~हुसैन खाँ~
विकासका नै गहना लगाए
नौली सुनौली वधुझैँ सजाए
फेरिन्छ पक्कै रङ- रूप सारा
हुन्थिन् धराकी त यिनी सितारा
यो देशलाई दिलमा सजाऔँ
यो प्रेमबारी रसिलो बनाऔँ
आफन्त ठानीकन प्रीत लाऔँ
आऊ सबै स्वागत गीत गाऔँ ।
कैले तराई र पहाड धाएँ
कैले हिमाली हिउमा बिलाएँ
हेरेर -देखेर-सुनेर आएँ
यै म्रृत्तिकामा नव-प्रीत लाएँ ।
मेरा यी हिम टाकुरा गगनमा छुन्छन् कि छुन्छन् कि झैँ
सेता ताज सधैँ मुहार हँसिला बोल्छन् कि बोल्छन् कि झैँ
यिन्को चुम्बन गर्न यो गगनका द्यौता धरी झर्दछन्
कस्तो सुन्दर सृष्टि भो सुनहला स्रष्टा स्वयम् दङ्ग छन्।
हूसैन खाँ
भरतपुर–४, गणेशमार्ग, नारायणगढ चितवन ।
psp195@yahoo.com