कविता : ऊ मान्छे

~उज्ज्वल जी.सी.~ujjwol-gc

तीक्ष्ण बुद्धि मस्तिष्कभित्र
सँगालेको दाबी गर्छ ऊ
नगरोस् पनि किन
उसले आफ्नो अस्तित्व अडाउने
बलियो धरातल भेटेको छ
अतः आफैलाई बहुविद् सम्झने
उसको आडम्बर निरन्तर
स्थायी छ

ऊ कसैको भविष्य चिनेर
आज वर्तमान खेलाइरहेछ
हो, कसैलाई हातै काटेर दिन्छ
कसैको हौसला धुमिल बनाई दिन्छ
घोडा चढ्नेहरू
एक–दुईफेर पल्टन्छन् भन्ने
थाहा छैन उसलाई
फलतः
ऊ कसैलाई एक आँखाले हेर्न चाह‘ंदैन
कसैलाई दुई आँखामा राखिदिन्छ

कविताको क ख ग घ ङ चिन्छ ऊ
कविताकै ङ घ ग ख क चिन्दैन फेरि
यद्यपि
मूल्याङ्कनको तराजु
उसैको हातमा अल्झेको छ
अर्थात्
फगत एउटा लच्कने कुर्सीमा
भ्यागुता जस्तै फुल्दै बसेको छ –
कविता, लेख, कथा आदि–इत्यादि हेर्दै ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.