कविता : हिजोआज ऊ

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

उसका बाउ साहुको भारी बोक्थे
आमा साहुको बाँझो बारी खनिदिन्थिन्
धान रोपिदिन्थिन् बिउ काडिदिन्थिन्
आमा बाउ दुबैले दश नङ्ग्रा ख्याउँदा समेत
बिहान बेलुकाको छाक मुश्किलले टर्थ्यो
००००००००००००००००००००००
पहेंली मकैको भात ढिँके नुन र खोर्सानीसँग …
पेट चर्किने गरि खान पाको दिन कस्तो हुँदो हो ?
ऊ बारम्बार आफ्नो मनसँग प्रश्न गर्थी
००००००००००००००००००००००
दिउँसो भोकले भुँडी बटारेपछि ऊ, कान्लाको छेको लागेर
गाउँलेका बारीमा पस्थी र बेलचण्डाका हरिया पात चुँडेर ल्याउँथी
अनि मुखमा अटाइ नअटाइ बुझो हालेर
गाई भैंसीले सुकेको पराल चपाएझैँ कर्याप कर्याप चपाएर
पेटको अग्नि शान्त पार्थी अघाउँन्जेल खाने
नयाँ कपडा लाउने रहरमा हरेक दिन तड्पिन्थी
००००००००००००००००००००००
बाउ नुन बोक्दा बोक्दै कछाड र भोटोमै संसारबाट बिदा भए
आमा सात ठाउँ टालेको फरिया
र दश ठाउँ टालेको चोलोमा बिदा भइन्
००००००००००००००००००००००
अब ऊ एक्ली र टुहुरी भइ
सबैका लोभि पापी नजर उसको शरीर माथि पर्न थाले
अब उसलाई त्यो ठाउँमा बसिरहन मन लागेन
आमाबाउ नरहेपछि कुन आधारले बस्ने ?
कसका लागि बस्ने ? को छ र बस्ने ?
एकै चोटि यी तीनवटा पश्न उभिए उसको अघिल्तिर
००००००००००००००००००००००
ऊ एक दिन त्यो ठाउँ छोडेर शहर पसी
उसले सोचे जस्तो पटक्कै थिएन शहर
चिसा थिए शहरका यान्त्रिक मान्छेहरू
सबैलाई कतै न कतै पुग्ने हतारोले सताएको हुन्थ्यो
दुखिको दु:खमा सरिक भएर साहानुभूति प्रकट गर्ने
समय र शब्दको अभाव थियो तिनमा
खान र पिउन बाहेक अरुबेला बन्द रहन्थ्यो तिन्को मुख
ती आफै भित्र पनि एक एक वटा दु:खको सगरमाथा उचालेर हिँडे जस्ता देखिन्थे
शायद त्यही दु:खको सगरमाथाले थिचेर तिनलाई कठोर बनाएको हुनुपर्छ
ऊ फुटपाथमा बसेर प्रत्येक अनुहार नियाल्थी
००००००००००००००००००००००
उसले कयौँ रात कयौं दिन त्यहीँ फुटपाथमा गुजारी
अर्काले खाएर मिल्काएको जुठो टिपेर खाइ
कठैबरा भनेर दया देखाउने
कोही थिएनन् उसको अगाडि पछाडि
००००००००००००००००००००००
एक दिन एउटा अधवैंशे पुरुषले राम्रो काम लगाइदिने प्रलोभन देखाएर
उसलाई मुम्बईको कोठीमा पुर्यायो
००००००००००००००००००००००
त्यहाँ पुगेको भोलि पल्ट हात्तीको जत्रो शरीर गरेको कालो भुस्तिघ्रेले कोट्याउन आयो
ऊ आमा भनेर चिच्याउँदा चिच्याउँदै बेहोस् भएर भूइँमा ढली
बरु यमराजले छोड्ला म मेरो लगानी नउठाइकन तँलाई छोड्दिन
यो काम नगरे पानी समेत खान पाउँदिनस्
भनेर कोठी मालिक्नीले कम्मरमा हात राखेर
पानले रातै पारेको जिब्रो लर्बराउँदै बोले पछि
ऊ बिस्तारै आफ्नो पेशामा रत्तिएकी थिइ
हेर्दा हेर्दै हिजोआज ऊ आफ्नै कोठी खोलेर राम्रो लाउने मीठो खाने
प्रलोभनमा फसेका आफ्ना मुलुकका निरीह युवतीहरू खरिद बिक्री
गर्ने अभ्यानमा अभयस्त बनिसकेकी छे
००००००००००००००००००००००
उसलाई कसैले यस्तो पाप कर्म गर्नु हुँदैन
मृत्‍युको डर मान्नुपर्छ भनेर भनि हाले ऊ पान चपाउँदै जवाफ दिन्छे
आफू यहि काम गर्नका लागि यो संसारमा पैदा भकी हुँ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.