~जीवन क्षेत्री~
मलाई खेद छ,
म युवाकालमै बूढो भएछु
झर्दै गरेका बोक्राहरूलाई फूल र
वैलिरहेका पातहरूलाई कोपिला सम्झने
अकर्मण्य संस्कृतिको बाढीमा
म अनायासै बूढो भएछु ।
टीठलाग्दो सुकेको आँट लिएर
घर र परिवारको चौघेराभित्र
कुँजिएर जर्जर र जीर्ण बनेछु
अवाक् छ सडक, उदास छ वस्ती
उकुसमुकुस छ तर, पड्किने छाँट छैन
ओसिएको छ एक मुठी बारुद
मौन भाषामा भित्तो र छानो
अवाक् रहन कठोर निर्देश गरिरहेछ
माथिको आदेश यस्तै छ ।
मेरो पसिनाले वस्ती सिञ्चिएन
मेरो रगतले सडक रङ्गिएन
खुनीहरूका तरबारले काम पाएनन्
बारुद चिसाको चिसै रह्यो
बस्ती खुम्चियो
त्यहाँ जाने बाटो खुम्चियो
त्यहाँका निरीह जीवहरूको उपचार खुम्चियो
फैलियो त केबल तिनलाई दागा धर्ने बन्दुक
गल्लीगल्लीमा, गौँडागौँडामा
अनि बन्दुकमा हाल्ने गोली
गास काटेर किनेको गोलीले सास बन्द गरायो
तर खै किन ?
युवाहरूको आवश्यकता भएको बेला
म असमयमै बूढो भएछु ।
हत्याको भाषामा बन्दुक बोलिरहँदा
निसास्सिएका आमाहरू र
तिनका काखमा टोलाएका
भविष्यविहीन नानीहरू
तिनको एक घुट्का दूध काटेर
किनिएका राइफलहरूले
तिनकै बाबुलाई बेपत्ता पारेर
अदालतलाई ढाँटेर, अन्धकारमा मारेर
खाडलमा पुरिएको विद्रुप सपना देख्नेहरू
पलपल झस्किरहेछन्–
के सपना साँचो हुन सक्छ ?
फूल खेलाउने उमेरमा,
पत्थरले हानिएका नानीहरूसामु
म आफ्नो असमयमै बुढेसले
जेलिएको विरुप अनुहार टक्र्याइरहेछु
तिनका बाबुको रगत–
के १,२ जनाको बढुवा समान थियो र ?
खै, म अवाक् छु ।
टुकुचाको पानीलाई अङ्गुरको रस मान्ने
उत्तर आधुनिकतावादीहरूको सङ्गतले
आत्माको अमरत्वमा विश्वस्त
अध्यात्मवादीहरूको संसर्गले
उदारवाद र विश्वव्यापीकरणको भूमरीले
फेशन र रमझमको पछिपछि कुदेको म
दशकौँ अगाडि बूढो भएको म
निरन्तर छु,
जब निर्दोष नानीहरू मागिरहेछन्
तिनका बेपत्ता अभिभावकको ठेगाना
जब उमेर पुगेका असहाय बज्यैहरू
मागिरहेछन् ‘सास कि लास’
अकारणै हरिएका तिनका सहारा लठ्ठीहरू
जब,
नजन्मेका असङ्ख्य आत्माहरू सोधिरहेछन्
खै त हाम्रो ज्युँदो इतिहास
मरेको इतिहासका टुक्रा हातमा लिएर
के म साँचै भनूँ– म बूढो भएकै हुँ ?
(स्रोत : रचनाकारको ब्लगबाट सभार)