~सङ्गीत आयाम~
जीवन विर्निमित अवस्थामा सँधै अस्थिर नै चल्दोरहेछ । यसका आयतनहरु र यसभित्रका सम्भावनाहरुले समय अनि परिस्थिति अनुसार क्रमशः परिवर्तित हुने नियतिको कारण लयको कुनै विशिष्ट रुपको निर्धारण गर्दै अगाडि बढ्दा रहेछन् । हिजो म जे थिएँ त्यो आज पक्कै पनि हुन्न । आज म जे छु अवश्य पनि म भोलि त्यही रुपमा रहिरहन्न । नदीमा पानी कति बग्यो कति ! के त्यसको लेखाजोखा आजसम्म कसैले गर्न सकेको छ पानी बग्ने सन्दर्भ र प्रकि्रया त शताब्दियौंदेखि त्यस्तै नै छ तर त्यही पुरानो पानी फेरि त्यहाँ जति खोजे पनि भेटिदैन नयाँ पानीको जन्म भैसकेको हुन्छ । भनौं न मान्छे भने पहिलाकै छ तर उमेर भने निरन्तर ढलिरहेछ ।
अब हेर्नुहोस् न म हिजो आफ्नो बाको नाममा रहेको जग्गामा आश्रित थिएँ आज भने परम्परा अनुसार भागबण्डा अन्तर्गत पाएको जग्गामा विकेन्द्रीत हुन पुगेको छु । हजुरबाको पालामा जति जग्गा थियो त्यो बाको पालामा हुनसकेन कारण अंशबण्डाको कुरुप खेलमा जग्गा क्रमशः घट्दै गयो यसमा दाजुभाइको नै मुख्य भूमिका रह्यो । बाले हजुरबाबाट जति जग्गा पाउनुभएको थियो त्यति नै जग्गा मेरो भागमा नहुनु स्वाभाविकै हुनगयो । यसमा पनि दाजुभाइको भूमिका कै कारण त्यस जग्गाको विभाजन अवस्यम्भावी नै थियो । टुकिदा टुक्रदै यो खण्डहरको रुपमा परिवर्तित हुँदै गैरहेको यथार्थ भोलि कुन रुपमा र कुन गन्तव्य बोकेर प्रकट हुने हो त्यसको मूल्याङ्कन गर्ने काम सँधै खतरायुक्त रहँदै आएको छ र यो प्रकिया अस्वाभाविक पनि छैन ।
हुन त बाबु बाजेको सम्पत्ति मात्र ताकेर बस्नु एक किसिमको कायरता हो भन्ने अभिव्यक्ति ठाउँ कुठाउँमा नसुनिएको होइन भलादमीहरुबाट । आखिर ज-जसले ठूला ठूला स्वरमा यस्ता कुराहरु भनिरहेका हुन्छन् तिनै नै सबैभन्दा बढी यस्तो प्रकारको सम्पत्ति प्राप्त गर्न र्याल चुहाइरहेका भेटिन्छन्, उदाहरणहरु प्रशस्तै छन् । आदर्श एकातिर छ भने यथार्थ अर्कोतिर परिलक्षित भैरहेकै हुन्छ । यसलाई आजसम्म कसैले सकारात्मक भएर व्यवहारिक रुपमा प्रमाणित गर्न सकेको छ त ? अब तपाई नै भन्नुहोस् त के तपाईले आफ्नो जिन्दगीमा यस्ता मान्छेहरु भेट्नु भएको छ जसले सार्वजनिक रुपमा भनेका छन् कि म अत्यन्त आत्मनिर्भर र आर्थिक रुपमा परिवारको लागि एकदमै सक्षम छु मलाई अब बाबुबाजेको सम्पत्तिको एक टुक्रा पनि चाहिदैन । माफ गर्नुहोला मैले भने आजसम्म यस कुरालाई प्रमाणित गरेर देखाउने यस्ता प्रकारका महान् मान्छेहरु आजसम्म भेट्न पाएको छैन भेट्ने इच्छा भने जीवन्त नै छ । एकजना दार्शनिकले भनेका छन् ‘मान्छे जति बढी पढे लेखेको हुन्छ त्यही अनुपातमा ऊ त्यति नै धूर्त पनि हुँदै जान्छ ।’ तपाईलाई थाहा नै छ शिक्षा र अध्ययनमा कति ठूलो अन्तर छ ! हो वास्तवमा धूर्ततालाई चलाकी भनेर अर्को नाम दिदै बच्ने गरिन्छ जुन अत्यन्तै असुहाउँदो पनि छ । आफ्नो राम्रो जागिर र आम्दानीको कारणले सम्पन्नताको आडमा नवधनाड्य बन्दै गएका मान्छेहरु नै अरु मान्छेहरुभन्दा पुख्र्यौली सम्पत्तिको लोभ बढी गर्दा रहेछन् भन्ने कुरा त विभिन्न सन्दर्भहरुले पुष्टि गरिरहेकै छन् । वास्तवमा त्यस्तै सम्पन्न मान्छेहरु अंशबण्डाको सवालमा झगडामा उत्रिएका उदाहरणहरु कति छन् कति ! मलाई आश्चर्य लाग्छ मरेको दिनमा सबै छोडेर जाने नै हो भन्ने आदर्श वाक्य बोल्ने आदर्श नायकहरु नै पूख्र्यौली सम्पत्तिको एक इन्च छोड्न तयार हुँदैनन् । भनिन्छ नि ! सबै थाहा हुँदा हुँदै पनि थाहा नपाएको अभिनय गर्नु ।
सबैले जीवनमा आ-आफ्नो भाग खोज्ने यस अंशबण्डाको डरलाग्दो खेलमा म पनि एकदिन सङ्लग्न हुनु नै थियो र भएँ । सबैको अनिवार्य उपस्थिति हुने यस खेलमा मेरो नहुने भन्ने प्रश्न नै आउँदैन म पनि त मान्छे नै हुँ अरु चीज होइन । परम्परादेखि नै खण्डित हुँदै आइरहेको यस्तो श्रृङ्खलामा सामेल हुँदा आफ्नो भूमिका लगभग १० कट्ठा खेतमा सङ्केन्द्रीत हुन पुग्यो त्यो नै सम्पूर्ण मिलाएर मेरो भागमा परेको मैले पाउने जग्गा थियो । त्यसभन्दा बढी पाउने कुनै सम्भावना नै थिएन कारण त्यति नै जग्गा विभाजनको कारणले मेरोभन्दा बाहिर पर्दथ्यो । आखिर दाजुभाइ नै भए पनि अंशवण्डा त हुनु नै थियो र भयो पनि ।
यो सम्पत्तिको नाममा मैले पाएको लगभग १० कट्ठा खेतलाई के गर्ने कहिलेकाहीं एकान्तमा मैले नसोचेको होइन । के यसबाट जीवनको मुक्ति संभव छ के यसबाट आफुले गर्न चाहेका कुराहरुको निकास निस्कन सक्छ ? अब यो लगभग १० कट्ठा खेतले परिवार पाल्ने हो कि आफ्ना सबैभन्दा प्रिय सपनाहरुलाई साकार बनाउनतिर लाग्ने हो ? अब यो लगभग दश कट्ठा खेतले केटाकेटीलाई पढाउने हो कि अझ आफ्नो ठूलो नाम होस् भनेर त्यसलाई बलि चढाउने हो ? अब यो लगभग दश कट्ठा खेतले रोग लाग्दा उपचार गर्ने हो कि भविष्यका दिनहरुमा आउने सङ्घर्षका डरलाग्दा सागरहरुलाई तर्ने हो ?
हो वास्तवमा म अहिले यतिखेर एकदमै असमञ्जसको स्थितिमा छु । के गर्ने के नगर्ने ? अब यो उमेरमा सरकारी जागिर खोज्न हिडौं भने उमेरले नेटो काटिसक्यो जागिरले पत्याउने कुरै भएन । प्राइभेट जागिर कतै खोजौं भने धेरैजसो ठाउँमा आफुले पढाएका र सिकाएका चेला र विद्यार्थीहरु उच्चपदस्थ रुपमा आसीन छन् । मलाई जागिर चाहियो भन्न जाँदा तिनीहरुले आफ्नो गुरुको बारेमा के-के सोच्लान् ! व्यापार व्यवसाय गरौं भने शतप्रतिशत डुब्ने खतरा छँदैछ । बाबुबाजेले नै कहिल्यै नगरेको कुरा गर्दा त्यसलाई कसरी पार लगाउन सकिएला ! होइन स्वतन्त्र रुपमा जीवन निर्वाह गरौ भने जुन कुरा आजसम्म भैरहेकै छ र त्यसको लागि फेरि त्यही लगभग १० कट्ठा खेतको आश्रयस्थलमा आफुलाई फालेर मेरो परिवारलाई बचाउ भनेर गुहार लगाउनु छँदैछ । जन्मदेखि नै विनिर्मित हुँदै आएको यो जीवनले अब पनि कति विनिर्माणहरु देख्नु पर्ने हो ?
ओह ! ‘जिन्दगी सङ्घर्ष हो भन्थे’ साँच्चै नै सङ्घर्ष रहेछ । यसबाट पार पाउनु पर्ने पो रहेछ । जिन्दगी पीडा हो भन्थे यथार्थमा पीडा नै रहेछ त्यसबाट मुक्त हुनु पर्ने पो रहेछ । जिन्दगीलाई को कोले के के भनेनन् र जिन्दगीलाई क-कसले पैसा झैं गनॆनन् र जिन्दगीलाई कसले आँसुमा रुझाएनन् र जिन्दगीलाई कसले आँधीमा बुझाएनन् र लाग्छ पीडाहरुलाई पनि ठूलो चुनौती हुँदो हो मलाई सम्पूर्ण रुपमा आत्मसात गर्न । मानौं यातनाहरु पनि डराउँदा हुन् मलाई गहिरिएर अध्ययन गर्न ।
मनमा अनेक तर्कना खेल्न थाल्छन् त्यसबाट मुक्त हुने कोशिश गर्छु तर सक्दिन । एक मन त लाग्छ मेरो यो लगभग १० कट्ठा खेत गाउँको कुनै कुनामा नभएर केही राम्रो ठाउँमा भएको भए शायद जिन्दगी त्यही हुने थिएन जुन आज मसँग छ । अर्को मन लाग्छ मेरो यो लगभग १० कट्ठा खेत कुनै ठूलो शहरमा भैदिएको भए पनि शायद यथार्थ त्यही हुने थिएन जुन आज मसँग छ । फेरि म सोच्न थाल्छु मेरो यो लगभग १० कट्ठा खेत अझ कुनै विकसित विदेशी भूमिमा भैदिएको भए शायद मेरो स्थिति पक्कै पनि त्यही हुने थिएन जुन आज मेरो छ ।
मान्छेहरु मलाई भन्लान् “अब त तँ लगभग १० कट्ठा खेतको मालिक भइस् ।”
तर म भन्छु “होइन म अब लगभग १० कट्ठा खेतको दास भएँ ।”
मान्छेहरु मलाई भन्न सक्छन् “आफ्नो नाममा कुनै पनि जग्गा नै नभएका मान्छेहरुलाई अब भने तैंले जितिस् ।”
तर म भन्छु “होइन आफ्नो भन्दा धेरै जग्गा भएका मान्छेहरुका कारणले म फेरि पनि हारें ।”
मलाई आश्चर्य लाग्छ वास्तवमा आफुसँग कत्ति पनि जग्गा नभएकाहरुको स्थितिभन्दा त मेरो अवश्य पनि राम्रो हुनुपर्ने हो ! म त खुशी पो हुनुपर्ने थियो ! निश्चित रुपमा आफुसँग कत्ति पनि जग्गा नभएकाहरुको तुलनामा मेरो भागमा त केही भने पनि जग्गा आएको छ म त उनीहरु भन्दा सुखी पो हुनुपर्ने थियो ! तर मलाई लाग्छ केही पनि नभएकाहरुमाथि केही भएकाहरुले जति शासन चलाएका छन् त्यो भन्दा कयौं गुणा बढी धेरै भएकाहरुले केही भएकाहरुलाई बढी शासन गरेका छन् ! मेरो विशिष्ट दुःखको कारण यो पो हो कि ! तपाईले सोच्नुहोस् त ! वास्तवमा भन्ने हो भने केही भएकाहरुले केही पनि नभएकाहरुलाई जुन अनुपातमा दुःख दिन्छन् त्यसको अनुपातमा केही भएकाहरुलाई धेरै भएकाहरुले अत्यन्तै दुःख दिएका छन् ! मेरो महान पीडाको कारण यो पो हो कि ! तपाईलाई लाग्दैन ? शायद यसै कारणले नै हो कि म भयङ्कर रुपमा सङ्घर्ष गर्दा गर्दै पनि पराजित भैरहेको छु ! जित्नेहरु विजयोत्सवमा सामेल भैरहेछन् । शायद यस्तै अवस्थाले नै हो कि म क्रमशः कठिन लडाई लड्दा लड्दै पनि हारिरहेछु मेरो हारमा ताली बजाउनेहरुको ठूलो लश्कर हाँस्दै अघि बढिरहेको म देख्दैछु ।
म मेरो भागमा परेको लगभग १० कट्ठा खेततिर लाग्छु । म निरन्तर आफैंलाई भनिरहेको हुन्छु मेरो परिवारको भविष्य निर्धारण गर्ने खेत । मेरा आकांक्षाहरुलाई निकास दिने खेत । रोग लाग्दा उपचार गर्ने खेत । केटाकेटीहरुलाई पढ्न पठाउने खेत । चाडपर्व आउँदा मीठो खान दिने र राम्रो लाउन दिने खेत । अरु पनि धेरै समस्याहरुको समाधान गर्ने खेत । ओह ! समस्याहरु त हजारौं पो छन् त ! के तिनीहरुलाई लगभग १० कट्ठा खेतले मुक्त गर्न सक्छ होला ? म पसिना पसिना भैसकेको हुन्छु । उफ ! बाधा-व्यवधानहरु त हजारौं पो रहेछन् त ! के तिनीहरुलाई लगभग १० कट्ठा खेतले पन्छाउन सक्छ होला ? मलाई रिँगटा लागेर आउँछ । म एकछिनपछि आफुलाई शान्तसँग एकान्तमा पाउँछु । आफ्नो भागमा परेको लगभग १० कट्ठा खेत नै अब मेरो यथार्थ हो । यसबाट भागेर जाने ठाउँ नै कहाँ छ र ? मलाई लाग्न थाल्छ मेरो जिन्दगी विनिर्मित हुँदै यतिखेर लगभग १० कट्ठा खेतलाई सुम्सुम्याइरहेछ । हो विनिर्माणको यस खेलमा मेरो जिन्दगीले लगभग १० कट्ठा खेतको आँगनमा यतिबेला आफुलाई पाएको छ ।
सङ्गीत आयाम
चितवन, भरतपुर
sangeetaayam@ntc.net.np