~ज्योति के~
फेरी पनि उ बोझिलो मन लिएर घर पुगेको थियो आज। अचेल कुनै कुनै दिन उस्को मन यस्तै गर्हों हुने गरेको थियो। बिद्रोह आँधि बनेर मडारिन्थ्यो अनि तिनै कुनै कुनै दिन उ ति आँधिहरुलाई शान्त पार्थ्यो। तर, जब ति आँधि थामिए झै हुन्थे उस्को मन बोझिलो हुन्थ्यो। आज जस्तै। फेरी चल्थ्यो आँधि, फेरी उही क्रम। उ एउटा लडाई लडदै थियो, जस्मा उस्को हार त निश्चित नै थियो तै पनि उ अरु कसैलाई पराजित गर्नेमा तल्लिन। उस्लाई आफुले नजितेको थाह भए पनि जस्लाइ उस्ले हराएँ ठानेको थ्यो, त्यो हारको उ उत्सब मनाउन चाहन्थ्यो। र मनाउँथ्यो पनि। केही पलहरु मात्रैको लागि भए पनि किन नहोस।
घरमा उ पुग्दा पुग्दै उस्की श्रीमतीले उही मन्द मुस्कानले स्वागत गरी। सधै झै उ आज पनि आफ्नी स्वास्नीको सुन्दरताले प्रभाबित भयो। एउटा आँधि कतै मन भित्र उठन खोज्यो तर उस्ले त्यो आँधिलाई मुस्किलले तितर बितर पार्यो।
“कत्ति ढिलो नी आज?” उस्की स्वास्नी उ नजिकै आई, उस्को हात समाई अनि उस्का आँखामा हेर्दै सोधी “अफिसमा धेरै काम थियो हो आज?” अनि थपि “तिमी त कस्तो थाकेको जस्तो देखिन्छौ।”
उ गएर सोफामा बस्यो, दुई कदम उस्की स्वास्नी पनि उ संगै आई अनि तुरुन्तै भान्छा तिर फर्किई। उ भान्छामा पुग्दा पुग्दै सोधी, “आशिष, तिमी भुजा खाईहाल्ने कि पहिले चिया पिउने?”
आशिष अफिस बाट आउनासाथ पहिले चिया पिउँथ्यो। उस्को पुरानो बानी भने हुन्छ। अहिले उस्लाई केही खान मन थिएन। उस्ले खाई सकेको थ्यो।
यत्तिकैमा फोनको घण्टी बज्यो। मन नलागि नलागि उस्ले उठायो।
“दर्शन” आशिषले हेलो भन्ना साथ उताबाट आवाज आयो। उस्ले पनि मसिनो स्वरमा दर्शन भन्यो।
“शिबानी छ?” मधुर स्वरमा फोन गर्नेले सोधी।
भान्छाबाट उसैलाई हेर्दै गरेकी उस्की श्रीमती तिर फोन तेर्साउँदै उस्ले भन्यो “तिम्रो फोन”
“को?” शिबानीले सोधी।
“प्रिती” उस्ले भन्यो।
फोन लिंदा लिदै शिबानीले आशिषलाई सोधी “म भुजा नै ठिक गरम?”
उस्ले “हुन्छ”मा टाउको हल्लायो। खान मन छैन भनेन। उस्ले देख्यो डाईनिङ्ग टेबलमा दुईटा प्लेट राखिएका छन।
एक मिनेट जतिको भलाकुसारी पछि, शिबानीले फोनमा भनी “सुन्न, आशिष भरखर आयो, भुजा खा छैन म तँलाई पछि फोन गर्छु है” अनि फोन राखि।
“किन नी दुईटा प्लेट?” आशिषले सोध्यो।
“मैले पनि त खा छैन नी” उस्ले उही मुस्कान ओठमा छरेर भनी।
शिबानीले उस्लाई सधै खाना खान पर्खिने गरेको थिएन। उ ढिलो हुँदा कहिले उस्ले खाई सकेकी हुन्थी, कहिले हुन्न थी। उ हप्तामा दुई दिन काम गर्थी बाँकि दिन उ कलेज जान्थी। संगै खाने समय हतपत मिल्दैन थ्यो।
खानेकुराहरु शिबानीले टेबलमा राख्दै गर्दा आशिषले उस्लाई एक टक हेरी रह्यो। जुन सुन्दरताको भेलमा उ पाँच बर्ष अघि परेको थ्यो, त्यो भेल अरु उर्लेको थ्यो। पानी अर्कै रगंको। बाढीको। उस्ले देख्यो, शिबानी चन्चल छे अनि खुशी पनि। अचेल कुनै कुनै दिन उस्लाई आशिषले यस्तै चन्चल देखेको छ।
खाना पछि शिबानी भान्छामा बाँकि काम सकाउन तिर लागि। काम सकाउँदै आशिष सँग कुरा पनि गर्दै थिई। बेला बेला आशिषलाई लाग्थ्यो न उस्ले शिबानीलाई चिनेको छ, न शिबानीले उस्लाई। त्यो सोचाई सम्झेर उसैलाई अचम्म लाग्यो।
पछि शिबानी उ संगै आएर बसी, टि भि हेर्दै केही बेर कुरा गरी। कुरा गरुन्जेल उस्ले आशिषको हात समाईरही। शिबानीको औलामा “ए” लेखेको औठी चम्केको थियो। त्यो चमकलाई उस्ले हेरी रह्यो। त्यस्तो “A” लेखेको औठी किन्देउ भनेर हालसालै उस्ले जिद्दी गरेकि थिई। भन्ने बित्तिकै उस्ले किनेको थिएन। पछि त शिबानीले आफै किनेर ल्याई। ल्याए देखि फुकालेकी थिईन। शिबानीले उस्लाई पुलुक्क हेरी, फेरी मुस्कुराई। केही बेर पछि उ निन्द्रा लाग्यो भनेर सुत्न गै।
आशिष एक्लै टि भि अगाडी बसी रह्यो। टि भिको कार्यक्रम प्रति उस्को ध्यान थिएन। उ ति रापीला अधरहरु सम्झिदै थ्यो, अनि चुम्बनहरु पनि, उस्को मुटु बेजोड धडकिदै थियो–जुधेका ति अङग अङ्गकाबाट उठेका नदेखिने तर अनुभव गरीएका ति फिलुङ्गाहरुलाई सम्झियो। ति फिलुङ्गाहरुले उस्लाई फेरी जिस्काए। उ अधिर भयो अनि बेचैन पनि। उठेर उ कोठा सम्म पुग्यो बिस्तारै। शिबानी निदाई सकेकी थिई।
उ फेरी बैठकमा आयो। वालेटको भित्र पट्टी लुकाई राखेको प्रितीको फोटो एक छिन नियाल्यो, फोटो पछि उस्ले लेखेकी “विथ अल माई हार्ट” पटक पटल पढ्यो–त्यो लेखेको मुनी उस्ले अघि लगाईदिएकी ओठको छाप हेर्यो, बिस्तारै फेरी धेरै फिलुङ्गाहरु छरिन लागेको देख्यो। फोटोलाई भित्र वालेटमा लुकाएर उ पनि सुत्न गयो।
निदाईरहेकी शिबानीलाई उस्ले हेरी रह्यो केही बेर। आँधि चलमलाउन थाल्यो मन भित्र उस्को। फिलुङ्गाहरु त उठेकै थिए। बत्ति निभायो। शिबानी सँगै पल्टेर उ एक छिन शिबानीलाई नछोई सुत्यो। आँधि बढ्दो थियो। आगो सल्किदो। बिस्तारै उस्ले शिबानीका अधरलाई छोयो, उ चलमलाई, उस्का हात शिबानीका बक्ष तिर पुगे, शिबानीले उस्को हात समाउँदै निन्द्राको स्वरमै भनी “उफ, अनुज — फेरी?”
(स्रोत : साझा डट कम)