~श्रेष्ठ सत्य~
“साथीहरु सबै काममा गएकोले म त आज दिनभरि एक्लो परँें, झण्डै बौलाईन, घरमा कोही पनि नभएकोले म त बेस्सरी आत्तिएँ ……”
“एक्लै बस्नुप-यो भने म त बौलाउँछु होला ।” यस्ता वाक्यहरु प्रायजसो हामी सुन्ने गर्दछौँ र त्यसो भन्ने व्यक्तिलाई हामी सान्त्वना दिन्छौँ । मानव समाजमा एक्लो हुनुलाई अभिशापको रुपमा लिइन्छ । अनादिकालदेखि नै मानिस एकाकीपनाबाट निकै त्रस्त छ र त्यसबाट बच्न उसले विवाह, परिवार, सन्तान–दरसन्तान आदि परम्पराको विकास गरेको पाईन्छ । एक्लो होइएला कि भन्ने भयले त्रस्त भएर नै होला ऊ कुनै न कुनै संघ–संस्था वा समूहहरुमा आवद्ध हुने गर्दछ । मानिस कतै एक्लो हुन नपरोस् भन्ने भयले हरतरहले जीउ ज्यान लगाएर समिति, समूह र संघ–संगठन आदि भीडमा नै रहने प्रयास गरिरहन्छ तर पनि तीतो यथार्थ यही हो कि मान्छे सदा एक्लो नै हुन्छ ।
पहिलो र साश्वत सत्य त के हो भने मानिस एक्लै जन्मन्छ र ऊ एक्लै मर्छ । त्यसैले प्राकृतिक रुपमा नेै मानिस एक्लो प्राणी हो । नवजात शिशु अवस्थादेखि हुर्कने, बढ्ने र क्रमशः मृत्युतिर धकेलिँदै जाने क्रममा उनको भेटघाट र संगत विभिन्न व्यक्ति तथा वस्तुहरुसँग हुने गर्दछ तर ती मध्ये कुनै पनि व्यक्ति र वस्तुसँगको उसको सम्बन्ध चीरस्थायी रहन सक्दैन । ढिलो या चाँडो ती सबै सम्बन्ध वियोगमै टुंगिने गर्दछ । यहाँसम्म कि न त उसलाई जन्म दिने बा आमा नै ऊसँग सधैँ रहन्छन् न त तथाकथित जीवन साथीले नै जीवनको हरपल र हरक्षण अनि अन्तिम पलसम्म साथ दिन सक्छ । साथी–संगी तथा अन्य नातेदारहरुका त कुरै नगरौँ । यसैबाट सहजै अनुमान लगाउन सकिन्छ कि मानिस नितान्त एक्लो प्राणी हो । तैपनि हामी यस कुरामा कति पनि सचेत छैनौँ । हामी त दिनानुदिन पार्टी, दल, ग्याङ, संगठन, समूह या बथानमा रहनुलाई नै आफ्नो महानता र सफलता मानिरहेका छौँ । तर, हामीलाई थाहा छैन त्यो समूहमा रहुन्जेल सबै सदस्यहरु साथ रहेको भ्रम भए तापनि संस्था त्यागेको भोलिपल्टदेखि नै ऊ फेरि नितान्त एक्लो हुन पुग्दछ । यस्तैमा मलाई एकजना भूपू मन्त्रीको सम्झना आउँछ । मन्त्री पद त्यागेको एक हप्तापछि उहाँलाई एक्लै नयाँ बानेश्वरमा हिँडिरहेको देखेँ । मैले उहाँलाई नजिकै गएर नमस्ते गरेपछि उहाँले मलाई भन्नुभएको थियो –“हिजो मेरो पछाडि कति मानिसहरु थिए तर मेरो मन्त्री पद खुस्किएपछि त म बिलकुल एक्लो भएको छु । हिजो मेरा पछि लाग्नेहरु पनि आज नचिनेको जस्तो गर्छन्, तपाइले मलाई नमस्कार गर्दा मलाई अचम्म लागेको छ ।” उहाँले भोगेजस्तै समूह संगठन पद छाडेको भोलिपल्ट नै मानिस एक्लिन्छ । चाहे जतिसुकै ठूलो पदमा रहेर उसले काम गरेको किन नहोस् ? संगठनमा रहँदा पनि मानिसले कहाँ साथ पाउँछ र ? त्यहाँ पनि पद र प्रतिष्ठाका लागि पदाधिकारीहरुबीच नै सदैव तनाव र झगडा मच्चिरहन्छ । अनेक थरी गुट उपगुटहरुमा उनीहरु भित्र भित्रै नराम्ररी टुक्रिएका हुन्छन् । एकआपसको षड्यन्त्र र खिचातानीमा नै पदाधिकारीहरु हमेसा व्यस्त रहन्छन् । सबै संघ–संगठनको नाममा आ–आफ्नै व्यक्तिगत दुनो सोझ्याउने काममै मरिमेटेर लागिरहन्छन् । यसरी संघ–संगठन, पार्टी, दल, झुण्ड आदिका बाबजूद पनि मानिस त एक्लै हुन्छ । यो तीतो सत्य हो । संघ–संगठनका सदस्यहरुबीच जस्तो खतरनाक दुस्मनीको भावना जातीय शत्रुहरुबीच पनि हुँदैन । त्यसैले यी कुराहरुले पुष्टी गर्दछ कि मानिस जहाँ पनि एक्लै हुन्छ, ऊ कतै पनि वास्तवमा कसैको साथ रहनै सक्दैन ।
हामीले मनुष्य जातिको इतिहास पल्टाएर हेर्दा पनि जो मानिस एक्लै रमाउन सक्यो उसले मात्र जीवन र जगतको सत्यलाई अनुभव गर्न पाएको पाउँदछौँ । शान्तिका संवाहक बुद्ध, महावीर लगायत महान ऋषिमुनिहरु तथा भगवान कहलाएकाहरुले पनि घर, परिवार, समाज सबै त्यागेर एकान्तमा गएर तपस्या गरेर मात्र जीवनका रहस्यहरु उजागर गर्न सक्षम भएको दृष्टान्त हामी सामु छर्लंगै छन् । त्यसैगरी महान् साहित्यकार, कलाकार, वैज्ञानिकहरुको पनि एकाकीपनामै आफ्नो कला, सृजना र आविष्कारहरुको प्रष्फुटन हुन सकेको तथ्य उनीहरुको जीवनीमा नियाल्दा हामी थाहा पाउछौँ । यसर्थ पनि एक्लो हुनु मानिसको अभिशाप होइन कि एक्लो हुनु मानिसको प्राकृतिक गुण हो र प्राकृतिक स्वभाव पनि हो । यसको बदलामा भिडमा जिउने मान्छे सधैँ होहल्ला गर्ने, बदमासी गर्ने र उद्दण्ड खालका हुन्छन् । अध्ययनहरुले के देखाएको छ भने मान्छे एक्लो हुँदा भन्दा भिड या समूहमा रहँदा ऊ अत्यधिक आपराधिक मनस्थितिमा रहने गरेको पाइएको छ । मान्छे भेँडा होइन कि जहिल्यै भिडमा हिँड्नका लागि । मान्छे सर्वश्रेष्ठ प्राणी भएको नाताले प्रत्येक मनुष्य आफ्नै विशिष्ट प्रतिभा र क्षमता लिएर जन्मेको हुन्छ परन्तु हाम्रो तथाकथित समाजले परम्परा, संस्कृति, नीति आदिका नाममा उसमाथि जन्मेकै दिनदेखि कृत्रिम रंगरोगन लगाइदिएर उसको प्रतिभालाई बाहिर प्रष्फुटन हुने अवसर नै दिँदैन । एक बालक ऊ आफ्नै विशिष्टता लिएर जन्मेको हुन्छ तर हामी उसलाई भँेडाझैँ बनाइदिन्छौँ । मान्छे जे बन्नलाई जन्मेको हो त्यो बन्न नपाएकैले आज संसारमा यति दुःख र बेचैनी बढेको हो । किनकि हामीले सामाजिक प्राणी भन्दै उसलाई कदापि एकान्तमा उसको प्रतिभा र वास्तविक क्षमताको प्रष्फुटन हुनै दिदैनौँ । जो समूह छाडेर एक्लोपनामा रमाउन खोज्छ उसलाई हामी पागल या मानसिक रुपले विक्षिप्त भएको भनेर अवहेलना र तिरस्कार गर्दै उसलाई बाँच्नै मुस्किल बनाइदिन्छौँ ।
मेरो गाउँमा मेरो एकजना साथीको बुबालाई सबैजनाले पागल पागल भनेर उडाउने गर्थे । बाटो, चोक या चिया पसलहरुमा उहाँलाई देख्नेबित्तिकै मान्छेहरु उहाँको चर्चा गरेर हाँस्थे । उहाँ सामान्य मान्छेहरु भन्दा भिन्नै प्रकारको हुनुहुन्थ्यो । जसले जे भने पनि उहाँ केही नसुनेको, केही थाहा नपाएको जस्तो गरेर आफ्नै पारामा हिँड्नु हुन्थ्यो । मेरो साथी पनि आफनो बुबाको पारा देखेर लज्जित र चिन्तित थिए । त्यसो त उहाँको कोही पनि साथी थिएनन् । उहाँ जहिल्यै एक्लै देखिनुहुन्थ्यो । बाटोको छेउमा, खेतबारी, जंगलमा एक्लै के के खोजिरहनु हुन्थ्यो । पछि मात्रै मैले थाहा पाएँ कि उहाँले गाउँमा दुर्लभ प्रकारको जडिबुटीहरुको बोट खोज्ने गर्नु हुँदो रहेछ । त्यस्तो विरुवाहरु लगेर उहाँले आफ्नो बारीमा जडिबुटीको खेती नै गर्न थाल्नु भएको रहेछ । त्यसो त उहाँ एक्लै नहिँडी साथी र समूह बनाएर हिँड्ने गरेको भए उहाँले त्यति महत्वपूर्ण काम गर्न कदापि भ्याउनु हुन्नथ्यो । त्यसो त उहाँलाई न त अरुको कुरा सुन्ने नै फुर्सद हुन्थ्यो । न त अरुले के भन्छन् भनेर चासो राख्न नै उहाँसँग समय हुन्थ्यो । उहाँ त दिन रात आफ्नै जडिबुटी उत्पादन र नयाँ जडिबुटी खोज्नमै व्यस्त हुनुहुन्थ्यो । पछि उहाँलाई जिल्ला कृषि कार्यालयले सम्मान पनि गरेको थियो । यसरी प्रतिभावान मान्छेलाई कहाँ फुर्सद हुन्छ साथी र बथान बनाएर हल्ला गर्दै हिँड्न ? उहाँबाट मैले थाहा पाएको थिएँ एक्लो मान्छे नै प्रतिभावान हुन्छ र प्रतिभावान मान्छे सधैँ एक्लै हुन्छ । ओशोले कतै आफ्नो प्रवचनमा भनेका छन् कि हुलमा बाँच्ने मान्छे सधैँ बेहोसी अवस्थामै हुन्छ । ऊ आफ्नो चेतना र होसमा हुनै सक्दैन । स्वतन्त्र र आत्मनिर्भर मान्छेको कोही साथी हुनै सक्दैन । साथ माग्नु भनेको पनि परनिर्भर हुनु हो । जुनसुकै सम्बन्धमा पनि सबै एकअर्कामा माग्न र अरुबाट आशा गरेर बाँचेका हुन्छन् । वास्तवमा सम्बन्ध भन्नु नै भिखारी हुनुको अर्को नाम हो । त्यसैले नाता सम्बन्धमा जहिल्यै धोका हुन्छ, विश्वासघात हुन्छ ।
आज विश्वमा तमाम अशान्ति र हिंशा बढ्दै जानुको प्रमुख कारण यही सत्यलाई नजान्नाले नै हो । मानिस जाति, धर्म, भाषा, वर्ण, क्षेत्र, दिशा आदिको नाममा संगठित हुँदै अरु मनिससँग विभाजित छ । वास्तवमा मानिसको न त कुनै जात छ, न त वर्ण, धर्म र क्षेत्र अनि दिशा नै छ । यी सबै त कायरहरुले आफूलाई सुरक्षित बनाउनका लागि निर्माण गरेका कृत्रिम संगठनहरु हुन् । त्यसैले त आज तिनकै नाममा विश्वभरि अनेक हिंसा र आतंकहरु मौलाइरहेका छन् । वास्तवमा त मानिस नितान्त एक्लो नै छ । मानिस आफैमा पूर्ण छ । जुन दिन मानिसले यो सत्यलाई जान्दछ त्यस दिन मात्र यहाँ शान्तिको स्थापना हुन सक्दछ र मानिस सही मानेमा प्रतिभावान् र क्षमतावान् बन्न सक्दछ ।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक ३, डिसेम्बर २०१३)