~हुसैन खाँ~
यताउता जतासुकै कुरा चल्यो फसादको
कि अन्ध भो स्वदेश यो हुरी चल्यो विषादको
चुसेर रक्त दीनको मजा लिने मनुष्य हो
मनुष्यलाइ विश्वमा सताउने मनुष्य हो
अधर्मको बजार नै मनुष्य भैसक्यो यहाँ
सिपालुको कटार नै मनुष्य भैसक्यो यहाँ
रवाफले सितार नै मनुष्य भैसक्यो यहाँ
मनुष्यको सिकार नै मनुष्य भैसक्यो यहाँ
सभा भयो कठैबरा कराउने-तताउने
बढ्यो स्वभाव दानवी दबाउने-सताउने
हिँड्यो बथान गिद्धको कराउँदै-सुसाउँदै
यताउता जतासुकै रमाउँदै-डराउँदै
स्वतन्त्रता-समानता कता गयो कता गयो –
सहानुभूति भावना जहाँकहीँ विलीन भो
गरीब रुन्छ देशमा बढ्यो व्यथा र वेदना
पशुत्व नै बढ्यो यहाँ बढेछ क्रूर भावना
सबै हराभरा धरा उजाड नै हुनेगरी
परी सकिन् त जालमा स्वतन्त्र देशकी चरी –
परिन् कि जालझेलमा परिन् कि नेलजेलमा
परिन् कि लूटपाटमा पुगिन् कि राजद्वारमा –
कि खोज है स्वदेशमा कि खोज है विदेशमा
कि दानवी मनुष्य हो कि खोज इन्द्रचोकमा
स्वतन्त्र यी चरी उडिन् कता गइन् कता बसिन्
कि चिर्बिरे बनी कतै चलायमान भै सकिन्
हूसैन खाँ
गणेशमार्ग नारायणगढ चितवन ।
पल्लव साहित्यिक पत्रिका- १६ औँ अङ्क, २०६८, बाट साभार गरिएको ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान – पल्लव डट कम )