कृष्ण वस्तीका चौध मुक्तकहरु

~कृष्ण वस्ती~Krishna Wasti_1

जीवनको मैदानमा अक्षरहरुले फुटबल बनाए्
राजनीतिका पारखीले बेलाबखत मादल बनाए,
सधैँ अरुको लागि देउरालीको पाती बनेको मलाई
आखिर आफ्नै सपनाहरुले पनि केवल आँखाको गाजल बनाए ।।

मैले पहाड चढ्दा शानदार हिमाल देखें ,
तराईतिर झर्दा इमानदार धिमाल भेटें
तैपनि धर्म र जातिवादले साइनो फाटेर
आफ्नै गाउँ पनि चिरिएको बिरानो नेपाल भेटें ।।

कसैका लोभी नजर,
कसैका पापी नजर,
लैनो पाडाका खुट्टाजस्तै,
मेराचाहिं बटारिएका नजर ।।

कानमा रात हालेपछि सिरक ठानेर निदाउँछ ,
बिहानै एक कप सूर्य पिएर मनलाई काममा फिजाउँछ,
बाटोमा मुक्तक-कविता र गीतका अनाथ नानी बटुल्दै ,
थकित एउटा चेतनाको फूल आफूलाई पसिनामा भिजाउँछ ।

बातबातमा जनमतको रामनामी मन्त्र छ ,
बलियाले निर्धालाई सिन्की बनाउँन स्वतन्त्र छ ।
विधिभन्दा धेरै माथिका नेताको शासनसत्ता छ,
गणतन्त्र नेपालमा जङ्गबहादुरको लोकतन्त्र छ ।।

गरीबलाई दिन्छु र ….लाई लान्छु नभनेकै राम्रो ,
झर्ला र खाउँलाको आशे दिन पनि नगनेकै राम्रो ।
चिलाएको मुखले प्याच्चै बोलूँजस्तो लाग्दै छ मलाई,
संविधानको नाममा देश च्यात्ने तमसुक नलेखेकै राम्रो ।

कपालभाती जान्नु छ भने, हरिद्वारमा रामदेव छन्,
खुराफाती बन्नु छ भने, बल्खु दरबारमा वामदेव छन्।
भन्न त नारी भनेको आमा हो, सबैले भन्छन् सान्नानी !
तैपनि तिम्रो बैंसमा आँखा गाड्ने, चारैतिर कामदेव छन्

लोकतन्त्र भनेको कानमा सिउरिने जमरा होइन,
राज्य भनेको तिमीले खाएर चुठ्ने कोपरा होइन ।
खोलो तरेपछि लौरो बिर्सने नेता हो !याद गर,
जनता भनेको जुठेल्नोमा फालिने टपरा होइन ।।

वीरबलको खिचडी नपाक्ने नै ठहर भो,
नेपाली जनताको सपना फगत एक रहर भो ।
राजतन्त्रको सिंगान पुछेर नाक त जोगाइयो ,
गणतन्त्रको ढाकर पनि जनतालाई कहर भो ।।

बारीका मूला हुन् भने लात्तीले सिन्की खाँदे हुन्छ ,
नेपाली जनता भेडा हुन् भने तिम्रै टाट्नोमा बाँधे हुन्छ ।
शासन-सत्तालाई उल्फाकै धन बनायौ नेताजी !
यस्तै हो भने राज्यकोषबाट तिम्री फुपूको सराद्धे हुन्छ ।।

मानिसको अन्तर्राट्रिय जाति हुनेछ भन्दै मुठ्ठी उठाएँ,
पुर्ख्यौली अंशमा पाएका टुप्पी र जनै कटाएँ ।
अब मार्क्सवादको नारामा मनुस्मृतिको पारा झिक्दैछु,
त्यसैले टुप्पी र जनैलाई जातिवादमा फर्किंन खबर पठाएँ ।।

मेरो खसम प्राणजस्तै प्यारो छ,
तर जन्मभूमि प्राणभन्दा प्यारो छ ।
सिन्दूर पखालिएको आहालमा फुल्न सकिन्छ,
तर नेपालविनाको नेपाली भएर बाँच्न गाह्रो छ ।।

दौरा-सुरुवाल च्यातेर कोट-पेन्ट लगाएँ,
स्वदेशी पानी त्यागेर, विदेशी सेन्ट लगाएँ,
के गरिंन मैले पुरानो नेपाल बिर्साउँन ?
पुर्ख्यौली घर भत्काएर, बासका लागि टेन्ट लगाएँ ।।

मुक्तिको घाँस देखाएर, देउताले पछि लगाए,
सुखशान्तिको नाममा, राजाले कर उठाए ।
“सर्वहाराको लागि लड्दैछु” भन्ने कामरेडले पनि,
नढाँटी भन्नुपर्दा आफ्नो लागि जनता लडाए ।।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.