~होम सुनुवार दसुचा~
मातृभूमि छोडी पाईला विदेशतिर लम्कियो
मनलाई गुटुमुट पारी भित्रैबाट नचाहेर पनि
के भनौँ बाध्यता वा विवशको भारी बोकेर
अथक हातगोडाहरु निरन्तर चलिरहन्छन्
स्वचालित मसिनझैँ आफ्नै रफ्तारमा
पसिनाको थोपाले जब भिज्छ पराईभूमिमा
मन चिसिन्छ कताकता मातृभूमिको यादमा
हृदय भतभती पोलेर खाग हुनै लागी सक्यो
स्वदेशको भताभुङ्ग लथालिङ्ग अनेकौँ देखेर
मन दोधार भैसक्यो कता बिताउने बाँकी जीवन
देख्नमा केही आर्जित धन र ज्यान विदेशमा
तर भित्री मन र सबै आफन्तजन भने स्वदेशमा
बाबाले फोनमा सोध्नुहुन्छ हैन कहिले आउने ?
आमा भन्नु हुन्छ कति हेर्नु तिमीहरुको बाटो
बाँकी रहेका गाउँले भन्छन् गाउँनै शून्य छ
ठाउँ भए हामी पनि जानु हुन्थ्यो जुरुक्क उठी
विकासको नाममा जग्गाहरु चिराचिरा भए
जताततै बाटैबाटो कतै पक्कि सडक छैन
खोलानाला ठप्प भए सिंचाई सुविधा कतै छैन
बाँकी गाउँले झगडामात्रै शान्ति सुरक्षा छँदै छैन
निराशिन्छ परदेशी छोरा शान्तिको दियो कहिल्यै नबल्दा
धिक्कारिन्छ विदेशमा सबै नेपालीका आँखा नखोलिँदा
रुन मात्र सकेको छैन घुटघुटी आँशु पिएर पनि
जिउँदो लाशझैँ लाग्छ हातगोडा चल्दै जिए पनि
खै के भनौँ कसलाई सोधौँ के गर्ने कसो गर्ने
सबै नजान्ने, सबै जान्ने, सबैले सबैलाई विश्वास नगर्ने
अविश्वासको त्यो बुटी मैले पनि भिर्नै प¥यो
अंशबण्डा गर्दा सबैलाई खोई बराबरी प¥यो !
झिनो आशाको त्यान्द्रामा सकिनसकी कति झुण्डिनु
राज्यले खनेको ऋणको पोखरीमा कति पौडिनु
जोश जाँगर खुशी उमङ्ग सबै अब त मरी सके
कुन दिनमा साईत भई विदेशीएको प्यारो छोरो
स्वदेशको बेहालदेखी विदेशमै जरो गाड्यो
मातृभूमिले बिर्सिए पनि शासकवर्गले त्याग्न खोजे पनि
तर छोरा छोरै हो जुन माटोमा जन्म्यो हुक्र्यो
त्यही माटोमा मर्ने छोरो आखिरीमा त्यही हो छोरो
बा–आमाको आशिर्वादले फर्की आउँला स्वदेशमा
दुई दिनको रामछाँया रम्ने घुम्ने विदेशमा
दागबत्ती छापोकुरो गर्ने पनि उही हो छोरो
देशलाई मुक्ति शक्ति दिन स्वदेश फर्कन्छ छोरो
बा–आमालाई गर्व दिलाउन फर्कन्छ परदेशी छोरो
(फार्नबरो, यूके)
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)