कविता : मेरी आमा

~बाबु त्रिपाठी~babu-tripathi

टारीमा कुटो कोदालो लाउँछिन्
हिलो मैलोसँग खेल्छिन्
पसिना हो कि औँलाहरू रोप्छिन्
तर फल्ने बेलामा
सुनका झुप्पाहरू फलिदिन्छन् ।

पक्कै पनि–
मेरी आमा र माटोबीच
गहिरो सम्बन्ध हुनुपर्छ
नत्र सुकिसक्थे होलान् माटाहरू
माटोलाई किन सजीव देख्थिन् र मेरी आमा !

मेरी आमाले देखेकी छिन्–
महलभन्दा बढी झपडीहरू
मेरी आमाले छामेकी छिन्–
नाङ्गा बस्ती र कटेराहरू ।

आकास–
एकटकले हेरिरहन्छ मेरी आमालाई

मेरी आमालाई लाग्छ
त्यो आकास टाढा छैन
मेरी आमालाई लाग्छ
टाढा छ बरू दुःख ।

दुःखसँग के साइनो छ मेरी आमाको
मलाई थाहा छैन
मलाई यत्ति थाहा छ
म भोक लाग्दा आमालाई पिर्छु
टन्न खान पाइन्छ
मेरो सुखमा मेरी आमाको दुःख लुकेको हुन्छ ।

मेरी आमा–त्यत्तिकै आमा भएकी होइनन्

कयौँपल्ट–
नदी बनेर हिमालबाट बगेकी छिन्

कयौँपल्ट–
झर्ना बनेर पहाडबाट खसेकी छिन्

कयौँपल्ट–
तराईलाई चुसाएकी छिन्–
दशधारा दूध ।

जब
म निदाउँछु मेरी आमाको काखमा
मेरी आमा निदाउँछिन्
देश निदाउँछ ।

जब
म ब्युँझिन्छु मेरी आमाको काखमा
मेरी आमा ब्युँझिन्छिन्
देश ब्यूँझिन्छ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.