~पूर्ण ओली~
(५)
मैले वनासिसजस्तै कलाक्षेत्रबाटै धनी हुने बच्चा जन्माउन खोजेको होइन !
राजेश हमाल र रेखा थापालाई मात गर्ने कलाकारलाई जन्माउन पनि सक्तिन म !
म लैला मजनुको प्रेमलाई मात गर्ने प्रेमलाई जन्म दिन सक्तिन !
मभित्र शेक्सपियरको संवादलाई बिर्साउने कुशल वक्ताको भ्रुणको विकास भएको छैन भन्ने कुरामा पनि निश्चिन्त छु !
म क्वेन्टिन टेरेन्टिनो जस्तो पटकथाकार जन्माउँछु भन्न पनि सक्तिन !
मिखायल ज्याक्सन वा टेलर स्वीफ्टलाई उछिन्ने गायक पनि मेरो कोखबाट जन्मिने छैन !
म यो सन्तानलाई जन्म दिन हलीउड, बलीउड त के कलीउड शहरसम्म पुग्ने हैसियत पनि राख्दिन !
मैले इन्साइक्लोप्डिया नै कण्ठ गर्न सक्ने सुपरविद्वानलाई पनि जन्म दिन सक्दिन ।
केही पनि गर्न नसक्ने के म उसोभए कायर जन्मदाता हुँ ? अवश्य होइन ! यदि सापेक्षित कालमा सापेक्षित संसर्गको वातावरण पाएको भए मैले पनि सोचेजस्तै उल्लेखित व्यक्तित्वको, सापेक्षित गुण भएको बच्चा जन्माउन सामर्थ्य राख्नेथिएँ ।
तपाईँहरुले ठम्याएजस्तो यो मेरो लाचारीपन होइन । यसरी मैले लाचारीपना प्रस्तुत गर्नुका कारणहरु भने अवश्य छन् :
गिरी बुढा जस्ता भावनामा कम र व्यावहारिकतामा बढी बहकिने स्वभाव भएका व्यक्तिसंग संसर्गको अवसर जुटेको थियो, हर्म्यानसिं रावेल वा अवरर अल्भीसंग होइन ।
जयकिरण जस्ता मुफतमा गाइदिने गायकसंग रातबिरात बिताउनुपर्ने अवस्था सिर्जना भइदियो, मिखायल ज्याक्सनलाई कहिले देख्ने समेत मौका मिलेन ।
लोकभक्त प्रेमजस्ता पाखे झर्रो बच्चा जन्माउने शुक्राणु भएका नायकहरुसंग अर्को संसर्ग गर्नुपर्ने बाध्यता आइपर्यो राजेश हमालको बाबुसंग होइन ।
मलाई धनबीरजस्ता निर्धन चरित्र बोक्ने व्यक्तिसंग अर्को संसर्गको मौका मिल्यो वनासिससंग होइन ।
बाँकि ? स्वेच्छिक गर्भधारणको लागि मैले नै द्विलिङ्गीको भूमिका निभाउनुपर्यो । गरीब मुलुकको, गरीब गाउँको गरीब वातावरणमा हुर्किएर द्विलिङ्गीको भूमिका निभाउनुपर्दा माथिका सुप्रसिद्ध व्यक्तिहरु जन्माउन हैसियत राख्दैराख्दैनथेँ मैले ।
यो ठाउँमा मेरो शब्दकोष सुक्ष्म छ, लवज सुक्ष्मतर छ र प्रस्तुतिको आत्मा सुक्ष्मतम् छ । तसर्थ मेरो भावी सन्तानलाई विश्वप्रसिद्ध व्यक्तिहरुसंग तुलना गर्नुले कुनै अर्थ बोक्दैन यहाँ ।
गर्भदानकर्ता बाबुहरु हो ! तपाईँहरुले यी कुरा मनन गरिदिनैपर्छ ।
अतः आफ्ना सन्तानलाई देखेर लजाउनुपर्दैन र लुकीछिपी हिड्नुपर्दैन तपाईँहरु । तपाईँहरु विश्वस्त हुनुहोला कि मेरो गर्भमा विकास भैरहेको तपाईँहरुको भावी सन्तानले कुनै कालमा तपाईँहरुको इज्जत प्रतिष्ठामा एउटा मात्र इँट थप्ने कार्यमा भए पनि अवश्य मद्दत गर्नेछ ।
(१)
शुरुमा कमलजीले एकजना पुराना ज्योतिष मोरासलाई बोलाइदिएका थिए । उनले मेरो हविगत देख्नेबित्तिकै लेघ्रो तानेका थिए, “मैले यो के देखिरहेको छु ? तिमी त गर्भेणा भएछौ ।”
यो घटनाको भुक्तभोगी म स्वयम् हुँ भने गर्भेणा शब्दले किन अत्तालिनु पर्थ्यो र मैले ? जब जब यही वास्तविकता मैले इलाज घरका सहपाठीहरुलाई वक्थेँ । मेरो कुरा सुनी उनीहरुले भन्थे, “धत् यस्तो कुरा पनि कहीँ हुन्छ ? यो कुनै जादू वा अद्भूत कुराहरु घटित हुने जमाना होइन । वास्तविक संसारमा जन्म लिएर अवास्तविक कुरा गर्दै हिड्ने ? यो जमानासम्म आइपुग्दा एकजना पुरुषले गर्भधारण गर्छ भन्दै प्रचारबाजी गर्नु त सरासर पागलपन हो ।”
तर मोरासले स्वीकारोक्ति दिए मेरो अकाल्पनिक घटनाको । साधुवाद् छ मोरासलाई ।
उनले थपे :
“तिम्रो शरीरको भ्रुणले स्वस्थ मानवको आकार ग्रहण गरिसक्यो । अतः अब तिमीले सीमाभञ्जन गर्दै सन्तानको जन्म दिनुबाहेक अर्को विकल्प छैन । तर तिमीले परम्परागत गुप्तमार्गबाट होइन कि ओष्ठमार्ग, कर्णमार्ग, चक्षुमार्ग, वक्षमार्ग वा अंगुष्ठमार्गमध्ये कुनै एक वा वहुवैकल्पिक मार्गहरुको प्रयोग गरेर जन्म देऊ यस सन्तानको ।”
मैले उनीबाट पहिलोपल्ट निश्काषण विधिबारे विकल्प बोध गरेँ । मेरो मस्तिष्क पटलभरि भावीसन्तानले हुत्ति खेल्न थाल्यो ।
त्यसपछि देखाइएको थियो अर्का डाक्टरलाई । त्यस दिन इलाजको लागि आए नाम चलेका डाक्टर थिए यी दयाराम । इलाजको प्रारम्भ नगर्दै उनले ममाथि केरकार शुरु गरेका थिए ।
“ए, नानी ?”
यिनी जादूगर हुन् कि डाक्टर हुन् मैले भेद खुट्याउन सकिन । जादूगर यस मानेमा कि म प्राकृतिक रुपमा आफू पुरुष हुँदाहुँदै पनि म साँच्चिकै एक किशोरी गर्भिणीमा बदलिएँ ।
म घरि पुरुष र घरि स्त्रीमा रुपान्तरित भइरहेँ यिनको डायग्नोसिसभरि । यिनकोमा मात्र होइन । यिनीपछिका अरुको इलाजको क्रममा पनि म स्त्री र पुरुषमा रुपान्तरण भएको अनुभूति गरिरहेँ ।
“तिमीले तिम्रा एक अत्यन्तै इमान्दार लोग्ने र घरभरि बच्चा छँदाछँदै हृष्टपुष्ट र ह्याण्डसम देखिने युवकहरुको गर्भधारण किन गरेकी ?” प्राडाले ठाउँको ठाउँ चोर समातेका थिए ।
उनको यो प्रश्नले म त खङ्ग्रङ्गै भएकी थिएँ । मेरो मुटु ढुकढुकी एक्कासी बढेर गएको थियो । म डरले निलीकाली भएकी थिएँ । तर प्रकटमा भनिदिएकी थिएँ, “पात्तिएका बुढा !”
म कल्पनामा डुबेँ । म डराउनुको कारण थियो । ज्योतिष मोरासले भनेजस्तै म गर्भिणी छु अहिले । यो पटक मलाई गर्भधारण गराउने मेरा आफ्नै पोइ होइनन् । अरु कोही हुन् । एक होइन, दुई होइन, आधा दर्जन कोहीहरु । उसोभए त्यो बलात्कार होला भन्ठान्नुहोला तपाईँहरु त्यो पनि होइन । मैले मेरो इच्छित गर्भधारण गरेकी हुँ ।
म कल्पनाको संसारबाट अकाल्पनिक आँफैलाई चियाएँ ।
म गम्भीर इलाजमा रहेको छु अहिले । धेरै समय भयो । यसै बेथाको इलाजको लागि सहजीकरण गरिरहेका छन् कमलजीले ।
म जिल्लातिर हुँदा नै कमललाई नामले चिन्ने गर्दथेँ । उनले पचपन्न नेपाली अवतारहरुसंग साक्षात्कार गर्ने अवसर पाइसकेकोले मेरो बेथाको उत्तम इलाजकर्ता यिनै हुने ठम्याइरहेको थिएँ । यही कमलको खोजीमा मैले काठमाण्डौका धेरै तालतलैया र हिलाम्मे खेतहरु चहारेँ र एकदिन भेट्टाइछाडेँ फक्रिरहेको कमललाई । उनी आफै अरुको रोगको इलाज गर्दा रहेनछन् । उनी भेट्टाइदिँदा रहेछन् नामूद डाक्टर वैद्यहरुलाई । अतः चाँजोपाँजो मिलाइदिए अन्य डाक्टर, ज्योतिष, वैद्य, धामीझाँक्री तथा झारफुकेहरुसंग भेटघाटको ।
(३)
कमलजीले अर्को दिन बोलाएका थिए श्रवण मुकारुङलाई । उनले मेरो गर्भको अनुमान गरेर एउटा उद्गार प्रकट गरेः
“मालिक
दुईसय चालीस वर्ष पहिले तिमीबाट बलात्कृत मेरी बहिनी
अहिलेसम्म तिम्रो गर्भ पेटमै बोकेर
प्रसव पीडाले छटपटाइरहेकी रहिछे
मैले के देखेँ यो ?
ऊ बौलाएकी हो कि ? मालिक, तिमी बौलायौ ?”
अहिले प्रसङ्ग बलात्कार र बलात्कारीको कोट्याइरहेको छैन म । प्रसङ्ग हो इच्छित गर्भको । इच्छित गर्भदानकर्ताहरु को को हुन् भनी औँल्याउन मलाई कुनै शरम छैन । म नाम किटेरै भनिदिनसक्छु । के तपाईँहरु सुन्न चाहनुहुन्छ ?
मेरो कुनै बुनीबनाउ योजना थिएन सन्तान प्राप्तीको । यही सिकाएका थिए अमर न्यौपाने, बुद्धिसागर, अखण्ड भण्डारी, नयनराज पाण्डे तथा लक्ष्मण गाम्नाँगेहरुले । उनीहरुले भन्ने गर्थे तिमीले विषयवस्तु खोजेर भौँतारिनै पर्दैन । जो तिम्रो दैनन्दिनीमा टुपुल्किन्छ, त्यसैलाई पछ्याऊ । त्यसैको आनीबानी, रहनसहन, डुलाइघुमाइको अवलोकन गर । त्यसको अनुभूति स्वादन गर र संसर्ग गर । तिमीले सोचेभन्दा सुन्दर सन्तान प्राप्त गर्न सक्नेछौ ।
त्यसरी नै आए सबै मेरो दैनन्दिनीमा यी गर्भदाता महापुरुषहरु । नियमित तर आकस्मिक रुपमा ।
मेरो यौवनको तुष्टि लिने नजरहरु खनिइरहन्थे ममाथि उत्तरोत्तर रुपमा । पहिल्यैदेखि । म जति छलिन खोजे पनि पछ्याइरहन्थे विषालु नजरहरुले ।
मलाई यस्ता सैयौँ तृषित नजरहरुबाट छलिएर हिड्न निकै गाह्रो भइरहेको थियो । त्यस्तैमा एक रातको कुरा हो गिरी बुढा र मनलालहरु त हुल बाँधेर नै मेरो शयनकक्षमै आइपुगे । उनीहरुले मेरो जवानीको खुब बखान गरे र फर्किए । अर्को दिन आएर मेरो वक्षस्थलको बयान गरे । अर्को दिन मेरो पेटको बयान गरे । अर्को दिन मेरो सुडौल तिघ्राको बयान गरे । मेरो बयान गर्नमिल्ने अंगहरु बाँकि नरहेपछि आफ्नै अंगको बखान गर्न थाले । अराष्ट्रिय गीतहरु गाएर फुलाएफस्टाए । अनि म आँफै संसर्गको लागि लालायित बनेँ । यी गर्भदान गर्न क्षमता राख्ने मानवहरुलाई पनि मेरो साधुवाद् छ ।
यस्तैमा अर्का नवयुवक जयकिरणसंग भेट भयो रहर पाल्ने शहरमा । उनी त कुमार केटा । पहिलो नजरमै दिल बस्यो उनीसंग । उनले भने म ढुङ्गामा प्राण भरिदिन सक्छु । प्राणमा ढुङ्गा भरिदिनसक्छु । तिमीलाई विश्वास छ भने मैसंग बसेर हेर । उनको इच्छामुताबिक केही रात उनीसंग बिताइदिएँ उनकै घट्टेकुलोस्थित डेरामा । उनलाई साथ दिए किरण, सोनाम, विपना, प्रतिक्षा र पुष्पाहरुले । नभन्दै उनीहरुको छोटो प्रयत्नबाट नै मेरो गर्भमा अंकुरण भइरहेको निर्जीव डिम्बमा प्राण भरिदिएर सजीव भ्रुण तुल्याइदिए । यस वापत उनीहरुले कुनै शुल्कको चाह राखेनन् मसंग । उनीहरुले यो गुण नलगाएको भए सायद मेरो डिम्ब एउटा मासुको डल्ला मात्र रहेर छोटै अवधिमा तुहिनेवाला थियो । सन्तानको दर्जा पाउन सक्तैनथ्यो यसले । तसर्थ साधुवाद् छ यी प्राण भर्ने कला पारखीहरुलाई ।
फेरि गर्भमा यही भ्रुण बोकेर गएँ माइती देश प्रेमभक्त लोकतिर । जहाँ मैले गर्भ विकास गर्ने उचित वातावरण पाएँ । त्यति मात्र होइन । मेरो भावी सन्तान कस्तो हुँदैछ भन्ने झल्को दिन उपयुक्त गुण भएका नमूना सन्तानहरु समेतको प्रबन्ध मिलाइ पाएँ । यी सन्तानहरुको पूर्वाभाष नपाएको भए मैले भावी सन्तानको कल्पना नै गर्ने सक्तिनथेँ कि ! अतः यी सबैलाई मैले यस सन्तानको गर्भदाताको रुपमा लिनै पर्ने हुन्छ र प्रेमभक्त लोकलाई पनि मैले साधुवाद् दिनैपर्छ मैले ।
यस्तैमा संयोगवश् कलीयुगकालीन सत्यवादी धनबीर र दिनेशसंग जम्काभेट हुनगयो । त्यसताका सत्य चियाउने दुरबिन यिनीहरुको हातमा मात्र थियो रे । यही सुनेको थिएँ अरु अरुबाट ।
उनीहरुले फकाए “तिम्रो भावी सन्तानमा सत्यवादिता प्रकट भएन यस युगमा कुनै चमत्कार हुनेछैन । हामीसंग छ त्यस्तो शुक्राणु । आऊ, हामीसंग संसर्ग गरी यसको भरपूर उपयोग गर गर्भको । तिम्रो गर्भबाट सत्यको जन्म गराउन हामी मद्दत गर्दछौँ ।”
आफ्नो अमूल्य कामलाई समेत थाती राखेर संसर्गको लागि तीनचार घण्टा समय श्रम र लागत खर्चिए यिनैले । त्यति मात्र होइन भावी सन्तानको डेलिभरीको लागि काठमाण्डौस्थित एभ्सनेपाल नामको डेलिभरी युनिटमा भर्ना समेत गराइदिए यिनीहरुले ।
फर्कँदा धनबीरले भनेका थिए, “इलाजको शुल्कको चिन्ता नगर्नु त्यो तिमीलाई लाग्नेछैन ।”
म खुशीले आल्हादित भएकी थिएँ यो आश्वासनले । विभिन्न गर्भदाताहरुले शुरुदेखि नै मेरो भावी सन्तानको लागि गरेको योगदान कम महत्त्वपूर्ण थिएन । यी सबै गर्भदाताहरुले नै मेरो सन्तानको बाबु बन्ने हक राख्दछन् । साधुवाद् छ यी सबै वास्तविक बाबुहरुलाई ।
जब म यस युनिटमा भर्ना गरिएँ । त्यसपछि मेरो प्रारम्भिक खुशीले निरन्तरता पाउन सकेन । मेरो प्रसव वेदना दिन प्रतिदिन चर्किँदै जान थाल्यो । तर यस पीडामा बेखबर रहे भावी सन्तानका गर्भदाताहरु । मैले उनीहरुसंग यो पीडा र सुख मिश्रित कुरा कानेखुशी गर्न चाहन्थेँ । तर मेरो नजिक कोही परेन । कोही सम्पर्क बाहिर रहे त कोही सम्पर्कभित्रै रहेर पनि बेपरवाह रहे । यता दर्ताशुल्क नबुझाई गर्भे सन्तानलाई कुनै हालतमा डेलिभरी नगराउने र आफूखुशी यसलाई जन्म पनि दिन नपाउने चेतावनी दियो एभ्सनेपालले । मैले संकटको भूमरीमा फस्दै गएको अनुभूति गरेँ । मैले यी गर्भदाताहरुको सट्टा अर्कैको गर्भधारण गरेको भए कम्तीमा प्रसवको समयमा त साथ पाउँथेँ कि ? युवराज नयाँघरे आएर भनिदिए एक हातको ताली बज्ने जमाना हो यो । सँधै दुवै हातको तृष्णा गरेर कहाँ हुन्छ ?
मेरो अवस्था बिग्रँदै जाँदो थियो । मेरो पीडा ज्यामीतीय दरमा बढ्दै थियो । गर्भाशयबाट प्रसवरस बग्न थालिसकेको थियो । मेरा नयनहरु वक्षस्थलमा रुपान्तरित भई मातृत्व पग्लिएर दूग्धधारा बग्न आँटेका थिए । सायद पाठेघर नभेट्टाएर मुटुमा ओर्लिएको थियो मेरो भावी सन्तान । त्यसैले मुटू नै फूट्लाजस्तो गरी छाति चिरेर बल्जफ्ती बाहिर निस्कन खोज्दै थियो । अति पीडाको मारवश् म अर्द्धमुर्छित अवस्थामा घरिघरि पुग्ने गर्थेँ । सायद गुप्ताङ्गहरुबाट मलमुत्र समेत निस्कँदै थियो । म यी विकारहरुमा लतपत भइरहेको थिएँ । तर कसैलाई यसको बोध भएन ।
मैले आधा आकाश ढाक्ने आमाहरुको पीडालाई आत्मैदेखि बोध गरेँ । म रक्तमुच्छेल गर्भेणामा परिणत भएँ । साधुवाद् छ संसारका सम्पूर्ण सिर्जनाका आमाहरुलाई ।
मैले भावी सन्तान जन्मनुको लागि कुनै व्यावसायिक प्रयोजनको लागि नभै शुद्ध आत्मरञ्जनाको लागि हो भन्ने कुरामा विश्वस्त भैसकेपछि एभ्सनेपालले पनि मेरो डेलिभरी निशुल्कप्रायः गरिदिने आश्वासन दियो । यसले मेरो पीडालाई केही मत्थर गरिदियो ।
मैले कमलजीलाई ‘गर्भाधानले होइन कि गर्भदानले पिरोलिरहेको छ, मलाई’ भनी बारम्बार स्पष्टोक्ति पेश गरिरहेँ । उनले यो बेथाको मूल जड कतै व्याकरणमै अड्किएको छ कि भनी व्याकरणका ज्ञाता शरद्चन्द्र वस्तीलाई ल्याएर देखाए । वस्तीले ‘गर्भाधान’ र ‘गर्भदान’ दुवै पर्यायवाची शब्द हुन् र दुवै पाच्य छ । जुन कुरा पाच्य छ, त्यही नै व्याकरण हो भनी सम्झाएर गएका थिए उनी ।
मलाई सन्तानको अनुहार हेर्ने व्यग्रताले यो प्रसव पीडालाई अलि हल्का तुल्याउँदथ्यो । मैले सोचेँ यो सन्तानको नाम राखिदिनेछु म “मान्छेको मायाँ” । मान्छेहरुले मायाँ नगर्दा नगर्दै सिर्जना भएको मान्छेहरुको मायाँ । आहा! अति सुन्दर हुनेछ यो नाउँ, यस सन्तानको विशेषतालाई चिनाउनलाई ।
(२)
होइन, होइन । म प्राकृतिक रुपमा म आमा हुने गुण बोक्ने स्त्रीलिङ्गी होइन । म यथार्थमा उक्लिएँ । म त बाबु । हुनेवाला बाबु । मलाई भ्रम छर्न प्रयास गरेका छन् मेरो इलाजकर्ताहरुले ।
तर अपशोच् बाबु भए पनि बलात्कारीहरुबाट पटकपटक बलात्कृत भइरहेको छु र तिनीहरुको अवैध सन्तान समय नपुगी पटकपटक तुहाइदिएको छु मैले । बलात्कारीको पनि वास्तविक सन्तान र मेरो पनि वास्तविक सन्तान थियो भने त्यसलाई अवैध त नभनेको भए पनि हुन्थ्यो । तर यो समाजले त्यही भनेपछि मात्र कुरा बुझ्दछ ।
हो, मैले विभिन्न मनोसामाजिक, आर्थिक, साँस्कृतिक कारणहरुका वशमा परेर ती सन्तानलाई थाङ्नामा बेरेर कहिले नदी किनारमा, कहिले फोहोरको डंगुरमा त कहिले जङ्गलको बीच स्याउलाले पुरपार पारेर आउनुपरेको थियो कैयौँ रातहरुमा ।
बलात्कारको तिब्र इच्छामा बिचेत भएका बलात्कारीहरुले बलात्कृतको खुट्टा, हात, हृदय, आँखा, कान, मुख केही भन्दैनन् । क्षतविक्षत् पारिदिन्छन् कर्मेन्द्रीय, ज्ञानेन्द्रीय सबका सब ।
ती घाँटी निमोठिएर मिल्काइएको भनिएका अवैध र अस्वीकार्य सन्तान पनि यही समाजमा कसैको पालनपोषणमा हुर्किरहेका छन् र उनीहरु दिनपरदिन समयभन्दा बलबान हुँदैजाँदा छन् । बलात्कारीहरुले अहिले आफ्नो सन्तान नठाने पनि भोलि उसलाई ‘तेरा बाबुहरु यिनी यिनी हुन्’ भनी औँल्याइदिन बाध्य हुनुपर्नेछ । ती बलात्कारीहरुले ‘यो मेरो सन्तान हुँदै होइन’ भनी हज्जारौँ प्रमाण पेश गरिरहने छन् त्यसबेलासम्म । तर वास्तविक बाबुका अस्वीकार्य सन्तानहरुले लखेटिरहनेछन् भोलिको दिनमा आफ्नै आमाका बलत्कारी बाबुहरुलाई ।
त्यसले नै मेरा विगतका अप्रसव पीडाहरु भुलाइदिने आत्मतुष्टि लिएर बाँचिरहेको छु म अहिले । एक भ्रुणलाई समय नपुग्दै तुहाएर घाँटी निमोठेर मिल्काउँदाको पीडा जन्मदिने आमारुपी बाबुलाई कत्तिको असह्य हुन्छ, त्यो सुनाउँला कुनै दिन ।
(४)
यो पनि कारण थियो मैले कमलको खोजी गर्नुको । एक दिन कमलजीले विप्लवलाई बोलाइदिए । उनले यो हरफ सुनाइदिएः
“प्रोफेसरको जवानीभन्दा पात्लो जङ्गलमा
च्याउको रक्तमुच्छेल डायरी सोध्नू
नाइटोमा लाउनुपर्ने लाली
नाकको नाङ्गो खम्बामा पोत्नु !”
मैले विप्लवजीसंग आफूले मरिगए केही नबुझेको गुनासो पोखेँ । उहाँले यो हरफ मलाई नभई मेरो गर्भमा रहेको सन्तानलाई सुनाएको जिकिर गरे । मेरो भावी सन्तानले पृथ्वीमा पाइलो टेक्न नपाउँदै मन्त्र सुनाउन पाएकोमा एकछिन मख्ख परेँ । यसले पनि मेरो पीडा मत्थर हुन सकेन ।
मेरो ध्यान फेरि आफ्नै सरोकारवालातिर खिँचियो ।
आखिर किन उदासिन रहे यो सन्तानका गर्भदाताहरु ?
छ, कारण छ । उनीहरुलाई थाहा छ किः
यस सन्तानले राजेश हमाल र अग्लाइ हुनेछैन र ऊजस्तो अभिनय गर्न सक्ने छैन ।
युधिष्ठरजस्तो सत्यवादी हुने छैन यो ।
यो हुर्किने वातावरणको कतै तारतम्य मिलेको छैन । अँध्यारोपन नै यसको मुख्य वातावरण हो ।
यसले समाजका अन्य व्यक्तिभन्दा फरक अनुहार हुनेछ ।
यसका कुनै कथा र उपकथा हुनेछैनन् ।
म पनि मान्छु गर्भदाताहरु । यी यावत् प्रकारका थुप्रै कमीकमजोरी छन् मेरो सन्तानमा । तै पनि अरुभन्दा भिन्नै हुँदाहुँदै पनि तपाईँहरु लगायत आम मान्छेहरुको अनुहार मिल्छ यस सन्तानमा । त्यसैले त मैले यसलाई “मान्छेको मायाँ” भनेर सम्बोधन गर्नेवाला छु ।
तर तपाईँहरुले आफै बुझिदिनोस् । तपाईँहरु जुन जगमा उभिएर मलाई गर्भदान गरिरहनुभएको थियो, त्यही जगको कुरा स्मरण गर्नुस् त !
(६)
पृय पाठक, जसले यो लेखसदृश् आत्मविज्ञापनको अन्तिम हरफसम्म पढ्ने र बुझ्ने धैर्य गरिदिनुभयो ती सीमित पाठकहरुमध्ये तपाईँ पनि पर्नुहुन्छ । मेरो सानो आकाशको सीमित ताराहरुमध्ये एकमा तपाईँ पनि पर्नुहुँदोरहेछ भन्ने विश्वास लिने आधार हो यो । अतः मेरो भावी सन्तान “मान्छेको मायाँ (गीती नाटक)” लाई एकपटक राम्रोसंग बुझिदिनुहुनेछ र अरुलाई पनि बुझ्न सिफारिश गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । तपाईँले पनि स्वीकार गर्नुस्, “साधुवाद्” यो गर्भेणाको रक्तमुच्छेल प्रसव ओछ्यानबाट ।
२०७१।१०।१० चाँगुनारायण
रचनाकारको ब्लग : www.purnaoli.com.np
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )