कविता : दूधे बालक र कालीगण्डकी

~जीवन क्षेत्री~Jiwan Kshetry

सडक पेटीमा एक आमा
अबोध बच्चालाई कुटी कुटी
काखबाट जबर्जस्ती खसाल्छिन् ।
सानोचाहिँ बच्चालाई दूध नपुगेको बेला
ठूलोले दूधको आश गरेको देखेर
अर्कोतिर फर्केर आँशु खसाल्छिन् ।

देशमा गरिबी भो त के भो, सम्पदा छ,
द्वन्द्वको आगो सल्क्यो त के भो
समाधानको पानी छ
अपराधीहरूले शासन चलाए त के भो
समय छ
गरिबी, अन्याय र बेथिति हटाउन सक्ने
युवा पुस्ता छ भन्दै
आशाको त्यान्द्रो बुनेर बसेको म,
भोकाएको बच्चालाई निर्ममतापूर्वक कुट्न बाध्य पारिएका
आमाहरूलाई उज्यालो भविष्यको आश देखाउने म
आफै एकदिन छाँगाबाट खसेँ
निर्जन पहराबाट कालत्र अन्धकारमा खसेँ ।

शक्तिवान्हरूको बोलवाला बढ्दै गयो
नयाँ समीकरणहरू बनिरहे
कोही कता कोही कता कुदिरहे
तर देश जहाँको त्यहीँ रह्यो
अझ धेरै अन्धमुष्ठीतिर धकेलियो
सडकपेटीमा रुने आमाहरूका आँखामा
अझ ठूला मूल फुटे
नयाँ युगका प्रतिनिधि युवाहरू
व्यक्तित्व बनाउने होडमा
छाला प्रदर्शनमा कुदिरहे
अपराधीहरू राजनीतितिर छिरे
देश दुर्गतितिर बढ्दै गयो
निर्धन र निर्बल बबुरो म
घुटुक्क थुक निल्दै कल्पिरहेँ–
“समय सबैभन्दा बलियो छ,
एक दिन हाम्रो पनि पालो आउनेछ ।”
तर विडम्वना
सगरमाथा नाङ्गो देखिएको बेला
कालीगण्डकीले छाडेको बगरमा कमिला हिँडे
हिमनदीहरू सुकिसकेका थिए
विकसित भनिएका देशका लाखौँ
उद्योगका चिम्नीबाट निस्केको धुवाँले
पूरा वायुमण्डल तातिसकेको थियो
सगरमाथाको हिउँ आँशु बनेर झ-यो
महान् ठानिएकाहरूका घरका एअर कण्डिसनरहरूबाट
निस्केका ग्याँसले
ओजोन तहमा प्वाल पारिसकेको थियो
अब त मेरो प्रेरणाको स्रोत
कालीगण्डकीको बहाव थियो
न मैले कल्पेको अपार जलसम्पदाको अस्तित्व थियो
कमिला हिँडेको कालीगण्डकीले छाडेको बगरमा
प्रचण्ड गर्मीमा म टोलाइरहेको थिएँ
क्षोभ र आत्म ग्लानिले जलेर विस्मृत भइसकेको मैले
अगाडि देख्छु एकछत्र पूँजीवादी विश्वका नायकहरू
मुख बाएर हाँसिरहेछन्
बगरको ढुङ्गा टिपेर तोडले तिनका आँखातिर हिर्काउँछ
अज्ञात दिशाबाट आएको गोलीले मलाई लाग्छ ।
म धर्मराउँछु, तर ढल्दिन
फेरि अर्को ढुङ्गो टिपेर हान्न खोज्दा
सयौँ गोली एकसाथ ममा पर्छन्
म पर उछिट्टिन्छु
डङ्रङ्ग ।।।।
अहो, म त खाटबाट खसेछु
यो त विकराल सपना रहेछ
सपनाको अरु केही पनि बाँकी थिएन
तर मन क्षोभ र आत्मग्लानिले भरिएको थियो
सडठक पेटीकी आमालाई खोज्न
अन्धकारमा खाली खुट्टा कुद्दै म कराउँदै थिएँ–
आमा । यसै बसेर हुँदो रहेनछ
मेरो कालीगण्डकी र तिम्रा दूधे बालकलाई बचाउन
आमा । हामी मर्न हुन्छ तर
कालीगण्डकी र दूधेबालक मर्नुहुँदैन
तिनीहरूमा इतिहास र भुगोल अडेको छ
आमा । ढिलो हुनै थाल्यो
दूधे बालक र कालीगण्डकीलाई बचाउन

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.