफ्नो असामियक मृत्युको हिसाब माग्न तिम्रो सपनामा आइरहेकाछन् उनीहरूलाई तिमीले किन मा-यौ?” भिक्षुले प्रश्न गर्छ । ”देश र जनताको हितको लागि उनीहरूको मृत्यु अनिवार्य थियो।” कमल सफाई दिन्छ । ”सेता रङ्गको जुत्ता तैंले लाउनै पर्छ भनेर कसैले भन्यो भने के तिमी त्यसलाई ठीक मान्छौ?” भिक्षुले प्रश्न गर्छ। ”मान्दिन” उसले तत्काल जवाफ फर्काउछ। ”त्यसो हो भने उनीहरूले मर्नैपर्छ भनेर तिमी कसरी भन्न सक्छौ? के उनीहरूको ज्यान तिम्रो जुत्ताको रङ्ग भन्दा सस्तो छ? तिम्रो जुत्ताको रङ्गको फैसला गर्ने अधिकार तिमी अरूलाई दिन चाहान्नौ भने उनीहरूको ज्यान लिने अधिकार तिमीलाई कस्ले दियो? उनीहरूको ज्यान तिम्रो करेसाबारीको साग हो जुनबेला चाह्यो त्यै बेला निमोठेर पकाउने?” भिक्षुले प्रश्नमाथि प्रश्न गर्छ। ”हो, उनीहरूको ज्यान लिने अधिकार मलाई छैन तर देश र जनताको हितका लागि मैले त्यसो गरेको हूँ। ”कमल अझै जिद्दि गर्छ। ”तिमी बारम्बार देश र जनता भन्छौ, त्यो भनेको के हो?” भिक्षुले प्रश्न गर्छ। ”देश भनेको सिमाना हो, भूगोल हो र जनता भनेको त्याँ बस्ने मानिस हुन्।” कमल उत्तर दिन्छ।
”भूगोलको मात्रै छुट्टै महत्व छ?” भिक्षुले सोध्छ।
”छैन, भूगोलको महत्व जनता हुनुमा मात्र छ।”
”त्यसो भए भूगोल ठूलो कि जनता ठूलो?”
”जनता ठूलो”
”त्यसो भए जनताको भलो हुनु भनेकै देशको भलो हुनु हो कि होईन?”
”हो।”
”जनताको भलो हुनु भनेको के हो?”
”देशको धेरै मानिसहरूको भलो हुनु हो।”
”त्यो कसरी हुन्छ?”
”त्यसको लागि हाम्रो पार्टीले लिएको विचार, बाटो र योजना अनुसार सबैले चल्नुपर्छ, नेपाललाई हामी चाँडै स्वीटजरल्याण्ड बनाईदिन सक्छौं।”
”त्यस्तो विचार, बाटो र योजना कस्ले बनाउँछ?”
”पार्टीको केन्दीय कमिटीले”
”उक्त कमिटीमा कतिजना सदस्य छन्”
”होला एकसय पचासजति”
”नेपालको जनसङ्या कति छ?”
”होला दुई करोड सत्तरी लाख जति।”
”तिम्रो भनाई अनुसार दुई करोड सत्तरी लाखले एकसय पचासजनाले सोचेको विचार, बाटो र योजना अनुसार चल्नु पर्छ। तिमीले भन्न खोजेको यही हो?
”हो, यही हो”
”अब म तिमीतिर फर्कन्छु। के तिमी आफ्नो विचारमा पक्क अडिक छौ?”
”पक्का अडिक छु।”
”म पुनः सोध्छु, सात नम्बरको सेतो जुत्ता लगाउ भनेर सयजनाले अनुरोध ग-यो भने के तिमी लगाउँछौं?
”म दुईटा कारणले उनीहरूको प्रस्ताव विनम्रता पूवर्क अस्वीकार गर्दछु। पहिलो, मलाई सात नम्बरको जुत्ता मेरो खुट्रटाको साईजमा मिल्दैन। दोश्रो, मलाई सेता रङ्ग पटक्कै मन पर्दैन। आफूलाई नमिल्ने र मननपर्ने जुत्ता म कसरी लाउन सक्छु र?”
”सेतो जुत्ता लगाउँदा राम्रो हुन्छ भनेर कसैले तिमीलाई सुझाव दिन सक्छ कि सक्दैन”
”सक्छ तर मैले मान्नै पर्छ भन्ने त छैन नि”
”के तिमीले सोचेको जस्तै सबै कुरा हुन्छ?”
”नहुन पनि सक्छ, जस्तो कि मेरो हातबाट मरेकाहरूले मलाई सपनामा आएर सताउनसक्छन् भन्ने कुरा मैले कहिल्यै सोचेको थिईन।”
”तिमीले लगाउ भनेको कुन पोशाक तिम्री श्रीमतिले लाउन मान्दिनन्?”
”सर्ट पाइन्ट लाउन मान्दिनन्।”
”किन मान्दिनन्?”
”अप्ठेरो लाग्छ र मन पनि पर्दैन भन्छिन।”
”तिमीले भनेको यतिमात्र मान्दिनन् कि अरू कुरा पनि मान्दिनन्?”
”उनले नमान्ने अरू पनि धेरै कुरा छन्।”
”तिमी हरेक दिन आफ्नो पूर्व निर्धारित विचार, बाटो र योजना अनुसार कति चलेकाछौ?”
”हि!हि!! यो मामलामा म चैं लथालिङ्ग छु भन्दा हुन्छ। कहिले आफ्नै कारणले र कहिले अरूको कारणले यस्तो हुँदो रहेछ।” कमल पुनः फिस्स हाँस्छ, भिक्षु पनिसँगै हाँस्छन्। क्षणभरको मौनता पछि भिक्षुले गम्भीर भएर भन्छ, ”कमल, म अत्यन्त गम्भीर छु। आफ्नो समस्याप्रति गम्भीर छौ भने तिमी पनि गम्भीर भएर मेरो कुरा सुन र साथसाथै मनन् पनि गर।” कमलले पनि भन्छ, ”हुन्छ, म ध्यानपूर्वक सुन्छु र मनन् गर्छु।” त्यसो भए सुन, ”तिम्रो लागि के ठीक हो र के बेठीक हो भन्ने कुरा सबैभन्दा बढी तिमीलाई नै थाहा हुन्छ। सयजना मिलेर पनि तिम्रा लागि सेतो जुत्ता नै ठीक हो भनेर प्रमाणित गर्न सक्दैनन्, अहिलेसम्म गर्न सकेका पनि छैनन् होला। के तिमी यो कुरा मान्छौ?” भिक्षुले प्रश्न गर्छ। ”हो, यो कुरा म मान्दछु। मेरो आफ्नै अनुभव अनुसार पनि यो कुरा ठीक छ।” कमले उत्तर दिन्छ। ”के तिमीलाई यसमा पक्का विश्वास छ?” भिक्षुले पुनः जोड दिएर सोध्छ। ”यसमा मलाई सतप्रतिशत विश्वास छ” कमलले उच्च विश्वासकासाथ जवाफ दिन्छ। भिक्षु अब अघि बढ्छ, ”जब सयजना मानिसले तिम्रा लागि अथवा एक जनाका लागि के ठीक र के बेठीक भनेर प्रमाणित गर्न सक्दैनन् भने तिमीले पनि कसैका लागि के ठीक के बेठीक भनेर ठोकुवा गर्न सक्ने कुरै भएन जस्तो कि तिमीले भनेको कतिपय कुरा तिम्रो श्रीमतिलाई ठीक लाग्दैन । यही कुरा अरूमा झैं तिम्रो दल र जनतावीचको सम्बन्धमा पनि लागू हुन्छ। त्यसैले तिम्रो दलको एकसय पचासजनाले दुई करोड सत्तरी लाख नेपालीका लागि के ठीक के बेठीक भनेर कसरी भन्न सक्छ? हो प्रस्ताव राख्न वा सुझाव दिन सकिन्छ तर त्यही नै एकमात्र ठीक कुरा हो भनेर कसरी प्रमाणित गर्न सकिन्छ। कमल, तिमी आफै भन त, तिम्रो दलको एकसय पचासजनाले दुई करोड सत्तरी लाख नेपालीका लागि जे भन्छ त्यो एकमात्र सही हो भनेर तिमी कसरी भन्न सक्छौ? कसले के भन्यो त्यो नपत्याउ, मेरो कुरा पनि नपत्याउ बरू त्यही कुरा पत्याउ जो तिम्रो अन्तरआत्माले भन्छ, तिम्रो अन्तरविवेकले भन्छ। कमल, ल भन, यतिबेला तिमी के सोचिरहेछौ?” भिक्षुले प्रश्न गर्छ। ”यतिबेला मसँग तपाईको प्रश्नको कुनै उत्तर छैन। मसँग जुन उत्तर थियो अब जग हल्लिएको छ, जुन उत्तर मेरो गणित, तर्क र अन्तरआत्माले दिन खोज्दैछ त्यसलाई म ब्यवस्थित गर्न सकिरहेको छैन।” कमलको स्वर काँप्छ। शायद यतिबेला उसको मस्तिष्कभित्र हुरी चलिरहेको छ। ”ठीक छ, हरेक प्रश्नको जवाफ दिईरहन आवश्यक छैन तर मूलकुरा प्रश्नको आशय बुझेपुग्छ।” भिक्षु पुनःअघि बढ्छ, ”तिमी अलिखित रूपमै भएपनि आफ्नो लागि विचार, बाटो र योजना तय गर्दा रहेछौ। तर पनि तिम्रै भनाई अनुसार अक्सर एकैदिनमा दुई वा तीनपटक वा कहिले काहिँ त त्योभन्दा पनि बढी पटक विचार बदल्नु पर्ने अवस्था सिर्जना हुँदोरहेछ। सोचेकोभन्दा अर्कै बाटो हिँड्नु पर्दोरहेछ। बनिसकेको योजना बिर्सेर नयाँ योजना बनाई चल्नु पर्दोरहेछ। तिमीलाई यसमा राम्रो ज्ञान र अनुभव पनि छ। तिमी आफैले बनाएको सानो विचार, बाटो र योजना अनुसार आफैलाई हिँडाउन सक्दैनौ भने तिम्रो दलको एकसय पचासजनाले बनाएको विचार, बाटो र योजनामा दुई करोड सत्तरी लाख नेपालीकालाई हिँडाउन सकिन्छ भनेर तिमी कसरी ठोकुरा गर्न सक्छौ? कहिलेकाहिँ एउटा ब्यक्तिले त आफैलाई चिन्न सक्दैन। के खानुहुन्छ के खान हुन्न भन्ने भेद थाहा पाउन सक्दैन। थाहा पाएको भए धुमपान, मध्यपान, लागु औषध र जुवामा फस्ने थिएन होला, चोरी, डकैतीमा लाग्ने थिएन होला। यस्ता अवगुणह वा सीमाहरू भएका केही मानिसले धेरै मानिसलाई यो मात्र ठीक र त्यो चाहिँ बेठीक कसरी भन्न सक्छ? यदि केहीले पढेर पुग्ने भए सवैले किन पढ्नु पर्थ्यो र? केहीले गरेर पुग्ने भएमा सबैले किन गर्नु पर्थ्यो र? केही पूराना विचारले काम चल्ने भए नयाँ नयाँ विचारहरूको किन जन्म हुन्थ्यो र? एउटै समुह वा सम्प्रदायले पुग्ने भए धेरै समूह वा सम्प्रदायको किन जन्म हुन्थ्यो र? एउटाले बोलेर पुग्ने भए प्रकृतिले सबैलाई मुख किन दिन्थ्यो र? एउटैले सुनेर पुग्ने भए सबैको कान किन हुन्थ्यो र? ”कमल चुपचाप सुनिरहेको देखेर भिक्षुले उसलाई सोध्छ, ”के तिमी मेरो कुरा सुनिरहेकाछौ?” कमल प्रत्युत्तरमा भन्छ, ”सुन्ने र सम्झने दुवै प्रयास गरिरहेको छु। हिजो पार्टीको कुरा सुन्दा त्यही ठीक लागेको थियो, अहिले तपाईको कुरा सुन्दा त्यही ठीक लाग्दैछ। म दुवैमा फरक छुट्याउन सकिरहेको छैन। तर यतिबेला मेरो मनमा एउटा प्रश्न जब्बरजस्त उठिरहेको छः त्यसोभए के म गलत रहेछु त?” उसको यो प्रश्नको उत्तरमा भिक्षुले भन्छ, ”यसको उत्तर तिमी वाहेक अरू कसैसँग छैन। कसैले भन्छ भने त्यो उसको निजी विचारमात्र हुन्छ जुन सही हुनुपर्छ भन्ने केही छैन। त्यसैले आफूले आफैलाई सोध।” कमलले आफूले आफैलाई सोध्छ तर पनि उसलाई खुट्ट्याउन कठिन हुन्छ। भिक्षुले पुनः भन्न शुरू गर्छ, ”तिमी जुत्ताको रङ्गको सवालमा पनि अरूको हस्तक्षेप मनराउँदैनौ किनभने तिमी स्वतन्त्र छौ। यसैगरी अरू पनि स्वतन्त्र छन्। तिमीले अहिले जुन समस्या भोगिरहेका छौ त्यो तिमीले अरूको स्वतन्त्रतामाथि गरेको हस्तक्षेपको परिणाम हो।” भिक्षुले भनेको पछिल्लो वाक्यले उसलाई छुन्छ। त्यसैले भिक्षुलाई बीचैमा रोक्दै कमले प्रश्न गर्छ, ”तपाईले अहिले भर्खर भन्नु भो कि मेरो समस्या मैले अरूको स्वतन्त्रतामाथि गरेको हस्तक्षेपको परिणाम हो। यो कसरी भन्नु भो तपाईले?” भिक्षुले प्रस्ट्याउँछ, ”उदाहरणको लागि पत्रकार वीरेन्द्रसिँहलाई लेऊ। तिमीले जे ग-यौ त्यो तिम्रो ब्यक्तिगत काम थिएन। ठीक बेठीक जेसुकै भएपनि त्यो सार्वजनिक सरोकारको काम थियो। वीरेन्द्रसिँहले त्यसलाई अझ बढी सार्वजनिक गरिदिए जुन उसको धर्म थियो। उसको काम पनि ठीक बेठीक जेसुकै हुनसक्थ्यो तर त्यसले तिमीहरूलाई नराम्रो प्रभाव पा-यो। त्यो तिमीहरूलाई सह्य भएन अनि उसको बाँच्न पाउने स्वतन्त्रतामाथि तिमीहरूले हस्तक्षेप ग-यौ, आफ्नो लोग्नेसँग बस्न पाउने उसको श्रीमतिको स्वत्त्रन्तामाथि हस्तक्षेप ग-यौ, आफ्नो बाबुको लालनपालन र मायाँमा बस्न पाउने उसको छोराछोरीको स्वतन्त्रतामाथि हस्तक्षेप ग-यौ, छोराको मेहनतमा बाँच्ने र उनैको हातबाट दागवत्ती पाउने उनको बृद्ध आमा-बाबुको स्वतन्त्रतामाथि हस्तक्षेप ग-यौ। अझ खोज्दै जाने हो भने एउटै घटनाबाट धेरैको स्वतन्त्रतामाथि तिमीहरूले हस्तक्षेप गरेको तिमी आफैले थाहा पाउनेछौ। ती बुढी आमाको छोरालाई पनि उदाहरणको रूपमा लिन सक्छौ। उनको छोरामाथि तिमीहरूले लगाएको आरोप सही वा गलत जे पनि हुनसक्थ्यो तर तिमीले सफाई दिन पाउने उसको स्वतन्त्रतामाथि हस्तक्षेप ग-यौ, रीतिअनुसार जन्मदिने आमाको अन्तिम क्रियाकर्म गर्न र शोक मनाउन पाउने उनको स्वतन्त्रतामाथि हस्तक्षेप ग-यौ, उनको वाँच्न पाउने स्वतन्त्रतामाथि हस्तक्षेप ग-यौ र चलनअनुसार सदगत पाउने उनको लासको स्वतन्त्रतामाथि पनि हस्तक्षेप ग-यौ। विचरा बुढी आमाको छोरो मरेपछि पनि मलाई किन मारेको, तिम्रो नेताको आमाबाबु र मेरो आमामा किन फरक ब्यवहार गरेको भन्दै रूँदै तिमीहरूसँग छ वर्षदेखि कारण खोजिरहेको छ। आफ्नो जुत्ताको रङ्ग छान्न पाउने तिम्रो स्वतन्त्रतामाथि अरूको हस्तक्षेप मननपराउने तिमीले भने अरूको धेरै ठूला-ठूला स्वतन्त्रतामाथि हस्तक्षेप ग-यौ। के तिमीलाई यसको कहिल्यै हेक्का रह्यो? एकपटक वीरेन्द्रसिँह र ती बुढी आमाको छोराको ठाउँमा आफूलाई राखेर हेर, अनि तिमीलाई थाहा हुन्छ ब्यक्तिको स्वतन्त्रतामाथिको हस्तक्षेपको पीडा र स्वतन्त्रताको मर्म। स्वतन्त्रता मानिसको………………..” कमल सुँकसुकाएको थाहा पाएर भिक्षु रोकिन्छ। एकक्षण दुवैजना केही नबोली बस्छन्।
”कमल, मैले क्यै गल्ती गरेँ कि?”
”हैन, हैन। म अहिले आफूले कहिल्यै नगरेको अनुभूति गरिरहेको छु। मलाई लाग्छ, मेरो यो आँशु गर्जनसिँहबाट उही पूरानो कमलतर्फको यात्राको मीठो अभिव्यक्ति हो।”
”तिमीलाई चोट पु-याउने मेरो उद्देश्य थिएन, मलाई माफ गर।”
”कृपया त्यसो नभन्नु होला। मैले आज नयाँ जीवन पाएको महसुस गरिरहेको छु। देश र जनताको मुक्ति अर्थात् स्वतन्त्रताको लागि उठेको मेरो हातले धेरैको स्वतन्त्रतामाथि क्रुर हस्तक्षेप गरेको रहेछ।” उसको आँखाबाट पुनः आँशु बग्न थाल्छ। आँशु पुछ्दै ऊ भन्न थाल्छ, ”मैले पहिलो कुरा बुझेँ। अब मलाई दोश्रो कुरा पनि बताइदिनुस्।” भिक्षुले भन्न शुरू गर्छ, ”मैले साङ्केतिक रूपमा बताएको दोश्रो कुरा भनेको संसार दुःखमय छ भन्ने नै हो। बाटोको ढुङ्गा, खाल्डो र डाले पसलेसँगको झगडा त्यसका साङ्केतिक अभिव्यक्ति हुन्। समाजमा कति पीडा, दुःख, भेदभाव, अज्ञानता र दरिद्रता छ भन्ने कुरा तिमीलाई पनि राम्रो थाहा छ।” कमलले भिक्षुलाई बीचैमा रोक्दै प्रश्न गर्छ, ”संसार दुःखमय हुनुका कारण के हो?” भिक्षुले जवाफ दिन्छ, ”यसका प्रमुख दुई कारण छन्। पहिलो कारण हो एकले अर्काको स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु, आफूलाई ठूलो अरूलाई सानो ठान्नु र आफ्नो कर्तव्यको पालन नगर्नु। बाटोमा ढुङ्गा खसालेर तह नलगाउनु र खाल्डो खनेर नपुर्नु यसका साङ्केतिक अभिव्यक्ति हुन्। दोश्रो कारण हो आफ्नो दोष नदेख्नु केवल अरूको दोषमात्र देख्नु। आकाशमा कौवाको बथान हेरेर हिँड्ने अनि ठेसलाग्यो भनेर ढुङ्गालाई वा ढुङ्गा फाल्ने मानिसलाईमात्र गाली गर्नु यसको साङ्केतिक अभिव्यक्ति हो। वास्तवमा मैले साङ्केतिक रूपमा बताएको तेश्रो कुरा यही थियो। र चौथो कुरा……..” कमले पुनः भिक्षुलाई बीचैमा रोकेर सोध्छ, ”चौथो कुरा बताउनुभन्दा पहिले म हजुरबाट एउटा प्रश्नको जवाफ चाहान्छु। समाजका पीडा, दुःख, भेदभाव, अज्ञानता र दरिद्रता हटाउँन मैले जुन तरिका रोजेँ त्यसमा अब मलाई विश्वास रहेन तर पनि मेरो हार्दिक चाहना छ समाजमा यी कुराहरू हटेर जाउन। यसको उपाय के हुनसक्छ?” कमलको प्रश्नको उत्तर दिनुभन्दा पहिले भिक्षु मुस्कुराउँछ, ”यही थियो चौथो कुरा। मैले दुःखका जुन प्रमुख दुई कारणहरू वताएँ, त्यसैको निराकरण गर्नु नै उत्तम उपाय हो। हरेकले हरेकलाई समानभावले हेर्नु, व्यवहार गर्नु अथवा अरूको स्वतन्त्रतामाथि हस्तक्षेप नगर्नु र आफूभित्रको कमीलाई हटाउनु नै राम्रो उपाय हो।” कमलले आफ्नो अन्तिम जिज्ञासा राख्छ, ”मैले विगतमा जे पाप गरेँ त्यसबाट म मुक्ति चाहान्छ, के यो कसरी सम्भव छ?” कमलको जिज्ञासा सुनेपछि भिक्षुले जवाफ दिन्छ, ”तिमीबाट हिजो जे नहुनु पर्ने थियो त्यो त अब भयो भयो। तिमी यसलाई फर्काउन सक्दैनौ तर केही न केही तिमी अवस्य गर्न सक्छौ। सबैभन्दा पहिले आफूबाट भएको गल्ती स्वीकार गर। दोश्रो, उक्त गल्तीका कारण जोजोमाथि अन्याय हुन पुग्यो, उनी वा उनको परिवारसँग उपयुक्त समयमा गएर माफी माग र उनीहरूको पीडा कम गर्न सकेको मद्दत गर। र तेश्रो, जे गल्ती तिमीले ग-यौ अब त्यस्तै गल्ती अरूले नगरून भन्नका लागि आफूले सकेको जति चेतना फैलाउने काम गर।” यसपछि दुवैजना केही बेर चुप लागेर वस्छन्।
”कमल, अब मसँग तिम्रा लागि एउटा प्रश्न र एउटा सुझाव छ, भन तिमी पहिले कुन कुरा सुन्न चाहान्छौ?”
”म पहिले प्रश्न सुन्न चाहान्छु।”
”मैले तिमीलाई ठीकठीक बुझाउन सकेँ वा सकिन म त्यो जान्न चाहन्छु, त्यसैले मलाई बताऊ, चार कुराको सार के के हुन्?”
”ती चार कुराको सार हुन् -पहिलो, संसार दुःखमय छ, दोश्रो, दुःखका कारणहरू छन्, तेश्रो, दुःखबाट उम्कने उपायहरू छन, र चौथो, स्वतनत्रताको प्राप्ति नै सबैभन्दा ठूलो सुख हो।”
”कमल, मैले सही बताउन सकेको रहेछु। अब तिमीलाई मेरो एउटा विनम्र सुझाव छ, मेरो कुरामा सिधै विश्वास नगर। तिमी यी चार कुरालाई तिम्रो आफ्नै तरिकाले जाँच, तौल अनि जति ठीक लाग्छ त्यति लिऊ, बाँकी नलिऊ। आफूलाई पूरा विश्वास नलागेसम्म कुनै पनि कुराको अनुसरण नगर।”
यति भनेर भिक्षु आफ्नो ठाउँबाट उठ्छ, कमल पनि उठ्छ। उनीहरू एकले अर्कोलाई अङ्कमाल गर्छन। अन्तमा कमलले भिक्षुको हात समातेर भन्छ, ”हजुरले मेरो समस्याको समाधान गर्न ठूलो मद्दत गर्नुभयो। हजुरको यो गुन म कसरी तिरूँ? यसबेला म यतिमात्र भन्न सक्छु, हजुरलाई मेरो हृदयदेखिको धन्यवाद।”
”के को हजुर हजुर भनिरा’ भन्या? सधैंभरि तँ का तँ भन्ने मान्छे एकाविहानै ओछ्यानमै हात समाएर हजुरका हजुर लाइरा’छ। हैन यो मान्छेले फेरि सपना देख्यो कि क्या हो? उठ्नुस भन्या।” शान्तिको चर्को स्वरले गर्जनसिंह ब्युझन्छ।
(स्रोत : “लालीगुराँस” बिद्युतीय साहित्यिक पत्रिका – अङ्क १ – जनवरी 1, 2010)