~अनिल नेम्बाङ~
म पात
हरियो रहिन्जेल
कहिल्यै नछाडुँला झैँ
समाते’थ्यो च्याप्प
उ त्यो वृक्षले।
बतास पनि फकाउँदै
कहिले सुस्तरी
कहिले बेस्सरी
आईपुग्थ्यो नचाउन।
म पनि त
मच्चि मच्चि नाचिदिन्थेँ
प्याट्ट प्याट्ट
ताली पिटी पिटी।
पंक्षिहरु भने
गुँड बुन्थे
अनि गाउँदै नाच्थे
फिरीफिरी म संगै
मेरै तालीको तालमा
बडो भरोसामा
मैले टेकेकै डालीमा।
समय,
आफ्नो अनन्त डोबमा
अन्त्य भेटी छाड्ने महत्वकाँक्षा बोकेर
बग्दैछ सलल सलल
रंगहरुको जोड-घटाउ गर्दै
रंगिनलाई रंगहिन बनाउँदै
रंगहिनलाई रंगिन बनाउँदै।
म पनि त पहेँलीनै पर्यो
पहेँलीदै गएँ
बिस्ता…रै बिस्ता…रै
रंग उँड्यो सायद
फत्रक्कै खसाल्यो
खुट्टामै मुला: वृक्षले।
अहिले त
बतास पनि
हुरी बनेर आउँछ
डाँडा नै कटाउँला झैँ गरी।
बिचरा चरी भने
हतासमा भुर्र उँड्दै
मलाई टिप्छे
अनि टाल्छे
बचेराहरुको नाङ्गो घर
नाङ्गिएको रुखमा।
त्यो रुखले त
बोलाएको छ रे
नयाँ पालुवा
आउँदो बसन्तमा।
गुनासो त छँदै छैन
छाड्नेलाई छाड्न सक्छु
त्यो पनि त
कहाँ हरियै रहन्छ र!
तर गलेको छु
एउटा क्रुर विवशताले
त्यो चरीको
भरोसा जोगाउन नसकि
खस्नै परेको
क्रुर विवशताले।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)