कथा : सबिता र कबिता

~सुशिल ताम्राकार~Shushil Tamrakar 2

बिहानै देखि छोरि चिन्तित् थिई। एक त टोफलको टेस्ट त्यसै टेन्सन् मा हुने अर्को बिगत हफ्ता देखि तराई आन्दोलनको कारण मोटर साइकलमा थोपो पेट्रोल् थिएन।

“ड्याडी ! कसरी जाने होला, ज्ञानेश्वर् सम्म, त्यसै त टेन्सन्, त्यसमाथि हडताल् बन्द यही बेला पर्ने भने?”

“बाहिर् रिङ रोड सम्म हिड्ने, अनि बस् सस्, ट्याक्सी टेम्पू जे भेटिन्छ त्यही समात्ने।”

“बरु आज म नि अफिस जान्न, हिजै खबर् गरिसके। संगै जाउला। काठमाडौको सिचुवेशन भदौरे मौसम भन्दा पनि अनिश्चित छ। कहिले कुन चाहि पार्टीको जुलुस् हुन्छ, कहिले कुन पार्टीको हुलुस्। केहि भयो कि तोड्-गोड् (तोड्फोड+ गोदागोड)”।

“लौ हिड,२ घण्टा त बाटो म्याद राख्नै पर्‍यो।”

“के हुने हो के?”

छोरि को चिन्ता मुख सम्म मसिनो स्वरमा निस्के।

“चिन्ता नलेउ, केही हुन्न, नो टेन्सन्, ओन्लि आटेन्सन्।
तिम्रो क्षमता र मेहनतमा बिश्वास छ हामीलाई। यो छुसि टोफल् के हो र?
हाम्रो जमानामा हामीले नि बाया हातले दिएका थेम् क्या रे। ”
छोरी मुसुक्क मुस्काइन् मात्र, मेरो कुरा गर्ने स्टाइल पचिसकेको हुनु पर्छ। १ बजे को शिफ्टमा टेस्ट् भएकोले हामी ११ बजे नै निस्क्यौं। रिङरोडमा बस् त देखा परे तर सबैजना उठ् को पोजिशनमा यात्रा जारी राखेकोले बस् मा नजाने संकेत गरें।
एउटा टेक्सि नि छिट्टै दर्शन दिन आए।
“ज्ञानेश्वर्जाने? “

“जाने २०० लाग्छ।”

२०० लाई बार्गेनिङ् गर्न थाल्ने हो भने अर्को १० ओटा ट्याक्सी कुर्नु पर्ने हुन्थ्यो, समय को तकाजालाई ध्यानमा राखी मैले नि भनें-

“२०१ दिन्छु, लौ छिटो हिड।”

ट्राफिकलाई मज्जाले छल्दै, फूटबलका कुशल फरवार्ड जस्तै कमल पोखरी चोक सम्म आशा गरे भन्दा चाँडो के पुर्‍याएको थियो, अगाडी बाटो बन्द। कसले कसलाई कुटेकोमा बिरोध रे, चक्का जाम। कस्तो आम बात भएको यो चक्का जाम् पनि।
संक्रमणकालको फाइदा जस्ले नि उठाउने।

“लौ यहि सम्म मात्र, आगे जान सकिन्न।”

ड्राइभर साहेबले उर्दी जारी गरि हाले।
बचन अनुसार् २०१ हातमा राखि दिएं।
५ मिनेट हिड्ने हो अब, के गर्ने । देशमा सरकार् नै न भए जस्तो। भए जस्तो भए नि केही गर्न सक्दैन सरकारले मात्र। जन चेतना नै छैन। अलिकति सरकारी अफिसर् को पोज दीहालें।
छोरी पनि हस् भन्दै हिड्न थालिन्।

कमलपोखरी र ज्ञानेश्वर बिचको चोकमा पुग्दा एकजना नीलो कुर्ता सुरुवाल् लगाएकी महिला संग जम्काभेट भयो। मुस्काउने खोजे जस्तो मुस्काइ सकेको अनुहारलाई जबर्जस्ती रोके जस्तो बेढंगको आक्रिति देखें। छोरी ले पनि अचम्म मान्दै ट्वाँ परी। बिचरीको टेन्सन् टोफल मै। त्यहाँबाट युसेफको बिल्डिङ अगाडिको के पुगेकाथियौं अर्को जिन्स् पाइण्ट लगाएकी भेट भयो। उनी भने मुस्काए जस्तो अनुहार् पारेर गैइ। तर एक छिन पछि फर्केर फेरि हेर्न थाली।
टेस्ट सेंटरमा प्रबेश पाउन अझै २५ मिनेट बाकी थियौ। छेवै को पसलमा चिया खानु परो भनी उतै गयौं। चिया र चुरोट, १२ बज्यो कि चाहि हाल्ने। सरकारी जागिरेको परिचय पत्र जस्तै भैसक्यो।

“ड्याड्डी, त्यो अघि चोकमा हाँसे जस्तो गरेर जाने र अहिले पछि फर्कि फर्कि जाने लाई चिनिसिन्छ? “

“अबश्य।”

“कुर्ता लाउने, हाँसे जस्तो गरेर नहास्ने चाहिँ ‘सबिता’, मेरो सहपाठी स्कूलको।
अनि फर्की फर्की तर्की जाने चाहिँ कबिता, स्कूलको जुनियर।”

“न बोली त्यसरी तर्केर फर्केर जानु को रहस्य नि?”

छोरीले पनि मेरै स्टाइलमा प्रश्न सोध्ने भैसकी अब त। संगत कस्को? मनमनै भने।

“लामो कथा छ, पहिला टेस्ट सक्याउ, भरे हिड्नै पर्ने हुन्छ। बाटो भरि सबिता र कबिताको कथा भन्दै जाउला हुन्न र?”

“हुन्छ ड्याडी।”

“लौ गेट खुल्यो, अब जाउ। “टेन्सन् लेने का चिज नहिं है देने का है।” मलाई थाहा छ, “यु विल डु दि बेस्ट।’

“बेस्ट अफ लक।”

“थ्यान्क्यु ड्याडी”
भन्दै छोरी युसेफको बिल्डिङमा प्रबेश गरी। म भने अर्को चुरोट सल्काउन थालें।

छोरी टेस्ट सेन्टर भित्र गए पछि उकुस् मुकुस् भयो। छोरी प्रति पूर्ण बिश्वाश थियो। सके सम्म राम्रो गर्ने छिन् नै तै पनि एक् पितालाई चिन्ता हुनु स्वाभाबिक थियो नै। आफुले टोफल् दिंदा कस्तो टेन्सन् भएकोथ्यो, तै पनि छोरीलाई सम्झाएको छु।
फेरि एक कप चिया थपें। केही क्षण स्कूलको जमानामा बिचरण गरें। कति जिवन्त थियो कति अनन्त थियो त्यो बेलाको दिन। साथी संगी माझ, न न झेल थियो न खेल थियो, मात्र मेल थियो। सबैको उद्देश्य राम्रो अम्कका साथ एस् एल् सी पास गर्ने लक्ष्य मात्र थियो। सबिता को प्रसंगमा तिनै दिन एकै छिन भए नि ताजा भयो।

समय बितेको पत्तो नै भएन, युसेफ बिल्डिङबाट टोफल् टेस्ट् सक्याई केही निस्की सके। छोरी पनि निस्किने बेला भयो भनी चिया चुरोटको पैसा तिरी निस्के बाटोमा। छोरी को हसिलो अनुहारले टेस्ट् कस्तो भयो सोधिरहनु परेन तै पनि औपचारिकता निभाउनै पर्‍यो।

“कस्तो भयो?”
“एक्सिलेण्ट”

“मलाई थाहा थियो, एक्सिलेण्ट मात्र होइन महा एक्सिलेण्ट हुन्छ भनेर। छोरी कस्की?”

” इस्से बाहेक १००% ”
छोरी ले गर्बका साथ भनी।
“वाहु वणडर्फुल्!”

“लौ यही उपलक्षमा आज म गौशालाको शानदार् म: म: खुवाउन लैजान्छु। यहाँबाट ५-१० मिनेट मात्र हिड्ने हो।”

“जस्ले यहाँको शानदार म: म: खाएको छैन, त्यसले असली म: म: को स्वाद पाएकै छैन।”

“लौ जाऔ अब”

” ड्याडी, अघि सबिता र कबिताको कहानी भन्छु भनिसेको भन्दैगिस्योस् न।”

“हुन्छ, पहिला म सबिताको कहानी सुनाउछु।”

हुन त सबिता र कबिता दुबै एकै टोलका हुन्, एकै थरका, एकै स्कूलका। यी दुबैको जीवन कथा ब्यथा उस्तै छन्। नियति उस्तै भोग्दैछन्।
सबिता १

सबिता मेरो क्लासको सहपाठी। कक्षा ८ मा हामी सबै भर्ना भएका तर निम्न माध्यामिक स्कूल भने भिन्ना भिन्नै।
स्कूलको केही दिन मै मिल्ने साथीहरुको एउटा ग्रुप बन्यो। हाम्रो ग्रुपमा सबिता पनि थिई। पढाइमा औसत दर्जाको, फेशनमा भने दिया मिर्जाको।

औसत भन्दा राम्री बान्की परेकी, ८ पढ्दा नि फेशन गर्न जान्ने थिई। तै पनि उत्ताउली भने थिइनन्।

९ मा जब म अप्रत्याशित रुपमा फस् भएं तब हाम्रो ग्रुप को घनिष्ठता झन् बढ्यो। सबिता, सरिता, अरुनिमा, किशोरी, पंकज, ज्ञान लाल्, राजेन्द्र आदिको मजबूत समूह बन्यो। राजेन्द्र म्याथमा च्याम्पियन। म भने त्यसै फस् उसै फस्।

हफ्तामा एक दुइ दिन खैले कसो घरमा कहिले कसको घरमा ग्रुप स्टडी हुन्थ्यो। यसमानेमा सबैको पढाईको स्तर मा केही न केही बढोत्तरी भएकै थियो। म त सबैको ठुलदाई भैहालें, उमेर ले पनि, फस् भएको कारणले पनि।

हामी बिचको मित्रता मा इर्ष्या गर्नेहरु जन्मिसकेका भए पनि धावा बोल्ने हिम्मत कसैमा थिएन। एक अर्काको परिवारमा समेत हाम्रो ग्रुपको मित्रता ग्राह्य थियो, प्रसंशित थियो नै।

९ को बिचमा अर्कै सेक्सनको मित्रको नजर गहिरो संग सबितामा पर्‍यो। लम्बू उपनाम ले चिनिने सुनिल भन्ने साथीको ध्यान ज्ञान मा नभै सबितामा केन्द्रित भयो। हेराहेर अनि केराकेर पछि दुबैको मित्रता सतहमा छछल्कियो। मित्रता मात्र पक्कै थिएन त्यसभित्र, धेरैको अड्कल थियो। हाम्रो पनि।

तर पनि कसैको ब्यक्तिगत जीवनमा हस्तक्षेप नगर्ने र पढाइ भन्दा इतर बिषयमा छलफल नगर्ने हाम्रो अघोषित नीति नै थियो।

समय संगै उनीहरुको घनिष्टता मा दिन् दुइ गुणा रात चौगुणा प्रगति भए। बैंश अंकुराए छ, समय भन्दा चाँडो। बैंश कुनै साइत जुराएर आउदैन, यौबन कहीँ लाइट बालेर आउदैन। भूकम्पको अचानक कम्पन जस्तै, सुनामीको अपत्यारिलो तरङ्ग जस्तै, जहिले तहिले कहिले , जहीँ तहीं कहीं आउन सक्छ यो बैंश।
प्रेम गर्नेहरुको लागि न जात हुन्छ, न धर्म हुन्छ। न उमेर भन्छ, न अबेर भन्छ।
सच्चा प्रेमको पूजा जता पनि जहिले पनि हुनै पर्छ भन्ने मान्यता छ मेरो।

९ सकियो , १० मा पनि हाम्रो मित्रता यथावत। केही सदस्यहरु थपिए। शनिबारको दिन झनै ब्यस्त भएं। सिक्न आउने , छलफल गर्न आउने मित्रहरु धेरै हुन्थे। जति सिकायो जति डिस्कस गर्‍यो त्यति आफुमा निखार आउने रैछ। आफ्नो उद्देश्य बोर्ड हान्नु थियो, त्यसै क्रमको एक कदम मानेको थिए मैले। जुन दिन हाम्रो ग्रुपको ग्रुप स्टडी हुन्थ्यो, हामी भेला भएको केही समय मै सुनिल पनि टुप्लुक्क आइपुग्थ्यो। केही सिक्ने बहानामा, सबितालाई हेर्ने, भेट्ने चाहनामा।
पढ्ने सिक्ने ध्यान थिएन।
संगै निस्कन्थें। कहाँ जान्थे के गर्थे हाम्रो चासो थिएन।

सबिताको पढाई मा कुनै कमि थिएन। लम्बू पनि राम्रो स्टुडेण्ट , उनको क्लासमा। स्पेलिङ्ग कन्टेस्टमा संगै थियौं, लम्बू र म। हुने खाने परिवारको छोरो। बोर्डिङ स्कूल ड्रप आउट्। अंग्रेजी राम्रो मानिन्थे। लाटा देशमा गाँडा तन्नेरी भने जस्तै। फसब्वाई भन्नेको अंग्रेजी त ८ सम्म “ब्लाक अल्फाबेट बफालो इक्वाल् टु” थियो मेरो। पछि सुधार भए पनि बोर्डिङको केटाको अंग्रेजी गज्जबको हुन्छ अजबको हुन्छ जस्तो लाग्थ्यो।

समय संगै उनीहरुको प्रेम खुल्ला किताब जस्तै भैसकेको थियो। संभवत परिवारजनले समेत यिनीहरुको जोडिलाई सहर्ष स्विकारी सकेको थियो।
म्याथ र इङ्लिसको ट्यूशन संगै जान्थे। अर्थात उनीहरुको जोडि अब कहिलेइ नछुटिने बन्धनमा बाँधिसकेको जोडी जस्तो भैसकेको थियो। हामी माझ पनि कुनै कुराको पर्दा रहेन। प्रमाणपत्र तह सकिने बित्तिकै बिहे गर्न दुबै परिवार राजी भैसकेको थियो।

एस् एल सी सकियो। हाम्रो ग्रुपका किशोरी भने ९ बाट १० मै गुल्टिएकी भएकीले अन्तै स्कूलबाट परीक्षा दिएकी थिइन्। बाकी सबै जना पास। अरुनिमा, सरिता, अनि सबिता सबै पास्। केटाहरुमा नि ज्ञान लाल् फस् डिभिजनमा, पंकज सेकेण्ड डिभिजनमा। तर अचम्म भयो, लम्बू भने फेल भयो इङ्लिस् मै। राजेन्द्र म्याथ मै।

“लौ शान्दार म: म: आइपुग्यो, पहिला म: म: हाम् अनि मात्र बाकी कथा तिर् जाम्, कसो छोरी?”

“एस् ड्याडि, भोक नि लाग्यो, कोक नि पिउने हो कि?”

“बडा मिठो म: म : खाइयो छोरी, अब मम्मि लाई पनि म:म: लिएर जानु पर्ला,पाकेको लगें भनि चिस्सिन्छ, मासु र पिठो लिएर जानु पर्ला, भरे को खाना पनि शानदार् म: म: गर्नु पर्ला कसो ?”

“हुन्छ ड्याडी।”

“गौशाला चोक हुदै रिङ् रोड सम्म जाऔं , त्यस पछि देखा जाएगा। बस् मिले बस्, नमिले उठ् मा भए नि जाउला। त्यो नि मिलेन भने ट्याक्सि, ट्याक्सि नि चलेन भने हिडौला । हुदैन छोरी?”

“बरु अघि को सबिता लाई कन्टिन्यु गर्दै जाने कि ड्याडी?”

“अं! सबिता कहाँ सम्म पुगेकी रे?”

“एस् एल् सी सम्म् पुगेको ड्याडी।

हो त नि । एस् एल् सी पछि हामी ज्ञानलाल र म अस्कल गयौं,पंकज र सबिता पब्लिक युथ क्याम्पसमा कमर्श पढ्न गए। त्यस पछि हाम्रो ग्रुप झर्‍याप झुरुप भयो। सबै आ-अफ्नो बाटोमा लागे। फेल हुने अर्को साल सेल खान नपरोस् भनेर कस्सिएर लागे। तै पनि बेला मौका ग्रुपका साथिहरुको भोज भतेरमा भेला हुन्थ्यो नै।

सबिता र लम्बू को कहानी अझ शान्दार हाउस फूलका साथ चल्दैथ्यो। पब्लिक युथ धोबिचौर तिर लम्बू को बास् हुन्थ्यो, सबिता क्लास जान्थी, लम्बू चियाको गिलासमा हुन्थ्यो। सुनिन्थ्यो नयाँ अमर प्रेम कहानी बनिदै छ, लेखिदै छ रे लम्बू र सबिताको। लैला मज्नु, हिर राँझा अनि मुना मदनलाई नै माथ गर्ने प्रेम कथा मंचन हुंदै थियो रे।

समय कति छिटो हिड्थ्यो, हैन दगुर्थ्यो। एस्ल् एल् सी को पुरक परिक्षा नि आयो र गयो। रिजल्ट नि भयो। लम्बूले पास् गरे। अस्कल भर्ना भए। हाम्रो नि अनेक काण्ड पछि बल्ल फस्ट् इयर सकियो।
लम्बू लैनचौरमा हुने ( अस्कलमा) , मन भने धोबीचौरमा हुने।

भन्न नहुने, त्यसरी नै कोइ साइन्स पढ्छ? डाक्टर् होइन ट्याक्टर् चलाउछ यसले।

प्रेम गर्नु, प्रेममा डुब्नु कुनै अपराध होइन, न पाप नै हो। प्रेममा पागल भै आफ्नो कर्तब्य भुल्नु चाहि पाप पनि हो, मुर्ख्याइ पनि। पढाइ, करियर मा प्रेम बाधक हुनु हुन्न। बरु प्रेम को राप ले आफ्नो गन्तब्य सेक्नु पर्छ, पगाल्नु पर्छ अनि सोझ्याउनु पर्छ। प्रेम लाई प्रेरणामा बदल्नु सक्नु पर्छ।

तर लम्बू को ताल बेताल थियो।

सबिताले पनि फस्ट इयर पास गरी।
यस मानेमा उनले प्रेम मा डुबेर पनि पढाइमा उत्रेर आफ्नो क्षमता देखाइन् भन्नु पर्छ।
सेकेण्ड इयर नि सकियो। पास् हुने पास् भए फेल हुने फेल्। कसैले लड्डु खाए कसैले सेल।
लम्बू को फस् इयर धूस् भयो नै।
छत्रब्रित्तिको छनौटमा ज्ञान लाल् र म परें नै। सबिताको सेकेण्ड इयर इङ्लिशमा गएर ठोक्कियो र पढाइ रोकियो। रोमान्स् अनि लभ गर्ने को लागि त्यो भन्दा सुनौला मौका कहाँ मिल्थ्यो। झन शान्दार चल्यो प्रेम् लीला, हाउस् फूल मात्र होइन, ब्लाकमा चल्यो।

छात्रब्रित्ती पाएर अध्ययन गर्ने दिन पनि आए। सानो पार्टी थियो घरमा सबिता लगायत पुराना मित्र मण्डलीलाई नि निम्ता थ्यो। लम्बू लाई मन न पाराईकन पनि बोलाउनु थियो नै। सबै आए, खाए अनि गए। पढ्न इलाहाबाद हिडें।

दशैंको छुट्टीमा घर आएं। घर आए पछि पहिलो समचार सुनें, सबिता त पोइला गइन् रे। शान्दार हाउसफूलका साथ चलेको प्रेम थियो ठिकै भयो नि , मन मनै सोचें।
“होइन, त्यो लम्बू संग गएको होइन, घर संगैको शम्भू संग गयो रे।”

भाइले भन्दा झसङग भएं।

लम्बू संग पंचबर्षिय प्रेमोत्सब चटक्क छोडेर शम्भू संग सुटुक्क पोइला जानु आठौं नवौं आश्चर्य भन्दा कम्ता थिएन। कसैले न सोचेको कुरा थियो। लम्बू र सबिता बिच कुनै उच नीच भएको कतै सुनिएको थिएन। पोइला हिड्नु भन्दा एक दिन अगाडी सम्म लम्बू र सबिता को भेट्घाट् थियो रे। एकै रात कस्तो घात् यो? रात रहे अग्राठ पलाऔछ भन्छन्, सत्य हो जस्तो लाग्यो। लम्बू को मुटु कति छोयला छोयला भयो होला, अझ कचिला कचिला ( किमा मासु) भयो होला। हावा नचली पात हल्लियो, एकै रातमा खात बद्लियो।

म आश्चर्यचकित भै कारण खोज्न थालें आफै भित्र। हुन त म संग कुनै प्रत्यक्ष सम्बन्ध थिएन, पोइला जानु वा न जानु। को संग जानु? तै पनि यसरी अप्रत्याशित अचानक को घट्नाले सोच्न बाध्य गर्दो रैछ।
” शम्भू को त ड्याडी? “

“गूड् कोइशन्, मेरो मूड नै अन भयो।”

शम्भू, सबिताको छिमेकी। घर को साँध जोडिएको। दुबै को घर् तिम्रो कान्छो मामा बाजेको चोक बाहिर। अर्थात हामीले सानै देखि चिनिआएको। संभवत म भन्दा १-२ बर्ष जेठो होला। न धन थियो न तन। मन थाहा छैन। तर थाहा यति छ कि मन छैन। पढाइमा ५ फेल। चोकमा ह्वाग्रा, पाङ्रा हुदै तास्, नाग पास खेल्दै बस्थ्यो। गल्ली भिडियो मौसममा मान्छे डाक्ने काम् गर्थ्यो। साच्चै भन्ने हो भने सबिताको च्वाइसको मान्छे हुन सक्दैन। फेरि लामो लभ सभ चलेको कुरा नि सुनिएन। लम्बू संगको प्रेम कहानी त जग जाहेर नै थियो। पंचे बाजा घन्काउने साइत समेत नजिक थियो।
कुनै बिश्वसनिय उत्तर् भेटिन, कुनै मनासिब कारण देखिन।

अबश्य केही न भैकन यस्तो ठुलो निर्णय कसैले पनि गर्दैन। सबिताको क्षमता को अनुमान छ म मा। केही न केही भएकै हुनु पर्छ भनेर बसें। सोध्ने को संग। जो भेटे पनि लम्बू बिचरा प्रति सहानुभूति देखाउने, सबिता ले गर्नै नहुने काम गरी, आदि इत्यादि।

दशैं र तिहार् बीचमा अचानक लम्बू मेरो घरमा आए। लैला मज्नु फिलिमको ऋषि कपूर स्टाइलमा। त्यति सम्म त थिएन तर पनि बियोगान्त प्रेमको नायक जस्तो अबश्य देखिन्थ्यो। पीडाहरु अनुहार भरि छरिएको स्पष्ट देख्थें म।
मैले सोध्नु अघि नै उसले आफ्नो ब्यथा पोख्न थाले। उसको भनाइ अनुसार त्यो रात भन्दा अघिल्लो दिन सम्म सांझ संगै घुमेका रे दुबै। उनको अनुहारमा ब्यबहारमा कुनै परिवर्तन नै थिएन रे। एक्कासि खबर सुनेर आत्महत्या गरुं जस्तो लागेको थियो रे । फेरि आफ्नै मनलाई जसो तसो सम्झाएर अझै हार न मानेको रे।
सबिता को घर गएर आमा सित कुरा पनि गरे रे। अझै फर्किन्छे भने आजै बिहे गर्न तयार छु भनेर भनें रे।

वाह ! लम्बू, महान बिचार मैले मन मनै भनें। त्यो आबेग मा भनेको हो कि आबेशमा उनै जानुन्। आत्मको उद्बोधन हो भने पक्कै पनि महान मान्छे ले मात्र यस्तो गर्न सक्छ।
सबिता कहाँछे कसैलाई थाहा थिएन। शम्भूले भगाए तर शम्भू अर्थात भोला त्यति भोले थिएन भगाएर आफ्नै घरमा राखोस्।

धेरै खोज्दा भेटिएन, कुनै अत्तो पत्तो भएन। पुलिस् केश पनि गरे क्या रे। त्यसपछि लम्बूले आश मारे सबिताको। आफ्नो प्रेमको अत्यष्टि गरे।

“अनि त्यसपछि? “

अनि के, लम्बू पनि के कम ? सबिताले अर्को पोइ खोज्नु हुने आफुले नहुने भन्दै अर्कै रमिला लाई त्यहि स्टाइलमा भगाइ दिए।

२-३ महिना पछि लम्बू र रमिला , शम्भू र सबिता को जोडीले बजारमा गुल्जार भए नै। मानौं कुनै घट्ना दुर्घट्ना घटेकै छैन। मानौ प्रेम को अप्रत्याशित हत्या आत्महत्या भएकै छैन।
मलाई लाग्छ, तिनीहरु बिच कुनै प्रेम थिएन, मुटु मुटुको स्पन्दन एकै खाल् को थिएन। मात्र शरीरिक प्रेम थियो। त्रिप्ति-अत्रिप्ति नै मुख्य कारण हुनु पर्दछ। मैले अनुमान गरें यी दुबैको दाम्पत्य जीवनको आयु लामो दिगो हुन सक्दैन। झुठ, घात प्रतिघातको जगमा ठडिएको ताजमहल चिरस्थायी हुन सक्दैन। प्रेम बिश्वासमा को जगमा उभिएको हुनु पर्छ। आपसी बुझाइ र रुझाईमा सिंचिएको हुनु पर्छ। नत्र प्रेम मात्र वासनाको नाङ्गो प्रतिरुप हुने हुन्छ।

समय बित्दै गयो। लम्बू पनि शम्भू पनि छोरीहरु को बाउ बने। मेरो सेकेण्ड इयर पनि सकियो।
गर्मीको बिदा मा घर आउदा फेरि अर्को अचम्म महा अचम्मको कुरा सुनें।

सबिता त फेरि पोइला गई रे।

हो छोरी सबिता फेरि अर्कै संग पोइला गई ।
यो बिश्वास् नै गर्न नसकिने वास्तबिकता थियो। एक छिन त हैन होला, भद्दा जोक होला भन्थाने।
कलियुगमा यस्तै हुन्छ कि? अथवा सात फेरा न लगाई, अग्नि साक्षि नराखी गाँसिएको लगन गाँठो यसरी नै कमजोर हुन्छ कि? अलिकति धन मै मन पग्लिने कस्तो जीवन हो यो? म भित्र अनेक जिज्ञासाहरुले जुलुस् निकाले। किन शम्भू संग को दाम्पत्य जीवन यति छिट्टै अन्त्य भयो, रोजेर खोजेरै हिडेकी थिई , के कुरा मा अझै चित्त भरेन। मैले उत्तरको भेउ पाउन सकिन।

हुन त मैले पहिला नै भनेको थिएं, त्यो शम्भू को अगाडी लम्बू त सबैको द्रिष्टिकोणबाट सुहाउंदो जोडी थियो। बिचरा, लम्बू झन्डै पागल भएको थियो, बियोगमा। उनैको श्राप लागेको त होइन? माया गर्नेलाई लत्याउंदाको पाप त होइन? अझै निरुत्तरित प्रश्नहरु नाराबाजी गर्दै छन्।

बुझ्न करै लाग्यो, के भाको किन भाको भनेर।को संग गैइ भन्दा पनि किन गैइ त्यो महत्वपूर्ण कुरा। धेरै सोधखोज गर्दा यति सम्म थाहा पाएं कि यसपाली सबिता आफनै दाईको साथी कुर्ता ब्यापारी संग हिडेकी रैछन्। सबिताको दाईहरु पनि कुर्ताकै ब्यापरी नै थिए। त्यतिबेला को जानपहिचान र अहिले पोइला जानु को सम्बन्ध झन रहस्यमय नै लाग्यो।कुर्ता साहुजीकै दोकान बागबजार पद्म कन्या क्याम्पसको छेउछाउमा बस्छिन रे।

छोरी, बिहे बन्धन बच्चामा खेलिने भाँडाकुटीको खेल होइन, जसमा पटक पटक झेल गर्न पाइयोस्,मन परेन भने सबै भताभुङ हुने गरी रिस देखाउन पाओस्। यो त जन्म जन्मान्तर संग सुख दुखमा साथ दिने वाचा बन्धन हो। आस्था हो सिन्दूर संगै बाच्ने संगै जिउनेहरुको। भावना सम्बन्ध गाँसिएन भने लोग्ने स्वास्नी र बेश्या र ग्राहकमा कुनै भिन्नता हुने छैन। यौन चाहाना पूर्तिको कथित मेशिन मात्र हुने हुन्छन्।

सबिता को चरित्रमा पहिलो पल्ट पोइला जानु अघि कुनै दाग थिएन। भन्छन्, एक पटक चुके पछि बरम्बार चुकछन् रे। पहिलो अपराध गर्दा कुनै पनि अपराधी हच्किन्छ रे। दोस्रो अपराध गर्दा त्यो अप्ठ्यारोपन रहदैन रे।

कुर्ता साहुजी शम्भू र लम्बू भन्दा चम्बू रैछ। धन पनो भाको तन पनि भाको रे।
अहिले सबिताको अनुहारमा चमक देखिन्छ रे, अरुनिमाले बाटोमा भेटेको रे। ठिकै छ, गर्नु नहुने काम गरि हाले पनि बाकि जिन्दगी सुखमय होस्। मैले कामना गर्ने सक्ने यति हो।

शम्भू र सबिताकी छोरीको हरिबिजोग हुने भयो, चिन्ताले साउती गर्‍यो। ह्या, मलाई के मतलव, अर्का को कुरा। मन लाई मनले फेरि सम्झायो। तै पनि त्यो अबोध बालिकाको के दोष? बाबु आमाको झगडामा पिसिने भो। एक त शम्भूको ताल नै बेताल्। न काम भएको न दाम भएको। यहाँ निर सबिताले ठुलै अपराध गरे जस्तो लाग्यो।

उता, लम्बू को दाम्पत्य जीवन शान्दार संग हाउसफुलका साथ तेश्रो बर्षमा प्रबेश गरिसकेको थियो। लम्बू ले केही साथिहरु संगा मिलेर ट्राभल् एजेन्सी खोलेको थियो। धन पनि कमाउदै थियो। परिवार पनि।

मेरो नि पढाईको तेश्रो बर्ष सकियो। अन्तिम बर्षमा धेरै पढाई हुंदैनथ्यो।
चौठो बर्षको होलीको छुट्टिमा घर आएं।
भैरहवाबाट काठमाडौंको नाइट बस् चढ्दा चसक्क छोयो, फेरि कुन चाहि अशुभ समाचार सुन्नु पर्ने हो भनेर।
न भन्दै घर के पुगेको थियो, एउटा रेडिमेड सम्चार मलाई नै सुनाउन रेडि गरिएको जस्तो थियो।

लम्बू ले अर्की स्वास्नी ल्याए रे।

“लम्बू पनि त्यस्तो चम्बू, भएकीलाई छोडेर अर्की ल्याए रे?”

“हो छोरी, लम्बूको बैबाहिक जीवन पनि छोटो नै रह्यो।”

भाग्ने र भगाउने को होड चल्या हो कि जिन्दगीको मोड नै त्यस्तै ठाम् मा अल्झेको हो बुझ्न सकिन। खेल सम्झे हुन् गाडिको तेल?

“अनि त्यसपछि?”

लम्बू र सबिता दुबै संग कुनै सम्पर्क रहेन। कहाँ छन् के गर्दै छन्, बुझ्नको लागि सरोकारको बिषय नि रहेन। सम्पर्क मा रहेको भए हाम्रो बिहे मा नि निम्तो दिनु पर्थ्यो।

समय बित्दै गयो।

सबिताको यो बिबाह् भने लामो नै भयो यसमानेमा कि ४-५ बर्ष सम्म कुनै शुभ अशुभ समाचार् सुन्नु परेन। लम्बूको पनि त्यस्तै कुनै आश्चर्यको सम्चार सुन्नु परेन। लाग्यो अब दुबैले चेते छ, भावाबेशमा आएर गरेको एक चरणको गल्ति सुधारे छ। गल्ति जो सुकैबाट हुन सक्छ, तर गल्ति महशुस् गरेर सच्याइ जीवनलाई अगाडी बढाउनु सक्नु पर्छ। एक गल्ति त भगवानले पनि माफ गर्छन् रे।

धेरै बर्ष सम्म कुनै खबर् थिएन। तर अचानक ३ बर्ष अगाडी फेरि खबर् बन्यो सबिताको। सबिता फेरि अर्कै संग गई रे। कुर्तावाल साहुजी संगको अलि लामो सहकार्य नि टुट्यो रे। को संग किन गई भन्दा नि फेरि गल्ति गरिन् जस्तो लाग्यो। लोग्ने फेर्ने फेशन हो कि सेशन् हो यो। आफैमा रिस उठ्यो। जिन्दगीलाई के सम्झेछ त्यसले? बिबाह् जस्तो पबित्र बन्धनलाई तस्करको चन्दन् बनाई। उसको जिन्दगी उसैले भोग्नु पर्ने हो , तै पनि एक जना मिल्ने साथीको यो गाइजात्रे जीवनशैलीले हाम्रो पनि शिर झुकायो भन्नै पर्छ।

“लम्बू ले पनि फेरि अर्की ल्यायो कि?”

गूड् कोइशन।

हो छोरी, लम्बूले दोस्रो पत्नी पनि त्यागे रे। मानौं सबिता र लम्बूको कम्पिटिशन अनन्तकाल् सम्म को लागि जारी छ। अर्की ल्याए रे।

कसरी सक्दा हुन्, जीवनभरिको माया निमेषमै त्याग्न। मायाको चिन्हस्वरुप जन्माएका सन्तानहरुलाई बीच सडकमा लिलामी गर्न। मान्छेको मुटु छैनन् कि तिनीहरुमा जस्तो लाग्यो।

यसरी सबिता ३ चोटी भागिन्, लम्बूले तीनवटी ल्याए। यही अन्त्य भए बेस हुन्थ्यो।

“यही फूलस्टप भयो त ड्याडी?”

हाम्रो कामना यही थियो तर पछिल्लो जानकारी अनुसार, सबिता ले पछिल्लो लाई नै छोडेर अन्तै भागिन् रे। लम्बू को चाहि तेस्रो स्वास्नी संगै जीवन गाडी चलिराखेको छ रे।

लाग्छ, सबिता, जीवनको यथार्थता संग भाग्दै छे, एक पछि अर्को संग भागिरहेकी होइन।
भगवानले तिनलाई सदबुद्धि देउन्, हामीले कामना गर्न सक्ने त्यति मात्र हो।

लौ छोरी सबिता को कथा यति नै हो आज सम्मको लागि, भोलि अर्कै संग भागी भन्ने खबर आयो भने फेरि कथा जोड्नु पर्ला।

अनि कबिता को कथा कहिले भनिसिने नि?

लौ अब घर पुग्नै पाग्यो, १० मिनेटमा घर आइहाल्छ, त्यतिन्जेल जति सकिन्छ, त्यति भनुला। बाकी भाग क्रमश: भरे भोली भन्दै गरौला, हुन्न र?

“हुन्छ ड्याडी।”

कबिता सबिता जति कै च्वाँक थिई। अझ आँखा, अझ नशालु, हेराई बिषालु थियो रे। हामी भन्दा २ ब्याच जुनियर। कबिताकी दिदी रमिता एक ब्याच जुनियर। म संग कुनै औपचारिक चिनजान् थिएन। मलाई भने शायद चिन्थ्यो क्या रे। स्कूल को हिरो जो परें।
हाहाहाहा हाहा हा।

४ कक्षा संगै पढेको हुर्केको मेरो साथी छ नि ज्ञान लाल् अन्कल्?

” ओह्, सानेपा घर हुने अन्कल होइन?”

हो, ज्ञान लाल् अन्कलको जिन्दगी पनि हाम्रो जस्तै थियो। गरीबी अनि अभाव संगै खेल्दै हुर्केको। एकै खाले जीवन भोगाईबाट पनि होला हाम्रो मित्रता गहिरिदै गएको। तिनै ज्ञानलाल अन्कल संग कबिता को सम्बन्ध रहेकोले यहाँ ज्ञानलाल अन्कलको बारेमा मैले भन्नै पर्ने हुन्छ।

पारिवरिक कलह, आर्थिक अभाव संगै हामी दुबैले एस एल् सी पास गरे पछि अस्कल् भर्ना भयौं। म बायोलोजीमा र उ फिजिकल् ग्रुपमा भए पनि संगै फर्किन्थ्यौ घर्। पुरानो घर उही तल पाखामा त हो।

अस्कल जीवनको सुरुवाट मै फेरि ज्ञानलाल् को घरमा चर्को कलह भयो। बाउले रक्सी खाएर हैरान गर्ने। आमा संगै ज्ञानलाल मामा घरमा सर्‍यो। मामा घर पर्‍यो अस्कलको छेउमा।
संयोग हो कि के भन्ने त्यही घरमा अर्थात मामा घरमा ज्ञानलाल् को नजर कबितामा पर्‍यो र ज्ञानलाल को कबि ह्रिदयमा कबिता फुर्‍यो।
कबिताकी सानीआमा ज्ञानलाल् को माइजु, साइनोमा।

“अनि त्यस पछि?”

लौ घरको दैलोमै आइपुगि सक्यौं। अन एक छिन् ब्रेक। लुगा फेरिवरी एक गिलास् फस् किलास् चिया खुवाउ ल। चिया संगै चिलिम् ब्रेक, अनि कथा ।
हुन्छ ड्याडी।

ज्ञान् लाललाई मामा घरमा बस्नु बम्पर चिट्ठा परे जस्तो भयो। एक त अस्कल् छेउमा घर् समय बच्ने, अर्को ठुलो मामा प्रोफेसर् साहेब्। त्यो भन्दा नि छप्पर् फाड्के त कबिताको सुमधुर उपस्थिति। एउटै घरमा बस्दा चिनजान हुनु, चिनजानबाट मन साटासाट् हुनु कुनै अस्वाभाबिक बिकास् मान्नु मिल्दैन। ज्ञान लाल् को मन मा कबिता फुरेछ, कबिता भित्र ज्ञानलाल् बसे छ। हिजो अस्ति भन्दा प्रफुल्ल थियो ज्ञानलाल्। उनले सबै कुरा भन्थ्यो मलाई। तर मलाई अलिकति चित्त बुझेको थिएन कबिताको बारेमा। भर्खर ८-९ कक्षा पढ्ने केटीले ज्ञान् संग मन साट्नुको सट्टा ज्ञानलाल संग मन साट्नु अलि चाँडो प्रेमांकुरन हो जस्तो लागेको थियो। हुन त प्रेममा न अबेर हुन्छ न उमेर। तर पनि जिन्दगिको रुपरेखा कोर्ने काममा परिपक्व निर्णय हुनु पर्दछ। नत्र पछुताउन यो जिन्दगि अपुग हुन्छ।

प्रेम अंकुरायो, पात पलायो, फूल फुल्यो। त्यसैमा ज्ञानलाल् भुल्यो। तर पनि आफ्नो पढाइ लाई त्यतिकै रफ्तारमा अघि बढाउदै थियो।
ज्ञान लाल फेरि आफ्नै घरमा सरे, अर्थात फेरि रातको भात पछि हामी दुइ जनाको एक चक्कर असन इन्द्रचोक अनि न्यूरोड लगाउने पूर्बत कार्यक्रम सुचारु भयो। पढाई देखि राजनिति, राजमति, हुंदै कबिता सबिता को कुरा हुन्थ्यो। पहिलो लक्ष त हामी दुबैको सरकारी छात्रब्रित्तिमा बिदेशमा अध्ययन गर्नु नै थियो। बेला बेलामा कबिताको घर जाउं भन्थ्यो। तं आफै जा भन्थें म। ज्ञानलाल पनि कमताको छट्टु थिएन। घुम्न जाने, सिनेमा हेर्न जाने बेलामा पो एक्लै जाने, सबै जना हुने घरमा एक्लै जान मिल्दैन भनेर मलाई साथी लिएर जाने गर्थ्यो। लगौटिया यार् थियो, उनको प्रेममा सिंढि बन्दा नि खुशि नै लाग्थ्यो।

हामी कबिता को घर जान्थ्यौं। कबिताका दिदीहरुले मलाई राम्रो संग चिन्ने र आदर गर्ने गर्थे। म दिदीहरु संग गफ गर्थें , ज्ञानलाल् कबिता संग रोमान्टिक ज्ञान ज्ञान् साटासाट् गर्थे।

आइ एस्सि सकियो। बिएस्सी पनि ज्वाइन भैयो। उनको प्रेम झांगिएर फल दिने बेला भैसकेको थियो। छात्रब्रित्तिमा छनौट नि भैयो। किताबी ज्ञान भन्दा प्रेमज्ञान धेरै भएछ क्या रे, कबिताको एस् एल् सी छन्दपूर्ण बनेन। कबिता एस् एल् सीमा गुल्टिनु र र यता ज्ञानलाल को छात्रब्रित्तिमा छनौट हुनु दैब संयोग भन्दा नि बढ्ता भो। घरबाट त्रिचन्द्र क्याम्पस निस्कने ज्ञानलाई असन हुंदै अर्कै चन्द्रमा पुग्थे। जे होस्, दुखका दिन अब गए ज्ञानलाल् को पनि भन्दै भारतमा अध्यायनको दिन गन्ति गर्न थालेउं।

कोलम्बो प्लानको कन्फर्मेशन आउने क्रम सुरु भयो। दोस्रो समूहमा नै मेरो कन्फर्मेशन आयो। ज्ञान लाल को अलि पछि मात्र आएछ। सबैलाई सानो भोज खुवाई इलाहाबाद् हिडियो।
एक डेढ महिना पछि ज्ञानलाल् को नि आयो, कलकत्ता तिर। मेरो भोज खाए ज्ञानलाल ले तर उनको भोजमा मोज गर्न पाइएन, क्या बोर् भाथ्यो।

त्यो जमाना हवाई पत्रको जमाना थियो। इमेल-सिमेलको जन्म न भा बेला। अझ कम्पुटर देख्यो कि रिस् उठ्ने बेला। ज्ञानलाल र मेरो पत्रको आदान प्रदान हुन्थ्यो, साप्ताहिक रुपमा। पत्रमा कबिताको कुरा कोट्याउथे, उनले पनि सबै कुरा खुलस्त लेख्थे। सबै बुझ्दा र हेर्दा लाग्थ्यो, एउटा अनुपम प्रेम कहानी बनिदै छ, लेखिंदै छ। बिछोड, घात प्रतिघात, अपमान को कुनै स्थान न भएको, स्वर्गिय प्रेमको, सत्य प्रेम को, पबित्र प्रेमको ग्रन्थको चलचित्रमन्चन् हुंदै छ।

फस्ट् इअर कै मध्यभागमा इलाहाबादमा ठुलो दंगा भो। गुण्टा कसेर घर आउनु पर्‍यो, कम्तिमा ३५ दिनको लागि। एक मन त रमाइलो लाग्यो नै, घर छोडेर अन्त कतै बास बसेको मलाई सम्झना छैन। एकै चोटी इलाहाबाद को प्रचण्ड गर्मीमा सेकिएर्, पोलिएर बस्नु भन्दा त काठ्माडौको शितल छायाको कत्ति उत्तम् कति।

घर बस्नु बिना काम् एक् दुइ दिन पो रमाइलो हुंदो हो। स्कोलरशिप पाउने जत्ति बिदेश् हिडि सके, न पाउने अब टुपी कसेर पढ्न थालि सके। तै पनि पुराना साथीहरु संग गफसफ गर्न भनी त्रिचन्द्र कलेज जाने बिचार गरें।

त्रिचन्द्र गएं, साथी भाइ भेट भो, इलाहाबादि गफ गरियो। चिया टाइम भयो। साथीहरु संग चिया खाजा खान भनी बिश्वज्योति हल निरको खाजा पसल हिड्यौं। सिनेमा छुट्टी भाको टाइम परे छ, फिल्म हेरेर निस्कनेहरु अनि फिलिम कुरेर चिलिम् तानेर बस्नेहरुको भीड थियो। सिनेमा हलबाट निस्कने अनिगिन्ति अपरिचितहरु माझ एक जोडी चिने चिनेको जस्तो लाग्यो। अलि फोकस् गरेर हेरें। चिनेको मात्र होइन छिनेकै पर्‍यो। साजसज्जामा सजिएकी कबिता र तिनी संग हातेमालो गर्दै एक ह्यान्सी केटा। कबितामा कुन छन्द पर्‍यो भनेर यसो फेरि हेरें, त्यो छन्द पनि परिचित नै थियो। स्कूल को जुनियर पाक:चा भनिने प्रदीप रैछ।

राजाको खाजा पसल छिर्नै लागेका साथीहरुलाई एक छिन है भन्दै म उनीहरुको क्रियाकलापमा घुरान् दिन थालें। मानौं कुनै नव बिबाहित दम्पती जस्तो अथवा नितान्त वैयक्तिक सम्पति जस्तो जिस्कदै मस्कदै थिए। पाक:चा लाई म राम्रो संग चिन्छु, एक ब्याच जुनियर भलिबल खेल्ने खेलाडि। तिनको पनि एस् एल् सी मा बेहाल्, घर यट्खा बहाल्। भलिबलको मात्र होइन प्रेमको नि तकडा खेलाडी जस्तो देखियो। हैन होला, ज्ञानलाल संग त्यत्रो शान्दार प्रेम लीला चलिरेह्को बेला त्यो पाक:चाको प्रबेशको उद्देश्य अर्कै होला, आफैलाई सम्झाए।

त्यसको केही दिन पछि हामी संगै बिएस्सी पढ्ने मित्रको बंगलादेशमा एम् बी बी एस् पढ्ने सीट मिल्यो र जान अघि यसो भेटघाटको कार्यक्रम राख्यो। दरबारमार्गको नाङ्लोमा। नाङ्लोको छतमा हाम्रो पार्टी थियो। रमाइलो गर्दै पिउदै थिएं अर्थात केही बेर जिउदै थिए। ट्वाइलेट जान मनलागेर उठें तर मथिल्लो तल्लाको ट्वाइलेटमा २ जनाको लाम, त्यहा लेट् हुने देखेर, तल्लो तल्लाकोमा झर्दै गर्दा भर्‍याङबाटै एक जोडी मायालुहरु प्रेम पिउंदै गरेको देखें। फेरि पनि मन मानेन होइन होला,त्यो कबिता र पाक:चाको जोडी होला भनेर। शंका निबारण गर्न करै लाग्यो। चुपचाप, ट्वाइलेट नगैकन चियो गरें। हो रैछ, कबिता र पाक:चा नै। स्वयम्भूमा मान्छे हिडेको नाङो आखाले देख्ने मेरो आँखाले धोका खान सक्दैन। कबिताको यो चाला” दाल मे कुछ काला” लाग्यो । ट्वाइलेट जानै बिर्सी फेरि माथिल्लो तल्लामा उक्लें।

कलेज बन्द भएर करिब डेढ महिना काठमाडौ बस्दा डेढ दर्जन पल्ट मैले कबिता र पाक:चा को चर्तिकला देखें। अनिष्ठको संकेत देखें। इलाहाबाद फर्की ज्ञानलाल लाई अप्रत्यक्ष किसिमले भए पनि जानकारी गराउनु धर्म संझे र हवाइ पत्र काटें।
“मलाई शंका लागेको छ ज्ञानलाल, त्यो शंकाले लंका न जलाओस्, अलिकति होशियार खबरदार् गर्दा बेश हुन्छ कि भनेर लेखें।”

उता ज्ञानलाल मेरो पत्र पढेर दुर्बासा ऋषितुल्य हुने नै भए। उनको पबित्र प्यारमा शंकाको डंका पिट्ने हिम्मत? हो त्यो हिम्मत हरकोइले गर्न सक्दैन। सच्चा प्रेमका पुजारीहरुले मात्र गर्न सक्छ।

पत्रको जवाफमा उनको प्रेम पबित्र छ, कबिताले उनलाई प्राणभन्दा माया गर्छे, उनीहरुको बिश्वास दुइ चार् जनाले भन्दैमा, गन्दैमा टुट्ने होइन आदि इत्यादि लेखे। हुन त ज्ञानलाल लाई शिबपुर् ( कलकत्ता) मा बसेर कान्तिपुरको हाल खबर् थाहा पाउने कुरो पनि रहेन। फेरि उनीहरुको गहिरो मायाको अन्दाज हुनेलाई कबिताको यस्तो रुप अकल्पनिय नै लाग्ने हुन्छ। शिबपुरमा आफ्नी पार्बतिलाई सति साबित्री सम्झदै ध्यान मग्न छ ज्ञानलाल्। उता कबिताको छन्द परिवर्तन भैसके जस्तो छ। टाइम मै कुरा क्लियर भएन भने चोखो मायागर्नेहरुले माया शब्द संग नै भरोसा गर्न छोड्ने छन्। आइन्दा कसैले कुनै अमर प्रेम कहानी लेख्दैनन्। बिपरीत लिङ्ग प्रति नै घ्रिणा उब्जिने छ।

मैले फेरि लेखें,
“मेरो शंका मात्र हो, केही आधारहरु छन्। मेरा आँखाको पावर् अझै ६ बाइ ६ मा नै छ। बरु भेटेरै कुरा गर्न पाए, हामी दुइ र तिमीहरु दुइको बारेमा भ्रम निवारण हुने छ।”

हुन त ज्ञानलाल् ले मैले भनेको कुरा को अबज्ञा कहिलेइ गरेको थिएन र गर्दैनन् पनि । हामी बिचको मित्रता को जग नै एक अर्काप्रति सम्मान र बिश्वास् हो।

होली को अबसरमा हाम्रो कलेजमा ४ दिन छुट्टी हुने र एक दिन अगाडी एक दिन पछाडी क्लास हाप्दा सात दिने छुट्टि बनाउन सकिने स्वर्ण अबसरमा मैले कलकत्ता जाने निधो गरें। मित्रताको मात्र सवाल् थिएन, यहाँ एक निर्दोष प्रेमीको प्रेम बब्वाल मा छ। प्रेम मर्न दिन हुन्न।

कलकत्ता गएं, ट्रेन स्टेशन मा ज्ञानलाल आए लिन। भेट्ने बित्तिकै कबिताको कुरा के हो भन भन्छ बा। १४ घण्टाको सफर कस्तो भयो, दुख सुख को कुरा सोध्नु कता कता, कबिताको कुरा। प्रेम डुबे पछि यस्तै हुन्छ, मन मनै भनें।

“सब बिस्तारमा भनौला, पहिला होस्टल त जाम्, केही त खाम्। भोक लागेर झोंक चलिसक्यो।”

रातको खान खाए पछि मैले ज्ञानलाल लाई काठमाडौमा मैले देखेको कबिता वाचन गरिदिएं सबिस्तार्। हेरेको हेरै भए, टोलाइरहे केही बेर। आफैलाई बिश्वास लागेन होला उनलाई। तर ज्ञानलाल मेरो कुरामा नि अबिश्वास् गर्न सक्दैनथे र यसपाली पनि । यो हुनै सक्दैन, त्यसले त्यस्तो गर्नै सक्दैन। एक छिन आफ्नै अदालतमा बहस् गरे।
अनि आफ्नो डराजबाट एकमुष्ठ पत्रहरु झिकेर मेरो सामु राखिदिए।

“लौ यो पढ।”
“नाइ तिम्रो लभ लेटर पढ्न सक्दिन। मेरो नैतिकताले दिदैन।”

अनि उ आफै एक एक गर्दै सम्बोधन मात्र पढ्नथाले।

प्राणेश्वर ज्ञानु,
प्राणभन्दा प्यारो ज्ञानु,
मेरो मुटुको धडकन ज्ञानु
आदि इत्यादि।

यस्ता अनेक सम्बोधन नि कहाँबाट सिकेकी हुन् तिनले? पक्कै “प्रेम पत्र कैसे लेखें?” “लभ लेटर लेखने का सौ तरिक” भन्ने किताब रन्जना अगाडिको सोडा पसल संगैको किताब पसलमा किनेर पढेकी हुनु पर्छ।

प्राणेश्वर रे- पत्रमा, उता नाथेस्वर बनाउन लागेकी छे। प्राण भन्दा प्यारो रे, ज्यान भन्दा प्यारो अर्को रोजी सकी। मुटुको धड्कनरे, गालामा चडकन् दिनु पर्ला जस्तो भैसक्यो।
ज्ञानलाल रोए भित्र भित्रै। न रूस् कसरी? मुटु रेटिंदाको पीडा मुटु हुनेलाई मात्र थाहा हुन्छ।

मैले भने, “हेर ज्ञानलाल मैले देखेको र मेरो ब्रम्हले देखेको कुरा यही हो, यो नै पूर्ण सत्य नहुन सक्छ। यसपालीको गर्मीको छुट्टीमा हामी दुबै घर जान्छौ नै। अझै सत्य तथ्य पत्तालगाएर जे गर्नु पर्छ गरौला। अहिले नै फाइनल नगरी हालौं। तर सन्देहको घेरा भित्र राख्नै पर्छ, यो मेरो निजी बिचार हो।”

त्यो रात भर ज्ञानले उनको प्रेम कहानी एक एक गरी भन्न थाले, यसमानेमा हामी दुबै सुतेनौ ।
नसुतेको ज्ञानलाल त्यसमा नि मूड अफ, मर्निङ् गूड हुने सवाल नै थिएन। लन्च खाएर हामी कलकत्ताको बजार घुम्न निस्क्यौं। मान्छे नै मान्छे, कति मान्छे। नरायण दाईको गीत याद आयो।

कति सस्तो जीवन, कति सस्तो मान्छे
जता ततै देख्छु, मान्छे माथि मान्छे।
सयौं पेट मारी नअघाउने मान्छे,
अबलालाई दुख्दा रमाउने मान्छे।

मलाई लाग्यो, मान्छे मात्र होइन, प्रेम पनि तसवीरको फ्रेम जस्तो सस्तो भएको छ अचेल।

एक्कास्सि ज्ञानलाल् पड्क्यो, “म त्यसलाई आजै लेटर लेख्छु, को हो त्यो को संग हिडेको भनेर।”

ज्ञानी ज्ञानलाल यसरी पड्केको पहिलो पल्ट होला।

“होइन ज्ञानलाल्, यसरी आबेशमा आएर केही हुन्न? आफ्नै ब्लड प्रेशर मात्र बढ्छ, त्यसै त कलकत्ताको गर्मी, रगत नै ब्वाइल होला फेरि।” आफ्नै स्टाइलमा दिएं मैले नि।

“लेख्ने भए लेख, पुरानै पारामा सारा कुरा लेख, लास्टा मात्र छुस्स मसाला हाल। कसैले अस्ति देखेको रे भनेर मलाई सुनायो, मैले साप संग झपारे, मेरो मायाको बारेमा यस्तो अनर्गल सोच्ने भनेर मात्र लेख। त्यसको रियाक्सन् कस्तो हुन्छ त्यसमा बरु बिश्लेषण गर्नु पर्ने हुन्छ।”

कलकत्ता भ्रमण सक्याएर म आफ्नै ठाउंमा फर्कें। केही समय पछी ज्ञानलालको पत्र पाएं। त्यो छुस्स लेखेले जुरुस्त काम गर्‍यो। त्यो सब उनीहरुको प्रेमबाट जल्नेहरुको कपोलकल्पित कुरा रे। कहिले काहिं ट्युशनबाट फर्किंदा बाटोमा टाढाबाट फुपु पर्नेको छोरा संग भेट हुने र बेलुकी डरलाग्ने भाकोले घर् छोड्न आएको रे।

वाह्!, वाह् ! कबिताजी, क्या गजबको भावबिश्लेषण। सिनेमा हल, त्यो पनि दिउसै ट्युशन पढ्ने थलो रहेछ, कबिताको भावमा। राती मैनबत्तीको मधुरो प्रकाशमा टाँस्सिएर बियर संगै माइ डियर भन्नु ट्युशन पढाई रहेछ। पर्भू को लीला अपरम्पार रहेछ, त्यसै भनेको होइन रहेछ, पर्भू।

गर्मि को छुट्टि मा हामी घर आयौं। संभवत म २ २ दिन् पहिला आएं। ज्ञानलाल आउने बित्तिकै मलाई भेट्न आए।

“मैले भोलि नै भेट्ने प्लान बनाएको छु, कबिता संग।”
उस्ले श्री गाणेशाय नम: यही बाट गरे। मानौं भोलिको दिनको लागि उ सदियौं देखि पर्खिरहेको छ र जीवन मरणको कुनै निर्णय हुने वाला छ। न होस् नि कसोरी, जीवन साथीको जीवन को जो सवाल छ।

“हुन्छ, भेट तर डारेक्ट् कुनै कुरा पनि न भन। हामी ले जे सोचका थियौं त्यो गलत पनि हुन सक्छ।गलत ठहरियो र कसैको चित्त दुख्यो भने त्यसको पश्चाताप गर्न सजिलो हुन्न। अझ प्रेम को मामलामा अक्ष्यम्म पनि हुन सक्छ। त्यसैले बडा होशियारपूर्बक यथार्थ उत्खनन गर्नु। तिम्रो प्रेमको जग पनि भास्सियोस्, सत्य पनि न छोपियोस्। शंका, उपशंका, शाखा शंका केही मात्र पनि प्रेम् रस भित्र घुल्यो भने सम्झ जिन्दगि भर पोल्यो।”

बडा दार्शनिकपारामा मैले नि खोकिदिएं।

“ठिक छ यार, म भोलि बेलुकी नै सब बेलिबिस्तार् लगाउछु। त्यसपछि सल्लाह गरौला । “

“हुन्छ, बेस्ट अफ लक, जोस् मा होस् नगुमाउनु सब ठिक हुन्छ।” खुट्टा उचाली सकेको ज्ञानलाल् को भनाइमा मैले नि बुट्टा भरें।

ज्ञानलाल् कबितालाई भेट्न गयो वा आफ्नो मुटु आफै रेट्न गयो, फर्के आए पछि थाहा हुन्छ। न भन्दै फर्केर आउने बित्तिक्कै “लौ हिड, म: म: खान” भन्छ बा।
मूड हेर्दा कुरो सप्रेछ। प्रशन्न छ ज्ञानलाल। आफ्नो भने पेट टन्न। “भर्खर भात खाएको खान्न म: म: स: म:।”

“असली कुरा भन्नु छ के, जाउ न भने १ प्लेट म: म: एक्स्ट्रा भागमा कोच न। ”
त्यसो त ज्ञानलाल को कन्जुस्याइ जग जाहेर त न भनौं, टोल जाहेर थियो।अरु बेला तीन पाथी भोल्ट हाले नि स्वयम्भू माथी चढाए नि म: म: त के समोसा नि खुवादैनथ्यो। ठुलै उपलब्धी न भै म: म: खान जाउं भन्दैन।
मौका यही हो, चपा भैरे चपा, कसैले भने जस्तो लाग्यो।
म: म्: खान जाने बहाना मात्र न थ्यो।

“ल भन आज साह्रौ प्रशन्न देखिन्छ्स्। के भो एक् एक गरेर डिटेलमा भन।”

ज्ञानलाल् भन्दै गयो-

हामीले सोचेको त सब गलत पो रहेछ। त्यो प्रदिप पाक:चा, टाढाबाट नाता पर्ने मात्र न भएर दिदीको क्लासमेट रे।
“ए त्यसो पो?” मेरो शंका अझ निवारण भैसकेको थिएन।
“अनि बिस्तारै सिनेमा हल को कुरा निकालेनस् त?”

त्यो नि सोधें, मैले।
सोध्न नहुने रैछ, बिचरी त क्वाँ क्वाँ घ्वाँ घ्वाँ रुन थाली। चित्त दुखे छ। त्यो पाक: चा ले जबर्जस्ती गरेर मात्र उ गएकी रे। त्यो पाकचा: सधै पछि लागेर हैरान रे। त्यो हिस्सी न परेको पाकचा: बाट छुट्कारा कहिले पाउंछ भनेर बसेकी रे। अब म आए पछि आफै पाकचा: टाढा हुन्छ रे। सब पाकचा: को कमाल रहेछ, बिचरी त्यस्ती सोझी माथि शंका गरें मैले। तैले त हो उक्साएको मलाई बेकार मा। झण्डै ज्यानै खुस्केको।

“ए! सरि है, मैले पहिला नै भनेको ज्ञानलाल, त्यो सत्य नहुन सक्छ। तथ्य सत्य पत्ता लगाउनु छ। अब सब क्लियर भै हाल्यो नि।”

बिचरी कबिता होइन, कबिता त नकचरी हो मेरो बुझाइमा। बिचरा त ज्ञान लाल् हो। दुइ थोपा आँशुमा पग्लिए छ। तरुणीको आँशु को शक्ति बल्ल देखें। बर्षौंको देबादेबको भक्ती भन्दा शक्तिशाली हुंदो रहेछ।

मैले आफ्नै आँखाले देखेको र आफ्नै कानले सुनेको पुरै असत्य हुन सक्दैनथ्यो। केहि न केहि सत्य हुनै पर्थ्यो भन्ने लागेको आज पूर्ण सत्य लाग्यो। नाटकको अभिनय चिन्न सकेन ज्ञानलालले। अथवा चिन्न जान्ने क्षमता आँशुको भेल ले भगै दियो।
मलाई राम्रो संग ज्ञान छ ज्ञानलाल, कर को हिडाइ , डरको हिडाइ र भरको हिडाई को भिन्नता। मस्किंदै, जिस्किदै पर पर होइन वर वर हुनु कुनै कर र डरले हुन सक्दैन। एक् दिन कर हुन सक्छ, दुइ दिन हुन सक्छ, दिन का दिन हुन सक्दैन।
जे होस्, सरोकारवालाले माने पछि मेरो के लाग्छ। बेकारमा कवाब हड्डी किन हुनु ?

“धेरै बेर पछि मैले फेरि भनें, आज सबै क्लियर भै हाल्यो। तं न रिसाउ, अझ बुझ्ने प्रयास गर, फाइदा मलाई हुने होइन , तंलाई नै हुने हो।”

“त्यो त बुझ्दै गरौला, साढे २ महिना छ गर्मीको छुट्टी, त्यतिन्जेल त सबक्लियर भै हाल्छ नै।”

त्यस पछी, ज्ञानलाल र कबिताको प्रेम लीला चल्यो, दैनिक २-३ शो मै। हाउसफुलका साथ।
ज्ञान लालको जीवन मा कहिलेइ नदेखिएको चमक थियो। सधैंको कचकचले भएको घर भित्र माया के हो कहिले देखेको थिएन। यदि कबिताको माया बिटुलो र झुठो भन्ने थाहा पायो भने ज्ञान लालले सहनै सक्दैन। म त्यो कुरा म चिन्तित थिएं।

एक दिन फेरि मैले कबिता एक जाना ह्यान्सि संग हात समाई हिड्दै गरेको देखें, मासंगल्लीमा। साँझ को साढे सात बज्दो हो। पश्चिमको आकाश अझै रक्तिम नै थियो।ेक् छिन् झस्कें, कबिता र ज्ञानलाल होला, जम्काभेट् भयो भने बोर् हुन्छ, भनेर बिच् बाटोमै अन्तै मोड्न खोजें पाइला, तर मनले जोडले न मोड पाइला भने। त्यो ज्ञानलाल होइन जस्तो छ डबल चेक गर भने।

लौ त भनेर एउटा पसलको कुनोबाट लुकेर चियो गरें। ज्ञान लाल होइन रहेछ, त्यो त प्रदीप अर्थात पाक: चा पो रहेछ। छाना बाट मात्र होइन आकश बाट खसे जस्तो भएं म।

“ह्या!!!!! आफ्नो लभ को कुरा हो र त्यति सारो चिन्ता लिन लाई, आफैले सम्झायो। सम्झेन मन। आफ्नो न भए नि सानै देखि को मित्रलाई भित्र भित्र बाट यसरी भेट्दै रेट्दै छन्, सहनु हुन्न, केहि गर। अर्को चेतनमन ले भन्यो।

सिधै ज्ञानलाल् को घर गएं। ज्ञानलाल नि एक छिन भाको रहेछ घर हुलेको।

“लौ म नि भर्खर आएको, कताबाट अैस्।
म नि उता बागबजार तिर एक् जना मित्र भेट्न गएको थिएं। गफ गर्दा गर्दै ढिलो भयो। तं कहांबाट आएको नि, निकै झकास् देखिन्छस्।”

“कबिता र म गोदावरी घुमेर आएको। बडा खुशी छु यार। तं त कबिता मात्र लेख्छस्, आज म संग जिउंदो कबिता छ।”

“कति बेला फर्केको नि?” टाइमिङ् चेक गर्न मैले भनें।

भयो यसो डेढघण्टा जति।
अनि कबिता खै त?
अघि नै रत्नपार्क बाट छुट्टिएर आएको, घर गई।

ए ! भन्दै जुत्ताको फित्ता कसन् थालें

चिया खाएर जा न किन जान लागिस्, भन्दै थियो। भात खाने ट्याम भैसक्यो, ढिलो भयोकि भात होइन लात मात्र बाकी रहन्छ, त्यसैले हिडें, भोलि भेटौला।

गर्मि को छुट्टि सकियो। फेरि झोला कसेर उही इलाहाबादको मरुभूमिलो गर्मि खान गैयो। दिमाग पढाइले खाने , ज्यान गर्मिले। ज्ञानलाल पनि कल्कत्ता फर्क्यो। मन भरि तन भरि मीठा मिठा सपना, संझना, कल्पना के के ना बोकेर। ती मिठा सम्झिएका नाहरु कति तीता छन्, मलाई हेक्का छ। तर सबैको खुशी बरकरार राख्ने ठेक्का लिएको मान्छे होइन म। फेरि पत्राचार् सुरु भयो, ज्ञान लाल् र म बीच। अनि ज्ञान लाल र कबिता बीच त झन एक्स्प्रेस मेल।

मैले केहि संकेत गरेको थिएं, कबिताको चर्तिकला अनि केटा फेर्ने महाकला बारे। ज्ञानलाल रिसाए। एक् चोटी त निकै रिसाए। रिसाए नि ठुसाए नि छु मतलब? कलकत्ताबाट यता आउने होइन, बढि गरे २-४ हफ्ता पत्र नलेख्ला। आफ्नो नि ७५ पैसा भारतिय मुद्रा बच्ने।

एवं रीतले ज्ञान लाल को कबिता निख्रंदै गए। मलाई एउटै मात्र डर् थियो, धेरै अग्ला अग्ला सपना देखि सकेका ज्ञानलाल् ले सपना टुटेको हेर्न सक्ला कि न सक्ला। सपना फुट्नु, सपना टुट्नु टाउको फुट्नु जस्तो होइन, मलम पत्तिले ठिक होस्। मुटु भित्र लाग्ने घाउ न देखिन्छ, न लेखिन्छ, केवल चहराइ रहन्छ।

सेमेस्टर सकियो, साल सकियो। ज्ञानलालले कबिता कोरेको कोरेइ। फाइनल इअर नि सकियो, इन्जिनियर नि बनियो। गजधम्म फुलेर आइयो। ४५ केजी को बाँसको सिन्का जस्तो मान्छे, Flame पेन जस्तो फुलेर फर्कियो।
बडा ठुलो उपलब्धि हासिल गरे जस्तो लाग्थ्यो। बाटोमा हिड्डा नि आफु त इन्जिनियर बाबै- भने जस्तो गर्बको अनुभुति हुने। इन्जिनियर भएर के भो त जागिर खोजेर देखा न , आफैले अफुलाई खिसि गर्थ्यो। जागिर खोज्न दिन दिनै हिडिन्थ्यो। हामी पास भएर घर फर्केको २-३ महिना सम्म हाम्रो ब्याचका कोइ पनि इन्जिनियर भएर फर्केका थिएनन्। न भैकन फर्किने चाहि थिए।

जो भेटे पनि बधाइ दिने, जागिर भने कसैले न दिने। पढाइ भन्दा गाह्रो पो रहेछ। छोकरी खोज्न सजिलो होला, यो नोकरी खोज्न गाह्रो ।

एक दिन बेलुकी को आठ साढे आठ बजे तिर मलाई कसैले बोलाको जस्तो लाग्यो। झ्याल बाट चियाएं। हो रहेछ, एक जना अग्लो अग्लो मान्छेले मलाइ देख्ने बित्तिकै दाई, तल आउनुस् न भने। अध्यारोले चिन्न सकिन। दाई भने सि भाइ त होला नि भनेर तल गएं।

प्रदिप अर्थात पाक: चा रहेछ।
“ए भाइ पो! , किन के काम् पर्‍यो भाई?”
मलाई शंका लागि सक्यो, यो ज्ञानलाल को बारेमा कुरा गर्न आएको पक्का हुनु पर्छ भनेर।

“हैन दाई, सिरियस कुरा छ, यता भन्न मिल्दैन कि? ” सास संगं वास: ( नेवारिमा रक्सि) अलिकति गन्ध नि पनि मिस्सिएको थियो।

“माथी जाम् त।”

कोठा मा पुग्ने बित्तिकै बम्किन थाले, पाक: चा।

“पहिला बस अनि बिस्तारै सबिस्तार भन।”

“हैन दाई, म त्यो ज्ञान लाल भन्नेको हात खुट्टा न भाँचि छोड्दिन। त्यसले के सम्झ्या छ मलाई।”

“हैन भाई, ज्ञानलाल को हात खुट्टामा बुट्टा भर्नु पर्ने कारण के होला? के गर्‍यो त्यसले?” मैले नि न केही थाहा न पाए झै गरेर भने।

“हैन दाई, मैले लभ गरेको केटी फसाउन खोज्छ त्यसले। यस्तो पनि हुन्छ कोइ? लाज लाग्दैन, त्यसलाई? त्यस्तो पनि गर्ने भन्या हुन्छ? इन्जिनियर को ध्वाँस दिएर त्यस्तो सोझी कबितालाई फसाउन खोज्यो त्यसले।”

“अस्ति नै त्यो काठमाडौ अौदा हात खुट्टा भांचेर बीर हस्पिटलमा फालिदिनु पर्ने। सत्य दाई, दाईको साथी भएर मात्र न पिटेको त्यसलाई। दाइको इज्जत गर्छु नि म।”

अब उनको भावमा रिस भन्दा नि पीडा देख्न थालें। बिचरा, पाक:चा। उनको नजरमा ज्ञान लाल दोषि, ज्ञान लाल को नजरमा पाक:चा दोषि।
झन्डै रोए, प्रदिप।

उनले कबिता र उनको सम्बधको राम कहानी भने।
स्कूल देखि मन पराएको रे, एक ले अर्कालाई। बिचमा ज्ञानलाल आएर सोझी माथी चारा हालेको रे। जब जब छुट्टिमा घर फर्किन्थ्यो, तब तब ज्ञान लाल ले भेट्न अौ न भए आफै अौछु भनेर हैरान गर्ने रे। ज्ञान लाल को माइजु मार्फत( कबिता कि सानी आमा) अनेक कुरा गर्ने रे।
बिचरी जहिले पनि टेन्सनमा हुने रे।

“हेर भाई, मैले नि भेटेको छु, चिनेको छु, कबिता लाई। ज्ञान लाल त झन् मेरो सानै देखि को साथी। उनको हरेक कुरा मलाई थाहा छ। उनी कति नैतिकवान छन्, कति बदमास्, कति भलादमी, मलाई जति शायदै कसैलाई थाहा छ।”

“कहिलेइ कबिताको चरित्रमाथी शंका गर्यौ?”

“किन गर्ने, त्यस्ति सोझी माथि?” अघि युग्द बिराममा आइसकेको पाकचा फेरि पड्क्यो।

“किन कि यही कुरा, कबिताले ज्ञान लाल लाई भनेकी छे। तिमीले हैरान पारेको रे, जहिले नि पछि पछि आउने , जबर्जस्ती बोलाउने, घर आउने गर्ने रे हो?।”

“मैले आफैले कबिताले ज्ञान लाल लाई लेखेको लभ लेटरहरु पढेको छु।ुनीहरुको भाव पढेको छु। त्यसको आधारमा भन्ने हो भने ज्ञान लाल बाहेक् संसारमा कबिता बुझ्ने कोइ छैन।”

“यसै बीचमा तिमी र कबिता संगै सिनेमा हेर्न गएको, रेस्टुराँ मा रमैलओ गर्न गएको सबै थाहा छ मलाई। मैले भनेको पनि थिएं ज्ञान लाल लाई यो कुरा। ज्ञानलाल ले कबिता संग नि क्लारिफिकेशन लिएको थियो। जवाफ त्यस्तो पायो, ज्ञान लाल ले।”

यति सुने पछि, पक: चा, स्टूलबाट तल भुइमा थचक्क बसे। ठुलो सुनामीको नि बाउ चल्यो होला पाक:चा को मन भित्र। अवाक् रहे धेरै बेर।

आशु झरे, अनियन्त्रित भएर।
म नि चुपचाप उनको पीडामा दुख्न थालें। मुटु चर्केको आवाज मेरो कान भएर मुटु सम्म पुगे जस्तो।
अपबित्र प्रेम गर्ने हरु संग घ्रिणा छ मलाई। प्रेम शब्दलाई नै बिटुले बनाउने अपराधीहरु देख्यो कि बिद्रोह जाग्छ म मा।

“म मार्दिन्छु त्यस्लाई, अनि आफु नि मर्छु।” फेरि अर्को हतगोला फ्याक्यो त्यसले।

“होइन भाई, मर्ने र मार्ने बच्चाको जस्तो कच्चा कुरा न गर। मैले बुझेको छु, तिम्रो पीडा। प्रेमलाई पूजा गर्नु पर्ने मा, प्रेम लाई सतो भूजा सम्झिनेहरु देख्यो कि मलाई पनि त्यस्तै फिलिङ् हुन्छ। तर सोलुशन त्यो होइन। संयमले काम गर्नु पर्छ।”

“वास्तबिकता बुझि हाल्यौ। कबिता जस्ता केटीको चंगुलमा नफस्नु नै जाती हुन्छ।”

“अब म के गरौं, गएर त्यसको लामो कपाल सपाल भुत्ल्याइ देउं त?”

“त्यो झन ठेस् लाग्ने काम् हो, केस पनि लाग्न सक्छ? त्यस्ती चम्बूले पुलिस बोलाई, उल्तै फसाइ दिन बेर छैन। कानून ले केटी माथी हात हाल्नु नि अपराध हो, चाहे जस्तो सुकै अवस्थामा किन नहोस्।

“अब म के गरौं त?”

“अब, ज्ञानलाल नि आउछ १५-२० दिन मा पढाई सक्याएर। कबिता को यो द्वेध चरित्रको पर्दाफास् हुनै पर्दछ। उता ज्ञान लाल तड्पिने, यता प्रदीप तड्पिने। दुबै बाट फाइदा लुट्नु लुट्ने? यसको अन्त्य हुनै पर्छ।”

“हस दाई, दाई संग भेटेर मेरो आँखा खुल्यो। सरि दाइ, मैले अौने बित्तिकै के के भनें। आज कबिता संग यही बारेमा संग अलिकति थाकथुक परेको। अनि ग्वाछे मुग: गल्लि मा लोकल दुइ गिलास लडाएको। कहिले काहि लोकल ले नि काम गर्दो रहेछ दाई। त्यो दुइ गिलास न पिएको भए, दाई संग कुरा गर्ने हिम्मत नि हुदैनथ्यो, यत्रो नाटक को पर्दाफास नि हुदैन थ्यो।”

अब भने उनको भावमा सन्तोष र मुस्कान देखें।

“ल त भाइ, तिम्रो फोन नम्बर छोडेर जाउ, ज्ञान लाल अौने बित्तिकै यो नाटक को अन्तिम द्रिश्य मन्चन गर्नु पर्छ। के कसरी म सोचुला। अहिले भने त्यो नाटकलाई निरन्तरता दिनु, अझ जिवन्त अभिनय गर्नु।”

अब कबिताको नाटकको अन्त्य कसरी गर्ने भन्ने सोचमा आइडिया खोज गर्न थालें। ज्ञान लाल् नि मीठा मिठा सपनाहरु सजाएर आइपुगे, काठमाडौं। कलकत्ता देखि को दुइ दिने यात्रा भरि उ कबिता संग बिताउने रंगिन पलहरुको बजेट बनाउदै थिए होला, यता ती पल, छल मा परिवर्तन भै सकेको के थाहा। आउने बित्तिकै मेरो घर आइपुगे ज्ञान लाल्।

कहिले आइस्?

आज बिहान।
के छ यार हाल खबर?

कस्को? मैले नि दिएं।
मेरो कि उसको?

तेरो नि, उसको त म आफै पत्ता लगाई हाल्छु नि।

ए मेरो, ठिकठाक, गर्मी यता नि छ, उता नि छ। यता धेरै अधर्मीहरु देखें। भेटें।
को अधर्मी? मन मा अलि चिसो घुसे छ ज्ञानलालको मा।

हेर ज्ञान लाल, म तं कहिले आउला र सल्लाह गरौला भनेर बसेको। आजै आइ हालिस्। सिरियस कुरो छ।

के भन न छिट्टै, ( ज्ञानलाल् को सास् फुल्न थाल्यो)

कबिताको बारेमा। तं न रिसाउ एक् छिन, पुरै सुन अनि मात्र रियाक्ट गर।कबिता को बारेमा जे जति मैले नेगेटिभ कुरा देखें सुनें सब सत्य रहेछ। १५-२० दिन अघि पाक:चा आएको थियो, तेरो हात खुट्टा भाच्दिन्छु भनेर।

किन भाच्ने मेरो? कहिले काहि मात्र रिसाउने ज्ञानलाल आगो भयो।

तैले पाक:चाले लभ गरेको केटी माथि आँखा लगाइस् रे। इन्जिनीयरको ध्वाँस दिई चारा हालिस् रे। जबर्जस्ती कबिताको इच्छा बिपरीत घुमाउन लगिस् रे।

ज्ञानलाल को आँखामा आगो होइन पानी बरर् झर्न थाले, मेरो कुरा पुरा नभैकनै।

के यार्, यति कुरा मै रोइस्, मर्द ले के के सहनु पर्छ के के।

म ज्ञान लाल को पीडा महशुस गर्न सक्छु। महशुस गर्नु र पीडा झेल्नु फरक फरक हुन् तर पनि भन्न करै लाग्छ।

मलाई थाहा छ, तेरो मनमा कति रेक्टर स्केल को भूकम्प आएको छ अहिले। अझै आफ्टर श:क झेल्नु छ। ठण्डा दिमाग ले कसरि डन्डा चलाउने भनेर सोच्ने बेला हो यो।
अझै पत्याउन सक्दिन तेरो कुरा। अस्ति मात्र कबिताको लेटर् आएको थियो, छुट्टीको प्लानहरु पठाएकी।

लौ सुन, म संग पाक:चा को फोन नम्बर छ, तं आउने बित्तिकै फोन गर्छु र यो द्वेध चरित्रको पर्दाफास गर्ने उपाय भनुला भनेको थिएं। मैले एउटा प्लान सोचेको छु, तं राजी हुन्छस् भने, पाक:चा लाई फोन गरेर त्यहि अनुसार गर भन्छु।

हुन्छ?
के हो प्लान?

अब, म आइपुगें, साह्रै मिस् गरेको छु, भेट्नु पर्‍यो भनेर फोन गर्नु। भोलि शनिबार पनि हो,अरु बहाना पनि चल्दैन।

अनि?

पाक: चा र तं एकै ठाउंमा बसेर फोन गर्ने। पहिला टयाम र ठाम मिलाउ। त्यसको लगत्तै पक:चालाई फोन गर्न लगाउने। भोलि त्यहि समयमा त्यही ठाउंमा भेट्न कर गराउने। संभवत एकै समयमा एकै ठाउंमा भेट्न स्विकार गर्ने छैन। अनि पाक: चा लाई अलि चाँडो २०-३० मिनेट अगाडी त्यहि ठाउं होइन कि संगै को ठाउंमा भेट्न राजी गराउने। त्यस पछि त काजी काम सकियो। दुबै संगै प्रकट हुने।

यो प्लानले काम गर्ला त?

संभवत गर्छ। दुबै लाई नाइ भन्न् सक्दैन त्यसले। एकै ठाम् मा एकै ट्याम मा भेट्न पनि सक्दैन। तर कर गर्यो भने अलि फरक समय मा फरक ठाउमा भेट्न आउछे, मेरो बिश्वास हो।

लौ यो प्लान अनुसार गर्ने भएं, कहाँ बोलाउने त?
तैले किङ्गस् वे को नाङ्लो मा बोलाउ, पाक चालाई जमल को मिराज मा। ३०मिनेट को फरक मा भए, बाटो पनि पर्छ। तर दुबै जना मिराज मा जाने।

वण्डरफुल आइडिया।

सधै के को हन्डर खान्छस त वण्डरफुल पिलान् न बनाए।

यो प्लान को बारेमा पाक्:चा लाई अवगत गराएं। पाक:चा झन् हौसिए।

प्लान अनुसार सबै हुने भयो। सुरुमा त पक:चा को आग्रह लाई नकारी, माइजु हस्पिटलमा छ उता जानु पर्छ भन्दै। हस्पिटलबाट नजिकै छ, १० मिनेट लाई मात्र भने पछि कबिता आउने भइ।

दुबैलाई बोलाएर भनें, पर्दाफास् हुन्छ नै, तर यसको अर्थ यो होइन को पर्दा च्यात्ने काम् होस्। अर्थात उ आफै लज्जित हुने छे, त्यसैले इज्जत लिने काम नगरिएसै। बस, तिमी संग को सहयात्रा यहि टुंगियो आइन्दा देखि कुनै ज्ञानलाल कुनै पाक:चा को चोखो माया मा खेलवाड नगर्नु। हर कोइ मान्छे ज्ञानलाल् हुन सक्दैन, हर कोइ पाक:चा। आदि इत्यादि मिलाएर भन।

हुन्छ भन्दै, दुबै जना गए। प्लान अनुसार भए। पर्दाफास् भयो। यो कथा को पर्दा नि खस्यो।

“लौ छोरी, यिनै हुन सबिता र कबिता को कथा। कस्तो लाग्यो त?”

“कस्तो नक्कचरी है ड्याडी दुबै जना?”

ती नक्कचरी भए त आफ्नै ठाउंमा हुनु नि, ज्ञान लाल जस्तो सोझो चरा यानी बि-चराको मुटु छोयला-छोयला कचिला-कचिला भएको न बानाउनु नि ।

“अहिले के गर्दै छिन् नि कबिता?”

सुन्छु, तिनको अहिले सम्म बिहे भएको छैन रे। बिहे होस् पनि कसरी? एकै चोटी २ जना संग बिहे गर्न खोज्ने? एक जनाले गन्नै नसक्ने गरी बिहे गर्दै जाने, अर्की को चाहिँ बिहे नै नहुने। तिनीहरुको चाल-चलन हाम्रो समाजमा चल्दैन, हाम्रो समाजलाइ पच्दैन। न पचे पछि छेर्छ। त्यहि भएको हो।

हाहाहा!!!!!!!!!!!!! गर्दै छोरी पनि मेरै स्टाइलमा हास्न थाली।

!!!अस्तु!!!

{आदरणीय पाठक मित्रहरु,
यो कथा दुइ नारीको जीवन ब्यथा भएकोले क्रिपया यसलाई नारीबादी क्रान्तिकारि चस्मा लगाएर पढि नदिनु होला। }

03-06-08 5:04 PM

(स्रोत : साझा डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.