कविता : प्रेसिडेन्ट क्लिन्टन

~विमल निभा~Bimal Niva

प्रेसिडेन्ट क्लिन्टन
मसँग भेट गर्न चाहन्छ
तर फुर्सद छैन मलाई
मलाई लेख्नु छ एउटा कविता
कविता मन पर्दैन
प्रेसिडेन्ट क्लिन्टनलाई
त्यसैले मेरो कविताको विरोधमा
केही भन्न चाहन्छ मसँग
प्रेसिडेन्ट क्लिन्टन
तर कविताविरोधीसँग कुरा गर्न
इच्छुक छैनँ म

म प्रेसिडेन्ट क्लिन्टनसँग भेट गर्न सक्दिनँ
आज सबेरैदेखि
कविता लेख्न व्यस्त छु म
थरीथरीका विचारहरु
मभित्र आइरहेका छन्
गइरहेका छन्
र प्रेसिडेन्ट क्लिन्टन
मसँग गर्ने कुराको विषयमा
आफ्ना जासुस, राजनीतिक सल्लाहकार,
बमवर्षक सैनिकहरु,
खतरनाक भाडाका हत्यारा
र विश्वभरिका दलाल राष्ट्रप्रमुखहरुसँग
निरन्तर विचार–विमर्श गरिरहेछ
यहीबीच मैले सोचिसकें
कविताका केही पङ्क्ति
मानवजातिको अदम्य साहसको
समापन हुनैसक्दैन प्रेसिडेन्ट क्लिन्टन
यो फेरि–फेरि बिउँझनेछ
भियतनामजस्तै
युद्ध लामो समयसम्म चल्नेछ
प्रेसिडेन्ट क्लिन्टन
जबसम्म न्यायको विजय हुँदैन
तिम्रो ह्वाइट हाउस, पेन्टागन
र सीआईए व्यर्थ छन्
असल संसारको जित
सुनिश्चित छ अन्ततः
यो एउटा कविको बयान हो
जसका साक्षी छन् असंख्य कविताहरु
कविताहरु भूmट बोल्दैनन्
प्रेसिडेन्ट क्लिन्टन
तिम्रो अवश्यम्भावी पतनबारे
कुनै शङ्का छैन मलाई
थुप्रै–थुप्रै हारहरु
तिम्रो प्रतीक्षामा छन् प्रेसिडेन्ट क्लिन्टन
यही मेरो कविताको विषय हो
जसलाई म हजारौं वर्षदेखि लेखिरहेछु
र हजारौं वर्षसम्म लेख्नेछु
म कविता लेख्न छाड्दिनँ
प्रेसिडेन्ट क्लिन्टन
यही कविताको विरोध गर्न
प्रेसिडेन्ट क्लिन्टन मसँग भेट गर्न चाहन्छ
तर मसँग समय छैन
म कविता लेखिरहेछु

(२०५५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.