~अनिल नेम्बाङ~
किस्ता किस्तामा जिन्दगी बेच्ने धुनमा
सपना नदेखेको धेरै भएछ
सपनाको चाङले छत छोएथ्यो सायद
थपिन त पोखिनु पनि पर्यो।
अँ,
हिजो दिनको अन्तिम कित्ता साहुलाई जिम्मा लाएर फर्कदै थिएँ
मनको औंसिमा आफ्नै मनोवादले बेस्सरी तर्सायो
अनि असरल्ल पोखिए सपनाहरु
सायद यसरी नै पोखिन्छन् सुति सुति देखिएका सपनाहरु।
हिजै मात्र सपना पोखिएको
आज फेरी एउटा सपना देखेँ:
पूर्वबाट बिस्तारै चन्द्रमा उदायो
रातको तानाशाह क्षितिज सम्म खुम्चियो
त्यो पातलो उज्यालोमा भरोसाको बिशाल गजुर ठड्याएर
रातभरी जुलुश निकाले अनगिन्ति ताराहरुले
जूनको पछि पछि आशाको चहकिलो पुल्ठो सल्काउँदै
आश्रीत पृथ्वि अन्धो बनाउने अंध्यारोको प्रतिकारमा।
चन्द्रमाले पनि त
सुर्य नभेटिन्जेल,
अनि, खिइएर औँशि नबनिन्जेल
भरोसा र दायित्वको विशाल संजाल जोगाइ रह्यो।
अँ,
आज फेरी सपना देखेँ
पन्ध्र दिनको भुमिगत तयारी पछि
आकशमा फक्रक्क फुलेको चन्द्रे भा’को
घरी घरी त प्रचन्ड सुर्जे भा’को
फेरी पनि बिदेशि पलङमै उत्तानो परेर, सुति सुति।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)