~शीतल गिरी~
आरुणिको समय आफ्नो शिष्य याज्ञवल्क्य (६५०ई.)भन्दा केही पहिले होला र आरुणिको गुरु हुनाले प्रवाहण जैवलिलाई हामी त्योभन्दा केही पहिलेको मान्दछौं । प्रवाहण पञ्चालको क्षत्रिय राजा थिए । प्रवाहणको बारेमा उपनिषद्भन्दा बाहिरको कुरो मलाई थाहा छैन । उसलाई त्यसैगरी बुझ्नुपर्दछ जसरी उपनिषद्ले बताएको छ । यस कारण उपनिषद् प्रति आस्थाको प्रश्नले मलाई लोभ्याएको छ, धर्मप्रतिको आस्थाले होइन । धर्मलाई जीविकोपार्जनको माध्यम बनाएर धर्मप्रति आस्था देखाउँदैमा कोही पनि विशिष्ट बन्न सक्दैन । त्यस्तो विशिष्टको चर्चा पनि मलाई गर्नुछैन । त्यहाँ लोभ, लालच र द्वेषसँग स·त गर्नुपर्ने हुन्छ । वास्तवमा धर्मको मत–मतान्तरबाट द्वेषको जन्म हुन्छ । म त्यस्तो धर्मको बाटोबाट एकदम पृथक छु । यसरी पृथक बस्दा मेरो कुनै अहित भएको छैन । अत: स्वार्थपूर्ण धार्मिक चर्चाहरूबाट टाढा एकान्तमा बसी स्वअध्ययनमा रम्न रुचाउँछु ।
आस्थालाई म बुझ्ने कोशिश गर्दैछु । तर प्रेमलाई त सबैले जानेकै छ । त्यस प्रेमको रहस्य कसैले बुझ्न सकेको छैन । ‘ढाई अक्षर प्रेम’ पढेर कसैले पनि पार पाउन सकेको छैन । तर पनि अनुभवमा सबैले यो जानेकै छ । प्रेमबाट पूर्णत: रित्तो कोही पनि हुनै सक्दैन । यसबाट रित्तिएकोलाई नै हामी मरेको भन्दछौं । जसलाई जड भन्दछौं, शायद प्रेम त्यहाँ पनि सुषुप्त अवस्थामा रहन्छ होला । अथवा यस्तो हुँदो हो, प्रेम उसको अणुहरूमा रहन्छ, तर पिण्ड (जड)लाई मात्र थाहा हुँदैन होला । प्रवाहण जैवलिको नजिक रिसले–जैवलिलाई राजन्यबन्धु (वृहदारण्यक उपनिषद् ६।२।३, छान्दोव्य ५।३।५) भनेर तिरस्कार गर्नाले पनि उनी क्षत्रिय भएको प्रमाणित हुन्छ । अनि गौतम आरुणि राजा प्रवाहण जैवलिको नजिक गए ब्रह्मविद्या सिक्नका लागि ।
यो विद्या आरुणिभन्दा पहिले ‘कुनै ब्राह्मणलाई ज्ञात थिएन’ तर यहाँ पनि जोड दिइएको छ ? पञ्चाहुति, फेरि देवयान, पितृयाण र पितृयाणबाट फर्केर फेरि यस लोकमा छान्दोग्य अनुसार ब्राह्मण–क्षत्री आदि योनहरू र बृहदारण्यक अनुसार कीट–पत· आदिमा पनि जन्मिन्छ । आरुणि शतपथ १।४।१२ अनुसार कुरू पञ्चालका ब्राह्मण थिए । आरुणि ब्रह्म विद्याका ज्ञाता बने । उनले यो ज्ञान आफूसम्म मात्र सीमित राखेनन्, चारैतिर प्रचार गर्दै हिंडे ।
जसको उनले प्रचारित गरे, त्यो के हो ? एउटी आइमाईले एक सयको गन्ती गर्न सकिनन् । तिनलाई जब पाँच बीस सोधियो त सहजै गन्ती गरिन् । आरुणिले पञ्चालराज प्रवाहण जैवलिबाट पञ्चाग्निविद्या, देवयाण पितृयाण (पुनर्जन्म) तत्त्वको शिक्षा ग्रहण गर्नुको साथै राजा अश्वपति कैकय र चित्र गाम्र्यायणिसँग पनि दर्शनको शिक्षा ग्रहण गरेका थिए । आरुणिले पञ्चमाहुति (देवयाण पितृयाण) र वैश्वानर–आत्माको ज्ञान आफ्ना क्षत्रिय गुरुहरूबाट सिकेका थिए, तर उसको आफ्नो दर्शन त्यही थियो, जुन उनले आफ्नो छोरा श्वेतकेतुलाई ‘तत्त्वमसि’ — अथवा ब्रह्म–जगत् अभेदवादद्वारा बताए ।
आरुणिको मतमा तेज (अग्नि) पहिलो भौतिक तत्त्व थियो जसले दोस्रो तत्त्व–जल बनायो । जलबाट अन्न बन्यो । उसको मतमा तेज र जल नै प्रमुख हो । अर्थात् तेजको लागि व्यष्टि त उपलक्ष्य नै हो, लक्ष्य टाढा छ । लक्ष्य शायद समष्टि हो । उपलक्ष्य उपलब्ध भइरहन्छ र सधैं उल्लङ्घित पनि हुँदै रहन्छ । जल अमुकलाई आवश्यकतानुसार तृप्त पारिरहन्छ र कतिपय अतृप्त पनि रहन्छन् । तृप्ति वास्तवमा त्यहाँ उपलक्ष्यमा राखिएको छ कहाँ, त्यो त उप हो, लक्ष्य जोडिएको छ । यस कारण दर्शन, जसले उपलक्ष्य खोज्दैन, लक्ष्यतर्फ एकाग्र छ, सहज अडिग बन्दछ । यसैलाई भनिन्छ आस्था ।
तब आस्था त्यो प्रेम हो जो व्यक्तिगत नभएर, निर्वैयक्तिक हो । जो वस्तुगत नभएर, निर्वास्तविक हो । आस्थाको लागि आवश्यक छ, बरु अनिवार्य छ, त्यो निरवास्तविक होस् । यो मूलको अवास्तविक नै त्यस आस्थाको बल हुन्छ । अर्थात् त्यस आस्थाको आधार स्वयं बाहिर कतै हुँदैन । आस्था यस किसिमबाट स्वयं प्रतिष्ठा हो, यो स्वयम्भु पनि हो । यसलाई बनाउन सकिंदैन, यो जान पनि सक्दैन । त्यसलाई सहनु, झेल्नु नै पर्छ । त्यो आस्था होइन, जसलाई सहनुभन्दा धेरै गर्ने गरिन्छ । जसको दाबी हुने गर्छ, घोष र विवाद हुने गर्छ, त्यो मतवादको विषय हो । आस्थाको त्योसँग सम्बन्ध छैन । “मर्न लागेको (प्राणी) वाणी मनमा मिल्दछ, मन प्राणमा, प्राण तेज (अग्नि) मा, तेज परम देवतामा ।” आरुणि सद्ब्रह्म (शारीरिक ब्रह्म) वादी थिए, र भौतिक तत्त्वमा अग्निलाई पहिलो मान्दथे ।
डाक्टर श्रीधर व्यंकटेश केतकरले जनक वैदेहको गुरु भएको हुँदा याज्ञवल्यक्यलाई विदेह (तिरहुत)का निवासी मानेका छन् । वृहदारण्यक ३।१ अनुसार उनी कुरू–पञ्चालवासी भएको सड्ढेत गर्छ । यस कुरालाई मान्ने हो भने जैवली, आरुणि, याज्ञवल्क्य यी तीनै उपनिषद्कालीन दिग्गज दार्शनिक कुरू पञ्चालकै वासी थिए । उपनिषद्कालीन दिग्गज यी तीनै दार्शनिकप्रति आस्था छ । वस्तुगत जे छ, वास्तविक हुन सक्दछ । स्पष्ट छ कि अडिग त्यो होइन, जो वास्तविक हो । त्यसो भएको हुँदा यस जगत्मा सबभन्दा अवास्तविक परमेश्वर हो । उसलाई यथार्थमा कसैले दार्शनिक अथवा धार्मिक अहिलेसम्म बनाउन सकेको छैन । धेरै गुण, धेरै नाम, धेरै आकार, धेरै रूपमा आस्था प्रकट गरियो, तर त्यो क्रमश: खस्किंदै गयो । यस सार सत्यलाई अन्तमा नास्तिकले नै आविष्कृत र उद्घाटित गर्दछ कि परमेश्वर नितान्त अवास्तविक हो । नास्तिकको यो नै महान् महिमा हो कि उसले आस्तिकलाई आफ्नो आस्थाको वास्तविक आधार दिने गर्छ । उसले यो ठूलो सत्य प्रकट गर्दछ कि ईश्वरको आफ्नो कुनै भाषा अथवा वर्तमानता हुँदैन । आस्थामा नै उसको वर्तमानता र वस्तुता छ । आस्था जहाँ छ त्यहीं छ ईश्वर ।
विज्ञ मित्रले आफ्नो आस्था जहाँ मान्दछन् र भन्दछन्, अर्थात् मानव र मानवतामा अझ गहिरो अध्ययन गरेर हेर्दा थाहा हुन्छ कि उनको खोज वस्तुबाट अवस्तुमा मिसिंदै गइरहेको छ । यदि उनलाई आफ्नो आस्थामा, आफ्नो धारणामा, अडिग रहनु छ भने त अवश्य थाहा हुनेछ ती धारणाहरूलाई कठोर बन्न नदिएर पीडाको साथमा त्यसलाई तत्सम बनाउनुपर्छ । तब उसको आस्था निराकार र निर्गुण भएर यज्ञमय, आनन्दमय, व्यथामय रहने छ । पीडा र आनन्द एउटा वस्तु हो । ऋग्वेदको समयदेखि (१५००ई.पू.) जुन प्रधानता कुरू पञ्चालले पाएको थियो, त्यो याज्ञवल्क्यको समयसम्म कायम रहयो, यद्यपि यसैबीच कैकय (पञ्जाब), काशी र विदेहमा पनि ज्ञान चर्चा हुन थालेको थियो । याज्ञवल्क्यसँग सुन्दर रथहरू–घोडा, हात्ती, दासी, धन–सम्पत्ति थियो । याज्ञवल्क्यका सुन्दरी दासीहरू माम तृप्तिका साधन पनि थिए ।
उनका दुई पत्नीमा मैत्रेयी ब्रह्मवादी थिइन्, तर कात्यायनी मात्र घर गृहस्थी समाल्ने सामान्य । सन्तान नभएको कारण गृह त्याग गर्न लाग्दा ब्रह्मवादी मैत्रेयी पनि पतिजस्तै धनबाट विरक्तिएकी थिइन् । आनन्दको सीमा ब्रह्म अथवा ब्रह्मलोक हो— त्यो अभावात्मक गुणहरूको मात्र धनी होइन — यो उनको दर्शनको निचोड हो । नित्य नाशको लीलाको पछाडि जुन सनातन भावले छ, त्यस परम–चरणलाई वस्तुको भाषामा लेओस् त कसरी लेओस्, देओस् त कसरी देओस् ? अन्तमा याज्ञवल्क्यसँग यही भन्ने कुरा मात्र बचेको थियो कि त्यही परम वास्तव हो, किनभने त्यही परम अवास्तव हो । कालमा त्यो छैन, अवकाशमा त्यो छैन, किनभने यी दुवै आयाम स्वयं त्यसमा छ । आयाममात्र त्यहाँबाट आउँदछ र त्यो सबै आयामहरूमा अतीत हो । इन्द्रियहरूले जे पाउँछ आउँद छ र ऊ सबै आयामहरूमा अतीत हो । इन्द्रियहरूले जे पाउँछ सब त्यसैबाट पाउँछ । तर विषय आफूमा माया हो, वास्तवमा त्यो तब छ जब अवास्तवबाट युक्त हुन्छ ।
माथिको भाषा केही अगम लाग्न सक्दछ । तर आस्थाको उद्गम वास्तवमा नै अगम हो । यो ज्ञानमा नभएर जिज्ञासामा छ, अर्हन्तमा नभएर अकिञ्चनतामा छ, विज्ञतामा नभएर अज्ञतामा छ । अन्तमा याज्ञवल्क्यले आनन्द त्यागे, घरबार त्यागे र सन्तानविहीन वृद्ध अवस्थामा गृहत्याग गरी श्रमण र तापस बने ।
त्यतिखेरका ब्राह्मणहरू यस कुरोमा अडेका थिए कि — यज्ञबाट लौकिक पारलौकिक सम्पूर्ण सुख प्राप्त हुन्छ । यसबारे याज्ञवल्क्य भन्दथे — ज्ञान नभएमा कर्मले एकदम थोरैमात्र फल दिन्छ । ज्ञान सर्वोच्च साधन हो, त्यस अक्षर ब्रह्मलाई हामी हेर्न सक्दैनौं, तर त्यो छ, त्यसको सामान्य छनक हामीले गहिरो निद्रा (सुषुप्ति)मा पाउँदछौं । सर्वश्रेष्ठ ब्रह्मज्ञानी याज्ञवल्क्य यज्ञको वेद (यजुर्वेद)लाई मुख्य आधार तथा यजुर्वेदको कर्मकाण्डीय ब्राह्मण–शतपथ ब्राह्मण–को महान कर्ता भए । कारण उनको समग्र आस्था अभेदमा छ । यस अभेदमा जसको श्रद्धा पुग्न सक्छ, भेद मात्रको लागि ऊ स्वीकार भाव राख्न सक्दछ । यस किसिमबाट दर्शनको प्रारम्भिक उत्कर्ष युगमा दार्शनिकहरूबीच फूलको रूपमा यी तीन दार्शनिकहरू मगमगाइरहे ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)