~अनिल नेम्बाङ~
अठार कोरीको लैनो भैँसीलाई हैजाले उडाए देखी
परदेश बतासिएको छु
आधा रातमा कुकुर भुके मेरो बाटो नहेर्नु आमा
भैँसीले पनि बेच्दो रहेछ हामीलाई त
बुढि औँलाको मसी आलै छ, साहुको तमसुक च्यातिए पछि आउँला।
उल्कै भो’ गाँठे!
हाम्रो झुप्रोमा नुन टुट्छ, यहाँको भान्सामा मटन अटुट
हाम्रो जीवन नै अन्धकार जस्तो, यहाँको चिहान धरी झलमल्ल
घरको मुल खाँबो मक्किए बाँसको टेकुवा दिंदै गर्नु है बुबा
यस्ता विकासका कुरा के सुनाउनु, तिमीलाई पनि उल्कै मात्र लाग्ला
विचरा नेताले महल र पजेरो जोडेपछि आउँला।
हिमाल-पहाड-तराई सबै डुल्नु पर्छ
खोँच, पाखा, पखेरा भरी फूल्नुपर्छ
मिहेनत गर है कान्छा मिहेनत गर्
सिंहदरवारमा मात्र काम नगरी माम मिल्छ
फेरी एक पेट भर्नु पनि नेता बन्नु पर्ला।
अब त हामी पनि हुर्किनु पर्छँ, बगैँचाको सुरक्षा गर्नु पर्छ
अनि झकमक्क सजिनु पर्छ विस्वको गमलामा
भोको पेट लिएर पनि बेला बेला गर्जनु है ठुले
शहरका सिंहले लखेट्दा स्याल गाउँतिर भागेका छन्
फेरि शीर उठाउन बिरालो भनेर तिमीलाई पक्डेला।
फूल्छन् नि हौ लालीगुराँस र सुनाखरी यहाँ पनि
पहाडै बोकेर ल्याउन त सकिन, खुब फस्टाएका मनको कुनाकुनामा
तिमी पनि फुलेकी छौ सोल्टिनी
ब्याज हिसाब गर्ने क्याल्कुलेटर बहुलाएको छ, कमैया जीउँदो छ
(भैँसीको) स्याज थाम्न बन्धक बनेको लालुपाते फूल्ने घुर्यानबारी फुकाएर आउँला।
यहाँ त हामी पनि घुम्ने कुर्सिमा बस्नु हुन्छ रे
चितुवा, भेडा, किरा सबै सबैको अधिकार रहेछ
हा हा हा! निकै रेला गर्यौ मनु र वेद ब्यास ब्रो
दैलोमा ढुक्ने मान्छे भन्दा चुलोमा भुक्ने कुकुर नै ठुलो/शुद्द रहेछ
यहाँ त जिब्रो काटीदिंदैनन्, पढ्दैछु नि मानवतावादि दर्शन पनि।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)