कविता : देश दुखी रहेका घाऊहरु

~जे.बी. शेर्पा ~ J B Sherpa

छाक जुटाउन धौ धौ परे पनि !
मिठो खान र राम्रो लाउन चाडै कुर्न परेपनी !
धुलो र पसीना नै जीवन भएपनि !
साग सिस्नु र ढ़िडो मै हुर्के पनि !
बचे खुचेको केही थोत्रो आशा बाहेक !
मलाई तिमी संग खासै गुनासो थिएन ए काठमांडू !
तर आज !
म आफ्नै देश मा , वैरी हरु द्वारा लुटियी रहेछु , लखेटीइ रहेको छु !
शरणार्थी बनेको छु !
अनि देख्छु , मेरो भत्किएको घर आँगन मा तिरंगा ** को कालो छायाँ !
उ !!!! सुन्दै छु फेरी पनि ,
सीमापार बाट बुट हरु को गड्याम गड्याम क्रूर आवाज हरु !
अर्को गायत्री ** र देबी ** को खोजीमा आउदैछ !
अर्को दशगजा सारिदै छ र विर्खमान ** हरु मारिदै छ !
साथ साथै मेरो अस्तित्व , अस्मिता र स्वाभिमान !

क्रूर हाँसो संगै बुट मुनि दबाई रहेछ !
एक्कासी छाती दुखेर आउछ , घाऊ हरु बल्झिनछन !
म हठात आँत्तिन्छु , रुन्छु भक्कानिएर ! काठमान्डू लाइ गुहार्छु आर्तनाद गर्छु !
आँसु रित्तिन्छ !
धेरै पछि काठमान्डू बोल्छ “” तिम्रो आँसु र रगत झूठ हो “”
ए काठमांडू ? एक पटक आफैं लाइ चिमोटर हेर !
मेरो आँसु र रगतको आलो टाटो ,
अनि यी देश दुखी रहेका घाऊ हरु बाहेक के दशी प्रमाण देखाऊ ?
तै पनि भन्छु यी सारा घाऊ हरु छोप्दै !
भैगो तिम्रो सुरक्षा सहारा र विकाश को आश्वाशन चाहिन्न !
म केवल मेरो माटो चाहन्छु , उखेलिएको जंगे खम्बा हरु जहाँ को त्यहीं चाहान्छु !
म केवल मेरो माटो मा देशको झंडा फरफराएको चाहन्छु !
ए काठमांडू ? कहिले काहीं ,
अमर सिंह , भक्ति थापा र बल भद्र कुवर को वीर गाथा हरु सुन्ने गर !
शहीद हरुको देश प्रेम बुझ्ने गर !
मलाई थाहा छ तिमी अचेल लेंदुप दोर्जे ** झै लोभिएका छौ ! वहकिएका छौ !
हामी कहिल्यै शासित थियेनौ , लढयौ , मर्यों तर सिर झुकाएनौ !
एक पटक त सोच फेरी , एक पटक त रोज फेरी !
दाश बनेर दरवार मा वस्नु या स्वतंत्र भएर छाप्रो मा वस्नु ?
दाश बनेर हैदरावादी बिरयानी खानु की ?
स्वतंत्र भएर गुन्द्रुक ढिँडो खानु ?
दाश बनेर अत्याचार सहनु राम्रोकी ?
स्वतंत्र भएर डटेर लड़नु राम्रो ?
ए काठमांडू ?
म आज फेरी देश दुखी रहेका घाऊ हरु छोप्दै !
छाती मा ज्वालामुखी हरु सम्हाल्दै !
अंतिम पटक तिमी लाइ पर्खी रहेको छु !

** ** ** **

———————————————————————————-
** लेंदुप दोर्जे = सिक्किम लाइ भारतमा गाभ्न मुख्य भूमिका खेल्ने गद्दार ( दलाल)
** तिरंगा = भारतीय झंडा
** गायत्री = भारतीय गुण्डाहरुले अपहरण गरी ५/६ महिना राखी चरम यौन शोषण
गरेको र बलात्कारको पीडा सहन नसकी आत्महत्या गरेकी नेपाली चेली ।
** देबी= आजभन्दा २ वर्ष पहिला भैसाहीमा मोटर साइकलमा आएका भारतीयले देबी
खड्कालाई जवर्जस्ती अपहरण गरी बेपत्ता पारियेकी नेपाली चेली ।
**विर्खमान पुन= जसलाई भारतीय गुण्डाद्वारा अपहरण गरी भारतीय जंगलमा खुकुरी र
गोलीद्वारा हत्या गरी घरमा आई उनका १५ बोका र खसी लुटी लगेको।

6/25/2009

जाङबु (जे.बी.) शेर्पा
एंटवर्प , बेल्जियम

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.