~बुद्धिसागर~
समयले आरुका रुखमा ‘हाइटेक सपना’ फुलाएको छ, आरुबारीमा । आरुबारी बसपार्कको उँभोतिर एउटा पीपलको रुख कसैलाई कुरेर बसेको छ, टुक्रुक्क । त्यसकै तल उमेरले धेरै रिंग्याएकाजस्ता वृद्ध पनि टुक्रुक्क बसेका छन् । के यिनले चिन्लान्, उनलाई ?
उनले भनेका थिए, ‘आरुबारीमा आएर जसलाई सोधे पनि भनिदिन्छन्, मेरो ठेगाना ।’
निर्धक्क आफ्नो ‘ठेगाना’ बनाएका उनी थिए- रमेश विकल । जो कोर्सका कथाहरूमा आफ्नो परिचय बोकेर कैलालीको मटेरामा पनि आइपुगेका थिए । उनको ‘मधुमालतीको कथा’ पढेर कयांै किशोर-किशारी रुन्थे । म पनि रुन्थें ।
‘रमेश विकलको घर कता पर्छ ? तपाईंलाई थाहा छ ?’ मैले सोध्दा ती वृद्धको तन्द्रा पीपलको पातझै सुस्त हल्लियो । उनले यसो मधुरा आँखाहरूले नियाले र भने, ‘आउनुस्, म पुर्याइदिन्छु ।’
जीवनसंगिनीको सम्झना आउँदा उनी के गर्छन् ? छोडेर जानेको पेन्टिङ बनाउँछन् ? चस्माको ठूलो आकारको कालो फ्रेमभित्रका उनका धमिला आँखा टिलपिल-टिलपिल भए । आखिर मनले ठाउँ छोड्यो र भने, ‘म रुन्छु ।’
केही पुरानो सेतो सर्ट जो धुलाम्मे छ । हुरी पनि त चलिरहेको छ । सर्टका केही टाँक खोई कता खसाले छन् । तर, सबैभन्दा मीठो सम्झना भएर रह्यो उनको मुस्कान ।
पीपलको रुखभन्दा अलि माथि सय मिटरजतिको साँघुरो बाटो हुँदै एउटा पक्कीघरको बरन्डाबाट उनले दोस्रो तलातिर मुख सोझ्याउँदै कसैलाई बोलाए । घरभित्रबाट बाहिर आएन कुनै आवाज ।
अचेल त घरमा ‘डोर-बेल’ पनि त हुन्छ, लाटा । डोर-बेलको आवाजले कुनै रुखको टोड्काभित्रको पन्छीलेझै गुन्गुनायो । उनकी बुहारीले भित्तामा झुन्डिएका पुरस्कार र सम्मानका ताम्रपत्रहरूको भीडबाट जोगाउँदै मलाई उनीसम्म पुर्यादिइन् ।
ठ्याक्कै आँखाअगाडि एउटा निभेको टिभी छ । मानौं, रमेश विकल त्यसमा आफ्नो जीवनको अन्त्यहीन ‘मेगा सिरियल’ हेरिरहेका छन् ।
असी वर्षको उमेरमा उनीसित हातबाट कत्लेमाछाजस्तै चिप्लिएका पुराना उमेरका अवशेषहरू मात्र छन् । असी वर्षले उनीअगाडिको टेबुलमा पछारिदिएको छ, केही एकान्त, केही उदासी र केही आँसु ।
‘हामी तेह्र पुस्तादेखि यही आरुबारीमा छांै,’ उनले आफ्ना जराहरू उधिने । अहिले त ती जराहरू कहाँ-कहाँ फैलिएका छन्, कुन्नि ? अलि माथि रै’छ, उनको परानो घर । उनी यहाँ यस कारण छन्, ‘यो त कान्छो छोराले बनाएको घर हो ।’
अचेल उनी कमै लेखपढ गर्छन् । फुसर्दमा भने उनी के गर्छन् ? ‘चित्र बनाउँछु,’ उनले भित्ताहरूमा झुन्डिएका कयांै चित्र देखाउँदै रहस्य खोले, ‘यी सबै मैले बनाएका हुन् ।’
अहिले उनको उमेरको गुढमा अपरिचत बूढो पन्छी उँघिरहेको छ । बुढेसकालमा मान्छेहरू सबैभन्दा बढी केलाई सम्झिन्छन् ? प्रश्न उनीकहाँ पुग्नेबित्तिकै जवाफ लिएर फर्कियो, ‘बाल्यकाल ।’
***
बुढ्यौलीले बद्लिँदै गएको आफ्नो काया देखेर उनलाई कहिले रमाइलो लाग्छ, कहिले दिक्क । ‘मेरो कपाल पहिले त्यस्तो राम्रो थियो,’ उनले भित्तामा झुन्डिएको किशोरकालीन तस्बिरतिर इसारा गरे । अनि, आफ्नो टाउको सुम्सुम्याउँदै हाँसे, ‘अहिले त गुन्द्रुकजस्तै भयो ।’
अब उनी आफ्नो लामो कपालवाला युगतिर दगुर्न थाले । म पनि दगुरे पछि-पछि । उनलाई आफ्नो स्मरणशक्ति गजबको लाग्छ । भन्छन्, ‘म आफू पाँच वर्ष छँदाको कुरा सम्झिन्छु ।’ के सम्झिनुहुन्छ ? मुस्कुराए, ‘भुइँचालो ।’ नब्बे सालको भुइँचालो जाँदा उनी पाँच वर्षका थिए ।
उनी बारीमा खेलिरहेका थिए । पृथ्वी डग्मगायो । बारीमा बाँधेका गाई-गोरु कराए । कत्ति त दाम्ला चुडाएरै भागे । धमाधम घरहरू भत्किन थाले । धुलो उड्यो । धुलोले चारैतिर अन्धकार भयो । कुनै लोककथाको वर्णन गरेजस्तै उनले भने, ‘हाम्रो घर पनि भत्कियो ।’ त्यो बेलाका घरहरू पनि त भुइँचालोलाई कुरिरहेजस्ता पराले झोपडीका हुन्थे ।
यो के भएको हो, उनलाई केही चेत थिएन । ठूलाबडाले बुझाए, ‘भुइँचालो आएको हो ।’ उनले धेरै वर्षसम्म पनि अन्दाज गर्न सकेनन्, के हो भुइँचालो ? किन आउँछ भुइँचालो ? ‘धेरै पछि पो थाहा पाएँ नि । के हो भुइँचालो भनेर,’ उनले पुराना कुराहरूलाई कागजको ढड्डाझैं टेबुलमा पछारिदिए । नत्र सबै सोझा र अत्यधिक क्रिएटिभ मान्छेहरू यस्तो भन्थे, ‘चारवटा हात्तीले सुँडमा अड्याएका छन् पृथ्वी । हात्तीले थाकेर काँध फेर्न थालेपछि भुइँचालो जान्छ ।’
बाल्यकालमा उनको उपद्रो त कमको थिएन । ‘अलि मध्यम वर्गीय र हुने-खाने खानदानको भएकाले ममा अलिकति अहं थियो,’ ढाटेनन्, सुनाए, ‘म अरूलाई हेप्थेँ । हैकम चलाउँथेँ ।’
चकचक र मुख्र्याइँ गर्न उनलाई कसले रोक्ने । शास्त्रहरू भन्छन्- बालक भनेका भगवान् हुन् ।
शास्त्रले भगवान् भनिदिएका यी बालकलाई ‘भूत’ बन्ने लहड नै चलेको थियो । जब रात पथ्र्यो । उनी भूतका रूप धारण गर्थे । एउटा पुरानो कम्बल गुम्लुङ् आढेपछि उनलाई लाग्थ्यो- म त भए झ्यापुल्ले भूत ।
ती झ्यापुल्ले भूत तर्सिने सिकार खोज्न जाँदा एक दिन कसो, आफंै सिकार भएनछन् । भएछ यस्तो-
आमा र स-साना छोरा-छोरीको एउटा परिवार थियो । साँझपख आमाले ‘सिरौंला’ भुट्न थालेकी थिइन् । अब उनी गुम्लुङ् कालो कम्बल ओढेर ह्वात्त ढोकाबाट भित्र पसे र डङ्रंग पछारिए भुइँमा ।
घरभित्र हाहाकार भयो, के आयो यो ? हे दैव ! उनी त कम्बलले मुख छोपेर लडीबुडी गरिरहेका थिए । कसैले मकैका ‘ढोड’ले हिर्काउन थाले ।
उनी मज्जा लिइरहेका थिए । अचानक कान्छोचै छोराको आवाज आयो, ‘आमा ! बन्चरो नै आउँदैन ।’ त्यसताका बन्चरो दलिनमा झन्ड्याएर राख्ने चलन थियो । उल्टो पट्टिबाट तान्दा बन्चरो दलिनमा अड्किएर उनको सास छातीमै रह्यो । के गर्छस् मंगले आफ्नै ढंगले ।
जीवनमा कतिथरी गल्ती हुन्छन् ? हुन्छन्, कत्ति माफ गरिदिनलायक ? उनी कहिल्यै बिर्सिन्नन् एउटा गल्ती जसले उनलाई कयौं दिनसम्म पछुतो भइरह्यो ।
उनका एकजना दाइ थिए । जो गुलेली लिएर घुमिरहन्थे । सात सालतिर चाबेल जाँदा सडकछेउको रुखमा (त्यस समयमा सडकका छेउछाउ पनि रुख हुन्थे, बाबु !) कौवाको गुँड थियो । दाइले गुलेलीले प्रहार गरे । सानो बचेरा भत्ल्याक्क खस्यो । त्यो कौवा भुइँमा भन्दाबढी विकलको मुटुको गुलाबी सतहमा खस्यो र घाउ बनायो । पछि सयौं कौवाहरूले दुवैलाई घेरे । दुईभाइ दगुर्दै नजिकको घरमा शरण माग्न पुगे ।
अहिले पनि त्यो कुराले पोल्छ । बतास झ्यालबाहिरको आरुको रुखका हाँगामा चँचहुइर्ँ खेल्दैछ । उनले भने, ‘ती दाइलाई चाबेलको बाटोमा हिँड्दा कौवाहरूले कयौं दिनसम्म लखेटे ।’
पन्छीहरू उनका हृदयमा सधैं फड्फडाउँदै उड्छन् । अब त पन्छीहरू पनि विराना भइसकेका छन् । उनले एउटा कवितामा लेखेका थिए- गिद्धहरू शहर पस्न थाले । विचरा ओरिजिनल गिद्धहरू अब त कहीँ पनि भेटिँदैनन् । मान्छेहरूमा बढी गिद्धको स्वभाव आउन थालेपछि सायद तिनीहरू कतै ओडारमा ध्यानस्थ छन् । उनले भने, ‘गिद्ध कविताको यौटा विम्ब हो ।’ हुन पनि गिद्धहरू अब त विम्बमा मात्रै बाँकी छन् ।
***
तेह्र वर्षको उमेरमा पहिलोपल्ट आरुबारीबाट रत्नपार्क आइपुगेका उनी अहिले पनि यता त्यति देखिँदैनन् ।
अचेल उनी प्रायः बाहिर निस्किँदैनन् । दिन घरमै बित्छ । घरमा हुन्छन्, एक्ला उनी, केही लेख्छन् बाँकी शब्द र पुराना सम्झनाहरू ।
धेरै कुरा छन् लेख्न बाँकी । समय पहेंलिँदै डाँडाको काँधबाट हाम फाल्ने तयारीमा छ । अहिले उनी भूमिका लेखनबाट आतंकित छन्, ‘बा ! भूमिका लेखाउन आउनेको पर्रा छुट्छ ।’ उनलाई लाग्छ- अब यो उमेरमा कसैले दुःख नदिऊन् ।
उमेरले अगाडि ठिंग उभ्याइदिएको छ, उक्लिन बाँकी पहाडहरू । तर, अब त हात-खुट्टा फतक्कै गलिदिन्छन् । ‘मेरो उमेर यत्रो भयो । कत्ति चिज गर्नै बाँकी छ,’ उनले चम्चाबाट फेरि दुई/तीन सुरुप् दूध पिए र थपे, ‘अरूले त भन्छन्, जे गर्नुछ गरिसकिस् ।’ उनी ठान्छन्- आफूले लेख्न खोजेको र चाहेको त लेख्न बाँकी नै छ ।
नेपाली गद्यलाई बडो व्यावहारिक भएर लेख्ने उनी आफूलाई मूल्यांकन गर्दा यसरी गर्छन्, ‘म अत्यन्त अव्यावहारिक छु । मलाई जसले पनि ‘लफड्याउन’ सक्छ ।’
उनको जीवन नै अहिले त एउटा मोटो रातो किताब बनिसकेको छ । आफू किताब बन्नुअघि उनी कस्ता-कस्ता किताब पढ्थे ? उनले सम्झिन खोजे, सकेनन् । भने, ‘अहिले मेरो स्मरणशक्ति ज्यादै क्षीण भएर गयो ।’ एकछिन् आँखाअगाडिको भित्तामा घोरिए र थपे, ‘म ‘लालपरी’ र ‘नीलमपरी’ पढ्थँे ।’
‘मधुमालतीको कथा मैले धेरैअघि पढेको थिएँ,’ उनले सुनाए । मैले सोधँे- त्यसको पात्र तपाईं आफै हो ? ‘म पनि हुन सक्छु ।’ उनी मुस्कुराए र आफ्नो पात्रलाई यसरी अथ्र्याए, ‘पहिला कथाका पात्र राजा-महाराजा मात्र हुन्थे । अबका पात्र त जनमानसबाट आउँछन् ।’
उनी किशोर उमेरमा खुब बाँसुरी बजाउँथे । मैले भनेँ- मधुमालतीको नायकले पनि त बाँसुरी बजाउँथ्यो नि । उनी दायाँतिरको ओठ थोरै बंग्याउँदै मुस्कुराए, ‘म कहिले आफंैलाई महानगरीय बनाउँछु, त कहिले सडक-बालक ।’ अब मूल कुरा, ‘यिनमा कतै न कतै त मेरो अंश पनि हुन्छ ।’
अहिलेका मिडियाले उछालेका कयौं आख्यानमा उनको विमति छ । ‘अहिलेका प्रायः लेखनमा अनुभूति छैन, कथा अनुभूतिबाट जन्मिन्छ,’ उनी भन्छन्, ‘अहिले त टाकनटुकन गर्यो, लेख्यो ।’
उनका पात्रहरूको शरीरबाट गोबर र माटोको सुगन्ध आउँछ । ‘अलि माथि जाने हो भने मध्यमवर्ग,’ उनले आफ्ना पात्रहरूको बयान गर्दै थप्छन्, ‘कहिलेकाहीँ लेखनमा उपल्लो वर्ग पनि आउँछ तर, आलोच्य रूपमा ।’
उनका लागि दूध आइपुग्यो, मेरा लागि चिया । यति कुरा गरिसकेपछि उनले चम्चाबाट केही घुट्को दूध पिए र लामो सास फेरे ।
पुरस्कारप्रति उनको त्यति लचकता छैन । ‘दिनेले दिन्छन्, लिइदिनुपर्यो’ भन्दै उनी कुरा सुल्झयाउँछन्, ‘मैले त कसैलाई भनसुन गर्या’छैन ।’ उनलाई लाग्छ- अहिलेका पुरस्कार त आदान-प्रदान मात्र हुन् । ‘सुरुमा पुरस्कारले लेखकलाई ऊर्जा दिन्छ,’ मीठो व्यंग्य मिसिएको मुस्कान ओठमा दगुराए, ‘अब मलाई पुरस्कारले के गर्छ र ?’
‘अब त लेखन बानी नै भइसक्यो, पुरस्कार पाए पनि नपाए पनि यो बानी हट्छ र ?’ उनले भने, ‘नलेखी बस्नै सक्दिनँ ।’ उनले दायाँ हात बेस्सरी हल्लाए । यसो गर्दा उनका आँखाहरू अझ ठूला भए ।
उनको टाउकाको सिधै माथितिरको भित्तामा उनको सुकुमार तस्बिर झुन्डिएको छ । मैले त्यसैलाई क्यास गर्न सोधे, ‘उमेरमा कत्तिको प्रेम भयो ?’ नौ वर्षको बालकजस्तै निर्दोष लजाए, ‘अहँ, कत्ति पनि भएन ।’ मैले पत्याइनँ । कुराको भुरुङ् घुमाउँदै फेरि सोधँ- चिठी लेख्नुभएन ? ‘लेखियो होला,’ झटपट भनिदिए, ‘त्यस्तो अनुभव गर्न पाइएन । मेरो विवाह बाह्र वर्षमै भयो नि ।’
उनको असी वर्षको अनुभूति यस्तो छ, ‘म सौन्दर्यप्रति व्यग्र हुन्छु तर, बाहिरीभन्दा भित्री सौन्दर्यलाई प्रायोरिटी दिन्छु ।’ बाह्र वर्षमा प्रेमको सौन्दर्य थाहा हुन्न । उनको मागी विवाह भएको हो । उनले त्यो बेलाको कुरा सुनाए, ‘सुन बाबु ! हाम्रो जमानामा त आफ्नो विवाह हुँदैछ भन्ने पनि थाहा हुँदैनथ्यो ।’
विवाह तय भइसकेपछि राम्रो लागे पनि नलागे पनि नैतिक-बन्धन हुन्थ्यो । तोड्न सकिँदैनथ्यो ।’
‘खुलेर हुँदैनथ्यो रोमान्स भन्ने,’ मुस्कुराए, ‘अहिले त प्रेम खेलजस्तो भइसकेको छ ।’
***
‘म अलि सौन्दर्यप्रेमी थिएँ’ भन्दै उनले दिमागमा पत्रहरूमा तुलुर्गिंएका पुराना दिनलाई टिप्न थाले, ‘मेरो विवाह छिनिएकी केटीको कलर अलिकति ब्राउन थियो,’ भन्छन्, ‘उनी मलाई मनै परिनन् ।’ बाले कुरा छिनिसकेका थिए । विद्रोह गरे । उनको विद्रोहले के आगो लाग्थ्यो र ?
जब बिहेको दिन नजिक आयो । मन न हो, फुरुङ्ग भएछ । फुरुङ्ग हुने कारण यस्तो रहेछ, ‘तामदानमा बसेर जान पाइने ।’ विवाह हुँदा मीठो खान पाइने । राम्रो लाउन पाइने । अझ त्यसमा पनि पेडा खान पाइने । सम्हालिनसक्नुका खुसीहरू थिए । बा भारदारीको खरदार थिए । सो, विवाह धुमधामले भयो ।
अहिले उनी ठान्छन्, ‘केटाकेटीमा विवाह भएकाले भाँडिन पाइनँ ।’ उनलाई लाग्छ, ‘सानै उमेरको बिहेको यही एउटा ‘बेनिफिट’ हो ।’ बाईस सालमा पैंतालीस फिटमाथिको प्लेन-यात्रामा नडराएका उनी भन्छन्, ‘म झूटो बोल्न डराउँछु ।’
झूटो नबोल्नुको बेफाइदा यस्तो रहेछ-‘पिस फोर भोलिन्टर’ को टिचर भएर अमेरिका जाँदा चुच्चो नाक भएको गहुँगोरो केटालाई कयौं केटीहरूले मन पराए । उनले भनेछन्, ‘मेरो विवाह भइसकेको छ । घरमा छोरा-छोरी छन् ।’
‘जमानामा त म खुब ह्यान्डसम थिएँ,’ उनले भित्तामा टाँगिएको किशोरकालीन फोटो हेर्न लगाउँदै थपे, ‘अहिले पो यस्तो भइयो ।’
ठूलो कालो फ्रेम भएको चस्मापछाडिका उनका आँखाहरू केही चम्किला भए । उनले मुसुमुसु हाँस्दै सुनाए, ‘नत्र, म खुब मोज गर्थें ।’ तर, यसपछिको लाइन पनि उनले संगालिराखेका रहेछन्, ‘तर, मेरो बिगि्रन्थ्यो । मैले आफूलाई कन्ट्रोल गरे ।’ त्यति सुन्दर युवती देख्दा कहिलेकाहीँ भने उनलाई लाग्थ्यो, ‘राम्री स्वास्नी पाइनँ ।’ हाँसे ।
उनका जीवनको किताबमा सबैभन्दा अप्ठ्यारा खण्ड तीनवटा रहेछन् । चाबेल बस्दा उनको सम्बन्ध ‘फुच्चे शिवजी’हरूसित गाँठो परेछ । गँजेडीहरूसितको संगत त्यति रहेन । संकल्प गरेछन्, ‘म अब यो संगत छोड्छु ।’ उनको अनुहारमा फेरि मन्दमुस्कान फर्कियो, ‘मेरो संकल्पशक्ति दृढ थियो ।’ संगत छोडिएछन् ।
एकपल्ट हुरीले जीवनको किताबको यस्तो पनि अध्याय पल्टाएर गएछ । भएछ के भने,
विकलको स्वभाव फरांगेखालको थियो भने श्रीमतीको कडा । आठ सालमा जब उनी चाबेल छोडेर आरुबारी फर्किए, शारदाविक्रम बस्नेतसँग मिलेर उनी आफ्नै घरको कोठामा पढाउन थाले, केही केटाकेटीहरूलाई ।
उनकी जीवनसंगिनी भने पढ्न इच्छुक भइनन् । पढ्न आउने अरू केटीहरूका कारण घरको जगमा कलहको बीउ रोपियो । ‘उसलाई अरूले नै उचालेका थिए’, उनी यस्तो ठान्छन् । कलहको बीउ जगमा परेपछि घर ‘घर’ रहँदैन । कलहको हवाई जहाज यत्ति माथि उक्लियो कि दुर्घटना कुहिरोमा अग्लिएको पहाडझै मुस्कुराइरहेको थियो ।
उनका शुभेच्छुक श्यामप्रसाद -जसले उनको पहिलो रचना पनि छापिदिएका थिए) ले सबै कुरा सुनेर भनेछन्, ‘छुट्टिएर बस भनूँ भने केटाकेटीले के गर्लान् ?’
विकललाई लागिसकेको थियो- छुट्टिनुबाहेक अर्को कुनै बाटो छैन । बाटाहरू धमिला भइसकेका थिए । एक दिन शारदाविक्रमलाई घरमा बोलाएर आफ्नो निर्णय सुनाए, ‘ल त शारदाजी हामीसँगै बस्न नसक्ने भयौं । छुट्टिन्छौं ।’
शारदाजी घोरिए । उनी घोरिएपछि त केही न केही उपाय निस्किहाल्थ्यो । उनले भने, ‘भाउजू म तातो पानी पिउँछु ।’ उनी भित्र गइन् । उनले विकललाई सोधे, ‘उहाँले कत्ति पढ्नु भा’छ ?’
‘निरक्षर’, भोदु-पारामा विकलले जवाफ दिएछन् । ‘त्यसो भए तपाइं पटमूर्ख हो,’ शारदाले यसरी कुराको पुरानो डुंगालाई पार लगाए, ‘यो उहाँ रिसाएको होइन । आफ्नो अधिकार खोजेको हो ।’
‘यो कुराले मलाई घोच्यो,’ उनले एकपल्ट अगाडिको भित्तालाई मज्जाले नियाले र सुनाए, ‘म त गएको पत्रु रहेछु ।’ तातो पानी आइपुग्यो । अब तातो पानीले घरमा आगो लाग्ने सम्भावना पनि थिएन । उनले लामो सास फेरेर भने, ‘त्यसपछि कहिल्यै घरमा झगडा भएन ।’
अनि, तेस्रो अध्याय के होला, बा ? आफ्नो अतीतको तहखानाबाट उनी रित्तै फर्किए, ‘एकबाजी त्यस्तै केही भएको छ । बिर्सें ।’
कोठाको पश्चिमपट्टिको भित्तामा विकल आफैले बनाएको जीवनसंगिनीको पानी कलरको पोट्रेट झुन्डिएको छ । पोट्रेटभित्रको अनुहार मौन छ । पोट्रेटको फ्रेमवरिपरि मालामा उनिएका स-साना सयपत्री फूल सुकेका छन् । आफैंभित्र खुम्चिएका छन्- माथि सयपत्री र तल विकल ।
‘उनी थिइन् त सबथोक थियो,’ उनका धमिला आँखाहरूमा उदासीको कुहिरो विस्तारै फैलिन थाल्यो । उनले जीवनसंगिनीलाई त्यसका लागि आभार दिए, ‘उनी नभएको भए मेरो जीवन यस्तो व्यवस्थित हुने थिएन ।’
मसिनो आवाजमा मैले सोधेँ- के भएको थियो उहाँलाई ? ‘क्यान्सर भा’को थ्यो ।’ बालकझैं कतै खेल्न गएको पीडा फेरि फर्कियो । उनले मोटो आवाजमा भने, ‘०५६ सालमा छोडेर गइन् ।’
‘म एक्लो भएको छु,’ उनको शरीरमा अलिकति कम्पन फैलियो र त्यसले खिया लागिसकेका मेरा मनका तारहरू झन्झनाइदिएर गयो ।
सम्झना आउँदा उनी के गर्छन् ? छोडेर जानेको पेन्टिङ बनाउँछन् ? चस्माको ठूलो आकारको कालो फ्रेमभित्रका उनका धमिला आँखा टिलपिल-टिलपिल भए । आखिर मनले ठाउँ छोड्यो र भने, ‘म रुन्छु ।’ उनका ओठहरू थर्थराए ।
जानेहरू त गइदिन्छन्, छोडिनेहरूलाई गाह्रो पर्छ । उनका आँखाबाट आँसुहरू यसरी तप्किए, मानौं खडेरीमा सुकेको आरुको रुखबाट ‘दुई थोपा शीत’ वसन्तमा तप्किएका छन् ।’
उनले चस्मा फुकाले र आँसुका पन्छीलाई मायालु पाराले आँखाबाट धपाइदिए । ‘कसैले कुरा कोट्याइदिँदा गाह्रो हुन्छ,’ उनले चस्मा लगाउँदै मलीन स्वरमा भने, ‘मैले उसका सम्पूर्ण दोषहरू बिर्सिसकेँ ।’
*****
उनी यस्तै सोच्छन्- उनी नभएको भए यो ‘रमेश विकल’ जीवनका धेरै उकाली र ओराली ठगिन्थे ।
उनी नभएको भए, छोरा-छोरीको हालत के हुन्थ्यो ?’ उनको आवाजमा उदासीले भरियो, ‘मलाई क्षोभ छ । मैले मेरा छोरा-छोरीलाई आफ्नोनजिक कहिल्यै ल्याउन सकिनँ ।’ उनी यसलाई आफ्नो जीवनको ठूलो ‘चुक’ मान्छन् । कुरा कहिल्यै सकिन्नन् । सुनाए, ‘ठूलो छोरा विजय (चालिसे) मसित अहिले पनि डराउँछ ।’ के उनको स्वभाव कडा थियो ? ‘त्यति त थिएन,’ केही सोचेर भने, ‘म अलि हैकमवादी थिएँ । कसैले टेरेन भने म खुब रिसाउँथेँ । अहिले पो माइल्ड भएँ ।’
‘रामेश्वर शर्मा चालिसे’ रमेश विकल हुनुमा त्यति ठूलो रहस्य छैन । हाँस्दै सुनाए, ‘हरिवंश राय बच्चन अथवा सूर्यकान्त त्रिपाठी निरालाको सिको हो यो ।’
उनी ठान्छन्- लहडमा राखियो उपनाम विकल अर्थात् दुःखी जीव । उनी व्यावहारिक जीवनभन्दा बढी मानसिक दुःखी भए । भन्छन्, ‘मलाई धेरै चिजले बढी दुःखी बनाउँछ । अव्यवस्थाले दुःखी बनाउँछ ।’
दुःखी बनाउने अनेकौं कारणहरू छन् । एउटा त नामै भयो । भन्छन्, ‘उपनामै बोझजस्तो लाग्न थालेको छ । आफ्नो नाम रामेश्वर शर्मा चालिसे त छँदै थियो नि ।’
अहिले उनलाई धेरै ‘लेख्नुपर्ने’ घटना र मोडहरूले राम्ररी सुत्न दिँदैनन् । मेरो सजिलो सुझाव थियो- लेख्नुस् न त । ‘सक्दिन बाबु,’ उनले आफ्ना हत्केला मुसारे, ‘लेख्दा मेरो कल्पना अगाडि दौडन्छ । लेखाइ छुट्छ ।’
उनलाई लाग्छ- जीवन द्वन्द्व हो । ‘देउता र दानवले समुद्र मन्थन गरेजस्तो मेरो छातीमा पनि समुद्र मन्थन भइरहेको छ,’ मुस्कुराउँदै भने, ‘अब के निस्किन्छ कुन्नि ?’
अब त साहित्यिक सर्कलका पुराना मित्रहरू पनि प्रायः साथमा छैनन् । भन्छन्, ‘कोही थाकिसके । कोही गइसके ।’ प्रायः उनी राति एघार बजेतिर सुतिसक्छन् । उठ्छन्, चार बजे । कहिलेकाहीँ त निद्रा पनि पुग्दैन ।
अचेल उनी बढी नै भावुक बनेका छन् । उनकी आमाले उनलाई सानैका यो ब्रम्हाण्डमा बसेर ‘अविरल बग्दछ ईन्द्रावती’ लेख्नलाई छोडिदिएकी थिइन् । ‘भर्खरै आमाको खुब सम्झना आयो,’ उनले भावुकताको नदीमा अनुहार धुँदै भने, ‘यादै नरहेको उहाँको अनुहार कल्पना गरेर त्यो पेन्टिङ बनाएँ ।’
उनको बेडरुमको सिरानपट्ट त्यो पेन्टिङ- जसको कुनामा ‘रवि चालिसे’ नाममा हस्ताक्षर गरिएको छ- झुन्डिएको छ । उनी मुस्कुराउँछन्, ‘पेन्टिङमा म आफ्नो नाम रवि चालिसे लेख्छु ।’ रङहरू पनि उनीसँगै भावुकतामा बहकिएका छन् । हेरिरहँदा भावुकताको रङले आँखा तिर्मिर्राउँदो रहेनछ ।
दिनको गति तीव्र भएपछि मैले सुनाएँ- तपाईंलाई त आरुबारीमा सबैले माया गर्दारहेछन् । म कसरी अरूको पछि लागेर उनीकहाँ पुगेँ, त्यो पनि भनिदिए ।
यत्ति भनेपछि, गर्वको उज्यालो र उदासीको धमिलो बादल एकैपटक अनुहार छेउछाउ फैलियो । उनले अलि मोटो आवाजमा भने, ‘त्यै त हो मेरो सम्पत्ति ।’ सायद त्यै हो उनको जीवनको कमाइ ।
उनी यो ब्रम्हाण्डका ‘चार बीस’ वर्ष पुराना बासिन्दा हुन् । कुनै दिन यहाँबाट पनि बसाइँ सर्नुछ । के उनलाई मृत्युको डर लाग्छ ? ‘यो जीवनकै अर्को पाटो हो,’ उनले अन्तिम घुट्को दूध पिउँदै भने, ‘डर लाग्दैन ।’
एकान्तमा कहिलेकाहीँ उदास बनाउने, हसाउने र रुवाउने पुराना दिनहरू उनलाई सपनाजस्ता लाग्छन् । मानौं, जीवन नै एउटा सपना हो । निद्रा ब्युँझियो । सक्कियो ।
के हो र जीवन, हेर्दाहेर्दै सकिन्छ । यसरी सकिन्छ, मानौं छँदै थिएन, कहिल्यै ।
(स्रोत : नयाँ पत्रिका)