व्यङ्ग्य निबन्ध : फलानो

~एकु घिमिरे~eaku-ghimire

सर्वाधिक विक्री हुने अन्तराष्ट्रिय दैनिक ‘फलानो ‘ मा आज ब्यनर न्यूजको शीर्षक छ ‘फलानो कविताका फलानो कवि फलानो अन्तराष्ट्रिय कविता प्रतियोगितामा प्रथम , देसको नाम राख्न सफल।’ शीर्षक लगत्तै कविता पनि राखिएको छ-

फलानो

फलानो बाद -जिन्दाबाद
फलानो बाटो -मूर्दाबाद !
फलानो, फलानो -राष्ट्रबादी
फलानो ,फलानो -देशघाती ।

फलानोको झन्डा रगतको
फलानोको झन्डा जगतको
फलनो -फलानो हाम्रो हो
फलानो , फलानो राम्रो हो ।

मेरो कवितामा फलानोलाई देख्छु
मेरो कवितामा फलानोमात्र लेख्छु
किनकि फलानो यस्तो हो
फलानो नाथु सस्तो हो।

अहा! सबैले मुक्त कण्ठले प्रशंशा गरे माथिको कवि र कवितालाई। कविले जुन बाद जिन्दाबाद भनेको थियो , जुन शक्तिलाई राष्ट्रवादी भनेको थियो ठिक त्यही दल मिलिजुली सरकारको नेतृत्व गर्दै सत्तामा पुगेको भोलिपल्ट चर्चित कवि प्रज्ञा प्रतिष्ठानको कुलपति मनोनित भयो। उक्त कविको बखान गर्दै ब्यानर न्युज छाप्ने पत्रकार आख्यान विभाग प्रमुख बनाइए।

कविको जीउ आजसम्म राष्ट्रिय पोशाकभित्र पसेको थिएन। कुलपतिमा नियुक्तिको गोप्य कुरो फोनबाट सुन्नासाथ ऊ नजिकैको टेलर्स पसलमा पुग्यो। बाबु बिमारी भएकाले नयाँ दौरा-सुरुवाल सिउने कोही नभएको उत्तर पायो। यता फोनबाट बधाई दिने पार्टीका कार्यकर्ताले दिक्क लगाए कविज्यूलाई। सबैले गोप्य सूचनाको आधारमा भन्थे। बधाइको खुशी भन्दा पनि गोप्य श्ब्दागानले वाक्क भए उनी। गोप्य शब्द पनि सहिद जस्तै शहिद भएको बल्ल बुझे उनले। यता नेपाली पोशाक नपाएर हैरान थिए उनी। हिजोमात्र प्रधानमन्त्रीले कोट, प्यान्ट र सर्टमा शपथ लिँदा विपक्षीले सामाजिक सञ्जालभरी विरोधका स्ट्याटस लेखेका थिए। उनलाई पनि नेपाली पोशाक नै लगाउनुपर्थ्यो भन्ने लागेको त हो तर आफ्नै पार्टीको मान्छे भएकाले बचाउ गर्न लेखेको आफ्नो स्ट्याटस सम्झेर उनी हाँसे। ” प्रधानमन्त्रीले सर्ट,पेन्ट र कोटमा सपथ लिएकामा विपक्षी दलका चम्चेहरुलाई किन टाउको दुखेछ ? सधैँ जे लगाउने हो , शपथमा पनि त्यही लगाए उनले। अरुका झैँ नखरा पारेनन्। राष्ट्रियता पोशाकमा हैन , मनमा छ नयाँ प्रधानमन्त्रीको। कामको कुरा गरूँ साथीहरु , लाज ढाक्न लगाएका लुगाको कुरा गर्नेहरुलाई कुरीकुरी !” यो स्ट्याटस सम्झेर आफ्नै माया पनि लाग्यो कविलाई। मनका कुरा मारेर गर्नुपर्ने राजनीति सम्झेर वाक्क पनि लाग्यो। फेरी त्यही त्याग (मनका कुरा समेत मारेर आफ्ना नेताको बचाउ गरेको )ले गर्दा आज यस्तो गरिमामय पद पाएको सम्झेर खुशी पनि भए। यतिञ्जेलमा उनले फोन बन्द गरिसकेका थिए। युवा टेलरलाई उनले नेपाली पोशाक पाउन सकिने अरु कुनै उपाय बताइदिन आग्रह गरे। टेलरले सेतो तर धेरै समय राखेर मैलो देखिएको एक जोडी नेपाली पोशाक देखाउँदै भन्यो-

”आजभन्दा ठिक दस बर्ष अघि एकजना नेताले हाम्रा बालाई दौरा -सुरुवाल सिलाउन लगाएर गएछन्। पाँच दिनपछि नेता न्याउरो मुख लगाएर आएछन् र कपडा मागेछन्। मेरा बाले लुगा सिलाएको ज्याला मागेछन्। नेताले पछि दिन्छु भनेपछि बाले कपडा नदिने बताएछ्न्। नेता पनि आफ्नो मन्त्री बन्ने कुरो टरिसकेको हुँदा ज्याला पैसा नास नगर्ने भन्दै बाटो लागेछन् । त्यसरी बचेको यो दौरा -सुरुवाल लानुहुन्छ त ? नयाँ नै छ !”

यसो लुगा हेर्दै बोले कवि –

” बरु डब्बल ज्याला तिर्थें , भोलि बिहान सम्ममा नयाँ दौरा -सुरुवाल सिउन सकिंदैन भाइ ?”

युवा टेलर रिसाउँदै भन्यो –

” लुगा सिलाउने बा उता औषधि किन्ने पैसा नभएर सिकिस्त छन् , तपाईं यता पैसाको लोभ देखाउने ? तपाईंको मन्त्री पदजस्तो पैसामा बिक्ने पद हो मेरा दौरा -सुरुवाल सिलाउन जान्ने सुचिकार बाको ? त्यै पनि आजको भोलि कहाँ तयार हुन्छ दौरा -सुरुवाल ? नेफा काटेर जोड्नुपर्‍यो , फेरमा हातले तिप्नुपर्‍यो। ”

अलिक लजाए जस्तो गरे कवि। नरम स्वरमा भने –

” कहाँ मन्त्री भनेको ? म त कवि पो त। कोट मेरो बिहेकै छँदैछ , नेफा -सेफा अहिले केही चाहिंदैन। दौरा -सुरुवाल सिलाइदिनु न , बरु तेब्बर तिर्छु। ”

अब युवा टेलर खुव जंघियो –

” हैट ! हिजोसम्म चौतारामा पार्टीको झण्डा बोकेर भाषण गरेको मान्छे आज कसरी कवि भयौ ? कवि हुन त कविता लेख्नुपर्‍यो नि। नेफा चाहिँदैन रे , दौरा -सुरुवाल चाहियो ! दाल छैन भने खिच्रो देऊ भनेजस्तो गर्ने पनि कवि हुन्छ ?” यसपछि युवाले कम्मर मुनिका केहि शब्दले पनि हिर्कायो कविलाई। उनी थपक्क कपडाको मोल तिरेर घर फर्किए। युवाले उसलाई किन गालि गर्‍यो , त्यो चाहिँ बुझेनन् । मन्त्री नै बन्ने उनको धोको अब बलिको बोको भएको अनि अर्कैले लेखिदिएको कविता आफ्नो नामको बनाएर आफ्नै पार्टीका कार्यकर्ताले पार्टीकै लागि आयोजना गरेको प्रतियोगितामा पुरस्कार पाएको हल्ला सोही पार्टीको मुखपत्र ‘फलानो ‘ मा ब्यानर न्युज बनाउन उनले गर्नुपरेको दुख सम्झदै उनी घर आइपुगे। यसका लागि उनले बगाएको सेंतेरेमको खोलो पनि सम्झिए। बल्ल अब कुर्सी पाइएको र त्यही कुर्सीलाई दुहेर लगानी उठाउने सपनाले मस्त कवि बेलैमा निदाए।

भोलिपल्ट हत्तारमा पोशाकमा जीउ लुकाउने हुँदा कुर्कुच्चो अड्किएर सुरुवालको घुँडासम्म उध्रिएछ। एक त पुरानो , त्यसमाथि सानो परेछ। भरे नै कुलपतिको हैसियतमा कार्यक्रममा सम्वोधन गर्नुपर्ने भएकाले कविले आमालाई घरकै कलमा सुरुवाल खुटिदिन भनेछन। आमालाई बिचरा के थाहा , हत्तपत्त गरेर काम तमाम गरी सुरुवाल जिम्मा लगाइदिइछिन्। सुरुवाल लगाइसकेपछि पेटी खोज्दै कवि भुत्भुताएको सुनेर कुलपतिकी पत्नी छाउ गोठबाट कराईन् -”सुरुवालमा त इजाँर पो हुन्छ त ,आमालाई गएर सोध्नु त। ” कुलपति दौराको फेरले हात छोपेर भुँडीमा सुरुवालको नेफा समाती गर्भावती महिला जस्तै आमाको छेउमा पुग्यो र समस्या सुनायो। आमाले आफ्नो पुरानो नीलो पेटिकोटबाट निकालेर इँजार दिइन्। नेफा भित्र लगाउनु पर्छ भन्ने के थाहा बरिष्ठ कविलाई , बोरा बाँधे जस्तै गरि कम्बरमा सुरुवाल अड्याएर कुदे एयरपोर्ट र चढे पहिलोपटक चिलगाडी । समयमै पुगे कार्यक्रम स्थल र बसे सानले। सेतो दौरा सुरुवालमा सजिएका कुलपतिको एकातिरको सुरुवाललमा आधा कालो धागोले सिलाएको थियो।रङ्ग उडेको निलो इँजार पनि समाल्न नजानेको हुँदा कुर्सीमा बसेका बेला तलसम्म लत्रिएको देखिन्थ्यो। जिन्दगीमा त्यही एउटा कविता छापेर यस्तो सर्बोच्च प्राज्ञिक पदमा पुगेका कुलपतिको यो पहिलो साहित्यिक कार्यक्रम थियो। राजनैतीक कार्यक्रमहरुमा त राम्रो बोल्थे उनी। आज के बोल्ने भन्ने चिन्ताले ग्रस्त उनको अनुहार पनि आमाले दिएको इँजारको रङ्गसँग मिल्दो देखिन्थ्यो। तर कार्यक्रम संचालक बाठो थियो , उसले नयाँ कुलापतिका बारेमा निम्नानुसारको भाषण दियो –

” कवि गोपालप्रसाद रिमालले आमाको सपना कवितामा भनेजस्तै नेपाली वाङ्गमयले आज त्यो दिन पाएको छ। आज युगौँको प्रतिक्षा पछि एउटा छुट्टै दिन आएको छ जसले दिएको छ यो समयको माग जस्तै क्रान्तिकारी समावेशी कुलपति । उहाँ गाउँमा बस्नुहुन्छ , मनमा साहित्यको प्रेम बोकेर दिनभर खेति किसानी गर्नुहुन्छ अनि टुकीको उज्यालोमा लेख्नुहुन्छ घामभन्दा चम्किलो कविता। अन्धविश्वास , कुरीति र शोशणका विरुद्ध चार दशकदेखि लेखिरहेका जनलेखक आज सिंगो नेपाली लेखकहरुको मियो बन्नु सबै सर्जकका लागि खुशीको कुरो हो। उहाँ जे बोल्नुहुन्छ -गर्नुहुन्छ , त्यही लेख्नुहुन्छ। व्यवहार जस्तो छ लेखन उस्तै छ। साहित्यमा आदर्शता छाँटेर , देस र जनतालाई ढाँटेर उहाँ कहिल्यै हिंडनुभएन। ल हेर्नुहोस् त उहाँको सादा जीवन। उहाँले लगाएको नेपाली पोशाकले हाम्रो राष्ट्रियताको सम्मान गर्दछ। सुरुवालको कालो धागो र निलो इँजारले समावेसिताको वकालत गरिरहेको छ।” कार्यक्रममा उपस्थित सबैले तालि बजाए। उद्घोशकले चिच्याएर कुलापतिलाई सम्वोधन गर्न बोलायो। फेरी तालि बज्न थाल्यो। कुलपति जुरुक्क उठेर कोडियमतर्फ गई निम्नानुसारको बक्तब्य दिए –

” सर्बप्रथम त मेरो क्रान्ति …………..अ…….अ ……के भने नमस्कार छ। ” नमस्कार भने पनि उसको दाँया हात मुठी कसेर उचालिएको थियो। निकैबेर कार्यक्रम स्थलमा हाँसोको फोहोरा छुट्यो। कुलपति पनि के बोल्ने भनेर अलमल्ल परेको देखियो।यत्तिकैमा एउटा जुलुस हल्ला गर्दै त्यहीँ आइपुग्यो। जुलुसले भन्दै थियो –

”फलानो कुलपति -चाँहिदैन ”

”फलानोथोक गर्न -पाँइदैन। ”

”फलानो पार्टी -मूर्दावाद। ”

फलानो ……….फलानो ……….फलानो।

श्रीअन्तु-२,इलाम
हाल:चैनपुर्,संखुवासभा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.