~सञ्जय साह मित्र~
मुख्यरूपमा भारत, बिहारका केही जिल्लाको प्रमुख भाषाको रूपमा रहेको बज्जिका नेपालका केही जिल्लाहरूमा समेत लोकजीवनको मुख्य भाषाको रूपमा रहेको छ । नेपालमा बज्जिका भाषाको भौगोलिक सीमाक्षेत्रबारे मतैक्य पाइन्न । कतै बारादेखि महोत्तरीसम्म त कतै बारादेखि सर्लाहीसम्म बज्जिका बोल्ने गरिएको उल्लेख पाइन्छ । यसैगरी कतै सर्लाही र रौतहटमा बज्जिका बोलिन्छ भनेर पनि लेखिएको भेटिन्छ । नेपाल र भारत दुवैतिर यो भाषा बोल्ने गरिएको सन्दर्भमा भारतको उत्तर बिहारका जुन जिल्लाहरूमा बज्जिका बोलिन्छ, बिहारसित सीमा जोडिएका नेपालका तिनै जिल्लाहरूमा बज्जिका बोलिन्छ भन्ने प्रमाणहरूबाट स्पष्ट हुन्छ । नेपालमा बज्जिका भाषाबारे खासै चर्चा गरिएको पाइन्न । यहाँ नेपालीय बज्जिकाबारे सङ्क्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
संसारका अनगिन्ती जीवित भाषाहरूमध्ये बज्जिका पनि एक हो । बज्जिकाको सम्बन्ध प्राचीन ‘वैशाली’सित रहेको छ । बज्जिसङ्घ विश्वको राजनैतिक इतिहासमा आफ्नो गणतान्त्रिक शासन व्यवस्थाको लागि प्रसिद्ध छ । बौद्धग्रन्थ ‘अंगुत्तर निकाय’ एवं जैनग्रन्थ ‘भगवती सूत्र’मा बज्जिसङ्घको उल्लेख प्रमुख गणराज्यको रूपमा भएको पाइन्छ । अठार गणराज्यमा यस सङ्घको राजधानी वैशाली थियो । बज्जिका यसै प्राचीन बज्जिसङ्घको आधुनिक भाषा हो ।१ बज्जिसङ्घ र वैशालीको विषयमा अन्य थुप्रै ऐतिहासिक प्रमाणहरू पाइन्छन् ।
वैशालीमा गणराज्यको स्थापनापूर्व राजा विशालले गङ्गाको उत्तरी किनारमा विशालापुरी नगरको स्थापना गरेका थिए । वैष्णव पुराणसहित रामायण तथा महाभारतमा यस वंशावलीको उल्लेख पाइन्छ । त्यसअनुसार राजा विशालको अनुक्रम चौबीसौं थियो । यसै वंशको तेतीसौं राजा सुमतिले गङ्गाको उत्तरी किनारमा अवस्थित विशालापुरीमा विश्वामित्रसहित राम र लक्ष्मणको राजकीय स्वागत गरेका थिए । जनकपुरी जानेक्रममा तीनै जनाले त्यहाँ रात्री विश्राम गरेका थिए । यसबाट यो पनि सुनिश्चित हुन्छ कि वैशालीका राजा सुमति अयोध्याका राजा दशरथ तथा विदेहका सीरध्वज जनकका समकालीन थिए ।
पाणिनिको ‘अष्टाध्ययी’ (४.२.३) मा यस क्षेत्रलाई ‘मद्रवृज्जयो’ भनिएको छ । प्राचीन अर्थशास्त्री कौटिल्यको साहित्यमा समेत ‘बृजि’ तथा ‘लिच्छवि’ सङ्घको उल्लेख पाइन्छ ।
कतिपयले भगवान् गौतम बुद्धले उपदेश दिएको पाली भाषालाई बज्जिकाकै उपज मान्छन् । भगवान बुद्धले प्रयोग गरेकै कारण पाली भाषाले बढी श्रेय पायो । भगवान बुद्धद्वारा पालित भएकोले नै यसलाई पाली भनिएको हो भन्ने तर्कसमेत पाइन्छ । यसकारण यो मान्यता बन्दछ कि वैशाली एवं वैशालीको क्षेत्रमा आउने प्रदेशको भाषा बज्जिकाबाटै पाली उत्पन्न भयो । भगवान बुद्ध ने जिस पालि भाषा मे उपदेश दिया वह बज्जिका से ही विकसित हुई है ।२ पालीको प्राचीनतालाई विचार गर्दा बज्जिका अति प्राचीन भाषाको रूपमा स्थापित हुन्छ ।
प्राचीन बज्जिसङ्घको भाषा भएको कारण यसलाई वृजिका, वज्जिका, बज्जी, बज्जिका, वैशालीको भाषा, बाजी भाषा आदि नाउँले बोलाइएको पाइन्छ । तर महापण्डित राहुल सांकृत्यायन (विशाल भारत, कलकत्ता, १९४१ ई) द्वारा प्रदत्त वज्जिका (बज्जिका) नै सर्वमान्य भएको छ । बज्जिका शब्दको निर्माण ‘बज्जि’ आधार पदमा ‘क’ प्रत्यय संयुक्त गरेर ‘आ’ स्त्री प्रत्यय लागेर भएको हो । यसको अर्थ हुन्छ ‘बज्जि क्षेत्र (प्रदेश) का बासिन्दाद्वारा बोलिने भाषा’ । यसबाट बृज्जि (बज्जि) गणतन्त्रको प्राचीनतम कल्पना तथा व्यवहारका लागि प्रसिद्ध बज्जि गणतन्त्रसित बज्जिका भाषा भावात्मक रुपले जोडिन पुग्छ ।
छैटौँ शताब्दीको अन्त्य हुँदाहुँदै वैशालीका लिच्छविहरूको पतन भइसकेको थियो । यसभन्दा पहिले नै लिच्छविहरूको एक अभियान दल नेपाल पसिसकेको थियो । लिच्छविहरू भारतको मुजफ्फरपुर जिल्लाको बसाद (वैशाली) बाट इस्वी सम्व्तको प्रारम्भमा नेपाल पसेका थिए ।३ मगधका सम्राट बिम्बिसारका छोरा अजात शत्रुले वैशालीमा आक्रमण गरी लिच्छविहरूलाई धपाएका थिए । डा. व्रजनन्दन वर्माले ‘भारतीय लोक साहित्य कोश’ (सं.डा.सुरेन्द्र गौतम, खण्ड ६ पृष्ठ २६४२) मा छैटौँ शताब्दीको अन्त्यतिर लिच्छविहरू नेपालको तराईमा आएर बसेको उल्लेख गरेका छन् । यसबाट के स्पष्ट हुन्छ भने काठमाडौंमा लिच्छविहरु प्रथम शताब्दीमै पुगे तर तराईमा बसोबासको दृष्टिले छैटौँ शताब्दीसम्म आउने क्रम जारी रह्यो । प्रथम शताब्दीदेखि छैंटौं शताब्दीसम्म बज्जिहरू नेपाल आइरहे ।
‘प्राकृत जैनशास्त्र और अहिंसा शोध संस्थान’ वैशाली, बिहार(भारत) द्वारा सन् १९८७ मा प्रकाशित ‘बज्जिका भाषा के कतिपय शब्दों का आलोचनात्मक अनुशीलन’ (लेखक ः डा. योगेन्द्र प्रसाद सिंह) मा बज्जिका भाषाको भाषिक क्षेत्रको विषयमा विस्तृत चर्चा गर्दै पृष्ठ ८६ र ८९ मा नेपालको मध्यवर्ती तराई क्षेत्र जुन भारतको पूर्वी चम्पारण र सीतामढीसित सिमाना जोडिएका जिल्लाहरू छन्, मा बज्जिका बोलिन्छ भनी उल्लेख गरेका छन् । बज्जिका भाषामा रामायण लेख्ने डा. अवधेश्वर अरुण पनि यही दोहो¥याउँछन् । ‘…. सीतामढी, शिवहर तथा पूर्वी–पश्चिमी चम्पारण से सटा हुआ नेपाल तराई का क्षेत्र भी बज्जिका भाषी है ।’४ नेपालमा पनि यही कुरालाई स्वीकारिएको पाइन्छ । नेपालका केही जिल्लामा प्राचीनकालदेखि नै बज्जिका बोलिन्छ ।
कालक्रमानुसार यसको स्वरूपमा भिन्नता आउँदै गएको हुन सक्छ किनभने परिवर्तनशीलता कुनै पनि जीवित भाषाको प्रमाण हुन्छ ।
नेपालको मध्यकालमा बाइसे–चौबिसे राज्य कायम रहेको बखतमा सेन राज्यहरूको सरकारी भाषा बज्जिका नै रहेको अनुमान हुन्छ । “मकवानपुर र त्यस पश्चिमका सेन राज्यहरूमा बोलचाल र सम्पर्क भाषा पर्वते भए तापनि सरकारी कामकाजको भाषा लामो अवधिसम्म तराईका भोजपुरी, अवधी र मैथली प्रभावित भाषा रहेको देखिन्छ ।”५ स्मरणीय छ, बज्जिकालाई मैथली र भोजपुरीको बीचको भाषा अथवा दुवैको मिश्रित भाषाको रूपमा पनि स्वीकारिएको पाइन्छ । “बारा र पर्सामा भोजपुरी बोलिन्छ भने सर्लाही र रौतहटमा मैथली र भोजपुरी मिसिएको बज्जिका ।”६ बज्जिकाको बारेमा पहिला उति चेतना नभएकोले अन्य भाषा भनिएको हुन सक्छ । “पाल्पा, तनहूँ, मकवानपुर र पूर्वका सेन राज्यका सरकारी लिखतहरूमा तराईका अवधी, भोजपुरी र मैथली प्रभावित भाषा (जसलाई ब्रज भाषा वा खडी बोली पनि भनिन्छ) प्रयोग गरेको पाइन्छ ।७
बज्जिका नेपाली भाषाभन्दा पनि पुरानो हो भन्ने प्रमाण फेला परेको छ । कक्षा ११ मा पढाइ हुने अनिवार्य नेपाली विषयमा एक ठाउँमा भनिएको छ –“….जुन वेला अहिलेको नेपाली भाषा कर्नालीको जुम्ला (सिँजा) क्षेत्रको खस समुदायमा जन्मेर विकसित हुँदै थियो, त्यसभन्दा धेरै पहिलेदेखि नेपालको बागमती उपत्यका, तराईका विभिन्न स्थान र पहाडका अनेकौं ठाउँमा संस्कृत, पाली, बज्जी, मैथली आदि भाषा बोल्ने मानिस विभिन्न सन्दर्भमा फैलिइ सकेका थिए ।”८
उपर्युक्त तथ्यहरूबाट नेपालमा बज्जिका भाषा बोलिन्छ र नेपालको प्राचीन भाषाहरूमध्य बज्जिका पनि एक हो भन्ने प्रमाणित त हुन्छ तर यसको सीमाङ्कनको विवाद भने कायमै छ । भारतमा बज्जिकाभाषीको सङ्ख्या ४ करोडभन्दा बढी रहेको डा.व्रजनन्दन वर्माको दाबी छ । विशाल बज्जिकाभाषी क्षेत्रको एउटा सानो कुनो मात्र नेपालमा पर्दछ जुन कुनो नेपालको नक्सामा महोत्तरीदेखि बारासम्म पर्दछ ।९ यसरी के स्पष्ट हुन्छ भने बारा जिल्लाको वरियारपुर (गंजभवानीपुर, हाल महागढीमाई नगरपालिकादेखि पूर्व)बाट मध्य महोत्तरीसम्म प्रभाव छ भने पूर्वी महोत्तरीमा मैथलीको प्रभाव बढी देखिन्छ ।
नेपालमा पूर्वमा मैथली र पश्चिममा भोजपुरी भाषाको साँध भाषाको रूपमा बज्जिका भाषा इस्वी सम्वत्भन्दा पुरानो रहेको भए पनि यसको अध्ययन, अनुसन्धान र साहित्यिक विकास हुन नसकेकोले ग्रामीणहरू शासनको पहुँचबाट टाढा रहेजस्तै; सीमान्तकृत नागरिक मूलधारमा समेटिन नसके जस्तै यो भाषा केवल माटोमा शताब्दियौँदेखि (लोक भाषाको रूपमा) बाँच्न मात्र सकेको देखिन्छ ।
बज्जिकालाई नेपाली भाषाको दिदीबहिनी भाषाको रुपमा लिन सकिन्छ । हिन्दीका लेखकहरूले बज्जिकालाई हिन्दीको समीप मानेका छन् । नेपालमा पनि नेपाली र हिन्दीलाई दिदी–बहिनी भाषा मानिन्छ । बज्जिका पनि संस्कृतबाटै जन्मेको हो । यसलाई मागधी प्राकृतबाट विकसित भाषाको रुपमा लिइन्छ तर यसमा पनि मतैक्य छैन । बज्जिका अहिले देवनागरी लिपिमा लेखिन्छ तर यसको मूल लिपि ‘कैथी’ हो । (कैथी लिपिका विभिन्न रूप पाइएका छन् । तिरहुता वा तिरहुतिया कैथी, भोजपुरी कैथी, मगही कैथी, मैथली कैथी आदि । सबैको आ–आफ्नै विशेषता छन् र सबै धेरथोर एक अर्कामा भिन्नता पनि । बज्जिका भाषा तिरहुतिया कैथी लिपिमा लेखिन्छ ।)
बज्जिकाको स्वतन्त्र अस्तित्वको विषयमा कतिपयमा भ्रमहरू रहेका छन् । डा. ग्रियर्सनले यसलाई कहिले पूर्वी भोजपुरी त कहिले पश्चिमी मैथली भनेका छन् । यस भाषाको स्वतन्त्र अस्तित्व ठम्याउन गाह्रो भएकोले उनले अलमलिनु परेको हो । वास्तवमा बज्जिका भाषा न त पूर्वी भोजपुरी हो, न पश्चिमी मैथली र न त मैथली र भोजपुरी मिसिएको भाषा नै । यसको वर्तमान स्वरूप यस्तो देखिनुमा भोजपुरी र मैथलीमाथि बज्जिकाकै ठूलो प्रभाव भएकोेले हो । तर भाषावैज्ञानिकरूको निरन्तरको अनुसन्धान र अध्ययनबाट यसको स्वतन्त्र अस्तित्व रहेको प्रमाणित भएको छ । “विद्वानों ने इसकी व्याकरणिक एवं भाषा वैज्ञानिक विशेषताओं को रेखांकित करते हुए इसके स्वतन्त्र अस्तित्वको प्रमाणित कर दिया है ।”१०
हालै त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख तथा नेपालको भाषिक सर्वेक्षणका निर्देशक प्रा.डा.दानराज रेग्मीको नेतृत्वमा डा. बलराम प्रसाईँ, डा. अम्बिका रेग्मी, गोपाल ठाकुरसहितको टोलीले नेपालीय बज्जिका क्षेत्रको स्थलगत भ्रमण, स्थानीयसँग परिसम्वाद तथा भाषावैज्ञानिक सर्वेक्षण गरी तयार पारिएको प्रतिवेदनमा पनि बज्जिकालाई पूर्ण भाषा बताइएको छ । “अ सोसियोलिङ्ग्विस्टिक सर्वे अफ बज्जिका” नामकृत ११४ पृष्ठको प्रतिवेदन (सन् २०१४)ले बज्जिकालाई पूर्ण तथा स्वतन्त्र भाषाको संज्ञा दिएको हो ।
विकासोन्मुखी भाषा बज्जिकाको स्वरूप र भाषिकाको विषयमा पनि विद्वानहरूले पर्याप्त चर्चा गरेका छन् । बज्जिकाको जन्मस्थल मानिएको वैशाली र मुजफ्फरपुरको भाषालाई आदर्श बज्जिका वा केन्द्रीय बज्जिका भनिन्छ । यस कुरामा प्रायः सबैको एकमत रहेको छ । आदर्श बज्जिकाभन्दा केही भिन्न भएर बोलिने बज्जिकालाई त्यहीँको प्रभावित बज्जिका वा भाषिका भन्ने गरिएको पाइन्छ । बज्जिकामा आदर्श बज्जिका, मैथली प्रभावित बज्जिका, भोजपुरी प्रभावित बज्जिका र मगही प्रभावित बज्जिका गरी कम्तीमा चार उपभेद रहेका छन् । नेपालमा बोलिने बज्जिकालाई पनि विभाजन गर्न सकिन्छ । रौतहटको लालबकैया नदीभन्दा पश्चिमतिर वरियारपुर (गंजभवानीपुर, हालको महागढीमाई नगरपालिका) सम्मको बज्जिकालाई पश्चिमी बज्जिका, लालबकैयादेखि पूर्व मलंगवासम्मको बज्जिका केन्द्रीय वा आदर्श बज्जिका र मलंगवादेखि पूर्व मध्य महोत्तरीसम्म लोकजीवनमा कथ्यमा रहेको बज्जिकालाई पूर्वी बज्जिका भनी विभाजन गर्न सकिन्छ । बज्जिका भाषाले नेपालमा पनि देवनागरी लिपिमा लेख्य रूप लिइसकेको अवस्थामा यसको मानकीकरण गर्नु र नेपालीय बज्जिकाको व्याकरण लेखन गर्नु आवश्यक भइसकेको छ ।
बज्जिका भाषाले जति लामो ऐतिहासिक कालखण्ड पार गरेको छ; त्यसको तुलनामा विकास गर्न सकेको छैन । भारतमा भाषा र साहित्यको सन्दर्भमा बज्जिकाले सन् १९६० को दशकदेखि निरन्तर विकास गरिरहेको छ । नेपालमा भने बज्जिका चेतनाको दियो निकै पछिमात्र बलेको हो । ‘नेपालमा बज्जिका भाषा बोलिन्छ’ भन्ने विषयमा सर्वप्रथम काठमाडौँबाट प्रकाशित हुने महिमा साप्ताहिकले ‘बज्जिका भाषा ः एक चर्चा’ शीर्षक (२०५२ असोज ३० को अङ्क) मा सञ्जयकुमार साहको लेख प्रकाशित गरेका छन् । २०५८ सालको राष्ट्रिय जनगणनामा भाषाको रूपमा पहिलोपटक सम्मिलित भई गणनामा स्थान पाएको बज्जिकाले बाह्रौँ स्थानमा रही एक प्रतिशतभन्दा बढी (१,२४,०८८ पुरुष र १,१३,८५९ महिला गरी जम्मा २,३७,९५७ अर्थात् १.०५%) नेपालीले बोल्ने भाषाको रूपमा उभ्याउन सफलता प्राप्त ग¥यो । गणतान्त्रिक नेपालको पहिलो जनगणना (२०६८)बाट बज्जिका भाषा देशको सातौँ ठूलो भाषाको रूपमा आएको छ । नेपालको कूल जनसङ्ख्यामध्ये तीन प्रतिशत नेपालीले मातृभाषाको रूपमा यस भाषालाई बोल्ने गर्दछन् । जनगणनाको अन्तिम परिणामअनुसार ७,९३,४१६ जनाले बज्जिकालाई मातृभाषाको रूपमा बोल्ने गरेको देखिएको छ । भाषिक अज्ञानता, अन्यप्रतिको आकर्षण तथा हीनताबोध र राजनैतिक कारणले लाखौँ बज्जिका मातृभाषी आफूलाई अन्य मातृभाषाकै भनिरहेका छन्, आफूलाई अन्य मातृभाषीमै गणना गराएका छन् । राजधानी काठमाडौँमा झन्डै पचास हजार बज्जिकाभाषी रहेको दाबी गरिएको बज्जिका वीरगंज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरालगायतका सहरहरूमा समेत बोलिन्छ ।
राष्ट्रिय जनगणनामा तथ्याङ्कमा आइसकेपछि बज्जिकाले बिस्तारै विकास गरिरहेको देखिन्छ । बज्जिकाभाषी क्षेत्रको सबै जातजापत, धर्म–सम्प्रदायको सामmा भाषाको रूपमा रहेको बज्जिकामा साहित्य सिर्जना भइरहेको छ । कृतिहरू प्रकाशन भइरहेका छन् । राष्ट्रिय कविता प्रतियोगिता भएको छ । पत्रिकाहरू निस्किइरहेका छन्, गोरखापत्रको नयाँ नेपालमा स्थान पाएको छ । बज्जिकामा एफएम रेडियोहरू सञ्चालित छन् । सरकारले बज्जिकालाई विद्यालयमा पु¥याउन बज्जिकाको प्रशिक्षक तयार पारेको छ; दर्जनौं शिक्षकलाई प्रशिक्षण दिइएको छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण कार्य भइरहेको छ । भाषा र साहित्यको विकासका लागि सङ्घसंस्थाहरू खुलेका छन् र बज्जिकासेवीलाई प्रोत्साहनार्थ पुरस्कारको पनि स्थापना गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन–अनुसन्धान तथा शोधकार्यहरू भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले समेत अनुसन्धानात्मक कार्य गरेको छ ।
बज्जिका साहित्य
बज्जिका साहित्यको क्षेत्र निकै विशाल छ । भारतमा बज्जिकाले महाकाव्यसम्मका कृतिहरूको रचना गरेको देखिएको छ । हरेक वर्ष गहन अनुसन्धानात्मक कृतिहरू भारतमा प्रकाशन भइरहेका छन् । सिर्जना, व्याकरण तथा अनुसन्धानजस्ता सबै क्षेत्रमा भारतीय बज्जिकाले विकास गरेको छ तर नेपालीय बज्जिका भने तुलनात्मक रूपमा निकै पछाडि परेको छ । समकालीन र छिमेकी भाषाहरूको तुलनामा नेपालीय बज्जिकाले अपेक्षित प्रगति गरेको देखिँदैन । तर पनि नेपालीय बज्जिकाले विस्तारै वामे छर्न खोज्दैछ ।
नेपालीय बज्जिका साहित्यको विकासको पहिलो दशक पूरा भएको छ । २०६१ असारमा रामवाण प्रकाशन हेटौँडाले सञ्जय साहको ‘पच्चीस डेङ’ कविताकृति प्रकाशित गरेको घटनालाई कृतिको दृष्टिले यात्राको प्रारम्भ विन्दु मानेर हेर्दा पहिलो दशकमा केही ठोस कार्यहरू भएका छन् । प्लान नेपालले ‘बज्जिका कहावति लघुसङग्रह’ (२०६२) प्रकाशन गरेको छ । राम सागर साहको ‘भजन सागर’ (२०६५), समतोलिया कुमारी मुखियाको कवितासङ्ग्रह ‘सुन्नर देश बने चाहइछी’ (२०६६) र ‘बज्जिका अक्षरमाला’ (२०७०), श्याम नारायण साहको लोककथा कृति ‘ठगोके ठग’ (२०६६), सञ्जय सुदामाको खण्डकाव्य ‘छाँही’ (२०६६) प्रकाशित छन् । हरिकृष्ण काफ्लेद्वारा रचित ‘गीता’ प्रकाशनको तयारीमा छ र सञ्जय सुदामा दोस्रो खण्डकाव्य ‘शान्तिदूत’ प्रकाशनको तयारीमा रहेको छ । सञ्जय साह मित्रको ‘नेपालमा बज्जिका भाषा’ पुस्तक पनि प्रकाशनको तयारीमा रहेको छ । अन्य सर्जकहरूले पनि विभिन्न विधाको कृति तयार पारेका छन् ।
बज्जिकामा विभिन्न प्रकृति, प्रवृत्ति तथा विषयवैविध्यका रचनाहरू विधागत सचेतनाका साथ लेखिँदैछन् । कथा, लोककथा, कविता, मुक्तक, गीत, संस्मरणलगायतका रचनाहरू निरन्तर प्रकाशन भइरहेका छन् फुटकररूपमा । दर्जनौं स्रष्टाहरू साहित्य सिर्जनकर्ममा जुटेका छन् र स्थानीय पत्रिका तथा अखबारहरूले प्रोत्साहन गरिरहेका छन् ।
यसैगरी बज्जिकामा अनुवाद साहित्यको पनि आरम्भ भएको छ । युवाकवि गिरिजा अधिकारीको कविताकृति इतिहास र लाल झाको बज्जिकामा अनुवाद भई गत वर्ष प्रकाशित भएको छ । बज्जिकामा अनुदित प्रथम कृतिको रूपमा बज्जिका साहित्यले आफ्नो प्रगतिवादी मार्गलाई फराकिलो बनाएको छ । कृतिको अनुवाद रेणु गुप्ताले गरेकी छन् । यसै गरी नेपालीय साहित्यकाशका सर्वाधिक चर्चित कृति मुनामदन खण्डकाव्यको पनि बज्जिकामा अनुवाद भएको छ । सञ्जय साह मित्रले महाकवि देवकोटाको अमर कृतिलाई बज्जिकामा अनुवाद गरेका हुन् ।
भविष्य
कुनै पनि भाषा र साहित्यको भविष्य किटान गर्न निकै मुस्किल काम हो । इतिहासमा सर्वाधिक सम्पन्न देखिएको संस्कृत भाषा अहिले कथ्यमा लोप भइसकेको मानिन्छ । संस्कृतमा धेरथोर साहित्यलेखन अझै पनि हुने गरेको भने सुनिन्छ । हजारौँ वर्षदेखि लोकभाषाको रूपमा रहेर कृतिको दृष्टिकोणले पहिलो दशक भर्खर पूरा गरेको नेपालीय बज्जिकाको भविष्य वर्तमानको धरातलमा सुरक्षित र उज्ज्वल देखिन्छ । भारतमा साहित्य सिर्जनामा तीव्रता आएको, नेपालमा बज्जिकाप्रतिको चेतनामा अभिवृद्धि भएको, भारतीय बज्जिका भाषाका संस्थासित समन्वय भइरहेको, राष्ट्रिय जनगणनामा समावेश भएको, त्रिभुवन विश्वविद्यालयको भाषाविज्ञान केन्द्रीय विभागले गरेको भाषावैज्ञानिक सर्वेक्षणले बज्जिकालाई स्वतन्त्र र पूर्ण भाषाको रूपमा स्वीकार गरेको, भाषाको विकासका लागि संस्थाहरू खुलेका, पत्रपत्रिकाहरू दर्ता भएका, कृति तथा पत्रपत्रिकाहरू प्रकाशन भइरहेका, स्थानीय रेडियोहरूले स्थानीय समाचारको भाषा बज्जिकालाई बनाएको, साहित्यिक पुरस्कारको स्थापना भएको, साहित्य सिर्जनामा लाग्नेहरूको सङ्ख्यामा निरन्तर वृद्धि र स्तरीयतामा निखार आइरहेको, बज्जिका भाषा र साहित्यप्रति शुभेच्छा, सद्भाव, खोज–अनुसन्धान, अभिरुचि तथा विरोधसमेतमा निरन्तर वृद्धि भइरहेको आदि जस्ता आधारहरूलाई हेर्दा यी र यस्ता आधारहरू नभत्केसम्म बज्जिकाको भविष्य उन्नत तथा समुज्ज्वल रहेको किटान गर्न सकिन्छ ।
र.. अन्त्यमा,
आफ्नो स्वतन्त्र अस्तित्व र पृथक पहिचानसहित नेपालीय बज्जिका साहित्य सिर्जना, अनुसन्धान, समीक्षा, सञ्चार, चेतनाजस्ता क्षेत्रहरूमा मन्द गतिमा भए पनि प्रगति गर्दै लगेको छ ।
सञ्जय साह ‘मित्र’
बज्जिका भाषा :उत्पत्ति र विकास
मित्रनगर, गरुडा, रौतहट
(स्रोत : मिति २०७१ मंसिर २७ गते नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा साहित्य, कला, सङ्गीत प्रवद्र्धन समाज मकवानपुरद्वारा आयोजित ‘आख्यान विमर्श तथा सिर्जना वाचन’ कार्यक्रममा प्रस्तुत कार्यपत्र। )