~गोविन्दप्रसाद आचार्य~
मनभित्र केको, केको उन्माद उर्लिएको छ
बिना कारण उन्मादको मन उम्लिएको छ
बेतालका बाँसुरीको धुनलाई मिठो भन्नुपर्ने
पटमुर्खले घाँटीमा सुर्के गाँठो कस्दा स्वागत गर्नुपर्ने
उन्मादको शासनमा सत्य फाँसीमा झुन्डिन्छ
उन्मादका शासनमा शासक विदेशको प्रवक्ता बन्छ
विचारको फोबियाले गालेका कर्कलाहरू उन्माद पोख्ने गर्छन्
कसैको एक छाक डिनरका नसामा इमान्दार बन्ने गर्छन्
होस गुमाएको नसामा शासकले कसलाई गोली हानेन र ?
प्रायोजित डिनरका नसाका उन्मादमा
आँखा चिम्लेर गोली हान्दा
आफन्त मारिनु कुन आश्चर्य भयो र ?
बहुलाएको कुकुर कसैलाई टोक्न पाउँदा आनन्द मान्दो हो
उसको सोचाइमा सारा संसार आफूलाईजस्तै ठान्दो हो
मुसाका दाँच चिलाउँछन् रे घ् त्यसैले हर समय हर वस्तु टोक्नैपर्छ
प्रायोजित रूघा सारेकाहरू बल झिकेर हाछ्यूँ गर्नैपर्छ
दिमाग चटाएकाहरू उन्मादको चटक देखाइरहेछन्
प्रायोजित नियुक्तिका स्वघोषित नायकहरू
फाँसीको माग गरेर मालिकको जुठो रक्सीको आस गरिरहेछन्
गल्लीमा नायक बन्न नसुहाउने नालायकहरू
कसैलाई झुन्डाएर रमिते नायक बन्न खोजिरहेछन्
यहाँ नायकका मुखबाट विदेशको रक्सी उन्मादले बोलिरहेछ
शब्द रक्सीले नुहाएर उन्मादको नसामा मनपरी बोल्छ
लाच पखालेर लर्बराएका नाङ्गाहरू
उन्मादले बर्बराएर तमासा देखाइरहेछन्
होस गुमेका हैसियतहरू हमेशा हमलाको भाषा बोल्दछन्
पारो बढेको छ सडेको उन्माद अति चढेको छ
त्यसैले विदेशी रक्सी नशामा दिमाग सडेको छ
जवानीको उन्माद होइन एक्लै बाँदरको उन्माद चढको छ
तन्किन नसकेर होला सङ्कीर्णता खुम्चिने उन्माद चढेको छ
फिका तर्कमा अर्थ खोजेर हराएकाहरू
सङ्कुचित चित्तले धम्की र गालीका बुई चढ्दो रहेछ
प्रायोजित नसाका नायकहरू सङ्कुचित चित्तका गायक बनिरहेछन्
मान्छेका हाड खसकिो स्वादसँग चपाउने रहरका चितुवाहरू
प्रायोजित मनले धारे हातको सराप गरिरहेछन्
पैसाले पलाएका नक्कली जुँगाको फुर्ती देख्दा
धर्ती आकासले नाटक हेरिरहेछ
नक्कली जुँगामा ताऊ लगाएर भाउ खोजेको देख्दा
सडकको धुलोले अत्तर बन्न पाउने माग गरिरहेछ
भित्रबाट पलाएको उन्माद हैन कोसेलीको उन्माद चडिरहेछ
आफ्नो खेतीका उन्माद होइन उपहारको उन्माद उत्ताउलो बनिरहेछ
इदी अमिनको उन्माद मुटु कलेजोको स्वादमा पुनर्जन्म हुँदो रहेछ
एक्लै बाँदरको रजाइँ एक टुक्रा जमिनमा सङ्कुचित हुँदो रहेछ
प्रायोजित धारे हातको सरापले कोही मर्दैन उन्माद
कसैलाई सराप्दैमा मनको डिप्रेसन निको हुन्न उन्माद
तिमी डप्रेसनका दबाई खाऊ उन्माद
पागलपनले छोएछ त्यसैले अस्पताल जाऊ उन्माद
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २७ – May 9.2012 – २०६९ बैशाख २७ गते, बुधबार)