कविता : अब के गर्ने होला?

~दिनेश अधिकारी~Dinesh Adhikari

ऊ अन्धो थियो
सडकको पेटीछेउमा बसेर
दिनभरि भजन गाइरहन्थ्यो
आउँदा-जाँदा
म उसलाई देख्थेँ
ऊ-
सायद आफ्नो आँखाहरुमा
एकछत्त अँध्यारो हेरिरहन्थ्यो

कुनै एक दिन
बाजा बजाउँदै र बुर्कुसी मार्दै
खुसीको जुलुस हिँडिरहेथ्यो सडकमा
मानिसहरु
सुसेली मिलाउँदै स्वतन्त्रताका गीतहरु गाउँदै थिए
सम्भावनामा सिँगारिरहेथे आ-आफ्ना भविष्य
र, बेलुनमा भरेर इन्द्रेनी रहरहरु
आकाशभरि उडाउँदै थिए
चहक थियो सम्पूर्ण वातावरणमा
र, हतारहतार
मान्छेहरु उत्साहमा आफूलाई खन्याउँदै थिए
चिनेर होइन
जिज्ञासाहरुमा आफूलाई रोक्न नसकेर
छेउमा कोही छ भन्ने अन्दाजमा
उसले कसैलाई बोलायो
संयोगवश उसको नजिकमा मै थिएँ
र उसको अनुरोधमा
केहीछिनका लागि
सञ्जय बनेर महाभारतको
मैले वर्णनभित्र
मानिसलाई सुमसुम्याएँ
सडकलाई सुमसम्याएँ
सहरलाई सुमसुम्याएँ
ऊ धृतराष्ट्र भएर सुनिरह्यो
र, आफ्ना अँध्यारा आँखाहरुमा
रङ्गीन दृश्यहरु नियालिरह्यो
अबीरको उल्लास
उसको व्यवहारमा सङ्लियो
घामको उज्यालो
उसको अनुहारमा चम्कियो
खूब रमायो
र, रमाउँदारमाउँदै
आफ्नै आँखाले आनन्द पान गर्न नपाएको
पीडाबोध भएछ उसलाई
तरक्क !
एक लहर आँसु खसालेर रोयो
घुँक्क !
एक भक्कानो छाती दुखाएर रोयो

झन्डै एक दशकभन्दा पनि
अगाडिको कुरा हो यो

यो बीचमा
के भयो के भएन
सबैतिर उथलपुथल भयो
सोचेको धेरै कुरा भएन
र, नहुनु पर्नेचाहिँ
प्रायः सबै कुरा भयो
चरीको बास त बनबाट गयोगयो
मान्छेको मनबाट ‘हरि’ पनि गयो
मुख्य कुरा कसको नाममा
कतिखेर रुनुपर्ने हो भन्ने अनिश्चियले
आँखा उघार्न पनि डर लाग्ने भयो
मर्ने त मरेमरे
बाँच्नेले पनि
रगतको आहालमाथि
आफूलाई आसिन गराउनुपर्ने भयो

निरन्तरनिरन्तर
आँखाको उज्यालोले
यसरी भीरतिर लखेट्न नछोडेपछि
अरिङ्गालले टोकेको शरीरजस्तो
चेतनाको डाहले
भतभती मथिङ्गल पोल्न नछोडेपछि
सङ्कटग्रस्त आफ्नो जिउँदो लास घिसार्दै
मुक्तिको खोजीमा
आज म आफैँ
उसलाई भेट्न गएको थिएँ
ऊ-
पूर्ववत् पेटीछेउमै
तर मौन बसिरहेथ्यो
बडो मुस्किलले ओठ खोल्यो
भन्थ्योः
‘भलै गरेछ-ईश्वरले आँखा दिएनछ
नत्र त
सुन्नु पनि
आफूलाई तातो झीरमा उन्नुजस्तो
यो समयमा
म के गर्ने हुँला भाई?
साँच्चै भन्दैछु –
अहिले त मलाई
बहिरो हुन नपाएको
अभाव पो खड्कन थालेको छ …’

यसरी
बीचैमा उसले
मेरो जिब्रो थुतिदियो
र, एकोहोरो
आफ्ना कुराहरु भनिरह्यो
उफ ! कस्तो नमज्जा
यथार्थमा
यो पटक आफ्ना दुवै आँखाहरु
उसलाई दिएर आउँछु भन्ने मेरो सुर थियो

अब के गर्ने होला?
देखेको एउटा सम्भावना पनि
अहिलेको आफ्नै मनजस्तो
चकनाचुर भयो !
चकनाचुर भयो !!

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.