~नारायण योगी~
गजल संग्रह “हृदयका विम्बहरू”को केस्रा केलाउनु अगावै गजल साहित्यको बारेमा संक्षेपमा प्रकाश पार्नु सान्दर्भिक ठानेर मैले त्यसबारेमा केही कुराहरू उल्लेख गर्न चाहन्छु ।
नेपाली साहित्यमा कविता, नाटक, आख्यान, निबन्ध आदि विधाको विकास तीब्र गतिमा हुँदै आएको छ भने, अर्कोतिर परिधिय विधाहरू गीत, गजल, स्मरण, नियात्रा, आत्मकथा, जीवन दैनिकी, रेखाचित्र, पत्र आदिको पनि छुट्टै अस्तित्व देखिएको छ । नेपाली भाषामा गजलको लिखत प्रचलन इतिहास करिब एक सहस्त्राब्दीदेखि हुँदै आए तापनि यसले विगत केही समयदेखि उत्साहजनक रूपमा गति पकेको छ । अझँ भनौं देशव्यापी रूपमा नयाँ नयाँ आस लाग्दा प्रतिभाहरूको आगमन सँगै यसको भविष्य सुन्दर सम्बृद्ध बन्ने सम्भावना पनि त्यत्तिकै बढेर गएको छ ।
अरबी मुलको “गजल” शब्दले प्रेमालापको सौन्दर्यमूलक साहित्यिक विधालाई बुझाउँछ । गजलकार मनु काजाकीले गजललाई ग+ज+अलको व्यूत्पत्तिलभ्यको अर्थ खोजी गरेका छन् । जसको अर्थ “ग” –वाणी, “ज” को अर्थ –नारी र “अल” को अर्थ–सँग हुन्छ भनेका छन् । त्यसरी गजलको अर्थ नारीसँग बोलचाल गर्नु हुन्छ । उर्दु भाषाका महाकवि गालीबले गजलका लागि इवारत (सारत्त्व) इशारत (विम्ब, प्रतिक वा संकेत) र अदा (शिल्प वा कला) यी तीनवटा कुराहरूलाई आन्तरिक शक्तिका रूपमा प्रस्तुत गरेका छन् । यसैगरी गजलको संरचनाका बारेमा गजलकार देवी नेपालले निम्न लिखित कुराहरूलाई ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् । १. काफीया (२) रदिफ (३) मतला (४) मकता (५) तखल्लुस (६) मिसरा (७) मिसरा ए उला (८) मिसरा ए–सानी (९) सेर (१०) बहर रहेका छन् ।
गजल शुरूशुरूमा राजा महाराजाहरूको स्तुतिगानको रूपमा आए तापनि पछि प्रेमलापले स्थान बनाउँदै लगेर अहिले त्यो राष्ट्रप्रेम, समाजसेवा, तथा समाजका कुरीति, कुसंस्कार विरूद्धमा र प्रगतिशील विचारधाराका पक्षमा पनि यसको प्रयोग बढ्दै गएको छ ।
गजलको संरचना र यसको प्रारम्भिक चरणमा अरवी, फारसी, उर्दु, हिन्दी हुँदै नेपालीमा यहाँसम्म आइपुगेको छ । नेपालमा गजल वि.सं. १९४० साल देखि शुरू भएको देखिन्छ । जसको लागि मुख्य श्रेय मोतिराम भट्टलाई जान्छ अन्य साहित्कारहरूमा लक्ष्मीदत्त पन्त, शम्भुप्रसाद ढुंगेल, भिमनिधी तिवारी र उपेन्द्रबहादुर “जीगर” आदिको योगदान स्मरणीय छ । पछिल्लो समयमा अर्थात् ०३६ सालदेखि जानुवाकर पौडयालको सक्रियतामा नेपाली गजल पुनर्जागृत भयो र केही क्षमतावान कपिवहरू गजलतर्फ आकर्षित भए । सामाजिक सरोकार सहित जागेको नेपाली गजल अहिले महत्वपूर्ण विधाको रूपमा विकसित भैरहेको छ । पछिल्लो समयमा विद्युतीय संचारमाध्यमहरू मुख्यतः एफएम रेडियोहरूले आफ्ना साहित्यिक कार्यक्रमहरूमा “गजल”लाई पनि निकै प्राथमिकताका साथ स्थान दिएकाले नेपाली गजल झाँगिदै गएको छ । यसरी देशव्यापी रूपमा फैलिएका एफएमका संजालले गर्दा, नयाँ नयाँ श्रष्टाहरू पनि निकै ठूलो पैमानामा जन्मिएका छन् । यो नेपाली गजलको लागि सुखद प्रसंग हो ।
अहिलेसम्म मैले गजलसँग जोडिएका सामान्य पृष्ठभूमिको बारेमा संक्षिप्त चर्चा गरे । अब म यस लेखको मुख्य विषय अर्थात् नवोदित गजलकार गुरूप्रसाद कुमाल “बुलबुल”को गजल संग्रह “हृदयका विम्बहरू” मा व्यक्त भावनाहरूलाई केस्रा केस्रा केलाएर त्यसको मूल सैद्धान्तिक पक्षकाबारेमा चर्चा गर्ने प्रयत्न गर्नेछु । गजल विधाको म एउटा पाठक तथा विद्यार्थी भएकोले यसको कला, सौन्दर्य, बनावट, रूप, आदिका बारेमा चर्चा गर्नु मेरा निम्ति एउटा घृष्टता हुनेछ । तसर्थ मैले आफुलाई यस गजल संग्रहको सैद्धान्तिक पक्षको चर्चामा नै सीमित राख्नेछु ।
गसजलकार “बुलबुल” आफ्नो पहिलो गजल कृति “हृदयका विम्बहरू” मार्फत दाङको साहित्ययात्रामा सामेल भएका छन् । यस संग्रहमा जम्मा ५२ वटा गजलहरू संग्रहित छन् । यसको प्रकाशन उनी आफू सरिक रहेको संस्था “देउखुरी जनसेवा युवा क्लव” चैलाही–७ सेमरहवा देउखुरी दाङले प्रकाशनको कार्य आफ्नो हातमा लिएर एउटा सह्रानीय कार्य गरेको छ । यस संग्रहको केस्रा केस्रा केलाउनु पूर्व यस पुस्तकमा सामेल समीक्षकद्वय गजलकार तथा समालोचक टिकाराम उदासी, साहित्यकार समिर यात्रीजीका समिक्षालाई मैले सामेल गरेन भने सायद यो लेख नुन विनाको तरकारी हुनेछ । “हृदयका विम्बहरू” गजल संग्रह सन्दर्भबारे सर्वप्रथम टिकाराम उदासी लेख्छन्–“भावगत विविधता र सरलता कृतिको महत्वपूर्ण पक्ष हो । संग्रहका गजलहरू विभिन्न भावहरूमाथि लेखिएका छन् । प्रेम प्रणयका भावहरू देखि विद्रोह र क्रान्तिका भावहरूलाई गजलले मुखरित गरेका छन् । यसैगरी देशप्रेम, व्यंग्याचेतना, कर्तव्यबोधदेखि समाजमा विद्यमान अन्धविश्वासहरूको विरोधकाबारेमा गजलहरू लेखिएका छन् । साथै कतिपय गजलहरूले दलित र जनजातिका सवालहरूलाई विषयवस्तु बनाएर सामाजिक पक्षको पनि खुलेर वकालत गरेका छन् । बालकहरूको अवस्थादेखि उनले शान्ति र परिवर्तनका जनचाहनाहरूलाई पनि गजलमा प्रतिविम्बित गरेका छन् । यसैगरी गजलको बनावटको बारेमा पनि यसरी विचार व्यक्त गरेका छन् । “काफिया र रहिफको कारण लयपूर्ण पनि छन् । केही गजलहरू बाहेक प्रायः गजलमा रहेको वर्णको संजाल वितरण प्रयासले गेयात्मक पनि बनेको देखिन्छ । गजलमा रहेको कमजोरीको सन्दर्भमा उनी लेख्छन्–“जहाँसम्म यस कृतिको लेखकको प्रसंगहरू छन् उनी भर्खरै मात्र बामे सर्न लागेका हुनाले आजै सबै कुराको आशा गर्नु एउटा अस्वाभाविक प्रयत्न हो ।”
यसैगरी अर्का समिक्षक समिर यात्री लेख्छन् “प्रस्तुत संग्रहमा उनी कतै प्रेम प्रणयका फूलहरू उन्ने कोशिस गर्दछन् । कतै धोखा धडीमा मूलहरू बुन्ने गर्दछन् । कतै उनी जनक्रान्तिका भाकाहरू सुसेल्ने गर्दछन् कतै विजयका अठोटहरू र आशाहरू बटुल्ने गर्दछन् । कतै राष्ट्रघातका दर्दनाक पीडाहरूमा दुख्ने गर्दछन् । कतै राष्ट्रिय स्वाधीनताका विगुलहरू फुक्ने गर्दछन् । उनी कतै दलित र जनजातिका आवाजहरू घन्काउँछन् । कतै अमानवीय अत्याचारका विरूद्ध गजलहरू घन्काउँछन् । समिर यात्रीले गजलका कमजोरीका सम्बन्धमा लेख्छन् । “शब्द विन्यास, लय चेतनाभावको संगतिपूर्ण प्रस्तुतिकरण जस्ता संरचनागत पक्षहरू केही कमजोर देखिन्छ । निश्चय पनि जसरी वामे सर्न लागेको बालक कैयौं पटक धर्तीमा पछारिन्छ, धुलाम्मे बन्दै लोट्छ, उठ्छ, फेरि लड्छ, फेरि उठ्छ र विस्तारै ताते ताते गर्दै दौडन थाल्दछ । मानिसको जीवनमा र समाजको गतिमा पनि यस्ता क्षणहरू आउँछन् । त्यसैले गजलकार “बुलबुल” का कमजोरी र तिनका सिमाहरू छन् नै । तर उनले कठिन परिश्रम गर्दै यस क्षेत्रमा गम्भीर अध्ययन गर्दै अगाडि सरे पक्कै पनि उनका रचनाहरूल्े उत्कृष्टता हासिल गर्दै जानेछन् । त्यसले उनको गजलको भविष्य सुन्दर सफल बन्ने छ ।
उनका ५२ वटा गजल मध्ये, अधिकांश गजलहरू प्रेम प्रणय, वियोग, प्रेमाकांक्षा कतिपय बेला, प्रेममा बाचाबन्धन, समर्पणका भावनाहरू कथिएका छन् । युवा अवस्थाको स्वभावैले गर्दा पनि यस्ता भावनाहरूको प्रचुरता भएको हुन सक्छ । मायाको अर्थ खुलेपछि शीर्षमा उनी गजल यसरी उतार्छन्ः
मायाको अर्थ खुलेपछि तिमीलाई सम्झें
रातो गुलाव फुलेपछि तिमीलाई सम्झें
मनका भाव गुन्जिरहे बनपाखाभरी
ती लहरामा झुलेपछि तिमीलाई सम्झें
अघि पछि हिंड्न थाल्यौं छाया बनि
सँगसँगै डुलेपछि तिमीलाई सम्झें।
एवं रीतले उनी कुनै समयमा नव दुलहीलाई घर भित्र्याइ सकेपछि, आफ्नी प्रियसीसँगको रमाइलो बिताउने रहरमा असारमा बाउँसे गर्दै खेतका गहरा, आली आलीमा पसिनाका थोपा चुहाउँने गजलका नयाँ रसिला बान्कीहरू यसरी उठ्छन्ः
असारमा तिमी र म बाउँसे गरौंला
गामवेशीमा परिम र मेला भरौंला
साउनको झरीसँगै झारपात गोड्न
उकाली र ओराली सँगसँगै झरौंला ।
उनी मनको बह पोख्दै कहिले प्रियसीसँग प्रीत लाउन पुग्छन्, अनि कहिले प्रेम नगरीमा रमाउँदै यात्रा गरिरहँदा, दुःखीरहेको घाउ निको पनि गजललाई मल्हम बनाएर लाउँछन् । उनी प्रेम प्रणयका भावसम्म आफूलाई सीमित राख्दैनन् । देशको मायाले भावविह्ल बन्दै उनी छटपटिएका छन् भित्रभित्रै तडपिन्छन् र सम्झन्छन् , देशका सीमाहरू क्रमशः सारिंदै गरेका पीडादायी घटनाहरू देशप्रेममा भावविह्ल बन्दै गजलमा यसरी पोखिन्छन् ।
नभन तिमीले राराताल कहाँ छ
नभनोस् कसैले नेपाल कहाँ छ ?
कहिले सुस्ता रून्छ कहिले भजनी
मन विस्तारवादी दलाल कहाँ छ ?
माने भञ्ज्याङदेखि कालापानीसम्म
लुटिइन् आमा, नसोध बेताल कहाँछ ?
देशको निम्ति उनै आलस्य फाली
सोध्ने छ कसैले आलटाल कहाँ छ ?
हो पक्कै पनि जबजब देशका सकुनीहरूले नयाँ नयाँ जाल रचेर देशलाई बन्दकी बनाउन खोज्दछन् नेपाली आमाका वीर सन्ततीहरूको मनमा राष्ट्रप्रेमको भावना त्यसै त्यसै छताछुल्ल हुन्छ र आफ्ना वीर पूर्खाहरूलाई सम्झन पुग्छन्, नालापानीको युद्धको कथा अनायसै फिल्मको रिलमै घुम्न थाल्दछ ।
गजलकार बुलबुल कुनै बेला आफ्नो जातिभित्र रहेको अन्धविश्वास, पिछडिएको चेतनालाई हटाउनका लागि र जातीय उत्पीडन, दमनको साथै वर्गीय मुक्ति आन्दोलनलाई पनि अगाडि बढाउने कुरा गजल मार्फत् यसरी उठ्छन् –वर्गीय र जातीय मुक्तिलाई सँगै लैजानु,
यो कुमाल आवाज घन्काउनेलाई सलाम
वर्ग दुश्मन सामन्तीलाई घुँडा टेकाउन
वर्गीय आन्दोलन चर्काउनेलाई सलाम
रूढीवाद, अन्धविश्वास, कुसंस्कार नष्ट गर्न
कुरीतिको पर्खाल भत्काउनेलाई सलाम
आज मानव समाज २१ औं सताब्दीको यात्रामा अगाडि बढिरहेको छ । विज्ञानले पनि निकै ठूलो प्रगति गरिसकेको छ । तर पनि हाम्रो देशमा दूरदराजका गाउँ वस्तीमा मात्र होइन सदरबजारमा पनि मान्छे मान्छे बीच छुवाछूत, भेदभाव भएको र त्यसको सिकार निर्दोष दलितहरू हुने गरेको कुरा हामीले बेलावखत सुन्ने गर्दछांै । यस्ता घटनाहरूले गजलकारको मन दुःखी हुनु स्वाभाविक हुन आउँछ । त्यसैले त उनी गजल मार्फत यस्ता कुरीति हटाउनका लागि बाचा कसम खाने कुरा गर्दछन् ।
नयाँ नेपालमा छुवाछूतको अन्तको अभिलाषा राख्छन् ।
यात्रा मेरो सहयात्री तिमी परिवर्तनको बाटो ।
दलितलाई माया दिउँ अब घृणाको साटो
बाचाकसम गरौं है छुवाछूत मान्दैन भनेर
हामी सबै नेपाली उठाई हेरौं एक मुठी माटो
दलित तथा गैर दलित एकै भएर उठौं
जात एउटै मानव, बाँधौं सशक्त मोर्चाको गाँठो
उद्घोष गरौं छुवाछूत अन्त्यगर्ने भनेर
पुरियोस् है नयाँ नेपालमा छुवाछूतको खाटो
एउटा धेरै पुरानो तर प्रशिद्ध भनाई छ, “जहाँ रवि पुग्दैनन् त्यहाँ कवि पुगेका हुन्छन्” अर्थात् यस गजल सग्रहमा गजलकार बुलबुलको विचार निकै फराकिलो र समस्यावादी प्रकारको र राष्ट्रप्रेमको भावना, अन्यायको विरूद्धको भावना आदि छन् । तर ती विचार, चेतनामा यस्ता विचारहरू बन्नका लागि के उनको एक्लो चेतना मात्रै हो त ? अवश्य होइन ? त्यसबाहेक आज देश विभिन्न प्रकारका आन्दोलनहरू चलिरहेका छन् । ती राष्ट्रिय मुक्ति आन्दोलन, छुवाछूतका आन्दोलन, वर्गीय आन्दोलन, र जातजातिहरूले आफ्ना हक सुनिश्चित गर्ने आन्दोलन ती सबैका प्रतिविम्बहरू हुन् गजलकार “बुलबुलका” हृदयका विम्बहरू ।
उनी त्यतिबेला झनै मर्माहत बन्दछ जब देशमा जातजातिको राज्यको मागका कारण बढ्दै गरेको जातीय द्वैष, एक आपसमा बिग्रँदै गएको सद्भाव र आज हाम्रो देश विश्वमा एउटा अनुपम उदाहरणको रूपमा मिलेर बसेको समाजमा हो तर संघीयताको विष वृक्षले जब नेपाली नेपाली बीच वैमनस्यता बढ्छ, सामाजिक एकता खलबलिन थाल्छ, समाजमा अशान्ति बढ्न थाल्दछ । त्यतिबेला उनको मुटु पनि छियाछिया हुन्छ । त्यसैले राष्ट्रलाई टुक्राटुक्रा हुनबाट जोगाउन गजलकारले आफ्नो संग्रहमा आव्हान गरेका छन् । उनी गजलमार्फत् आफ्ना भावना यसरी संखघोष गर्दछन्ः
जसलाई देशको माया छैन त्यसलाई बाँचेर के काम
जसको कुनै महत्व छैन त्यसलाई साँचेर के काम
जातभातको रूपमा देशलाई टुक्राटुक्रा पार्छन् भने
सयौं थुंगा फूलका हामी एउटै माला गाँसेर के काम, व्यक्तिको शासन होइन यहाँ विधिको शासन चाहिन्छ
बोटनै विषालु भए यहाँ हाँगा भाँचेर के काम
गजलकार बुलबुलले कहिले अशान्त गाउँमा शान्ति दिदीलाई बोलाएर दाजुभाइले आफ्ना दिदी बहिनीहरूसँग रमाइलो गरी दशैं तिहार मनाउन चाहन्छ त कहिले कालापत्थरमा बैठक गरेर देशको ढुकुटी रित्याउने भ्रष्ट मन्त्री र नेताहरूलाई व्यंग्य हान्दै लेख्छन् ।
के गर्छौं कालापत्थरमा, भूंडी मर्छौं कालापत्थरमा ग्लोबल वार्निड्ड बुझ अब, कता सर्छौ कालापत्थरमा ओजोनमा प्वाल पारी विकिरण, आफै छर्छौं कालापत्थरमा उनको त भाषण मात्र हो, भर पर्छौं कालापत्थरमा रूख रोपौं वातावरण जोगाऔं ।
नत्र मछौं कालापत्थरमा
हो पक्कै पनि आज विश्वव्यापी रूपमा नै रहेको जलवायु परिवर्तनका कारण भोलि हाम्रा सन्ततिले ठूलो सास्ती खेप्नुपर्नेछ ।
त्यसैले उनले भ्रष्ट नेताहरूको भर नपर्न भन्दै जनताहरूलाई सचेत बनी स्वयंले वातावरण जोगाउन लाग्नुपर्ने कुरा औल्याउँछन् । गजलमार्फत् कुनै बेला आफ्ना श्रदेय गुरूहरूलाई सम्झन्छन् त कहिले आफ्ना सखालाई सम्झिएर रोमाञ्चित बन्दछन् । कहिले, आफ्नो कुमाल समुदायलाई उठ्न आव्हान गर्दछन् । आफूलाई र आफ्नो समुदायलाई अवहेलना गरेको कुरा उनलाई कत्ति चित्त बुझ्दैन त्यसैले उनले छाती खोलेरै भन्छन्–
जात थर नै यस्तै छ कुमाल नभन्नु
बग्छ नदी हो लुरेतुरे छाल नभन्नु
तोपगोला बम बारूद्ध छेक्छ यो छातीले
डग्दैन कहिल्यै पनि तर ढाल नभन्नु ।
अब निस्क कुना कन्दाराबाट कुमाल समुदाय
निस्क सबै भीर पहराबाट कुमाल समुदाय
जहाँ तिम्रो भाषा हराएको छ, संस्कृति हराएको छ,
निस्क जोगाउन टहराबाट कुमाल समुदाय
हाम्रो कला साहित्य पुकार गर्छ खेतहरूबाट
उब्जाउँ है कला, गहराबाट कुमाल समुदाय
बनपाखा घन्कायौं, तराईका फाँट गुल्टार ग¥यौं
अब निस्क भन्छ लहराबाट कुमाल समुदाय
आफ्नो कुमाल समुदायको पक्षमा मात्र होइन, देशका शोषित, उत्पीडितवर्ग, भरिया, ज्यामी, किसान, दलित, महिलाहरूका कथा पनि उनले गजलीय बान्कीमा बुन्दै भोलिको सुनौलो भविष्यको सुन्दर समाजको निर्माण गर्न लाग्ने र त्यो गर्नका लागि जस्तो सुकै कठिनाई पनि झेल्दै अगाडि बढ्ने प्रण गर्दछन् । नयाँ चेतना, नयाँ विचारको दीप यसरी बाल्छन् आफ्ना गजलमार्फत् ।
जनक्रान्तिको भाका गाउँछु म । आँधी तुफानसँग आउँछु म
महान योद्धाहरूको वीरताले, कालो राजतन्त्र भत्काउँछु म
के काम निरंकुश शासन पद्धतिको, लोकतान्त्रिक गणतन्त्र ल्याउँछु म
तेस्रो जनआन्दोलन गर्न परे पनि सम्पूर्ण जनताको साथ पाउँछु म
सम्पूर्ण सर्वहारावर्ग एक हौं । सामन्तवाद हटाउन सघाउँछु म ।
गजलकार “बुलबुल” को यो पहिलो यात्रा हो । देउखुरीका तरेली परेका फाँटहरूमा एउटा नयाँ मुनाको रूपमा पलाएको यो “हृदयका विम्वहरू” को गजलीय बान्की, भोलि नयाँ नयाँ रूपमा मौलाउँदै जाओस् आफ्ना रचनाहरूलाई माइन्दै, त्यसलाई धेरै सशक्त बनाउँदै, शोषित उत्पीडितवर्गका झुग्गी झुपडीमा पनि यसको जज्वल्यमान उज्यालो फैलिंदै जाओस् । कुनै पनि स्रष्टालाई वर्तमान समयमा जिउन र कलालाई निखारेर लैजान त्यति सजिलो छैन । धेरै चुनौतीहरू छन् । हजारौं बाधाहरू, व्यवधानहरू पार गर्दै शिखरमा चढ्नुपर्छ । निश्चय पनि गजलकार “बुलबुल” ले यस्तो हिम्मत र आँट जुटाउँदै, भोलिका ती कठिन घुम्तीहरू पार गर्दैै जोखिम जंघार तर्दै आफ्ना कालजयी रचनाहरू सिर्जना गर्दै, समाज बदल्ने सपना साकार पार्न अविराम यात्रामा लम्की रहेछन् । उनका पाइलाहरू रोकिनछैनन् । उनका भावनाहरूले हरेश खाने छैनन्, उनले आफूलाई दरिलो, सामथ्र्यवान तुल्याउन झनै धेरै अध्ययन गर्दै, गहकिला रचनाहरू पस्कनेछन् । उनको यात्रा सफल बनोस् यही शुभेच्छा ।
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २२ – April 4, 2012 – २०६८ चैत्र २२ गते, बुधबार)