~क्षितिज मगर~
सम्झिन्छिन् आज । शायद बेस्सरी नै ।
आज सम्झिन्छिन्, घातका चुपीले धसेका आफ्ना अतीतलाई, अपूर्ण सपनालाई, जबर्जस्त सम्झिन्छिन्– जीवनभरि काँडाझैं बिझाइरहने पहिलो प्रेमलाई । उनले अर्थात् दिलकुमारीले ।
कहिले सपनाझैं लाग्छ– आङ सिरिङ्ग–सिरिङ्ग हुने । कहिले लाग्छ– अहिले नै पो हो कि जस्तो लाग्ने आँखाबाट समुन्द्र नै छचल्काइदिने । हिजोआजझैं लाग्छ त्यो समय । तर समयको कुइनेटालाई उनका उमेरले निकै पर छाडेर आइसकेछ । फेरि पनि उनका मनमा बसेका खतहरु अझै ताजै छन् । मानौं कि जीवनका सर्वाधिक मूल्यवान् गहना हुन्, जसलाई आफूसँगै बोकेर आएकी छिन् दिलकुमारीले ।
‘अभागी खप्पर, जहाँ गए नि ठक्कर’ सञ्जोगवश भनुँ या नियतवश ? बाध्यतावश भनुँ या नियतिवश ? दिलकुमारीको जीवनमा यी उखानले सार्थकता पाएझैं भएको छ आज । माओवादी जनयुद्धकालको जन्म सँगसँगै पलाएको उनको प्रेमकहानीको जसरी अन्त भएथ्यो, ठीक त्यसरी नै त्यस्तै पीडा दिने गरी दोस्रो प्रेमकथा पनि उनको जीवनको खिल बनेर चहराइरहेछ ।
जनयुद्धकालमा रोजिएको दोस्रो प्रेमीले अर्कै केटी टिपेर कालापहाड टाप कसेपछि करिब आधा दशकभन्दा पहिलेदेखि मुटुका टुक्राझैं मानेर दुई सन्तानसँग दिलकुमारीले एक्लै जीवनको रथ हाँकिरहेकी छिन्– बाध्यतावश, बिवशतावश ।
पारी दार्बोटको जंगलमा धेरै पटक ऋतुले पालुवामा बैंश छरेर फर्कियो तर खुशी भरिएन उनका दुःखी बैँशमा– अतृप्त मनमा ।
तल माडी खोलामा कति–कति पानी बगिसक्यो अहिलेसम्म । ऊ पारी घमिरी लेक र जलजलामा कति पटक हिउँ प¥यो र पग्लियो ? यो डिगागाउँको पखेरीमा कुसुम कति झरे, पलाए, गुराँस कति फुले, ओइलाए ।
यो दार्बोट नाका हुँदै उनको डिगागाउँको सिरानीबाटै सहिद मार्ग खुल्यो, उनको सुखको मार्ग ? अहँ, खुलेन– कहिल्यै पनि खुलेन । सारमा धेरै–धेरै परिवर्तन भए समयको पोल्टामा । तर आफ्नो भने कहिल्यै केही परिवर्तन भएको होइन । यता फर्कियो, उता फर्कियो, तल झ¥यो, माथि उक्लियो ।
अहँ, केही कोल्टे फेरेन दिलकुमारीको जीवनरेखाले ।
संगठनको रोहबरमा बिहे गरेर यस घरमा पहिलो पटक पस्नेबित्तिकै जुन नाम्लो र हँसिया उठाएकी थिइन्, त्यही उठाइरहेकी छिन् अहिलेसम्म पनि ।
एकाबिहानै उठ्यो, जाँतोको फन्कासँगै चुरा बजायो, अन्नका दाना होइन मानौं सपना पिसिन्छ जाँतोमा । धरतीमा उज्यालो नपोखिँदै गादाभरि खाजा बोक्यो । हातमा नाम्लो र हँसिया बोक्यो । चुरुम–चुरुम खाजा खाँदै बन गयो । घाँसको भारी बनायो । यसो कहिलेकाहीं जीवनका टुटेफुटेका गीत गुनगुनायो । घर आयो, साना नानीहरुलाई स्कुल पठायो– सदाको दिनचर्याको बुहार्तनक्रिया ।
उसै गरेको दुःखाहरिलो सम्साँझ, ऐंठन र तनाव बोकेर आएको अनिदो रात । बस्– यस्तै र यसैगरी चलिरहेछ दिलकुमारीको जीवनचक्र । करिब डेढ दशक पहिलेदेखिको नियमित प्रक्रिया । उही दिन र रात । उही हिउँद र वर्षा ।
***
डिगाको सिरानी भई उभिएको देउरालीचौरको थुम्का । चारैतिर देखिने स्तम्भझैं लाग्ने त्यो अग्लो ठाउँ । जहाँ बसेकी छिन् दिलकुमारी ।
किन–किन सदाको भन्दा खिन्नभावमा छिन् आज उनी । सम्भवतः जीवन सार्थकताको खोजीमा होस् उनको मन । गम्छिन्, सोच्छिन्, आँखा घुमाउँछिन् । तल–तल देखिन्छ झिङ्सेल, रिमसक, जङ्गा, दाङबाङ, तप्नाङ (कोटगाउँ) ।
हिउँदमा सुख्खा रहने परेमा खोलाले उनको माइतीघर र कर्मघरको सीमाङ्कन गरेको छ । बिहानी घामका किरणहरु हाम फाल्दै तल–तल झरिरहेका सुन्दर दृश्यमा अनौठो रेखा कोरिएको स्पष्ट देखिन्छ ।
मान्डीबाङसम्म झरिसकेको छ घाम । पूर्वबाट घाम उदाउँदा अग्लो ह्वामा धुरीको पर्खालले सूर्यकिरण छेकिँदा ओङबाङ, रिसबाङ गाउँ घामको ओझेलमा छन् । ह्वामाधुरीबाट छड्के परेर जङ्कोटसम्म एउटा सरलरेखा बनेका घामका लामा–लामा किरणमा तल मान्डीबाङबाट उठेका पातला हुस्सु र धुँवाले छुन–छुन खोजेजस्तो ।
त्यो चित्र, एउटा काल्पनिक ऐनाको फ्रेमजस्तो औधी सुहाएको देखिन्छ ।
अलि माथि कालो छायाँ एउटा लाइन अफ भएको टीभीको स्क्रीनझैं देखिन्छ । मानौं, दिलकुमारीले त्यही कालो छायाँमा आफ्नो जीवनको चित्र हेरिरहेकी छिन् ।
आँखालाई अझै बायाँतिर तन्क्याउँछिन्, हेर्छिन्, मन भरि–भरि । घापागाउँ, जंकोट, धापाल धुरी, भीरखोला, गैराखुटी, घमिरीलेकको बुकी, धरमपानी र जलजलाको चुचुरो हुँदै दृष्टिलाई बेरोकटोक झन् अगाडि तन्क्याउँछिन् ।
क्षितिज, त्यो भन्दा पनि पर–पर नीलो आकाश– शून्यता । त्यही शून्यताभित्र दिलकुमारीका दृष्टिहरु पनि कतै बिलाउँछन् र मनभित्र एउटा अदृश्य र अतृप्त प्यासले भरिएको शून्यता– बिल्कुलै शून्यता भरिन्छ । आँखा चिम्लिन्छिन् । स्वाँ ऽऽऽ पारेर लामो उच्छ्वास फाल्छिन् । हाइ काढ्छिन् ।
पश्चिम फर्किन्छिन्– सामुन्ने उभिन्छ कुनै योद्धाझैं थुर्पा लेक । तल दक्षिणतिर दार्बोटको जंगलले काँध थापेर बसेको छ– कुनै भारीको पर्खाइमा बसेको घोडाझैं । जाडोबाट फुत्त बाहिर निस्किएर न्यानो घाममा कावा खाँदै एक हुल मलेवा पखेटा फड्कार्दै उडेका दृश्यले उनको मनमा केही बेचैन भरिदिन्छ ।
सदाको भन्दा आधा मात्र घाँसको भारी कसिन् ।
चौबाटोको बिसाउनीमा झरिन् र पारिलो घाममा सजिलो हुने गरी जिउलाई बेहिच्किचाहट सुताइदिइन् ।
आँखा चिम्म गरिन्, हँसियालाई सिरानी बनाएर ।
कल्पनाको एउटा नियमित क्रमबद्धता । सोचाइको उही नियमबद्धता ।
तेजिला स्मृतिका बिस्मयकारी दृश्यहरु खडा हुन्छन्, चिम्म परेका परेलीभित्र ।
कथा उही पहिलो प्रेमको । व्यथा, मुटुका भावनाका तारहरुलाई तरङ्गित पार्ने उही उनका बैगुणी मान्छेको उपहार । उफ ! किन घोच्छन् यी अतीतले दिलकुमारीलाई बारम्बार ? हुन सक्छ यो एउटा मानवीय संवेदनाको प्रभाव, प्राकृतिक स्वभाव ।
आफ्नै स्मरणले दिलकुमारीलाई जबर्जस्त डो¥याएर सरासर जीवनको एक खण्ड जहाँ स्कुले मोडमा पु¥याइछाड्छ । बिहानी घामको चुम्बनमा आफ्नो ज्यानलाई सुम्पेर, कल्पनाको त्यान्द्रोमा झुण्ड्याएर, आफूले पनि स्मृतिका वेगलाई स्कुले जीवनमै पु¥याएर छाड्छिन् मन भित्रभित्रैको बाटो भएर । अनि गर्न थालिन् मनमनै आफ्ना स्कुले जीवनको प्रेमकथाको सम्वाद, आफुले आफैसित गरेको महासम्वाद ।
– यसो गम खान्छिन्, हाँसो र पीरबीचको भाव अथ्र्याउने उपेक्षाकृत मुस्कान छरिन्छ ओंठमा ।
– निरर्थक उत्तेजित हुन्छिन्, उद्देलित हुन्छिन् । र अर्थपूर्ण संवेदित पनि ।
– फेरि बात मार्छिन् आफैसित ।
***
‘पहलु, यो हिसाप सिकाइदिउ त ।’ उनी पहलमानकोमा कति पटक जान्थिन् ।
त्यस स्कुलको मेधावी छात्र थिए पहलमान । उसको र दिलकुमारीको घर बीचैमा थियो कोटगाउँको स्कुल । सकि दिलकुमारीकोमा आउँथ्यो ऊ, सकि उसकोमा जान्थिन् दिलकुमारी ।
पानी पँधेरा, वन जंगल एउटै हुन्थ्यो– जहाँ उनीहरु दैनिकजसो भेट हुने गर्दथे । ती दुईमा एक अर्को स्कुल नगएको दिन निस्सार मान्थे दुबैले ।
बाल्यकालदेखिको साथ, एउटै गाउँ, एउटै स्कुल, एउटै जंगल, एउटै बजार, घाँस दाउरा लिन सँगै, पानी भर्न सँगै– यही थियो उनीहरुको माया पिरतीलाई हुर्काउने उर्वरभूमि ।
अनुकूल वातावरण ।
कुनै दिन थियो– त्यो दिन, सुनौलो दिन, ऐतिहासिक दिन ।
झुलाबाङको जंगलमा घाँस काट्न गएको बखत थियो त्यो समय ।
‘घला लिबाङ माहिन्या का ?’– धेरै बेरको भलाकुसारीपछि पहलमानले भनेका थिए । (भोलि लिबाङ जाने हैन त ?)
‘दनाङ ?’ (किन ?)
‘नमेवदनुका ? घला जेठ एक गते विद्यार्थी दिवस ।’ (बिर्सियौ र ? भोलि जेठ एक गते विद्यार्थी दिवस )
‘नङ्वन् ?’– कौतुहलता थियो दिलकुमारीको । (तिमी नि ?)
‘हिन्ङा, गे हाडे मासरिस्युकन काःले धोउका ?’ (जान्छु, हामी अघि नसरे कसले गर्छ र ?)
‘ओटन् ?’ (अनि ?)
‘नैती ?’– मायालुसितको प्रेमभावमा दर्शाइने एउटा सरसपूर्ण स्वर, बाल सुलभपनाको झैं सहज जिज्ञासा । (के)
‘हेवई सन् तारा मालिन्या नम्ल सम्भब ताहुका ?’– प्रेमयुक्त मुस्कान, शायद–लालुपातेको उपमा जत्तिकैको सौन्दर्यता । (जूनतारा बिनाको आकाश सम्भव लाग्छ र ?)
‘ओटन् धड्कन मालिन्या जीवन्ला सम्भब लेउका पान्सिउबै मापान्दना सानी ।’– पहलमानको ठट्टयौलीमा सत्यता थियो । (अनि धड्कनबिनाको जीवन सम्भव छ र भनेर पनि भनिनौ त)
‘नङ झन्ता काले, पहलु… ङा जो ङापान्ङु नङ्बै ओज पानन्ओन् ?’ (तेरो काले, पहलु… मेरै सिको गर्नुपर्छ त ?)– जवाफसँगै दिलकुमारीले हातको स्याउलाले मुखमा छ्याप्प हानिदिइन् । यस हानाइमा प्रेमभन्दा अर्थोक केही थिएन । प्रहार छल्न उसले मुख लुकाएर बायाँ हत्केलाले छेक्यो, उसै बखत दिलकुमारीतिर फर्केर आँखा झिम्काउँदै, मुस्कुराउँदै बोल्यो– ‘के तेरो काले, मेरो काले भन्नु पर्दैन त ।’
‘उस्…।’– दुबै खित्का छाडेर हाँसेथे ।
अहिले दिलकुमारीले सोच्छिन्, त्यो उनीहरुको त्रियाकलाप झुलाबाङ जंगलका तिनै निर्दोष रुखहरु बाहेक कसैलाई था छैन ।
किशोरावस्थाका ती दिनहरु सम्झँदा एक मनले दिक्क मान्छ, अर्को मन रोमाञ्चित पनि हुन्छ– मुटुको घाउलाई एकछिन अलिकति पर सारेर । उसबेलाको सोचाइ, अपरिपक्व व्यवहार–आफ्ना प्रेमबारे कसैले पनि थाहा नपाओस् भनी लुकीछिपी गरेको प्रेम दुबैलाई औधी आनन्द लाग्दथ्यो । शायद सबै किशोर किशोरीहरु यस्तो उमेरमा यस्तै सोच्छन् क्यारे ! आफ्नो पिरती गोप्य रहोस् भनेर ।
अँ, अर्को दिन लिबाङ पुगेथे उनीहरु, कमिलाको ताँतीझैं लाइनमा लाइन जोडेर । साथीहरु जस्तै जोसिदै, हौसिँदै, उफ्रदै, खुबै नारा घन्काए– जिन्दावाद, मुर्दावाद भनेर । उनीहरु घरिघरि एकापसमा आँखा जुधाउँथे र आँखाको इशारामा बोल्थे, शायद प्रेमीहरुका कोडभाषा ।
जहाँ उनीहरुका अद्भूत प्रेम प्रकट गराउनुमा भिन्नै आनन्द मान्दथे, भरसक स्वर्गीय आनन्द होस् ।
काँग्रेसी सरकारको चर्को दमन, सरकारका पक्षपाती र सुराकीको थिचोमिचो र कम्युनिष्टप्रतिको झुकावले उनीहरुको मनमा देशभक्ति प्रेम पनि जबर्जस्त जगाइदिएको थियो ।
पहलमान स्कुलको तीक्ष्ण बुद्धि भएको इमान्दार, चित्रकारीता र अक्षर लेख्ने अनौठो र अतुलनीय कला भएको विद्यार्थी थियो । घरका भित्ता तथा चौबाटोका साइनबोर्ड र बाटोका चिप्लेटा ढुङ्गामा लेखिएका उसका सुन्दर अक्षरलाई दिलकुमारीले टाढैबाट चिन्थिन्, प्रेम गर्थिन्– नजानिदो पारामा ।
उनले मनमनै आफुलाई भाग्यशाली मान्थिन् । ऊ स्कुलको अखिल संगठनको इकाई समितिको क्रियाशील मान्छे । दिलकुमारीका बुबा जनमोर्चाको तर्फबाट निर्वाचित गाबिसको उच्च पदाधिकारी । यी कारणले पनि अखिलका कार्यक्रममा सहभागी भएर काम गर्ने अवसर बेरोकटोक, निर्विवाद हुन्थ्यो ।
रातारात संघर्षको तयारीमा माओवादी पार्टीको प्रशिक्षण र भेलाहरुमा सँगै सहभागी हुन्थे र जीवनमा पहिलो पटक युद्धका कुरा सुनेका थिए । मनमा केही त्रास तर त्यो भन्दा बढी उत्साह हुन्थ्यो– कुनै अग्निपरीक्षा दिन हतारिएझैं ।
कहिले घाँस काट्न झुलाबाङको बन । माछी मार्न माडीखोला कहिले ।
स्कुले जीवनसँगै उनीहरुमा बढ्दै गइरहेको जिम्मेवारीबोध र सक्रियता । संगठन निर्माण, संघर्षका कार्यक्रम ।
***
यस्तैमा उनीहरुको उमेरमा एक वर्ष थपियो ।
प्रशासन झन्–झन् निर्मम र निरंकुश बन्दै गयो । गाउँमा पुलिसको परेड बढ्न थाल्यो । कुखुराको रगतमा हात चोपाइ ‘अब कमिनिस्ट छाडीकन् काङरेस बनिगिम’ भन्न लगाउनेको बिगबिगी झनै बढ्न थाल्यो– कुखुरा चोर्न पल्केका स्यालजस्तै । सबै जनता प्रशासनबाटै असुरक्षित बन्न थाले, मानौं कि कुनै दन्त्यकथाको भूतको त्राहियामजस्तो ।
एउटा उकुसमुकुसको समय ! तनावपूर्ण गाउँले जीवन !
प्रतिरोधमा जनता पनि संगठित बन्न थाले ।
‘भाबाङमा साठी बर्षे आमालाई पुलिसको गोली लाग्यो ।’
‘जनता र प्रहरी बीच झडप ।’
‘माडीचौरमा गुण्डानाइकेका खुट्टा भाँचिए ।’
‘चप्काको मेलामा लोक र मनलाई गोली हानियो ।’
यी समाचारले उसबेलाको पत्रपत्रिका, खासगरी जनादेश साप्ताहिकमा ठूलै स्थान पायो । देशभरि ठूलो हल्लीखल्ली मच्चियो– सनसनीपूर्ण र बिष्फोटक हल्लीखल्ली । व्याप्त थियो, एउटा सामाजिक सन्नाटा ।
पहलमानको घरको भित्तामा एउटा झुठा मुद्दाको पुर्जी टाँसियो ।
उनीहरुको नियमित जीवनपद्धतिमा एउटा कमा त्यसरी लाग्यो– जसरी गुडिरहेको गाडीमा ब्रेक लाग्छ अथवा चम्किरहेको घोडामा लगाम लाग्छ जसरी ।
खरेनी भीरमा आगो सल्केसरी जनताको प्रतिरोधी संघर्षको दावानल उठ्न थाल्यो ।
एक दिन– पहलमानले दिलकुमारीलाई एकान्त ठाउँमा बोलायो, कोटालिम डाँडाको जंगलमा ।
सुराकी र पुलिसका आँखा छलेर उनले भेट्न गइन्– मनमा असीम स्नेह र ममताको घैला बोकेर । अझ भनौं, गादोभरि पोको पारेको खाजामा पनि मायाको अमृत छर्केर ।
कुन उत्साहमा हो कुन्नी, यसपटक खसभाषामा बात मार्न थाले ।
‘पहलु के आबो तमी भूमिगत नै हुन्चौ त ?’
‘हो दिलु, देशले अब युवाहरुको शक्ति मागेको छ ।’– पहलमानको कुरामा युवा जोश थियो– ‘यो निरंकुश सत्ता र पुरानो राज्यव्यवस्थालाई ढाल्न एउटा साहसिलो प्रण गर्नै परेको छ । किनभने बन्दुकको नालमा अडेको सत्तालाई बन्दुकले नै ढाल्न सक्दछ ।’ एक किसिमको रेडिमेड तर्क थियो यो ।
‘अनि एक हातले ताली बज्ला र ? म नि ?’ व्यङ्ग्यमिश्रित सोधाइ थियो दिलकुमारीको ।
‘ठीकै हो, एक पाङ्ग्राले मात्र मेरो रथ के चल्ला र ?’– पहलमानको अनुहारमा केही गम्भीरपना देखियो । फेरि भने, ‘हामी दुबै संघर्षमा होमिनु नै अबको अन्तिम बिकल्प भएको छ । पार्टीको योजनामा हामी संगठित भएर शोषितपीडित जनतालाई गोलबन्द पारेर जानुपर्छ ।’
धेरै पक्षहरुमाथि छलफल चलाए यसबारे ।
‘पार्टीले आबो जनयुद्ध शुरु गर्च त ?’– दिलकुमारीको प्रश्न थियो ।
पहलमानले भर्खरै पार्टी प्रशिक्षणमा सुनेका कुरा भन्ने अवसर कहाँ चुकाउँथे र ? भने, ‘छिट्टै अब पार्टीले जनयुद्ध शुरु गर्दैछ ।’
‘हाम् मरिम् भने ?’ दिलकुमारीको मनभित्रको कुरो थियो यो ।
‘यदि त्यस्तो भएमा हाम्रो नाम सुनौला अक्षरले इतिहासमा सहिद भई लेखिने सौभाग्य मिल्नेछ ।’ कुनै नेताझैं सैद्धान्तिक कुरा फलाक्न थाल्यो पहलमान, ‘हाम्रो प्रेममा अब अर्को प्रेम पनि थपिदैछ, त्यो हो देश र जनताप्रतिको प्रेम । यथार्थमा हाम्रो प्रेम पनि वर्गीय प्रेमको एक पक्ष बन्दैछ । …अब हामीमा व्यक्तिगत स्वार्थलाई त्यागेर सामूहिक स्वार्थ, वर्गीय सोंच, वर्गीय भावनाको विकास गराउनु पर्नेछ ।’
पहलमानको यो आदर्शमय विचार खासमा नयाँ विचार नै थियो ।
त्यहाँ उनीहरुको प्रेमालाप करिब एक घण्टासम्म चल्यो ।
‘अब हाम्रो जीवन देश र दुनियाँको लागि समर्पण”–दुबैको साझा कसम थियो यो । उनीहरुका जीवनले ठीक यही दिनदेखि अब नयाँ मोड लियो– नितान्त नौलो, असाध्यै चुनौतीपूर्ण । एक किसिमको आगोको यात्राको मोड । खुकुरी धारको जीवन ।
***
२०५२ सालको फाल्गुण १ पछि देशमा एउटा नयाँ परिस्थिति आयो । त्यसै रात दिलकुमारी र पहलमानले सँगसँगै हिडेर पर्चा टाँसे । भित्ताभरि ठूल्ठूला अक्षरले नारा लेखे, ‘जनयुद्ध– जिन्दावाद ।’ दुबैलाई लाग्यो मानौं, संसारै जितिदैछ ।’
सरकारको दमन पनि दोब्बर तेब्बर बढ्यो । माओवादी विचारको समर्थन गर्ने जति गिरफ्तार हुन थाले । जहाँ पायो त्यहीं गोली दाग्न थालियो । कुनै नृशंसकारी जन्तु मारिएझैं वा कुनै नामुद आतंककारी मारिएझैं ।
जनमोर्चाको मान्छे भएकै कारण दिलकुमारीको बुबालाई पनि माडीचौर नजिकैको जंगलमा नक्कली मुडभेठमा गोली ठोकियो– पुलिसद्वारा । जनतालाई बाँच्नको लागि निकै संगीनमय अवस्था देखा प¥यो ।
अब दिलकुमारी पनि सदाको लागि भूमिगत हुन तयार भइन्, बुवाको बदला लिन । अझ भनौं, पहलुको मायाको जादूले नै आकर्षित गरेको होस् ।
बस्तीभरिको भीषण दमन, पल–पल मृत्युसँगको पौंठेजोरी, संगठनको काम, हररातको यात्रा, चुक पोखिएको अँध्यारोको बाटाझैं लाग्ने अनिश्चयको घडि– उनीहरुको भेटघाट र सामीप्यतालाई परपर धकेल्ने प्रतिकूल समय थिए यी सब ।
महिनौं दिनपछिको भेटमा पनि औपचारिक कुराभन्दा अरु केही आन्तरिक कुरा भएन उनीहरुबीच । पहिलाजस्तो एकान्त र एक्लो समय कहाँ मिल्थ्यो र त्यहाँ ? साथीहरुको आँखा छलेर आफ्ना आँखा जुधाउन पाउँदा पनि उनीहरुलाई घण्टौंसम्मको अँगालोझैं तृप्तता मिल्दथ्यो ।
धेरै जना साथी सँगसँगै हिड्दा होस् या अँध्यारो रात र अप्ठ्यारो बाटोमा अघि पछि हिड्दा होस्, संसारै उज्यालो भएजस्तो लाग्दथ्यो ।
मृत्युको सनसनीपूर्ण समयभित्रको गम्भीर चुनौतीमय वर्षहरु एक, दुई, तीन गरी बित्दै गए– बगेको माडी र धाङ्सी खोलाझैं सुलुलु गरेर ।
यस बीचमा सामान्य भेटघाट र बढीमा पाँचपटक प्रेमपत्रहरु आदान प्रदान भए, लुकीछिपी । संगठनभित्र उनीहरुको प्रेम प्रसङ्गले पनि छलफलको बिषय लिन थाल्यो– कहिले गम्भीर, कहिले ठट्टयौली पारामा ।
नेतृत्वले बुझ्न खोज्दा दुबैले ‘हैन’ भनेर लजाउँथे– रातो पीरो हुन्थे, मुटुको धुकधुक बढ्थ्यो, अस्वाभाविक पारामा । गाउँले हठ वा मगरपनको सोझो स्वभाव, किशोरीवस्थाको अपरिपक्व विचार वा अन्य कुनै अमुक आशय, त्यस बेलामा प्रेम लुकाउनुमा बेग्लै मज्जा मान्थिन् दिलकुमारीले ।
तर मन मिल्ने साथीसँग आफ्नो मायालुबारे खुलस्त कुरा हुन्थ्यो । आफ्नो प्रेमलाई देखाउँथिन्– कुनै व्यक्तिगत एल्बमका फोटो देखाएजस्तै गरेर ।
उनीहरुको सम्पर्कबिनाको समय निछाम्मैको रात जस्तै अत्यासलाग्दो पारामा बित्यो । प्रेमभन्दा अझ ठूलो चिज जनयुद्धको कामप्रतिको समर्पण नै थियो । उनीहरुको कार्यक्षेत्र पनि भिन्ना भिन्नै गाबिसमा प¥यो । यहींबाटै पहलमानको मनमा अरु केही र कसैको भूत सवार भइसकेको कुरा सोझी दिलकुमारीलाई थाहा थिएन ।
दार्बोटबाट हान्डिङ जाने बेलासँगैको सहयात्री सृष्टिले दिलकुमारीलाई भनेकी थिइन्, ‘पर्सि तल मिसिडाँडान मइलाको एर्रे भेला होने गरे, तम्ले था‘पा चौ दिलकुमारी ।’ कुरा भुँइमा खस्न नपाउँदै दिलकुमारीले जवाफ दिएकी थिइन्, ‘अँ क्या, कुइले था’नपास्तो गरिकन भन्चौ ।’
‘था ता पा‘नै परो नि तो’– बिमलाले पनि व्यङ्ग्य मिसाइन् ।
खितिति हाँसोका खित्का छुट्यो सबैको मुखबाट ।
‘तो कार्रेकरममा तम्ले कत्ति नि लाज नमाने है ।’ शिलाले पनि बिमलाको कुरामा आड दिइन् ।
‘हो तै, साँच्चै अरुस्तै गर्कन बेस्सरी लाज नदेखाएस … आफ्नो ब्याह्ती मनि क्या को लाज हन्टो ?’– सृष्टिले भूमिका नै बाँध्न लागिन्, ‘अबिर र माला लाइदिदा निहुरीमुन्टे ‘न’ नगर्कन मुसुक्क हाँस्कन् लाइदेस ।’
त्यहाँ फेरि हाँसोको फोहरा छुट्यो ।
‘मर्गिउ … ।’ दिलकुमारीको सुन्दर अनुहारमा झनै लालीपनाको घनत्व बढ्यो ।
सल्लेरीको पखेरा । साँझ सुत्न भनेर गएका थिए । दिलकुमारीको आँखामा निद परेन । ‘बिहे ?’ अक्मकाइन् । सोधिन् आफैसित । केही आश्चर्य र आशंका मिश्रित भावमा ।
यसबारे पहलमानले केही कुरै गरेको थिएन । ‘हाम्रो प्रेम उहिल्यैको हो, बिहे नै गर्ने भए त मसँग सल्लाह गर्नुपर्ने हो, … होला, एरियाका नेतृत्वसँग कुरो गरे होलान् ।’ यही भावमा सान्त्वना दिइन् आफैलाई ।
पहलमानलाई माला पहि¥याउने, रातो टीका लगाउने, विवाहको मञ्चमा उभिने–वर्षौं पहिलेको आफ्नो सपना साकार हुने कल्पनाले दिलकुमारीलाई कुत्कुत्याउन थाल्यो, भित्रभित्रै । कता–कता गर्व र लाज सँगसँगै आउन थाले जस्तो हुन लाग्यो उनलाई ।
केही उत्तेजितझैं– केही निरासझैं, केही हौसिएझैं– केही लजाएझैं, केही उत्साहितझैं– केही डराएझैं । के–के न के–के भएजस्तो । चञ्चल, चञ्चल उनका भावनाहरु यति आतुर थिए कि दुई दिन पर्खनलाई पनि दुई वर्षझैं हुन थाल्यो ।
त्यो दिन पनि आइपुग्यो ।
निकै तामझाम र आधुनिक पाराले रङ्ग्याइएको कार्यक्रम हलमा दुई दिन चलेको महिला भेलाको अन्तमा बैवाहिक कार्यक्रमको घोषणा गरियो, ‘जनवादी शुभ–विवाह ।’
निकै ओजपूर्ण र गौरवमय शब्द चयन गरेर आकर्षक पारामा उदघोषकले विवाहका बेलीबिस्तार लगाए– भाषणै ठोके । क्रमशः एक जोडी, दुई जोडी, तीन जोडी गरी सबैको नाम उदघोष गरिए । उद्घोषित पात्रहरु मञ्चमा गई मुठ्ठी उठाएर लालसलाम ठोके ।
झन् पछि झन् लाजको झड्काले दिलकुमारीको मुटुको धड्कन बढ्न थाल्यो । चौथो नम्बरमा ‘बर’ भनेर आफ्नो प्यारो मान्छेको नाम बाचन गरियो– ‘कमरेड अजय ।’
हिजोको पहलमान आज अजय बनेर उभिएको थियो । ‘बधु’मा आफ्नो नाम आउने कुराको झड्काले दिलकुमारीको मुटुले ठाउँ छोड्ला जस्तो भइरहेको थियो ।
बधुको नाम पुकारियो– ‘कमरेड सम्झना, उर्फ कौशिला घर्ती ।’
उफ ! दिलकुमारीलाई एकाएक आकाश खसेझैं लाग्यो । आँखा भनन्न रिङ्न थाल्यो, त्यस्तो अनुभूतिजस्तो अपर्झट छाँगाबाट खस्नेले गर्दछ ।
उनले आँखा खुम्च्याइन्, मानौं कि उनका आँखालाई भ्रम परेको छ । उद्घोषकका शब्दहरु एकैचोटी ठूल्ठूला बम पड्किन थालेझैं भान पर्न थाल्यो । उनका भावनाका कोमल कोपिलाहरुलाई बलात् चुँडाल्दै सामुन्ने उभिएका यथार्थ तस्बीरका हुण्डरीले उडाउन लाग्यो । धर्ती भासिएझैं हुन थाल्यो उनलाई ।
सृष्टि, शिला र बिमला आपसमा मुखामुख गर्न थाले, अचम्मित भावमा जिब्रो टोकेर । आपसमा कानेखुशी गर्न लागे, यो प्रेमकहानी थाहा पाएकाहरु ।
हलमा एउटा अदृश्य आँधी तुफानको सृष्टि हुन थालेको थियो । कुनै फिल्मको काल्पनिक कथाको दृश्यझैं अथवा कुनै रङ्गमञ्चमा मञ्चित नाटकका पात्रहरुको काल्पनिक भूमिकाझैं लाग्ने ती दृश्यहरु दिलकुमारीका वास्तविक जीवनमा, भौतिक जीवनमञ्चमा एउटा तीतो सत्य भएर उभिएका थिए ।
दिलकुमारी आँखामा आँसुका माडीभेल बोकेर हलबाट बाहिरिइन् र स्कुलको कोठामा गएर घोप्टिइन् । बिमला, सृष्टि र शिलालगायतका उनका दौतरीहरुको लस्कर देखियो ।
कोठामा डाँको छाडेर रुन थालेकी थिइन् दिलकुमारी । उनलाई सम्हाल्ने असफल प्रयासमा थिए, विक्षिप्त परेका दौतरीहरु । संगठनको कानुनी बाटो खोज्नुपर्ने कुरा सुझाउदै थिए उनीहरु ।
***
समयले आफ्नो गर्भभित्र ख्वाप्लाक्कै निलेको त्यो घटनालाई सम्झेर आज दिलकुमारी अतीतका कल्पनामा डुबेर, प्रेमको घाउ छामेर आँखाबाट साउने भेल छाड्न थालेछिन्– उहिलेको मिसिडाँडाको स्कुलको कोठामा जस्तै गरेर ।
त्यसो त धूर्त धोकेबाज पहलुको ‘वर्गीय प्रेम’, आफ्नै दोस्रो घरबारको काँडा बनेको यथार्थता, उहिलेका सहयात्रीहरु– यी सबलाई भूतकालको जामा पहि¥याएर समयले धेरै परपर छाडेर आइसकेको छ ।
उहिलेका दौतरीहरु पनि छैनन् साथमा । बिमला तिलामा बिहे गरेकी छिन् । सृष्टिले पनि दाङ कता घरजम गरी बसेकी छिन् । शिला खाराको लडाइँमा सहिद भइसकेकी छिन् ।
‘आबुई … भाउजु ता अग्गेट आइग्या छन् बाई !’
‘घाम्ती निराइग्या छन् कि क्या ।’
घसेरी साथीका आवाज । आइपुगेछन् भारी कसेर ।
दिलकुमारी झसङ्ग झस्किइन्, सपनाबाट ब्यूँझेसरी । अथवा एउटा तीतो अतीतको तालबाट आफूलाई फुत्त निकालिन् । आँखा पुछिन् रुमालले । आफूलाई स्वाभाविक पारिन् ।
घाम निकै माथि चढेछ । रिसबाङ र गोलबाङमा झलमल पसिसकेछ घाम ।
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)