~मधु रिजाल~
भ्रमको जाल विच्छ्याउने जाली धेरै छन् यहाँ
उल्टै बगैंचा मास्ने माली धरै छन् यहाँ
आफैले आफैलाई सोच्छन् मै छु भरीपूर्ण
बाहिर भरीभराउ देखिए नी खाली धेरै छन् यहाँ
सक्दैनन् दिन जब केही, खोक्रो आश्वासन किन ?
मिलेकालाई उल्टै भाँड्ने जंजाली धेरैछन् यहाँ
घुमीफिरी पुग्ने त आखिर उही रुम्जाटार हो
फोकट नयाँ ठाउँ पुग्छु भन्ने बवाली धेरैछन् यहाँ
हिजो अर्कै रुपमा डसे, आज रुप फेरेका छन्
आखिर गोमनहरुकै हालीमुहाली धेरै छन् यहाँ
दाङ, घोराही
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २९ – २०६८ जेष्ठ २५ गते, बुधबार)