~बुद्धिसागर~
घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानमा हुन्थ्यो । म बा-आमाको ओच्छ्यान छेउमा ठडिएको ठूलो आलमारी पछाडि सुत्थें । घरका सबैमा चाँडै सुतेर चाँडै उठ्ने बानी थियो । म भने राति ढिला सुत्थें र ढिला उठ्थें । त्यसैले म राति खुसुक्क आउँथें र बाको सिरानबाट रेडियो तानेर आफ्नो सिरानमा पुर्याउँथें ।
एकदमै मधुरो आवाजमा रेडियो सुन्थें । रेडियो नेपाल राति ११ बजे बन्द हुन्थ्यो, त्यसपछि म सर्टवेभमा च्यानलहरू खोज्थें । कति भारतीय च्यानलहरू टिपिन्थे । म १ बजेसम्म सुन्थेँ । बिहान धार्मिक कार्यक्रम सुन्न बा मेरो सिरानबाट रेडियो लैजानुहुन्थ्यो । पछिपछि त नियमजस्तै भयो । बा निद्रामा हुँदा म रेडियो तान्थें, म निद्रामा हुँदा बा । मौनतामै हामीबीच सहमति भएजस्तै भयो ।
एक दिन शनिबार राति सवा नौ बजे रेडियो सुनिरहेको थिएँ । नयाँ कार्यक्रम सुरु भएको रैछ, त्यही दिन- ‘सम्झना कुसुम’ । कार्यक्रममा हिन्दी गजल बजिरहेका थिए । कुनै गायकले मधुरो स्वरमा अल्छीलाग्दो किसिमले कन्दैकन्दै गायो भने म गजल हो भनेर बुझ्थेँ । गजलमा धेरै बाजागाजा बज्दैनथे । म कैलालीमा ‘चढ गया उपर रे, अटेरिया पे लौटन कवुतर रे’ जस्ता फिल्मी गीत सुनेर हुर्केको । मलाई त्यस्तै गीत मन पर्थे । र, नौटंकीका ‘लाउड स्पिकर’मा पनि त्यस्तै गीत बज्थे । कसैको बिहे होस् या स्कुलको सरस्वती पूजा, थारूगाउँको नौटंकी होस् या स्कुलको सांस्कृतिक कार्यक्रम मोहमद अजिज, उदितनारायण झा र कुमार सानु कुर्लिहाल्थे । प्रायः सबैलाई साथ दिने अल्का याज्ञिक ।
‘दिदी तेरा देवर दिवाना ।’मा मैले कम्मर मर्काईमर्काई नाचिसकेको थिएँ, बिहेहरूमा । यस्तै गीतसित मेरा अतित गाँसिएका थिए । यस्ता गीत सुन्दा म आफ्नो जीवनको अतीतमा पुग्थें र मलाई यस्तै गीत मन पर्थे । म रेडियोमा पनि यस्तै गीत खोज्थेँ ।
तर, मान्ममा यस्ता गीत बज्दैनथे । क्यासेट पसलहरूमा देउडा बज्थे । म भाषाकै कारणले बझ्दिनथेँ । रेडियो नेपालमा पनि थोरै कार्यक्रममा यस्ता गीत बज्थे । लोकगीत, भाषाभाषीका गीत, आधुनिक गीतले रेडियो नेपालको समय पूरा हुन्थ्यो । ‘खाए खा नखाए घिच’ म रेडियोले बजाउने गीत सुन्न बाध्य भएँ । र, यस्तै गीतलाई आफ्नो अतीतमा पुग्ने साँघुरो चेप बनाएँ ।
मलाई सुरुमा ‘सम्झना कुसुम’ कार्यक्रम चलाउने उद्घोषिकाको आवाज मन पर्यो । उनी मधुरो स्वरमा बोल्थिन् । हरेक शब्दलाई प्रेमले उच्चारण गर्थिन् । उनले ‘यो मेरो पहिलो कार्यक्रम हो’ भनेपछि मैले अँझै ध्यान दिएँ । किनभने, मलाई आइतबारदेखि शनिबारसम्म प्रसारण हुने सबै कार्यक्रम कण्ठ थिए । नयाँ कार्यक्रम कस्तो होला ? कस्ता-कस्ता भागहरू होलान् यसमा ?
म चनाखो भएँ । त्यस दिन धेरै गजल बजे । तर, के चीजले मोहित पार्यो कुन्नि ? मैले सारा गजल सुनेँ । साढे नौ बजे सारा मान्म बजार सुतिसकेको थियो । मेरो झ्यालको बर्सादी हावाले मन्द-मन्द फर्फराइरहेको थियो । मैले झ्यालबाहिरको अग्लो पहाड हेरिरहेँ । जो चन्द्रमाको मधुर प्रकाशको सप्को ओढेर बसिरहको थियो । सप्कोमा मोतीजस्ता ताराहरू जडिएका थिए । म ‘जगजित सिंह’को मधुरो आवाजमा हराउँदै गएँ । सुन्दर प्रकृति, शून्यता र तलाउमा तप्किरहेको पानीको आवाजजस्तो गजलले लठ्याइरह्यो ।
मेरा आँखाले झ्यालबाहिर हेरिरहे तर मन अतीतको यात्रामा हिँडिसकेको थियो । मेरा आँखा, हृदय र कान पहिलोपल्ट आनन्दले भरिएका थिए । मनमा गहु्रंगो ढुङ्गो भएर बसेको उदासी चराको प्वाँख बन्यो र खुला आकाशमा उड्यो ।
मैले पहिलोपल्ट शान्त र मधुर गजल सुन्नुको मज्जा पाएँ । मलाई कार्यक्रम मन पर्यो । कार्यक्रम सकिने बेला उद्घोषिकाले भनिन्, ‘तपाईंहरूले पनि कुनै गजल सिर्जना गर्नुभएको छ भने हाम्रो ठेगानामा पठाउनुस् । हामी वाचन गर्नेछौं ।’
उनले ठेगाना भनिन् । मैले टर्च बालें । सिरानछेउको कापीको पन्ना पल्टाएँ र हतार-हतार टिपेँ । र, उद्घोषिकाले अन्तमा भनिन्, ‘म दीक्षा भट्टलाई पनि बिदा दिनुस् । शुभरात्रि ।’
त्यो मेरा लागि साँच्चिकै शुभरात्रि थियो ।
…
बिहानै उठेँ ।
मैले पहिलोपल्ट लेखेको कविता खोजेँ । कुन कापीमा लेखेको थिएँ, बिर्सेछु । धुइँपताल खोजेँ र मेरो कविता विज्ञानको कापीमा भेटियो- कापीमा च्यापिँदाच्यापिँदा सुकेको गुलाबको पत्रजस्तो । एकपल्ट सरर्र कविता पढेँ, ठीकै लाग्यो । मैले यही कविता रेडियोमा पठाउने विचार गरेँ । सुन्दर अक्षरमा सफा पानामा सारेँ ।
रेडियोमा पठाउनुअघि कसलाई देखाऊ ?
तुलसी दिदी दोकानको काउन्टरमा अडेस लागेर उभेकी थिइन् । म सुरुक्क उनको छेउमा गएँ र उनको अगाडि कापी राखिदिएँ ।
‘के हो ?’ दिदीले सोधिन् ।
‘मैले लेखेको कविता पढ त,’ म लजाएँ ।
दिदी मुसुमुसु हाँसिन्, ‘किन लेखिस् ?’
लौ, मन लाग्यो लेखेँ । यस्तो पनि सोध्ने हो ? तैपनि म पहिलो पाठकलाई भड्काउन चाहन्नथेँ । सुस्त भनेँ, ‘रेडियोमा पठाउँछु ।’
दिदीले ओठ चलाउँदै कविता पढिन् र हाँसिन् ।
‘कस्तो लाग्यो ?’ मैले मरेको स्वरमा सोधेँ ।
‘कविता त राम्रै छ ।’ दिदीले भनिन्, ‘रेडियोमा पठाउने कविताका अक्षर राम्रा र ह्रस्व-दीर्घ सप्पै मिलेको हुनुपर्छ ।’
लौ, मलाई त यो कुरा थाहा थिएन । म कागजमा डट्पेनको टुप्पो बेस्मारी गाडेर लेख्थें, डट्पेन चिप्लिन पाउँदैनथ्यो, त्यसैले अक्षर त राम्रै हुन्थे तर यो ह्रस्व-दीर्घ कसरी मिलाउने ?
‘तिमी मिलाइदेऊ न त ।’ मैले याचना गरेँ ।
‘मलाई त आउन्न ।’ दिदीले भनिन्, ‘तर तेरा अक्षर हेर्दा ह्रस्व-दीर्घ नमिलेजस्तो लाग्छ ।’
रेडियोमा पठाउनै मिल्ने गरी ह्रस्व-दीर्घ मिलाइदिने मान्छे को होला, मान्ममा ? मैले खुब सोचेँ तर दिमागमा कसैको अनुहार आएन ।
म त्यत्तिकै गलेँ ।
अर्को हप्ता फेरि त्यही कार्यक्रम सुनेँ । स्याङ्जा र चितवनबाट गजल पठाइसकेका रैछन् । दीक्षाले मीठो स्वरमा वाचन गरिन् । गजलहरू उही विछोडको भावमा लेखिएका थिए । यस्सो सुन्दा ठीकठीकै लाग्थ्यो । मेरो मन कता-कता बलियो भएर आयो । रचना काठमान्डुबाहिरबाट पठाएर पनि त वाचन हुने रैछ । र, उत्कृष्ट नभए पनि हुने रैछ । र, मैले मुठी कसेँ- ह्रस्व-दीर्घ नमिलेर पनि के भो र ? भावना ठूलो कुरा हो नि ।
अब म रेडियोमा गजल पठाउँछु ।
कसम त खाएँ तर दुई तीन दिन बितिहाल्यो । मलाई आफ्नै नाम पनि कस्तोकस्तो लाग्थ्यो- बुद्धिराम चपाईं । ‘चपाईं’ म आफैंलाई अप्ठ्यारो लाग्थ्यो । फेरि मान्ममा जसले पनि सोधिहाल्थे, ‘यो चपाइं भनेको के हो ?’
कैलाली छँदा मैले यस्तो प्रश्न सुनेकै थिइनँ । आफूले त थाहा पाउन थालिसकेपछि ‘चपाईं’ सुन्दै आएको । बानी परिसकेको । गाउँभरि पनि चपाईं नै चपाईं । गाउँलेलाई पनि बानी परिसकेको । जब कालीकोट आयौं- गोलोमा ढुंगा बजारिँदा उडेका अरिङ्गालर्झ प्रश्नहरूले ठुँग्न थाले ।
जिल्लाजिल्ला घुमेर आएका सरकारी कर्मचारी भन्थे, ‘गुरागाई, चौलागाई, बजगाई, अम्गाईर्, चापागाई सुनेका थियौं तर पहिलोपल्ट चपाईं सुन्यौं । के हो चपाईं
भनेको ?’
एकपल्ट हाम्रो दोकानमा एकजना कर्मचारीले सोधेका थिए, ‘च्वाई, को दोकान यै हो ?’
च्वाई ?
हामी बेस्मारी हाँस्यौं- यस्तो पनि थर हुन्छ ? पछि पो थाहा भो- च्वाई पनि थर रैछ । पूर्वतिर बढी चल्तीमा छ रे । म बल्ल झल्याँस भएको थिएँ- मैले त कत्ति थर सुनेकै रैनछु । चौधरी, लामिछाने, रावल, खत्री, जैसी, पौडेल, शाही, विक र खान- मैले सुनेका थर यत्ति थिए । जसरी मलाई पहिलोपल्ट ‘च्वाई’ सुन्दा मरीमरी हाँस्न मन लागेको थियो- त्यसरी अरूलाई पनि त ‘चपाईं’ सुन्दा मरीमरी हाँस्न मन लाग्दो हो ।
‘यो चपाईं के हो ? कहाँबाट आएको हो ?’ मैले मात्र होइन, बा र आमाले पनि सुनिरहने प्रश्न थियो । नेपालीहरू ‘थर’मा बढी रुचि राख्छन्, बल्ल मैले थाहा पाएँ । र, ‘थर’ कत्ति महत्त्वपूर्ण रैछ, थाहा पाएँ । म स्कुल होस् या बाटो जहीँतहीँ प्रश्नहरू भेटिरहन्थें तर उत्तर दिन आउँदैनथ्यो । म भन्थें, ‘चपाईं छेत्री हो । सुर्खेत र कैलाली जताततै हुन्छन् ।’ तर, बाले अलि गहिरो उत्तर दिनुहुन्थ्यो, ‘चपाईं सात पुस्तादेखि चलिआएको थर हो । सुदूरपश्चिम र मध्यपश्चिमतिर बसोबास गर्छन् । एकथरी भन्छन्- काठमान्डुको चापागाउँबाट बसाइसराइ गर्दै सुर्खेत पुगेकाले ‘चापागाई’भन्दा भन्दै अपभ्रंश भएर ‘चपाईं’ भएको हो ।
सुन्दा अचम्मलाग्दो थर भए पनि ‘चपाईं’ इतिहासको लामो बाटो पैदलै हिँडेर आएको थर रहेछ- त्यो पनि नाङ्गा गोडा । चराको चुल्चोजस्तो ‘च’बाट सुरु हुने मेरो थर यस्सो हेर्दा पनि मौलिक नै देखिन्थ्यो । देवनागिरीका छत्तीस अक्षरबाट छानेरै नियतबस झिकेजस्तो । स्कुलमा सरहरूले मेरो थर शुद्ध लेख्दैनथे । प्रायः सरहरू ‘चपाई’ लेख्थे । अँझ अंग्रेजीमा लेख्नुपर्यो भने त के हो, के हो । बा ‘सिएचएपिएआईएन’ शुद्ध इस्पिलिङ् हो भन्नुहुन्थ्यो । सरहरू अन्तिमको ‘एन’ छुटाइदिन्थे । ‘एन’ पनि हुन्छ सरभन्दा उनीहरू नाक खुम्चाउँथे, ‘तिमी जान्ने कि म ?’
जे होस् म आफ्नो थरका पक्षमा लडिरहन्थे । त्यसैले ‘चपाईं’को लामो इतिहासलाई बेबास्ता गर्नु पनि भएन । ‘चपाइर्ं’ ठीकै त छ नि । अर्को मन नपर्ने शब्द ‘बुद्धि’ र ‘चपाईं’को बीचमा थियो- राम । बुद्धिराम- आफ्नो नामै कस्तोकस्तो लाग्ने । कैलालीमा धेरै नामको बीचमा ‘राम’ हुन्थ्यो तर थारूगाउँतिर । पहाडिया गाउँमा भने ‘प्रसाद’ ‘कुमार’ ‘बहादुर’ र ‘कृष्ण’ । मेरै बाको नामको बीचमा पनि ‘बहादुर’ थियो तर दाइ र मेरो नामबीच कसरी ‘राम’ आयो ? म ‘बहादुर’ किन भइनँ ?
मैले सुनेका नाम प्रायः रामायाण र महाभारतबाट पैंचो लिइएका थिए । ज्योतिषबा गाउँभरि महाभारतका योद्धाहरूको नाम छर्थे । ज्यातिषबाका लागि नामको भण्डार रामायाण र महाभारतमात्र थिए । कसैको नाम ‘कृष्ण’ राख्थे, कसैको अर्जुन, कसैको भीष्म, कसैको लक्ष्मण, कसैको शिव, कसैको गणेश । केटीहरूलाई लक्ष्मी, पार्वती र सीता । तर, मैले पुरुषको नाम रावण र स्त्रीको नाम द्रोपदी सुनेको थिइनँ । नाम राख्ने ज्योतिषबाको भ्रम थियो- नाम जस्तो राख्यो, मान्छे त्यस्तै हुँदै जान्छ ।
कैलालीमा दुई भगवान् प्रख्यात थिए, राम र कृष्ण । आफ्ना सन्तान राम र कृष्ण हुन् भन्ने सबैलाई लाग्थ्यो होला । सबैले सन्तानको नाम राम र कृष्ण राखे त गाउँभरि नै ‘राम-कृष्ण’को जुलुसै हुन्थ्यो, हुलाकीलाई पनि गाह्रो । त्यसैले बीचमा सुटुक्क ‘राम’ र कृष्ण घुसाइएको पो हो कि ?
त्यसैले मेरो नाममा पनि ‘राम’ घुस्रेका हुन् कि ?
रेडियोमा गजल पठाउनुअघि मैले नाममा अलिकति हेरफेर गर्ने निर्णय गरेँ । अनुरोध संगीत होस् या साहित्यिक कार्यक्रममा बज्ने नामहरू मेरो दिमागमा फनफनी घुम्न थाले । सबैले नामको पछाडि केही न केही फुर्को झुन्ड्याइरहेका हुन्थे । घायल, आँसु, आवारा, पीडित, छट्पटी, रोदन, दीनदुःखी यस्तै यस्तै । मलाई लागिरहेको थियो- रेडियोमा पठाउने नाम अलि दुःखी नै हुनुपर्दो रैछ । सिर्जना पनि दुःखी, नाम पनि दुःखी । उद्घोषकहरू पनि दुःखी आवाजमा रचना वाचन गर्थे । ०५४ सालताका रेडियो नेपालले राति नौ बजेको समाचारपछि हरेक दिन सांगीतिक कार्यक्रमहरू राखेको थियो । प्रायःमा श्रोतामा कविता, गजल र मुक्तक वाचन गरिन्थ्यो । दुःखी नाम वाचन हुन्थे । यस्सो विचार गर्दा लाग्थ्यो- मुलुक दुःखीहरूले भरिँदै गएको छ । सारा मुलुकका युवायुवती एकोहोरो प्रेमले ‘घायल’ छन् । तिनको पोल्टामा आँसु मात्रै छ ।
मलाई नाम फेर्न मन त थियो तर दुःखी नाम बनाउनु थिएन ।
मैले बाले रातो तुलले बेरेर राखेको नेपाली शव्दकोश झिकेँ । दिनभर घोत्लिएँ तर मन च्वास्स छुने शब्द भेटिए पो । मलाई लाग्यो- लाखौं शब्दले भरिएको शब्दकोशमा मैले खोजेको शब्द नै छैन ।
र, म पत्रिकामा घोरिन थालेँ ।
सरकारी अफिसमा हप्तौंपछि दैनिक पत्रिका आउँथे । हरेक दिन दिउँसो १ बजे पाइपझैँ बटारिएका दैनिक पत्रिका बोकेर हुलाकी अफिसका ढोकाढोका पुग्थ्यो । हाकिम सापहरू अफिसबाहिरपट्ट घाम ताप्दै, कुर्सीमा ढल्किएर पुराना अखबार पढ्थे । पन्ध्र दिनअघि पल्टेको बसको खबर पढेर पन्ध्र दिनपछि तर्सन्थे । सारा मान्म बजार पुराना खबर पढ्न श्रापित थियो । सरकारी रेडियोले क्रान्तिकारी स्वभावका हाकिमले खोजेको सम्चार फुक्दैनथ्यो । त्यसैले पनि उनीहरू ढिला गरी आएको सम्चार पढ्थे ।
मलाई पत्रिका पढ्न मन पर्थ्यो तर सरकारी अफिसमा पुगेर पत्रिका माग्न धक लाग्थ्यो । मान्ममा एउटै पत्रिका पसल थियो । साउजी कम्न्युस्ट विचारधारका थिए, त्यसैले पार्टीका मुखपत्रजस्ता पत्रिका ल्याउँथे । तैपनि छिटफुट रूपमा नवयुवा, युवामञ्च र मधुपर्कजस्ता पत्रिका ल्याउँथे । पत्रिका ल्याएका दिन म एकएकप्रति किन्थें तर घाममा ढाड सेकाउँदै घोप्टो परेर पढ्थेँ । तर, कहिलेकाहीं महिनौं पत्रिका आउँदैनथे । त्यस बेलामा पत्रिकाको तिर्खाले छट्पटिँदै बजारमा घुमिरहन्थे ।
मान्म अवसरको खोजीमा आएका व्यापारीले भरिएको थियो । पत्रिका पढ्ने कोही थिएन । मान्म लोक सेवा पास गरेर आएका मुखियाहरूले भरिएको थियो । तिनीहरू लोक सेवाको किताब घाक्थे तर पत्रिका पढ्दैनथे । केवल हाकिम सापहरू पढ्थे, जोसित म बोल्नै डराउँथें । कैयौं दिन छट्पटिएपछि मैले थाहा पाएँ- कृषि सामग्री केन्द्रमा पत्रिकाहरू फाइलिङ गरेर राखिने रैछ । सानोतिनो लाइब्रेरीजस्तो पनि रैछ । त्यहाँ फाइल पल्टाउँदै पढ्न पाइने रैछ । कृषि सामग्री केन्द्र बजारको बीचमै थियो तर कोही आउँथेन, शान्त हुन्थ्यो । म त्यहीं धाउन थालेँ । ढुसी गन्हाइरहेको अँध्यारो कोठामा बसेर म पुराना पत्रिका पढ्थेँ ।
तर, एक दिन कृषि सामग्री संस्थानका हाकिम सापले रातभरि पार्टी गरेछन् । पाँचजनाले सिलबन्दी रक्सी खाएछन् । बिहान एकजनामात्र उठेछन्, जसको आँखाको ज्योति गइसकेको रैछ । अरू त अचेत । विषादी मिसिएको रक्सी रैछ, खत्तमै पारेछ । पुलिसहरूले सुर्खेतबाट आएको हेलिकप्टरमा राखेर सबैलाई पठाए ।
कैयौं दिनसम्म सारा बजारमा खासखुस खासखुस भइरह्यो । अनि, त्यस अफिसमा पत्रिका फाइलिङ हुन बन्द भो ।
म फेरि पत्रिकाको तलतलले ‘घायल’ भएँ ।
तर, मैले बुद्धि लगाएँ । बजारका धेरै व्यापारी चिनेकै थिए । म कोही व्यापारी सामान लिन सुर्खेत र्झन थालेको थाहा पाएपछि पैसा दिँदै पत्रिका ल्याइदिने आग्रह गर्थें । कसैले ‘बिर्सेछु’ भन्दै पैसा फिर्ता दिन्थे भने कसैले हतारमा भेटिएका पत्रिका बोकेर आउँथे । अधिकांशले साहित्यिक पत्रिका मधुपर्क र हिन्दी भाषाको गृहलक्ष्मी ल्याइदिन्थे ।
म आफूसित भएका पुराना पत्रिकाका पृष्ठ पल्टाउँदै आफूलाई सुहाउने नाम खोज्न थालेँ ।
मधुपर्कको पुरानो अंक हेरिरहेको थिएँ- एउटा नाम देखेँ, बुद्धिसागर पराजुली । नामको बीचमा कुम जोडेर बसेको थियो- ‘सागर’ । मैले एकपल्ट ‘सागर’ राखेर आफ्नो नाम मनमनै उच्चारण गरेँ । क्या सुन्दर लाग्यो भनें । म मुसुक्क हाँसें र फेरि उच्चारण गरेँ- बुद्धिसागर चपाइर्ं । नाम त यै ठिक होलाजस्तो लाग्यो । एकपल्ट लेखी हेरूँ न । मैले कापीमा कलमको निब दगुराएँ । लेखेको हेर्दा पनि त राम्रै देखिने रैछ । र, मैले जीवनको पहिलो र गम्भीर निर्णय लिएँ ।
अक्षरका इँटाहरूले बनेको नामबाट दुइटा इँटा झिकेँ र तीनवटा इँटा थपेँ । मेरो नामको जीर्णोद्धार भयो ।
मेरो नामको बीचमा लुकेर बसेका ‘राम’ उदास आँखा लिएर फेरि बनवास गए ।
…
नाम तयार भयो । रेडियोले गजल पठाउनु भनेको छ । मैले लेखेको त कविता पो हो । गजल र कवितामा केही त फरक होला । अब कसलाई सोधूँ ?
बजारमा कोही पनि कवि थिएनन् । व्यापारी थिए- ती लेख्नुको नाममा उधारो खातामात्र लेख्थे । कर्मचारी थिए- ती बिदाको चिठीमात्र लेख्थे । पुलिस थिए- ती घरमा श्रीमतीलाई मात्र चिठी लेख्थे । शिक्षकहरू थिए- ती कालोपाटीमा हिसाबमात्र लेख्थे । एक दुई कलाकार थिए- ती साइनबोर्ड मात्र लेख्थे । अहेबहरू थिए- ती थोत्रो कागजमा औषधीको नाम लेख्थे । नेताहरू थिए- ती जीविसमा सहयोगको निवेदनमात्र लेख्थे ।
कविता लेख्ने त कोही थिएन ।
मलाई धेरै सोचेर बस्न मन लागेन । रेडियोमा अरूको गजल सुनेका आधारमा मैले पत्तो पाइसकेको थिएँ- गजल गीतकै छेउछाउको रैछ । दुईदुई हरफको हुनुपर्ने रैछ । अन्तिमका शब्दहरू मिल्दाजुल्दा हुनुपर्ने रैछ । र, मैले कनीकुथी आफूले लेखेको कविता गीतजस्तो बनाएँ र सकेसम्म राम्रा अक्षरमा सफा पानामा सारेँ ।
शुक्रबार थियो । त्यसैले स्कुल गइनँ । खाम किनेर ल्याएँ । गजलको पाना मुटुझैँ पट्याएर खामभित्र
हालेँ । गुँदले खामका ओठ चप्काइदिएँ । खामको
बाहिरपट्टि ठेगाना लेखेँ । जिल्ला हुलाक कार्यालयतिर दगुरेँ ।
बजारको पश्चिमतिर ओरालोमा थियो, हुलाक । थोत्रो घर थियो, शान्त नै रहन्थ्यो । थोरै कर्मचारी थिए । म जाँदा एकजना मात्रै थिए । उनले सोधे, ‘यो चिठी रजिस्टार गर्दिऊँ ?’
मैले बुझिनँ ।
‘रजिस्टार चिठीमा अल्लि बढी पैसा लाग्छ ।’ उनले बुझाए, ‘तर, भरपर्दो यै हुन्छ । यदि चिठी सम्बन्धित ठेगानामा पुगेन भने फेरि फिर्ता आउँछ । रजिस्टार चिठीको जिम्मा हुलाकले नै लिन्छ । हरायो भने दोषी हुलाक नै हुन्छ । र, साधारण चिठीभन्दा चाँडै पुग्छ । साधारण चिठीको जिम्मा हुलाकले लिँदैन । यदि हुलाकीले ठेगाना फेला पारेनन् भने त्यत्तिकै फाल्दिन्छन् ।’
ए, बल्ल पो बुझेँ । सम्झेँ- रेडियोमा रचना वाचन गर्दा सञ्चालकले पनि भनिरहन्थे, ‘अब प्रस्तुत छ फलाना मान्छेको रचना । उहाँले रजिस्टार चिठी पठाउनुभएको हो ।’
कुरा यसो पो रैछ । मैले चिठी रस्जिटार गर्ने निर्णय गरेँ । फुच्चे चिठीको तौल तराजुमा जोख्दा पन्ध्र-सोह्र रुपियाँ पर्न आयो । मैले दिएँ । हुलाकीले भर्खरै थुक लगाएर टाँसेको टिकटमाथि ड्याम्म स्ट्याम्प बजारे ।
म पहिला मनखुसी रेडियो सुन्थें । निद्रा लाग्यो भने प्याट्ट भोलुम बन्द गर्थे । कोल्टे फर्केर सुत्थें । चिठी पठाएकै दिनदेखि रेडियो सुन्दा म पहिलाकोजस्तो रहिनँ । मैले चिठी पठाएको भोलिपल्टै सम्झना कुसुम आउने दिन पर्यो । सवा नौ बजे भावसुमन सुरु भयो । तर, मेरो ढुकढुकी बढिरहेको थियो । मलाई बेग्लै खाले अनुभूति भइरहेको थियो । मलाई थाहा थियो- हिजै मान्मबाट पठाएको मेरो चिठी आजै त काठमान्डु पुग्दैन । तैपनि, मेरै रचना वाचन हुन्छ कि भने जसरी छट्पटी भइरहेको थियो ।
सञ्चालिका दीक्षाले सुरुमै पर्वतबाट आएको रचना पढिन् । र, गजल बजाइन् । कार्यक्रममा उनले पाँचवटा रचना पढिन् । कत्ति रचना मैले पठाएकोभन्दा पनि कमजोर थिए, मलाई आँट आयो, मेरो त राम्रै छ, पक्कै वाचन हुन्छ । कार्यक्रमको अन्तमा उनले खुसी हुँदै आफूले श्रोताहरूको प्रशस्त चिठी पाइरहेको जानकारी दिँदै धन्यवाद दिइन् । सबैलाई आफ्ना रचना पठाउन आग्रह गरिन् । म मुसुक्क हाँसें- मैले पठाइसकेँ । त्यो पनि रजिस्टार गरेर ।
जीवनकालको सबैभन्दा लामो हप्ता बित्यो । शनिबार आयो । भावसुमन आयो । दीक्षा आइन् । पाँच-छजनाका कविता आए तर मेरो रचना आएन । मन कटक्क दुख्यो तर सोचेँ- चिठी अँझै पुगेको छैन होला । कार्यक्रम सकिएपछि ज्यान त्यसै तातो भएर आयो । छ्या, अँझै एक हप्ता कुर्नुपर्ने भयो ।
मैले लामो सुस्केरा हाल्दै कोल्टे फेरेँ ।
कष्टकर दिनहरू बित्न थाले । एक हप्ता कसरी बित्ला ? मलाई बेलाबेला लाग्थ्यो- खुइयय घडीको सुईझैँ समय पनि घुमाउन मिल्ने भए क्या जाती हुन्थ्यो । म आइतबारदेखि शुक्रबारसम्म फनक्क घुमाइदिन्थें । भावसुमन आइहाल्थ्यो । तर, समय त आफ्नै स्टाइलमा हिँड्थ्यो । मेरा लागि समय उकालो चढिरहेको भुँडे मानिसझैँ स्याँस्याँ गर्दै सुस्त-सुस्त हिँडिरहेको थियो ।
म समयलाई अगाडि हुत्ताउन खोज्थें, समय मोरो अटेरी बाख्रोझैँ जमिनमा खुर जोतेर तनक्क तन्किन्थ्यो, हिँड्दै हिँड्दैनथ्यो ।
…
जेनतेन मेरो जीवनको असाध्यै कष्टकर हप्ता बित्यो । र, भावसुमनको दिन आयो । राति नौ बजे नै उत्तानो पल्टेर मैले रेडियोलाई बिरालोझैँ छातीमाथि राखेँ । सम्झना कुसुम सुरु भयो । सुरुमै चितवनतिरका श्रोताको गजल वाचन भयो । अनि हिन्दी गजल बज्यो । दोस्रो गजल वाचनमा झापाका श्रोता परे । म छट्पटिन थालेँ । मेरो त पालो आउँदैन कि के हो ? कार्यक्रम सुरु हुँदा बेस्मारी धड्केको मेरो मुटु, बिस्तारै धड्किनै बन्द होलाजस्तै भयो । कार्यक्रम अन्तिमतिर पुग्दा मूच्र्छै पर्छु कि जस्तो भयो । मेरो आत्माको बार्दली ह्वात्त तल खसिसकेको थियो । मैले आस मारेँ । हृदय भन्थ्यो- अर्को हप्ता आउला कि ? दिमाग भन्थ्यो- आउँदैन, कहिल्यै आउँदैन ।
कार्यक्रम सञ्चालिका दीक्षाले कार्यक्रमको अन्तिममा भनिन्, ‘हवस् त आजको कार्यक्रम यहीँ सकिन्छ । तर जाँदाजाँदै प्रस्तुत छ – ‘खाँडाचक्र, मान्म-५, कालीकोटका श्रोता बुद्धिसागर चपाईले पठाउनुभएको गजल ।’
यसपछि मेरा कान पानी भरिएझैँ बन्द भए । सासै रोकिएलाजस्तो भो । कताकता पेट हुँडुलिएजस्तै भो । मलाई के गरूँ के गरूँ भयो । दीक्षा मेरो गजल वाचन गरिरहेकी थिइन् । मेरो मुटु छाती च्यातेर बाहिर निस्क्यँलाझैँ गरिरहेको थियो ।
म चेत गुमिसकेको मान्छेझैँ टोलाइरहेँ । कार्यक्रम सक्किसकेको थियो । निद्रा लागे पो । पिसाब लागे लागेजस्तो भो । म अँध्यारोमा एक्लै खिस्स-खिस्स हाँस्न थालेँ ।
बाटो परिवर्तन गर्न यसै पल, जीवनको हवाइजहाजले कोल्टे फेरिसकेको थियो ।
– २०६९ फाल्गुन १२
(स्रोत : कान्तिपुर – कोसेली)