~टिका भाई ~
विज्ञापनका ‘होर्डिंग’-हरूमा उज्यालिएका
रङ्गीन अक्षरहरू मात्र हो
यो- ‘सरकार नामको अदभुत जादु’
जादु हातको सफाई त हो
जादु भ्रमको खेल त हो।
हाम्रो चेतना समुद्र हो, नदी हो, गहिरो तलाव हो,
भ्यागुताहरूको कर्कसता पाल्ने ‘एक्वेरियम’ होइन।
सुन् ए लगामहरू!
म तेरो भाडाको अनुहारबाट चुहेको
देशप्रेमको पराग चाट्न सक्दिन।
तेरो विधानले कोरेको गोल-मन्चमा
दौडिन्न
तेरो उल्लासमय सपनाको रेस।
सुनिस् म तेरो विधानदेखि मुक्त ‘टाप’ हुँ
जङ्गली रफ्तार
अनि एक अट्टेरी यौवनसित
रगत चाटिरहेको मिर्ग देखेर छक्क नपर्नु
सम्झिनु
मिर्गहरूलाई बाघको शिकार गर्नु छ
मिर्गहरू रगतले मातेको छ।
कुनै निर्जन गल्लीमा
फोहोर छादेर ढलेको डस्टबिन जस्तै मात्र हो
सरकार नामको हाम्रो विश्वास
सुन् ए लगामहरू
सिक्री हालेको गर्दन तल्तिर
मुटु वेगले उफ्रे पनि, ढुकढुकी भाडाकै हुन्छ
मैलो-ढ्वाङ्गबाट रसाएको
आदर्शको मद पाउन
म मेरो जिब्रो साट्न सक्दिन।
म तेरो हुन सक्दिन,
तेरो बलियो बैँसालु अँध्यारोमा
म मात्र जुनकिरी भएर छु
अट्टेरी ‘टाप’
मधुरो तर सगौरव अँध्यारोको घाम भएर छु।
कालेबुङ
October 2, 2012
(स्रोत : स्पन्दन अक्षर यात्रा )