~होम सुनुवार दसुचा~
धर्तीको कुना कुनाबाट हिमाल चिहाउँदै
झरनाको आनन्दित बहावमा नुहाएको
उकाली ओरालीका बरपीपल चौतारीहरुमा
बटुवाहरुसँग थकान मेटाएको
झस्याङ्ग सम्झन्छु मेरो नेपाल ।
ऋतुहरुको परिवर्तनसँगै
मौसमका स्वादहरुको तिर्सना आउने गर्दछ
बिना स्वादको काल्पनिक तृष्णाले
पराई भूमिमा यो मन त्यसै त्यसै मर्ने गर्दछ
आज भोलि भन्दा भन्दै
ऋतृहरुको फड्काईको गति
घडीको सेकेन्ड काँटाझैँ
आफ्नै रफ्तारमा फड्की रहन्छ
हिमाल, पहाड, तराई, मधेसको रन्कोमा
पराईभूमिमा निरन्तर अथक मुटु
तैपनि आशामा धड्की रहन्छ ।
चाडपर्वहरुको रौनक
मिष्ठान्न परिकारको स्वाद
जिब्रोमा अझै आलै छन्
हृदयका क्यामरामा खिचिएका झलकहरु
ती हिमालका टाकुराहरु
तिहारका निधारमा लर्किने सप्तरङ्गी टिका
गलामा पहिरिने अनेकौ फूलका मालाहरु
अनी फागुमा रङ्गिने ती रङ्गिन अनुहारहरु
रोटे र लिङ्गे पिङका झलकहरु
आँखामा झल्झली देखिई रहन्छन्
कानमा गुन्जिरहन्छन्
सररर.. हुईया ए भो ! भो ! लौन !
घिन्ताङ घिन्ताङ मादलको ताल
डम्फूको तालमा सेलो र लैबरीका भाकाहरु
दाउरापातको घाँसे गीतसँगै
गोठालाका सुसेलीका रन्कोका सम्झनाले
झसङ्ग सम्झन्छु मेरो नेपाल ।
सुन्दर अविरल झर्नाहरु
ढकमक्क नानारङ्गी गुराँस
फैलिएको निलो आकाशमा
हिमालको सेतो किनारा कोर्दै
धर्तीको शिखरमा उभिएको मेरो नेपाल
हिमालकै उचाईमा अडिरहने नेपाली मन
घरि घरि झस्कन्छु म
सम्झेर आफ्नो नेपाल
मेरो आफ्नो नेपाल ।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक ३, नोभेम्बर २०१३)