~अनिल नेम्बाङ~
सिंहदरबारको झ्यालबाट नदेखिएको मेरो गाउँ छ,
बर्षौँ बितेछ। तर,
-महाजनको सुट सिउने दर्जि दाजै अझै नाङ्गै रहेछन्।
-दुनियाको महल बनाइदिने कर्मि काकाको छानो उस्तै चुहिने रहेछ।
-खेत खिइएर बगर बन्न लागेछ तर कार्बारी बाजे अझै भोकै बाँझो फोर्दारहेछन्।
मलाई उत्तर चाहिएकोछ,
मेरो गाउँको पसिना सस्तो हो? या त गाँस, बास र कपास महंगो?
म रत्तिभर पत्याउँदिन। किनकि,
-सदनमा घन्किएको बजेट भाषणले भोकले रेटिएको पेट मत्थर हुंदैन।
-प्रतिनिधिको मखमली कोटले मेरो गाउँको आङ् टाल्दैन।
-दरबारको बडेमानको बैठक कोठाम मेरो गाउँ ओत लाग्दैन।
-ब्यानरमा पोतिएको घैलाको चित्रले मेरो गाउँको प्यास मेटिंदैन।
उपत्यकाको अग्ला भवनले छेकिएको मेरो गाउँ छ,
जहाँ,
-चिचिला डाक्टरहरु गर्भमै मर्छन्
-फुच्चे इन्जिनियरहरु डाली घाँस झार्न सकिनसकि रुखको लम्बाई नाप्छन्।
-कलिला शिक्षकहरु चौरमा बसेर गिट्टि फाल्दै चौपाया गन्छन्।
कुरोलाई किन तन्काउनु,
अनगिन्ति रहरलाग्दा ताराहरु उल्का बनेर रातारात तुहिन्छन्।
तिमी भने रातारात स्विजर्ल्याण्ड बुन्छौ
अहं, तिम्रो योजनामा थन्किएको,
-बिजुलीको नक्साले मेरो गाउँ बल्दैन।
-अस्पतालको खाकाले मेरो गाउँ निको हुंदैन।
-स्कुलको चित्रले मेरो गाउँको आँखा खुल्दैन।
त्यसैले अब त भन्छु,
-तिमीलाई मेरो गाउँको नक्सा थाहा छैन, मलाई कोर्न देउ।
-तिमीले मेरो पहाड टेकेका छैनौ, मलाई उचाई नाप्न देउ।
-तिमी मेरो खोलाको धुन बुझ्दैनौ, मलाई सुन्न देउ।
-तिमी पालाम र हाक्पारेको रुवाई बुझ्दैनौ, मलाई फकाउन देउ।
-तिम्रो गेटको बन्दुकले हाम्रा दुश्मन तर्सँदैनन्, मलाई सुरक्षा गर्न देउ।
-किन बन्दि बनाएर राख्छौ? सुम्निमा-पारुहाङ्लाई विश्व डुल्न देउ।
-तिमीलाई मेरो गाउँको तौल थाहा छैन, मलाई जोख्न देउ।
-तिमी मेरो माटोको आवश्यकता बुझ्दैनौ, मलाई पुर्ति गर्न देउ।
किनकी तिमीले युरोप पढेका छौ, मैले मेरो माटो पढेको छु।
म त यति चाहन्छु,
तिम्रो दरवारमा मेरो झुपडि जोडौँ
अनि यथार्थ उचाईमा उक्लिएर,
-समथर हेरौँ, खोँच पनि हेरौँ
-हाँसो सुनौँ, चित्कार पनि सुनौँ
– बढि हेरौँ, कमी पनि हेरौँ
-महल हेरौँ, झुपडि पनि हेरौँ
अनि असमानताका पहाडहरुलाई बिराएर
पारी देखि वारी सम्मै हेरौँ
वारी देखि पारी सम्मै बनाऔँ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)