~भैरव अर्याल~
साँचै भनूँ भने बोली फुटेदेखि बाक्य बन्द नहुन्जेल सबभन्दा बढी लिने अर्ति र दिने उपदेश साँचो बोल भन्ने नै हो । बाह्रखरी विशारददेखि लिएर विद्वत् शिरोमणिसम्मका गुरुहरूको पहिलो दीक्षा र सानो वर्णमालादेखि लिएर महापुराण मालासम्मका ग्रन्थको पहिलो शिक्षा पनि साँचो बोल नै भन्ने सुनिन्छ । भाषा मात्र फरक हो, भावना बुद्धका आर्य अष्टा¨ पढूँ वा क्राइष्टका टेन कम्यान्डमेन्ट सुनूँ ऐजन बमोजिम साँचो बोल्ने आदेश नदिएको कसैले छैन । यसरी सबतिरबाट एक स्वरले चिच्याएपछि कसै न कसैले त सा“च्चै साँचो बोलिदिनुपर्ने हो, तर साँचै बोलूँ भने साँचो बोल भनी अर्तिमाथि अर्ति थप्नेहरूकै मात्र बोली केलाउँदा पनि ७५ प्रतिशत झुठ नमिसिएको होला जस्तो लाग्दैन । प्रमाणको लागि धेरै किन कोट्याऊँ– “जब–जब धर्मको ग्लानी र अधर्मको उत्थान हुन्छ, तब म आउँला” भनी आश्वासन दिंदै सुइँकुच्चा ठोकेका भगवान् कृष्ण उनकै मूर्तिहरूको चोरी–ब्यापार चलिसक्दा पनि पटक्क फर्कदैनन् । लौ तपार्इं नै भन्नोस्, सबै धर्म छाडेर मेरो शरणमा आऊ भन्ने भगवान्ले आप्mना शरणार्थीहरूलाई यो अनिकालमा ख्वै ख्वाउन सकेको ?
तर भगवान्ले साँचो बोल्न सकेनन् भन्दैमा मान्छेले पनि सत्तैmन भन्ने केही छैन । कृष्णले आफ्ना पालामा गर्न नसकेका कैयौं काम मान्छेले अचेल गरिराखेको छ । नपत्याए हेर्नोस्, महाभारतको लडाईंमा अहिलेको जस्ता शस्त्रास्त्र थिए त ? न ट्याङ्क थियो न एन्टी एयरक्राफ्ट । भैगो लडाईंको कुरा छाडिदिउँ, तेत्तीसकोटी छोरी पाउने दक्षप्रजापति र सय छोरा पाउने धृतराष्ट्रलाई मान्छेले पाएको भए भ्यासेक्टोमी नगरी किन छाडिदिन्थ्यो ?
त्यसैले सधैं नसकिए पनि १२ महिनाको १ महिना या त्यति पनि नसके ३६५ दिनको १ दिन मात्रै भए पनि साँचो बोल्न किन नसकिएला ? नभए त साँचो बोली भन्ने त मान्छेको संसारबाट ठ्याम्मै हराउने पो भयो ए ! यसरी सोच्दै ल्याउँदा मलाई पनि एकदिन साँचो बोल्ने रहर जाग्यो । साईत खोज्दा खोज्दा मैले साँचो बोल्ने साइत गाईजात्राको दिन पाएँ । साँचो बोल्दा कुनै कानुन लाग्न आइहाल्यो भने आज गाईजात्रा भनी उम्किन सजिलो होला भन्ने सुरले पनि यही दिन साईत निकालेको हुँ । त्यो एक दिनलाई दिनभर ज्यान गए पनि झूठो बोल्दिन भन्ने सङ्कल्प दोहोर्याउँदा दोहोर्याउँदै एकदिन गाईजात्राको घाम पनि झुल्कन्छ । तर आफ्ना कोठामा घाम सुल्कनु र मामा ससुरा झुल्कनु एकैपटक पर्छ । जर्याक–जुरूक ओच्छ्यानबाट ओर्लेर म सङ्कल्प दोहोर्याउँछु कमसेकम आज दिनभरि मैले साँचो बोल्नुछ, कतै झूटमा पल्केको जिभ्रोले एकाबिहानै ब्रत भंग नगराई देओस् । उनको नमस्कार फर्काउँदा पनि कतै झूठ बोलिन्छ कि भन्ने डरले म हात मात्र उठाउँछु जिभ्रो चलाउँदिन । तर उनी प्वाक्क सोधिदिन्छन्– ‘ओहो ज्वाईलाई सञ्चो छैन जस्तो छ नि, अनुहारै मलीन देखिन्छ ?’ उनको सोधाईले दिमागमा बडेमानको घट्ट झुन्डाइ दिन्छ । तर म झूटदेखि उम्कन छोटकरी जबाफ दिन्छु– सञ्चै छ । यति उत्तरले बुझ्ने मामा ससुरा भैदिएको भए प्रश्नै उठाउँदैनथे । कुरा फेरि खोसे्र– राती सुकला कम भयो कि, नजर राता छन् नि ? उनको कुतुहल सत्य थियो, तर आफूले सत्य बोल्ने कसरी ? एउटा साँचो बोल्दा आफ्नो कुमाइँको जात गुण्टा बोकेर लाहुर गैहाल्न, अर्को सत्य बोल्दा मामाका अगाडि भान्जी चाहिँले दोलाईले मुख छोपेर भण्डार कोठातिर भाग्नुपर्ने ! त्यसैले सत्य भंग नगरीकन उम्कने बाटो खोज्दै भन्नुपर्यो– त्यस्तो खास केही होइन, बरू यहाँ यति सबेरै कताबाट ?
उनले खोकखाक गरी सकेसम्म ताकत बटुलेर सत्य बोले– कहाँ आज्ञा हुन्छ ज्वाइँ, छोरो रामे सिकिस्त भएर अस्पताल नलगी भएन, यस्तो सङ्कट परेको बेलामा पैशुपाध्याले खुट्टा छोडी दिएर झन् सङ्कट पारिदियो । भए एउटा गैंडो घिच्याउन पाइन्थ्यो कि भनेर आ’को ?
कुरा सुन्दा फेरि मेरो साँचो बोल्ने ब्रत थर्र काम्यो । छैन भनूँ सयवटा रूपियाँ पक्कै छ, छ भनूँ आफ्लाई पर्सि नै पिकनिक जानुछ, साहिंली मोरीलाई सिनेमा लानुछ, मौका परे एक छाक घरैमा मीठो चोखो खानुछ । यी सब साँचा कुरा भनिदिउँ उनको छोरोको औषधि गर्नुपर्ने र मेरो पिकनिक जानुपर्ने समस्याको तुलनै हुन सक्दैन । तपाईं स्वयंलाई अनुभव होला, पैसो पैँचो दिन कति गाह्रो हुन्छ, यसमाथि पनि आफ्नै ईष्टमित्रलाई दिन त झन् अप्ठ्यारो, न हम्मेसी माग्नहुने न माया मार्न सकिने । न घिउखाने कटाउन पाइन्छ न ब्याज उठाउन । त्यसैले झूठ बोल्न पनि नपर्ने पैसो उम्काउन पनि नपर्ने कुनै वैज्ञानिक उपाय सोच्दासोच्दै आधाघण्टा आफ्नो मुखबाट वाक्यै फुटेन । झूट बोल्नुबाट जोगिने एउटै मात्र उपाय मौनब्रत हो भन्ने कुरा त बुझियो, तर छोरो सिकिस्त भएका इष्टमित्रका अगाडि कतिबेर मौनब्रत लिने ? उनी छट्पटाउँदै उठेर भन्नलागे– भैगो ज्वाइँ चिन्ता नगरूँ, पैसो भन्ने पङ्खी सधैँ गोजीको पिंजडामा कहाँ बसिरहन्छ र ! मुख– ङिसिक्क पार्दै आफू पनि चटपटाएर एकपटक हाई गरी आङ तानेपछि बल्लबल्ल अलिकति ताकत आएछ क्या र, खल्तीबाट २५/– रु. झिकेर दिँदै भनें– अहिले काम चलाउँदै गरूँ, मेरा पनि धेरै काम छन्… । ‘उन’लाई बिदा गर्न पाउँदा मलाई ५० प्रतिशत सन्तोष र ५० प्रतिशत असन्तोष दुवै लाग्यो । सन्तोष अलिकति भए पनि साँचो बोल्न सकेकोमा थियो भने असन्तोष पिकनिक जाने बजेट खुस्केकोमा ।
यस घटनापछि मैले फेरि आफ्नो मुटु सकेसम्म दह्रो पार्न सत्यको महत्व मनन गरें । साँचो बोल्ने जोड दिंदै कथिएका श्लोक, शायरी, दोहा चौपाई जाने जत्ति सम्झें र कलेजका केही गोप्य रूपले गर्नुपर्ने कार्य गर्न थालें । थालेको मात्र के थिएँ ढोकैबाट छिमेकीजीले सोधे– ‘क्या कर रहे हो कुमाईजी ?’ तिम्रा बाबुको जगल्टा केलाउन लागेको भनिदिउँ कि जस्तो लागेको थियो तर झूठ बोलिने डरले भनिनँ । आफ्नो कोठामा को के गरिरहेछ कसलाई के चासो ? त्यसै प्वाक्क के गर्न लाग्नु भो भनी सोधिदिने ? त्यसको जबाफ के दिने ? मैले केही पनि दिइनँ । खाली झ्यालबाट मुण्टो निकालेर दुईचारौटा दाँत देखाइदिएँ । उनले सोधे– ‘आनन्दैमा हुनुहुन्छ ?’ यहाँनेर भने मलाई पर्नु फसाद पर्यो । आनन्दै छैन भनूँ के भयो भन्ने ? अर्को प्रश्न आइहाल्छ, आनन्दै छु भनूँ आफ्नो टाउकोको बाहिरीपट्टि जति रौं छन् भित्रपट्टि त्यत्तिकै फिक्री छन् । तैपनि केही हाजिर–जबाफ त गर्नैपर्यो, भनें– आनन्द र बेआनन्दको कुरा सर्वोच्चानन्द बिना खुल्दा पनि खुल्दैनन्, दब्दा पनि दब्दैनन्, सन्चै चाहिँ छु । उत्तर सुन्नेबित्तिकै कस्तो निमोठिया कुरा गर्नुहुन्छ ए कुमाईज्यू भन्दै उनी रन्केर हिंडे, म आºनो काममा लागें ।
स–साना शिष्टाचारका कुरामा त साँचो बोल्न यति मुस्किल पर्छ भने ठूलठूला कुरामा कसरी झूठबाट जोगिने ? व्यवहारका प्रत्येक पाइलामा हामीलाई साँचोले जोख्छ, तर तराजु झूठपट्टि नै लच्केको हुन्छ । आयको बेहोरा, आयात निर्यातका फाँटवारी, प्रोक्योरमेन्टको बिल, वादी–प्रतिवादीका वयान, नेताका भाषण, राजदूतका शिष्टाचार, सी.आई.डी. का गफ इत्यादिमा त साँचो सिला खोज्नुपर्छ, पर्छ । लोग्नेस्वास्नीका गन्थन, दिदीबहिनीका सल्लाह र केटाकेटीका खेलमा पनि साँचोभन्दा झूठो बोलीकै आधिक्य पाइन्छ । म पढ्ने स्कुलमा एकजना संस्कृत पढाउने गुरु थिए, दिनभर लेघ्रो तानीतानी उनी घोकाउँथे– सत्यंवद– साँचो बोल । तर उनले पढाउन थाले कि त कोही पिशाव फेर्न जान्छु भनी चुरोट तान्न पुग्थे, कोही कलम हरायो भनी भकुण्डो हान्न पुग्थे । आधा पिरेडमा क्लास पनि आधा नै रित्तिन्थ्यो र गुरु पनि आज मेरो जिल्ला शिक्षा अधिकारीकहा“ जानुछ भन्दै घरतिर सोझिन्थे, हामी कराई–कराई भन्थ्यौं– सत्यंवद– साँचो बोल ।
त्यसैले शङ्का लाग्छ, साँचो बोल भन्ने कुरा खालि भन्ने कुरा मात्रै हो, बोल्न सकिने चाहिँ कुरै होइन कि ? तपाईंले वैंसमा कतिवटीको म्वाईं चोर्नु भयो भनेर तपाईंका बाले, गुरुले या यस्तै कुनै मान्यजनले सोधे भने साँचो साँचो जबाफ दिन सक्नुहुन्छ ? पक्कै सक्नुहुन्न । अझ भनूँ भने सबभन्दा बढी झूठ मान्यजनसितै बोलिन्छ । त्यस्ती कोही न कोही बहिनीसित पनि तपाईंको परिचय होला जो रत्नपार्कदेखि बाइसधारा उद्यानसम्म घुमेर अबेर भएको साँझ आमाले सोध्दा डराई–डराई भन्छिन्– साथीकहाँ जाँचको गेसपेपर लिन गा’को भात नखाई पठाउदै पठाइन, त्यसैले अबेर भा’को । सेक्स त झन् साँचो बोल्ने क्रियाको बिलकुलै उल्टो क्रिया हो, यसमा सबैले साँच–साँचै बोल्न थालो भने कतिको घरजममा प्रलय हुन्छ, कतिको सामाजिकतामा भैंचालो जान्छ ।
त्यसैले होला, नीतिकारले साँचो भए पनि अप्रिय बोल्ने नियमको संशोधन गरेका ! तर साँचो पनि बोल्नु प्रिय पनि बोल्नु झन् मुस्किलको कुरा हो, हामी जति प्यारो बोल्न सक्तछौं त्यति साँचो बोल्न सक्तैनौं । त्यसैले ३६५ दिनमा एक दिन साँचो बोलूँ न त भन्दा यति सकस पर्यो कि बिहानको भात खाई नसक्दै कान्छी चाहिँ साली आएर मलाई झूठ बोलाई दिईन् । सालीको कुरा गर्दा तपाईं नचाहिने तर्क–वितर्क गर्नुहोला तर त्यो होइन । उनी ‘सूर्पणखा’ जस्तै थिइन्, अर्थात् उनको नाकै थिएन भनिदिए हुन्छ । मुख छ्याकटो, छालामा नकटो, नाक र त्यसमाथि एउटा चस्मा लगाएर आएकी सालीको अनुहार साँच्चै कुरूप प्रतियोगितामा लानुपर्ने खालको थियो । उनले सोधिन्– म कस्ती देखिएँ भिनाजु ? मैले प्वाक्क भनें– नेपाल सुन्दरी जस्तै ।
‘टेढो ऐना’ बाट
(स्रोत : फित्कौली डटकम)