~साम्ब ढकाल~
पाठक महोदय,
मैले यसपालि गाउँको कवितालाई गाउँमै छाडेर आएँ ।
अघिपछि शहरलाई सुनाउन गाउँबाटै खुबै ओसारें कविता
गाउँमा फुक्काफाल हुने गरेका कविताका हुल शहरमा संकुचित बनाइए
धानका रोपोमाथि वयलीमा रमाइरहेका हावाका लहरहरूले कवितालाई शहर पठाउन मान्दै मानेनन्
गाउँका आँखाका आँसुका भेलहरू झन् अत्ताल्लिएर रोए शहरदेखि आत्तिएर
आर्द्र मन झनै सम्वेदित भयो
कोकोहोलो के मच्चाउनु भनेर छाडिदिएँ कवितालाई गाउँमै ।
मनहरूको नजिकबाट हिँडेका परिवेसका जुलुसहरूले रोके कवितालाई शहरमा जान
खेतको सिरानमा कुलुलुलु बग्ने कञ्चन कुलोको वेगमा शहरप्रतिको उद्वेग खाँदिएकाले
उसले पनि कविता बोक्न खोज्दा रोक्यो
शहरलाई सुख ओसारिदिएको सबैभन्दा पुरानो अन्त्यहीन गोरेटोले आक्रोसमा कवितालाई नलैजा भन्यो
आकाशभरि टाङिएका नीलारङहरूले शहरमा कविता बेरङ् हुन्छ भन्यो र लान दिँदै दिएन
खोलामा खजमजिएको जूनको मुलायम किरणले अनायासै अदबमा कवितालाई शहरमा नलैजान प्रार्थना ग-यो
बालवयमा सैसला मच्चाएको जीर्ण पिपलको चौतारोले,
फराकिला चौर र फाँटहरूले,
थुम्काथुम्की / वेवारिसे टाकुरी र उजाड भन्ज्याङ्गले,
ढुङ्गेबगरको छिपछिपे पच्याङ्ले,
रोगी बूढाबाझैं ठिहिरोले कक्रिएका रूखहरूले,
आदिम दुःख सुसाईरहेको सल्लेरी वनले,
लमतन्न तोरीबारीका पहेँलपुरले पनि कवितालाई शहर नलान अनुनय बिसाए
मैले उसै छाडिदिएँ गाउँमै कविता ।
गाउँको रोष शहरमा उसको हाँसो खोसिएकोमा रहेछ
गाउँको दुखेसो दुःख कहिल्यै नख्रिएकोमा पनि रहेछ
रगत र आँसुले बनाएको अतीतले तर्साएको रहेछ गाउँलाई
भविष्यको डरलाग्दो चित्रमय शुरूवातको खतरादेखि आत्तिएको गाउँ
कविताको सङ्लो सिन्धु कल्पिरहेको गाउँ
भग्न वर्तमानको उकुचले लखतरान गाउँ
आफ्नो सम्बोधन भएको कविता शहरमा विचेत पल्टिने भयले
शहरमा नलैजान गरेको आग्रह मैले टार्नै सकिनँ र
यसपालि गाउँको कविता गाउँमै छाडेर आएँ ।
हेटौंडा 5/55 रचनाकुटी, अब्बलडाँडा, सानोपोखरा, मकवानपुर ।
samba.dhakal@ntc.net.np
2068/09/02
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)