~पद्मावती सिंह~
तरूणावस्थादेखि बन्दीपुरप्रति म आकर्षित भएकप् थिएँ – तारादेवीले गाएको म.वि.वि शाहले रचेको ‘बन्दीपुरको उकालो लामो मस्र्याङ्गदी डुङ्गाले तरेर’ भन्ने गीतबाट ….। बन्दीपुरको प्राकृतिक सुन्दरता र भौगोलिक स्थितिबारे केही जानकारी गराउने तथा बन्दीपुरको परिचय गराउने उक्त गीत मलाई साह्रै मन पथ्र्यो । त्यतिबेलादेखि नै मैले बन्दीपुरलाई भेट्ने धोकोलाई मनभित्र पालेको थिएँ । बर्षौ देखिको धोको पुर्याइ दिनुभयो बन्दीपुरको बुहारी जलेश्वरी भाउज्यूले पोहर साल । संयोग यसरी जुट्यो । गत साल पुषको पहिलो हप्ता जलेश्वरी भाउज्यूले आफ्नो निवास स्थानमा महिला लेखिकाहरूको एउटा कवि गोष्ठीको आयोजना गर्नुभएको थियो । उक्त गोष्ठीमा म पनि निम्त्याइएकी थिए । गोष्ठी सकेपछि कुरैकुरामा कवि द्वारीका श्रेष्ठले बन्दीपुरको चर्चा गर्नुपछि उहाँ बन्दीपुरको रहेछ भनी मैले थाहाँ पाएँ । उतिखेर मैले वर्षदेखि आफ्नो हृदयमा पालिराखेको बन्दीपुरको दर्शन गर्ने र आफ्नो अधुरो सपना पुरा गर्ने एउटा सुरम्य प्राकृतिक स्थानको खाजी गरिरहेको कुरा मैले बताएँ ।
के बन्दीपुर अनुकूल स्थान हुन सक्दैन । मेरो उद्देश्य प्राप्तिको लागि ? मैले प्रश्न गरें द्वारीका दाईलाई ।
‘तपाई बन्दीपुर गएर हर्नुहोस् । तपाईलाई अवश्य मनपर्नेछ । बन्दीपुरको सुन्दरताको वर्णन गर्दै उहाँले भन्नुभयो । त्यसपछि उहाँकी पत्नी जलेश्वरी भाउज्यूले मलाई बन्दीपुर छिट्टै पुर्याउने बाचा गर्नुभयो ।
नभन्दै त्यो दिन छिट्टै आयो । पौष २० गते हामी काठमाडौंबाट चितवन जंगल लजतर्फ लाग्यौं । एकरात आरामपूर्वक विताएर बिहानको नास्ता गरेर हामी बन्दीपुरतर्फ रवाना भयौ । पौष २१ ग्ते दमौली हुँदै बन्दीपुरको लामो उकालो उक्लिदै गाडीले हामीलाई ठीक १२.०० बजे बन्दीपुर पुर्याइदियो । बन्दीपुको घुमाउरो उकालो उक्लिरहँदा ‘बन्दीपुर उकालो लामो’ गीतलाई मैले मनमनै गुनगुनाई रहें । यसरी २०५७ साल पौष २१ ग्तेका दिन बन्दीपुको ऐतिहासिक तथा सांस्कृतिक स्थल टेक्ने सौभाग्य पाँए ।
बन्दीपुर गेष्टहाउसमा बस्ने बन्दोबस्त मिलाएर बिहानको भोजन त्यहीं गरेर हामी तत्कालै बन्दीपुरको बजार तथा अन्य ठाउँहरू अवलोकन गर्न हिड्यौं । सम्म ठाउँमा दुबैतिर लश्करै घरहरु उभिएको सानो बजारको रुपमा आफ्नो अस्तित्वलाई जोगाइ राखेको बन्दीपुरको बजार देख्दा मलाई झलल्क गोरखाको नेवारहरुको बस्ती आरुघाट बजारको सम्झना आयो । नेवार जातिको बसोबास भएको नेवार संस्कृतिकको नमुनाको रुपमा बन्दीपुरको सानो बजारले मेरो मनमा एक प्रकारको अमिट छाप छोड्यो । हुन त बन्दीपुरको सदरमुकाम रहँदा जस्तो चहलपहल अब त्याहाँ रहेन भन्ने कुरा मैले त्यहीँको एक बासिन्दाबाट थाहाँ पाएँ तर जुन रुपमा बन्दीपुरले अहिले पनि आफ्नो सांस्कृतिक तथा ऐतिहासिक छबिलाई जोगाउन सफल रहेको छ – त्यही नै महत्वपूर्ण कुरा हो जस्तो मलाई लागेको छ ।
बजार हुँदै ओरालो झर्दै, उकालो उक्लदै, केही तरेली बाटोहरु पार गर्दै बजारको उत्तरी भागमा अवस्थित एउटा ठूलो सम्म चउरमा पुग्यौं – वरिपरि छरिएका प्राकृतिक सौन्दर्यलाई आँखाभरि बटुल्दै र मनभित्र उत्रार्दै । म त्यतिखेर हिडिरहेकी हैन मानौं उडिरहेकीजस्तो मलाई अनुभूति भैरहेको थियो, टाढा–टाढासम्म फैलिएका पहाडका श्रृङ्खलाहरु र स्वच्छ, निर्मल आकाशमा यताउति रुमल्लिरहेका सेतो भुवासरी बादलका गुच्छाहरु देखें । त्यस ठूलो चउरमा बन्दीपुरहरुले टुँडिखेल भनी नामाकरण गरेका रहेछन् । टुँडिखेलबाट देखिने विहेगम पहाडी भू–बनौट, सुन्दर हरियाली फाँटहरु, डाडाँकाडाँहरु, थुम्काहरु, त्यहाँबाट देखिने अग्ला अग्ला पहाडका टाकुराहरु अवलोकन गर्न पाउँदा मेरो मानसपटलले प्वाँख फिजाउन थाल्यो । पहाडहरु मलाई साह्रै मन पर्छ । पहाडजस्तै मेरो मनपनि अग्लिएर आकाश छुन खोजेजस्ता भान हुन्छ जतै पहाडसित मेरो आँखाहरु ठक्कर खान पुग्छन् ।
केही लमतन्न सुतिरहेजस्तो, केही भरखरै बिउँझिएर आँखा मिचिरहेजस्ता, केही आकाशसित जोरिखोजी आँखा जुधाइ रहेजस्ता भने युगौंदेखि आँखा चिम्लिएर ध्यानमग्न भई तपस्यामा विलीन भइरहेजस्तो ती पहाडका श्रृखालाहरु जे पंक्तिबद्घ भएर बन्दीपुर चौरतिर फैलिएको थिए– मलाई आफ्नो बाहुपासमा निम्त्याइरहेका थिए ।
टुँडिखेलबाट उत्तरतिर देखिने हिमाली श्रृखलाहरु धौवलागिरी, माछापुच्छ्रे, अन्नपूर्णा र गणेश हिमालको चिन्ताकर्षक दृश्यावलोकनले म मन्त्रमुग्ध हुन पुगें । म सम्मोहन भएझैं अपलक ती अलौकिक दृश्यहरुलाई धेरै–धेरै बेर सम्म आँखाभरि कैद गरी अवर्णनीय आत्मिक सुखमा चुर्लुम्म डुबिरहे । मैले धेरै ठाउँबाट हिमाली श्रृखलाहरुलाई अवलोकन गरेकी छु । तर बन्दीपुरबाट देखिने हिमाली दृश्यको छुट्टै आकर्षण रहेको मैले अनुभव गरें । चारैतिर पहाडहरु उत्तरतिर हिमश्रृंखला तथा दक्षिणतर्फ हरिया फाटहरु देखिने बन्दीपुरको टुँडिखेल काठमाडौं स्थित टुँडिखेलभन्दा अत्यन्त आकर्षक र मनमोहक पो रहेछ ।
टुँडिखेल हुँदै हामी त्यहाँ निमार्ण भइरहेको बन्दीपुर रिजोट हेर्न भित्र पस्यौं । यसको निमार्ण पुरा भई यसले सेवा दिन थालेपछि बन्दीपुर जाने विदेशी पर्यटकहरुलाई यसले आरामदायी सेवा प्रदान गर्नुकासाथै बन्दीपुरकने मात्रै हैन देशको आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्छ जस्तो मलाई लाग्छ । रिजोर्टबाट फाटैफाट देखिंदो रहेछ । त्यहाँ उपस्थित एकजना सज्जनले मेरो जिज्ञासा मेटाउँदै आदिकवि भानुभक्तको जन्मस्थल चुंदीरम्घा औंल्याएर देखाई दिनुभयो । मनमनै आदिकविलाई प्रणाम गर्दै हामी पुनः टुँडिखेलमा वषैंको हावापानी हूरी बतास खेपेर चुपचाप आफ्नो शाखा प्रशाखा फैलिएर घोसेमुण्टो लाएर उभिरहेको पिपले चौतारीमा केही बेर सुस्ताउन बस्यौं । त्यही एकजना स्थानीय बासिन्दासित मेरो बन्दीपुरबारे कुराकानी चल्यो । मैले उहाँसित बन्दीपुरको बारेमा आफू केही जान्न जिज्ञाशु रहेको कुरा बताएपछि उहाँले बन्दीपुरका राजनैतिक, सांस्कृतिक र समाजिक पक्षहरुबारे धेरै कुराहरु बताउनु भयो । उहाँले बन्दीपुरको विरहगाथा सुनाउने क्रममा बन्दीपुरबाट सदरमुकाम दमौली सरेपछि बन्दीपरको अस्तित्वमा ठूलो आँच आएको, आर्थिक र शैक्षिक बिकासमा ठूलो ठूलो प्रश्नचिन्ह खडा हुनुकासाथ वन्दव्यापार उथुल–पुथुल भएकोले बन्दीपुरेहरु नारायणढ र दमौलीतिर बसाई सरेको कुराहरु कहँदा उनको अनुहार छरपस्ट भई छरिएका पीडाका रेखाहरुले मेरो मनमा एक प्रकारको नमिठो अनुभूति पोतिदियो । साथै बन्दीपुरजस्तो सुन्दर प्राकृतिक स्थलको रुपमा विकास गर्ने सरकारको सोचाइ भए तापनि सरकारको यसतर्फ खासै पाइला नचालेको दुखेसो पनि उनले पोखे । सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण बन्दीपुर निश्चय पनि एक सुन्दर पर्यटन स्थलको रुपमा विकसित भई यसले बन्दीपुरको नुहेको शिरलाई ठाडो पार्न केही टेवा पुर्याउने छ भन्ने मैले आफ्नो धारणा व्यक्त गर्दा उनी साह्रै प्रसन्न देखिए ।
अघिल्लो दिनको दिनभरको मोटर यात्रा र त्यसदिनको आधादिनको यात्राका साथै दिनभरको घुमफिरले थाकेर हामी साँझ ५.३० बजेतिर बन्दीपुर गेष्टहाउसमा फर्की त्यहाँको स्थानीय बासिन्दासँग भेटघाट गरि रातको खाना खाई सुत्यौं ।
भोलिपल्ट अर्थात पौष २२ गते बिहानै उठेर बिहानको रातो घाममा दुलहीझैं लावण्य छरिरहेको बन्दीपुरको दृश्यावलोकन गर्न हामी चिया पिएर हिड्यौं । मसित सहयात्री जलेश्वरी भाउजू हुनुहुन्थ्यो । लामो खुट्किलाहरु उक्लेर हामी खड्ग देवीको बाहिरबाटै दर्शन गरी मन्दिर परिक्रमा गरी जापानीहरुले व्यवस्थापन तथा स्थापना गरेको बोडिङ्ग स्कूलको हाताभित्र पसेर घुम्यौं । उक्त स्कूलले बन्दीपुरको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको र अन्य जिल्लाबाट विद्यार्थीहरु आई पढ्ने गरेको कुरा त्याहाँका एक कर्मचारीबाट अवगत भयो । बोडिङ्ग स्कूल डुलेर हामी तिनधारातिर लाग्यौं । तिनधारामा हातखुट्टा धोएर नगीचैको महादेवस्थान दर्शन गरी हामी गेष्टहाउसमा फक्यौं । जताततै देदिने प्राकृतिक छटालाई मन्त्रमुग्धभई हेर्दै एकदिन दिनभर र अर्को आधादिन बन्दीपुरमा बिताएर पौष २२ गते हामी काठमाडौं तर्फ फर्कियो । मन त थियो केही दिन त्यहाँ बस्ने तर त्यसदिन काठमाडौं पुग्नै पर्ने बाध्यताले गर्दा हामी फर्कने विवश थियौं ।
मेरो बन्दीपुर बसाई साह्रै छोटो र नपुग भए तापनि त्यस ठाँउको स्वस्छ हावापानी, प्राकृतिक सौन्दर्य र सांस्कृतिक छविले मेरो मनमा एक अविस्मरणीय छाप खोपेको छ जुन जिन्दगीभर मेरो मानसपटलबाट विलुप्त हुने छैन । अर्को शव्दमा भन्ने हो भने बन्दीपुरले मलाई मोहनी लाएको छ । त्यस मोहनीलाई फुकाउन फेरि एकपल्ट बन्दीपुर नगई भाको छैन ।
अन्तमा, काठमाडौंबाट केही घण्टामात्र टाढा बसबाट पनि जान सकिने तनहूँ जिल्ला अवस्थित, विभिन्न राजनैतिक, भौगोलिक, सामाजिक, सामाजिक र सांस्कृतिक आफ्नै इतिहास बोकेको स्वच्छ हावापानी, सुरम्य वातावरण र चित्ताकर्षक प्राकृतिक दृश्यले भरिपूर्ण बन्दीपुर जीवनमा एकपल्ट पुग्ने पर्ने ठाउँ रहेछ । बन्दीपुसित भेट गराउने र त्यहाँको सौन्दर्यसित साक्षात्कार गराउने सम्पूर्ण श्रेय म आदरणीय कवि द्वारीका श्रेष्ठ तथा उहाँकी श्रीमती जलेश्वरी श्रेष्ठलाई दिदैं मेरो छोटो संस्मरणलाई यहीं टुंग्याउँछु ।
(श्रोत : बन्दीपुर सामाजिक विकास समिति, स्मारिका ७ – २०५९)