~कल्पना चिलुवाल~
यो राष्ट्र
प्राङ्गारिक मलखाद हो
जहाँ सप्रिएका छन्
ठुलाठुला झन्डाहरू
यिनै झन्डाहरू
अझै सप्रन
अवैधानिक सन्धि-सम्झौताको बाटो गरी
आयात गर्दैछन्
रासायनिक मलका विषाक्त बोराहरू
यिनै झन्डाहरूले सोहोरेर
गरिबी र अभावहरू
आफ्नो ऐश्वर्य बनाएका छन्
भोका र नाङ्गा शरीरहरूलाई
नोटको बिटो झैँ
बेरेर नाराहरूमा
भोट बैँकमा जम्मा गराएका छन्
यिनै झन्डाहरू
राष्ट्रिय स्तरमा
सडकको गर्मागर्मीसँगै
मान्छेका सपनाहरू
संसद बहसमा
लिलाम बिक्री गर्छन्
नाफाको प्रतिशत हेर्दै
सिद्धान्तलाई सहानुभूतिको पुरियामा
पोको पारेर
खुद्रा व्यापार गर्छन्
बेसोमत छन्
झन्डाहरू
अमलेख हुन नसकेका
जनजीविकाका सवालहरू
न्याय प्रप्तिका उपायहरू
सबैलाई विषादले पुरी पुरी
जनतालाई
जिउँदै कुहाउँछन् र
आफू त्यही मलखादमा
सप्रिरहन्छन्
यो सानो देशको आकाशमा
फहराउने ठुलाठुला झन्डाहरू
निकै असभ्य र बेसोमती छन् ।
(स्रोत : नेपालखबर डट कम)