~कृष्णसेन “इच्छुक”~
ए, मेरो प्रिय सखा !
जीवनसङ्ग्रामको यस दौरानमा
एकै यात्राका सहयात्री हामी
अहिले हाम्रो साथ तिमी नरहे पनि
मुक्तिका लागि विश्वभर लडिरहेका
योद्धाहरूको वीरतापूर्ण कथाहरूमा
एउटा कथा तिम्रो पनि थपिनेछ
न्यायका लागि संसारभर लडिरहेका
जनताको गौरवशाली कथाहरूमा
एउटा कथा तिम्रो पनि थपिनेछ
धरतीभरका जुझारू पुस्ताहरूको
अजेय सङ्घर्ष र विजयका गाथाहरूमा
एउटा भव्य अमरगाथा तिम्रो पनि थपिनेछ
देशभित्र
कतै कुनै कुनाबाट
एउटा आवाज उठे
इन्क्लाबको
त्यो गर्बिलो आवाज तिम्रै आवाज हुनेछ
देशभित्र
कतै कुनै ठाउँबाट
एउटा हात उठे सङ्घषएको
त्यो जोशिलो हात तिम्रै हात हुनेछ
देशभित्र
कतै कुनै दिशाबाट
एउटा हुँकार छुटे विद्रोहको
त्यो प्रचन्ड हुँकार तिम्रै हुँकार हुनेछ
मुक्तियुद्धमा
फलामे किल्ला तोड्ने वीर योद्धाहरूकै अग्रिम पङ्क्तिमा
ए मेरो प्रिय सखा ¤
तिम्रो पनि एउटा अग्रासन हुनेछ
तिम्रो पनि एउटा उच्चासन हुनेछ
जहाँ पनि र जहिले पनि
शान्तिका लागि अशान्तिका विरूद्ध
हलचल हुने ठाउँहरूमा
सबभन्दा पहिले
शीर उठाएर लड्ने
न्यायप्रेमीहरूका अग्रणी तिमी नै हुनेछौँ
हरेक जुलुशमा कसिएका दरा मुट्ठीहरू
तिम्रै मुट्ठीहरू हुनेछन्
हरेक युगमा गोली थाप्ने ढालजस्तै चौडा छातीहरू
तिम्रै छातीहरू हुनेछन्
जहाँ पनि र जहिले पनि
अज्ञान, अन्यौल र अन्धकारका बीच
अलमल्ल हुने मनहरूमा
झलमल्ल ज्योति बन्ने प्रकाशपुञ्ज
तिमी नै हुनेछौँ
एक दिन
यस्तै अन्यौलको सघन कुहिरोलाई चिरेर
जब देशले आफ्नो
लामो निद्राको मौन अन्तराललाई च्यातिरहेको थियो
तिनै सुषुप्त जागरणका घडीहरूमा
मैले दीनदुःखीका आर्तपीडाहरूमा पोख्न सिकेँ
त्यसबेला तिमीले भनेथ्यौँ— “लेख्नुछ, सधै देशका कविताहरू लेख
लेख्नुछ सधै जनताका कविताहरू लेख”
तर, ए मेरो प्रिय सखा ¤
यो कस्तो क्रूर विडम्बना हो ¤
आज मैले त्यसको सट्टा
शोकमा डुबेर
तिम्रै शोकगाथा लेखिरहेछु ¤
युगको आँधीले
जडताको कालो अन्धकारलाई सोहोरेर
जब देशलाई नै बढारिरहेको थियो
यस्तै हलचलका उत्सुक बेलाहरूमा
मैले गीत गाउन सिकेँ
मेरा ती गीतहरूमा
मैले जनताका भावी जीतहरू सुनाउन सिकेँ
त्यसबेला तिमीले रमाइ भनेथ्यौ
“गाउनुछ, सधै मुक्तिका गीतहरू गाऊ”
तर ए मेरो प्रिय सखा ¤
यो कस्तो विसङ्गतिको करूण दुर्घटना हो ¤
आज मैले त्यसको सट्टा
शोकमा डुबेर
तिम्रै शोकगीत गाइरहेछु
अग्घोर पीडा र खिन्न मनको क्षणिक निराशाको यस घडी
म आफैलाई आफ्ना सान्त्वनाका शब्दहरूले
सानो नानीलाई प्यारी आमाले जस्तो सुम्सुम्याइरहेछु
धमिलो भल पसेर सङ्लेको
मूलको निर्मल पानीजस्तै
मैलिएको चित्तलाई
सजल आँशुले धुन खोजेर
म अहिले आफैलाई थुम्थुम्याइरहेछु
तिमीले भनेजस्तै
मेरा ती कविताभन्दा पनि सुन्दर कविता भएर
तिमी अब सर्वोत्तम भावहरूमा हृदयहरूबीच कुदिँनेछौ
यो सुन्दर कविता पढिदिने देश हुनेछ
तिमीले चाहेजस्तै
मेरा ती गीतभन्दा पनि मिठो गीत भएर
तिमी अब मधुरतम लयहरूमा ओठहरू
बीच सुसेलिनेछौ
त्यो मिठो गीत सुनिदिने जनता हुनेछ
गुराँसको थुँगाभन्दा पनि रातो थुँगा भएर
तिमी अब रक्तिम लालीहरूमा सर्वत्र पोतिनेछौ
ती राता थुँगाहरू सिउरिने संसार हुनेछ
(आजभन्दा २७ वर्ष अगाडि २०४२ वैशाख १८ गतेका दिन पंचायती मन्डले र कांग्रेसी गुन्डाहरुको आकर्मणमा परि सहादत प्राप्त गर्नुभएका शहीद मित्रमणि आचार्यको सम्झनामा उहाँका सहपाठी रहनुभएका कवि इच्छुकले लेख्नुभएको यो कविता हामीले शोकाञ्जली खन्डकाव्यबाट लिएका हौं । )
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २६ – May 2, 2012 – २०६९ बैशाख २० गते, बुधबार)