~बाबुराम आचार्य “विकल्प”~
चरक्क चर्केको जेठमासको घामले
नदीका पानीको बहाव ह्वात्तै घटेको छ
खडेरीको मारमा परी चिसो पानीका मूलहरु
तातोतातो वाफमा परिणत भईरहेछन्
तलाउ र खोल्साका पानी सुकिरहेछन्
धर्तीको बाँझो कोख गर्मी सहन नसकी
फाटिरहेछ, चर्किरहेछ, दुखिरहेछ
चर्को धुपको तातो हावासँगै
बोटविरुवाहरु ओईलाईरहेछन्
घाम नभए पनि अन्धकारले छोप्ने डर
भए पनि यस्तो विजोग
यस्तो भयानक स्थितिका कारणहरुले
धर्ती त्रसित छ, आक्रान्त छ ।
कतै डढेर खरानी भईने त होइन ?
यस्तै प्रश्नहरु तेर्सिएका छन् आज धर्तीमा ।
एक्कासी आकाश गर्जिन्छ र भन्छ
होइन होइन त्यसो होइन
तिमी नडराउ धर्ती हामी छौं त
तर भन्दैमा के पो हुन्छ र
गर्नु पो त प¥यो ।
सारा धर्ती वाफिएको छ
उकुसमुकुस छ
तातो रापले भत्भती पोलिरहेछ
धर्ती फाटेको छ
तातो हावाहुरीले
माटो र वालुवाहरु उडाईरहेछ
त्यसैले त तिर्खाएको धर्तीको प्यास मेटाउनु छ
फाटेका र चर्किएका धर्तीमा
पानी सिञ्चित गर्नुछ
नयाँ जीवनको सञ्चार गराउनु छ
त्यसैले, वाफ बनेर गएका पानी
थोपा भई झर्नुपर्छ
सधैं एकनाश हुदैन
समय अनुसार चल्नुपर्छ
त्यसैले त मौसम परिवर्तनसँंगै
जेठमास आयो, वर्षा आउनेछ
अरु पनि आउनेछन्
कसैले रोकेर रोकिनेछैन
छेकेर छेकिनेछैन
यो युगको गति हो
वेगवान रुपमा बगिरहनेछ बगिरहनेछ ।
– कैलाली
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २४ – April, 18, 2012 – २०६९ बैशाख ६ गते, बुधबार)